आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राष्ट्रपतिले गरिन ९०३ जनालाई मानपदवी र विभूषण सूचीसहित

प्रकाशित
409
SHARES

काठमाडौ। सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी र विभूषण ९ सय ३ जनालाई प्रदान गर्ने भएको छ । राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिने उनीहरुलाई विभिन्न मानपदवीद्वारा विभूषित गरिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले २९ भदौको मन्त्रिपरिषद बैठकको सिफारिस अनुसार ९ सय ३ जनालाई मानपदवी, अलंकार र विभूषणबाट सम्मान गरेकी हुन् । जसमा सबैभन्दा ठूलो मानपदवीका रूपमा रहेको नेपालरत्न सन्त नेता तथा पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टरार्ईलाई प्रदान गरिनेछ ।

यसैगरी, राष्ट्रगौरवका रूपमा रहेको पदवी यसपटक पूर्वप्रधानमन्त्री झलनाथ खनाल र स्वर्गीय सुवर्ण शमशेर जबरालाई प्रदान गरिने भएको छ । यस्तै, अन्य ठूला पदक पाउनेमा स्व. मंगलादेवी सिह, मोहनचन्द्र अधिकारी र पोष्टबहादुर बोगटी रहेका छन् । यसैगरी, राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पु–याएबापत द्वारिकादेवी ठकुरानी, भीमदत्त पन्त, भूविक्रम नेम्वाङ, रानुदेवी अधिकारी, भक्तराज आचार्य, सन्तोष शाहलाई उपल्लो स्तरको पदक प्रदान गर्न लागिएको छ ।

यसैगरी बाग्मती सफाइ अभियन्ता माला खरेल, वरिष्ट कार्टुनिस्ट रविन सायमी, खेलाडीहरू ज्ञानेन्द्र मल्ल र किरण चेम्जोङ, गायिकाहरू देविका प्रधान र विष्णु माझी, अक्सिजन सप्लाइकर्ता शंकरलाल अग्रवाल, कोभिडविरुद्ध जनचेतना फैलाउन उल्लेख्य भूमिका खेलेका स्वास्थ्य विशेषज्ञ डा. शेरबहादुर पुन र डा. रविन खड्कालाई पनि विभिन्न पदकद्वारा विभूषित गरिने भएको हो ।

गायकहरू हेमन्त शर्मा, प्रकाश सपुत, नायिका केकी अधिकारी, नायक अनमोल केसीलाई पनि विभूषित गरिने भएको छ । यसैगरी, पशुपतिमा लास जलाएर उल्लेख्य भूमिका निर्वाह गर्दै आइरहेकी सपना रोका मगर, एसिड पीडित मुस्कान खातुन, तेजिया फौजा मगर, यौनिक अल्पसंख्यक अभियान्ता भूमिका श्रेष्ठ, पर्वतारोही कल्पना महर्जनलगायतलाई पनि महत्वपुर्ण विभूषण प्रदान गर्न लागिएको छ ।

निजामती, जंगी, प्रहरी र सशस्त्र प्रहरी क्षेत्रमा उल्लेख्य भूमिका निर्वाह गरिरहेका कर्मचारी, प्रहरी र सेनाका उच्च पदस्थहरूलाई पनि विभिन्न पदवीले विभूषित गरिने भएको छ । यसैगरी, विभिन्न सामाजिक संघसंस्थामा रहेकालाई पनि विभूषित गरिन लागिएको छ । हरेक वर्ष संविधान दिवसका दिन ३ असोजमा विभूषण पाउनेहरूको नाम सार्वजनिक गरिँदै आएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानद्वारा प्रत्याभूत नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा भएको बताएकी छन् ।संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उनले राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्न आवश्यक भएको उल्लेख गरिन् ।

नेपाली जनताको बलिदानपूर्ण सङ्घर्षको फलस्वरुप जननिर्वाचित संविधानसभाद्वारा २०७२ साल आश्विन ३ गते नेपालको संविधान जारी भएकामा सम्मान र त्यस दिनको स्मरणस्वरुप आज हामी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइरहेका छौँ भन्दै उनले देशभित्र तथा बाहिर रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिन् ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनका क्रममा अमूल्य जीवन बलिदान गर्नुहुने सहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रपतिले मुलुकमा लोकतान्त्रिक प्रणाली स्थापना गर्न मार्गदर्शन गर्नुहुने अग्रजप्रति सम्मान प्रकट गरिन् ।

“वर्तमान संविधानले सामन्ती, निरङ्कुश र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिकलगायत सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गर्न मार्गदर्शन गरेको छ । यस संविधानअन्तर्गत नेपालको सार्वभौमसत्ता नेपाली जनतामा निहित भएको छ र जनता राज्यशक्तिको स्रोत भएका छन्,” सन्देशमा भनिएको छ ।

लामो समयको सङ्क्रमणकाल र द्वन्द्वलाई समाप्त पार्न सफल राजनीतिक दलहरू संविधानप्रदत्त नागरिक अधिकारको उपयोग गरी शान्तिपूर्ण माध्यमबाट आफ्ना राजनीतिक उद्देश्य हासिल गर्न सकिने दृष्टिकोणसहित राष्ट्रिय राजनीतिको मूल प्रवाहमा सामेल भइरहेका तथा नयाँ संविधान जारी भएयताका वर्षमा संविधानप्रतिको ग्रहणशीलता बढ्दै जाँदा मुलुकको शान्ति र राजनीतिक स्थायित्वका लागि ठूलो योगदान पुगेको राष्ट्रपतिले सन्देशमा उल्लेख गरिन् ।

“जनताको राजनीतिक अधिकार प्राप्तिका लागि गरिने सङ्घर्षको चरण पूरा भएको छ र मुलुकको आर्थिक समृद्धिका लागि हाम्रा सम्पूर्ण प्रयास केन्द्रित गर्नुपरेको छ”, उनले भनिन् । नेपालको संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको छ ।

उक्त लक्ष्य हासिल गर्न मुलुकमा उपलब्ध जल, जमिन र जङ्गलजस्ता प्राकृतिक स्रोत र साधनको दिगो सदुपयोग गर्दै उद्यमशीलताको विकासमार्फत उत्पादन वृद्धि, कृषिको आधुनिकीकरणसहित स्वदेशी उत्पादनद्वारा आयात प्रतिस्थापन गरी स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्नेमा उनले जोड दिइन्।

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई संविधानको मर्म र भावना व्यवहारमा रूपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आआफ्नोतर्फबाट इमान्दार प्रयास जारी राख्न उनले सबैमा आह्वान पनि गरिन् ।

प्रतिक्रिया