आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सापकोटा सभामुखको कुर्सीमा बस्नलायक छैनन् : ओली

प्रकाशित
502
SHARES

काठमाडौ। एमाले अध्यक्ष केपी ओलीले सभामुख अग्निप्रसाद सापकोटा सभामुख पदमा बस्नलायक नरहेको बताएका छन्। आइतबार संसद् भवनमा बसेको संसदीय दलको बैठकमा ओलीले सभामुखले पदीय मर्यादा गरिमा कायम गर्न नसकेकाले कुर्सीमा बस्ने अधिकार गुमाइसकेको टिप्पणी गरे।

सभामुखले आफैंले बनाएको संसद् नियमावली, कानुन मिचेको ओलीको आरोप छ । कार्यव्यवस्था परामर्श सहमति, सर्वपक्षीय सहमतिमा अगाडि बढाउनुपर्नेमा पेलेर अघि बढ्न खोज्दैछन् । म सरकारमा हुँदा सहमति र सहकार्यबाट लगेको थिएँ । तर उहाँहरूले अस्थिरता निम्त्याउनुभयो । संविधान र नियम, कानुन नमान्ने र अरुले प्रतिगमन गर्‍यो भन्ने ।

स्थायित्व र स्थिरताको विरोधीहरू हुन् । अहिले पनि गठबन्धनमा बसेर भूमिका खेल्दै छन्। ओलीले आक्रोश पोखे। एमाले फुटाउने उद्देश्यले सत्ता गठबन्धन बनेको र त्यसमा सभामुखले षडयन्त्रपूर्वक भूमिका देखिएको ओलीले बताए । ‘सभामुख कानुनविपरीत, मर्यादाहीन देखियो । पदको दुरुपयोग गरे ।

प्रमुख प्रतिपक्षीविरुद्ध योजनाबद्ध रूपमा लागे’ ओलीले भने, ‘सापकोटा सभामुखको कुर्सीमा बस्न लायक छैनन्। उहाँले पदीय मर्यादा गरिमा कायम गर्नुभएन।’ प्रतिस्थापन विधेयक ल्याएका अर्थमन्त्रीले पनि मर्यादित व्यवहार नगरेको ओलीको आरोप थियो। ‘सभामुखको व्यवहार आचरणको व्यवहार भएन। हामी यसमा गम्भीर रूपमा आपत्ति जनाउँछौं ओलीले भने।

यसै गरि , प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग सम्वाद थालेका छन् । भदौ २३ गतेको ३ वटा, भदौ २५ को तीनवटा र आइतबारको पहिलो बैठकमा लगातार नाराबाजी गरेपछि एमालेसँग संवाद सुरु भएको हो ।

आइतबार पहिलो बैठक स्थगित भएपछि सभामुख सापकोटाले एमाले र सरकारका प्रतिनिधिलाई राखेर छलफल गरेका थिए । त्यसमा सहमतिमा जुटेन, तर एमाले केही लचिलो देखिएको छ । सभामुखले पनि दोस्रो बैठक अवरोधका बीच अगाडि बढाएनन् ।

उनले भोलि सोमबार संसदमा भएका दलहरुको शीर्ष नेताहरुको बैठक समेत बोलाएका छन् । ३२ साउनमा हठात संसद अधिवेशन अन्त्य गरेको सरकारले दल विभाजनलाई सहज हुने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्यायो र २ भदौमा एमाले विभाजित भयो । दल विभाजन प्रक्रिया पूरा भएपछि २३ भदौका लागि संसदको अधिवेशन आह्वान गरिएको थियो ।

भदौ २८ गते दिउँसो साढे २ बजे संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुबीच छलफल राखेका छन् । ‘के सहमतिमा पुग्न सकिन्छ खोजौं र संसदलाई गतिशील बनाऔं भनेर बैठक बोलाइएको हो’ सभामुखको सचिवालयले भनेको छ ।

संसद अधिवेशन शुरु हुनुअघि सभामुखले संसदका प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गर्ने अभ्यास छ । तर सभामुख सापकोटाले यो पटक यो अभ्यासलाई तोडे । प्रमुख प्रतिपक्षी एमालेसँग कुनै छलफल गरेनन् । कतिसम्म भने संसद बैठकको एजेण्डाहरु तय गर्न बोलाइने कार्यव्यवस्था परामर्श समितिको बैठक समेत डाकेनन् ।

एमालेले पनि दल विभाजनको षड्यन्त्रमा सहभागी भएको भन्दै पहिलो बैठकमा नै उनीमाथि प्रश्न उठायो । एमाले सांसदहरुले वेल घेराउ गर्दै सभामुखको व्यवहार मुर्दावादको नारा लगाए । २३ भदौमा नाराबाजीका बीच राजनीतिक दलसम्बन्धी अध्यादेश टेबल भयो भने २५ गतेको बैठकमा बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेश भयो ।

आइतबार पनि संसद अवरोध गरेपछि सभामुख सापकोटाले एमालेसँग संवादको थालनी गरेका हुन् । पहिलो बैठक अवरुद्ध भएपछि उनले एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारी र कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसंग सदनको अवरोध हटाउने विषयमा छलफल गरे ।

छलफलमा सभामुख सापकोटाले आफूले संविधान र कानुनबाहिर गएर कुनै कार्य नगरेको उल्लेख गर्दै संसदमा अवरोध नगर्न एमालेलाई आग्रह गरे । जवाफमा एमाले नेताहरुले आफ्नो पार्टी विभाजनमा किन भूमिका खेलेको भनेर प्रश्न गरेका छन् ।

१४ जना सांसदलाई कारबाही गरेको एमालेको पत्र अनुसार सभामुख सापकोटाले सूचना टाँस गर्नुपर्ने एमालेको जिकिर छ । एमालेले १ भदौमा १४ सांसदलाई कारबाही गरेको पत्र संसद सचिवालयमा दर्ता गरेको थियो । तर सभामुख सापकोटाले माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी दर्ता भएपछि यसबारे केही गर्नु नपर्ने भनेर निर्णय गरे ।

यही कारण एमालेले सभामुखले आफ्नो पार्टी विभाजनमा भूमिका खेलेको आरोप लगाएको छ । ‘सभामुखले पार्टी फुटाउने मतियारको भूमिका खेलेको कुरा प्रष्ट भन्यौं’, एमाले प्रमुख सचेतक भट्टराईले संग भने ।

प्रतिक्रिया