आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रधानमन्त्री देउवा र मन्त्रीहरूको सम्पत्ति विवरण गोप्य, के हो यथार्थ ?

प्रकाशित
1.7K
SHARES

काठमाडौ। सदाचारको नीति अवलम्बन गरेको दाबी गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले पदधारण गरेको ६५ दिनसम्म पनि सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् ।एकै दिन पद तथा गोपनीयताको शपथ लिएका चार मन्त्रीको सम्पत्ति विवरण पनि गोप्य राखिएको छ ।

देउवाले २९ असारमा प्रधानमन्त्रीको शपथ लिएका थिए । गृहमन्त्री बालकृष्ण खाण, अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री पम्फा भुसाल र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि त्यही दिन नियुक्त भएका थिए । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ भने १० साउनमा मात्र नियुक्त भएका हुन् । यद्यपि सम्पत्ति सार्वजनिक गर्न दुई महिना नै कुर्नुपर्छ भन्ने जरुरी छैन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा भने प्रधानमन्त्री र चारै मन्त्रीको सम्पत्ति विवरण ‘प्राप्त भएको’ उल्लेख छ । कार्यालयका प्रवक्ता कृष्णबहादुर राउत प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण प्राप्त भएको, तर मन्त्रिपरिषद्बाट निर्णय नभएकाले सार्वजनिक नभएको बताउँछन् । ‘मन्त्रिपरिषद्बाट निर्णय गराएर सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रचलन रहेछ, तर अहिले मन्त्रिपरिषद्ले पूर्णता पाइनसकेकाले सरकार विस्तारपछि एकैपटक सार्वजनिक गर्ने तयारी छ,’ राउतले नयाँ पत्रिकासँग भने ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० मा ‘सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यस्तो पदमा बसेको ६० दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण सरकारलाई बुझाउनुपर्ने’ उल्लेख छ । कानुनी रूपमा सम्पत्ति विवरणमा व्यक्तिगत गोपनीयतासम्बन्धी कानुन लागू हुन्छ । तर, मन्त्रिपरिषद्ले कार्यव्यवस्था नियमावलीमा व्यवस्था गरेरै संघ सरकारका प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने व्यवस्था सुरु गरिएको थियो ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका पूर्वअध्यक्ष खेमराज रेग्मी सम्पत्ति विवरण लुकाउनु अपारदर्शिता भएको बताउँछन् । ‘सार्वजनिक पद धारण गरेका व्यक्ति पारदर्शी हुनुपर्छ,’ उनले भने, ‘नियुक्ति हुँदा मात्र होइन, पदबाट हटेपछि पनि सम्पत्ति सार्वजनिक गर्नुपर्छ ।’ नेपालमा आर्थिक पारदर्शिताका लागि प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने अभ्यास ०४८ पछि सुरु भएको हो । ‘आर्थिक अनुशासनमा राख्न र मुलुकमा सुशासन कायम गर्न यो व्यवस्था कायम भएको हो,’ उनले भने ।

यसअघि ०७४ फागुनमा गठन भएको प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सरकार बनेको दुई महिनापछि सार्वजनिक गरिएको थियो । तर, त्यसपछि हेरफेर भएका र थपिएका मन्त्रीको सम्पत्ति विवरण गोप्य राखिएको थियो । पछिल्लोपटक गत जेठमा तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले एक सातामै सम्पत्ति विवरण सार्वजनिक गरेका थिए ।

त्यस्तै, २१ जेठमा मन्त्रिपरिषद्बाट हटेका तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पदमुक्त भएलगत्तै सम्पत्ति विवरण सार्वजनिक गर्दै मन्त्रीकालमा ‘पुस्तक र घरायसी सामग्री’मात्रै थपिएको उल्लेख गरेका थिए । त्यस्तै, सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रचलन नरहेको नेपाली सेनामा समेत निवर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापाले नियुक्त हुँदा र अवकाश पाउँदा दुवैपटक सम्पत्ति विवरण सार्वजनिक गरेका थिए ।

०७४ मा सम्पत्ति सार्वजनिक गर्दा देउवाले बुढानीलकण्ठस्थित घर देखाएका थिएनन्

०७४ मा प्रधानमन्त्री छँदा देउवाले सम्पत्ति सार्वजनिक गरे, तर बस्दै आएको बूढानीलकण्ठको घरको विवरण भने देखाएनन् । पत्नी आरुजुका नाममा रहेका चल/अचल सम्पत्ति उनले खुलाएका थिएनन् । असोज पहिलो साता सार्वजनिक गरिएको विवरणअनुसार उनीसँग १० थान असर्फी, चार तोलाका दुईवटा सुनका सिक्री, पाँच तोलाको ब्रासलेट, चार तोलाको हिरा, पन्ना–रुबी र मुगाजडित औँठी रहेको उल्लेख थियो । त्यतिखेर उनको नाममा एभरेस्ट बैंकमा जम्मा १६ लाख ५० हजार नगद रहेको खुलाइएको थियो । सेयर र सवारीसाधन भने देखाइएको थिएन ।

यसैगरी, बुबा प्रसादसिंह देउवाको नाममा डडेल्धुराको असीग्रामलगायतमा ५६ रोपनी १७ आना जग्गा, कञ्चनपुरको कृष्णपुरमा १० बिघा सगोलको जग्गा रहेको उल्लेख थियो । देउवापत्नी आरजुले ०७४ को आमचुनावको मुखमा धनगढी उपमहानगरपालिका– ४ उत्तरबेहडीमा तीन कट्ठा तीन धुरमा बनेको दुईतले घर तीन करोडमा किनेकी थिइन् । सो निर्वाचनमा उनी धनगढीबाटै उम्मदेवार पनि थिइन् । कांग्रेसभित्रै उनलाई ‘टुरिस्ट उम्मेदवार’को आरोप लागेपछि उनले निर्वाचन क्षेत्रभित्रै घर किनेकी थिइन् । विवेकशील साझाका नेतासमेत रहेका उद्योगी गोपाल हमालकी पत्नी शारदा हमालको नाममा रहेको घर आरजुले किनेकी थिइन् ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ