आज : गते

ताजा शिर्षकहरु

ओलीको चुरीफुरी बढ्यो, रिट निवेदनमा सुनुवाइ हुँदै

प्रकाशित
2K
SHARES

काठमाडौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुख लगायतलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमाथि सोमबार सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश मीरा खड्काको संयुक्त इजलासमा उक्त रिट निवेदनको पेसी तोकिएको छ ।

ओलीले एमालेबाट कारवाही गरिएका १४ सांसदलाई निर्वाचन आयोगले अलग दल दर्ताका लागि सनाखत गराएको र एमालेबाट कारवाही गरी संसद सचिवालयलाई जानकारी गराउँदासमेत सभामुख अग्निप्रसाद सापकोटाले सूचना टाँस नगरेको जिकिर रिट निवेदनमा गरेका छन् ।

रिट निवेदनमा ती १४ सांसदमाथि एमालेले गरेको कारवाहीअनुसार उनीहरुलाई पदमुक्त गर्न र उनीहरुको हस्ताक्षरसहित नयाँ दल दर्ता गराउने निर्वाचन आयोगको निर्णय बदर गराउन माग गरिएको छ। रिट निवेदनका सम्बन्धमा अन्तरिम आदेश जारी गर्न पर्ने कि नपर्ने भन्नेबारे सोमबार बहस हुने भएको हो।

यसै गरि बागमती सरकार परिवर्तनको लागि विपक्षी गठबन्धनले गृहकार्य सुरु गरेको छ । बागमती प्रदेशसभा सचिवालयमा नेकपा एकीकृत पार्टीले प्रवेश पाएसँगै केन्द्रीय तहमा बनेको गठबन्धनले प्रदेशमा पनि सरकार परिवर्तनका लागि रणनीति बनाउन सुरु गरेको हो ।

नेकपा एमालेको विभाजनपछि १३ जना सांसदले एमाले पार्टी त्यागेर नेकपा एकीकृत समाजवादीमा गरेको सनाखतलाई निर्वाचन आयोगले मान्यता दिएपछि गठबन्धनले सरकार परिवर्तनको गतिविधि सुरु गरेको हो । मुख्यमन्त्रीले अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनसक्ने आधार कमजोर बन्दै गइरहेका बेला सरकार परिवर्तनको लागि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी लगायतका सत्ता परिवर्तनको दलहरूको गृहकार्य सुरु गरेका हुन् ।

निर्वाचन आयोगको पत्र दर्ता हुनासाथ आइतबार नै संसद् सचिवालयले नेकपा एकीकृत समाजवादीलाई दलको कार्यालय उपलब्ध गराएको थियो भने उक्त कार्यालयमा सो पार्टीको पहिलो संसदीय बैठकसमेत बसेको थियो । बैठकले दलको नेतामा राजेन्द्र पाण्डेलाई नियुक्त गर्नुको साथै सरकारलाई समर्थन नरहेको निर्णय गरेको थियो ।

बैठक छि नेकपा नेकपा समाजवादीका सांसदहरुले सरकारलाई समर्थन नरहेको व्यहोरेको पत्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय बागमती प्रदेश हेटौंडा, सभामुख सानुकुमार श्रेष्ठ र संसद् सचिवालयमा दर्ता गराएका थिए ।

नेकपा एकीकृत समाजवादीको बागमती प्रदेशसभामा प्रवेश र सरकारलाई समर्थन नगर्ने सो दलको निर्णयसँगै बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छिन् ।

५६ सांसदका साथ नेपालको संविधानको धारा १६८ को उपधारा १ अनुसार बहुमत प्राप्त दलको तर्फबाट सरकारको नेतृत्व गरेकी मुख्यमन्त्री शाक्य पार्टी विभाजन पछि १३ जना सांसदले साथ छोड्दा ४३ सांसदमा सिमित भएकी छिन् ।

बागमती प्रदेशमा सरकारको नेतृत्वको लागि कुल १०९ जना सांसदमध्ये ५५ जना सांसदको समर्थन आवश्यक हुन्छ । बागमती प्रदेशसभामा नेकपा माओवादी केन्द्रको २३, नेपाली काँग्रेसको २२, विवेकशील साझाको ३, नेमकिपाको २, राप्रपाको २ र जसपा निकटका १ जना सांसद् रहेका छन् ।

नेकपा समाजवादी संसदीय दलको बैठक बस्दै।नेकपा एकीकृत समाजवादी दलको संसदीय दलको बैठक आज बिहान ११ बजे बस्दैछ ।सरकार र गठबन्धनका बारेमा छलफलका लागि बैठक बस्न लागेको बागमती प्रदेशसभा सदस्य एवम् नेकपा एसका नेता बसन्त मानन्धरले जानकारी दिए ।

पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम, सत्ता गठबन्धन र आगामी रणनीतिका बारेमा निर्णय गर्न संसदीय दलको बैठक बस्ने भएको उनले बताए । उनले सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परिसकेको र संसदबाट विश्वासको मत पनि पाउने अवस्था नरहेकोले सत्ताबाट राजीनामा दिनु पर्ने बताए ।

बागमती प्रदेश सरकारमा राजेन्द्र पाण्डेले दावी गरिसकेका कारण मुख्यमन्त्री शाक्यले गठबन्धनलाई सरकार गठनमा सघाउनु पर्ने बताए ।काँग्रेस र माओवादीको संसदीय दल बैठक स्थगित सत्ता गठबन्धनको दुई ठुला पार्टीको संसदीय दलको बैठक भने स्थगित भएको छ ।

नेकपा एकीकृत समाजवादीले प्रदेशसभा सचिवालयमा प्रवेश पाएलगत्तै आज सोमबारका लागि आह्वान गरिएको बैठक विषेश कारण देखाउँदै स्थगित गरिएको छ । सोमबार नेपाली काँग्रेस र नेकपा माओवादी दुवैले संसदीय दलको बैठक आह्वान गरेका थिए । तर सोमबार बिहान दुवै दलले विशेष कारण भन्दै बैठक स्थगित गरेका हुन् ।

नेकपा माओवादी केन्द्र बागमती प्रदेशका प्रमुख सचेतक बुद्धिमान माझीले केन्द्रीय नेतृत्वको आन्तरिक छलफल बाँकी नै रहेकाले दलको बैठक स्थगित गरेको बताए ।शीर्ष नेताहरुको छलफलपछिको निर्णय पश्चात दलको बैठक बस्ने उनले बताए ।

यता नेपाली काँग्रेस बागमती प्रदेशका सचेतक छिरिङ दोर्जे लामाले आन्तरिक छलफल र तयारीका लागि बैठक स्थगित गरेको बताए ।सबै तयारी पुरा गरेर बैठक बोलाउने छलफल भइरहेको भन्दै मंगलबार दलको बैठक बस्न सक्ने सम्भावना रहेको उनले बताए ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ