आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओलीको मुद्दामा सर्वोच्चले दियो यस्तो आदेश, प्रधानमन्त्री देउवा तनावमा

प्रकाशित
3.1K
SHARES

काठमाडौँ । सर्वोच्च अदालतले एमाले अध्यक्ष केपी ओलीको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले मंगलबार ओलीको रिटमा सुनुवाइ गर्दै विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो । आदेशअनुसार १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनिएको छ ।

सर्वोच्चले मागबमोजिम अन्तरिम आदेश भने दिएन। अन्तरिम आदेशमा निर्णय गर्न २८ भदौमा दुवै पक्षलाई झिकाउन आदेश दिएको छ ।माधव नेपालसहित १४ सांसदलाई कारबाही सिफारिस सभामुखले अगाडि नबढाएको र अवैध रुपमा नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरेको भन्दै एमाले अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।

त्यसैगरी, लुम्बिनीका दुर्ई प्रदेश सांसद पदमुक्त गर्ने पार्टीको निर्णय कार्यान्वयन नगरेको भन्दै प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध ओलीले रिट दायर गरेका थिए। रिटको सुनुवाइका क्रममा बहस गरेका पूर्वमहान्यायाधिवक्ता रमेश बडालले सांसद निष्कासन र लुम्बिनी प्रदेशसभाका दुईजना सांसदको विषयमा छलफलका लागि झिकाएको जानकारी दिए ।

‘पार्टी दर्ताका लागि संख्या पुगेको हो कि हैन भनेर पूर्ण सुनुवाइका लागि निर्वाचन आयोगसँग १५ दिनभित्र लिखित जवाफ माग्ने र लिखित जवाफको तीन दिनभित्र पेसी तोक्ने भनेको छ, बडालले भने । यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही बेसरम व्यक्तिको नेतृत्वमा एमाले समाप्त पार्ने अभियान चलिरहेको बताएका छन्।

मंगलबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विपक्षीहरूले एमालेलाई एक्लै हेर्न समेत नसक्ने बताए । ‘आज देश जागेको छ । देश एउटा शान्तिपूर्ण आन्दोलन र सङ्घर्षमा छ । एकातिर देशलाई बर्बाद पार्न खोज्ने तत्त्वहरू पनि सक्रिय छन्’ ओलीले भने ‘विपक्षीहरूले एमालेलाई एक्लै हेर्न पनि सक्दैनन् लड्ने त कुरा त परकै भयो ।’

उनले एमालेसँग नेपाली काँग्रेस समेत लड्न डराइरहेको अवस्थामा माधव नेपालको प्युसोले लड्न सपना देखेको भन्दै त्यो सपना पुरा नहुने दाबी समेत गरे ।‘एमालेसँग काँग्रेस लड्न आँट गरेको छैन, माधव नेपालको प्युसो उम्रिन पाएको छैन एमालेसँग लड्ने सपना देख्छ’, ओलीको भनाइ छ । उनले आफ्नो नेतृत्वको सरकार ढाल्न पाँच भाइ जम्मा भन्दै देउसी खेलेको पनि बताए । ‘पाँच भाइ जम्मा भन्दै देउसी खेले, अहिले त जम्मा नै भए क्यारे !’

ओलीले भने, ‘अहिले एउटा बेसरम व्यक्तिको नेतृत्वमा एमालेलाई समाप्त पार्ने अभियान चलिरहेको छ ।’ नेकपा एमालेका नेता कार्यकर्ता खान मात्रै होइन देश बनाउने सोचमा भएको भन्दै उनले लामो समयदेखि पार्टीभित्र आत्मकेन्द्रीत र स्वार्थकेन्द्रीत व्यक्तिहरु रहेकाले नातागोता र परिवारबाट आक्रान्त भएको अवस्थामा माधव नेपाल बाहिरिएको बताए ।

‘कोही भाइभतिजावाद र कोही छोरी,ज्वाइँ बुहारीका लागि मरिमेट्ने । पार्टीभित्रै विभिन्न प्रकारका स्वार्थी र पदलोलुप, महत्त्वाकाङ्क्षी प्रवृत्ति हाबी भएको थियो कि देश, जनता सुशासन, विकासको बारेमा छलफल नहुने अहिले त छोडेर गए’, ओलीले अहिले जनता जागेको देखेर आफू उत्साहित भएको बताए ।

काँग्रेसको विघटन सदर, एमालेको बदर

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले संसद्ले काम गर्न पनि नसक्ने र बच्न पनि नसकेपछि आफुले विघटन गरेको दाबी गरे । तर उनले अदालतले फैसला गरेपछि मान्नुपर्ने अवस्था रहेको बताए । ‘अदालतले त जे फैसला गरे पनि मान्नुपर्छ । सबैलाई थाहा छ । मान्नुपर्ने भएपछि अदालतले पुनर्स्थापना गर्दियो’, ओलीको भनाइ छ । तर संविधानमा जेसुकै लेखिए पनि अदालतको आफ्नै नियम भएको व्यङ्ग्य गरे ।

‘काँग्रेसले विघटन गर्‍यो भने सदर एमालेले विघटन गर्‍यो भने बदर । यो पहिलेदेखि हो । मनमोहनले विघटन गरे शेरबहादुर प्रधानमन्त्री, फेरि अहिले त अदालतबाट फलानालाई प्रधानमन्त्री तोकिएको छ भनेर सोझै दिने खालको परमादेश’, अदालतप्रति ओलीको कटाक्ष छ । उनले ५२ सालमा पनि अदालतले नै मनमोहनलाई हटाएको ओलीको दाबी छ ।

यस्तै एमालेले एमसीसीबारे तत्काल आफ्नो धारणा सार्वजनिक नगर्ने भएको छ । बुधबार संघीय संसद् भवनमा बसेको संसदीय दलको बैठकमा अधिकांश सांसदले एमसीसीबारे पार्टीले धारण सार्वजनिक गर्नुपर्ने बताएका थिए । विगतदेखि नै ओली पक्षमा रहेका सांसदहरूले जनताले ‘एमसीसी चाहिँदैन’ भनिरहेका बेला एमालेले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने माग उठाएका थिए ।

कृष्णभक्त पोखरेल, महेश बस्नेत, गंगा चौधरीलगायतका सांसदले एमसीसीबारे पार्टीले स्पष्ट धारणा व्यक्त गर्नुपर्ने बताएका हुन् । सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा एमाले संसदीय दलका नेतासमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सदनमा एमसीसी प्रस्ताव आए गम्भीरतापूर्वक छलफल गरेर धारणा बनाउने बताए ।

उनले सम्झौता आफूहरूले नगरेका कारण पास गर्ने जिम्मा आफूहरूको नभएको बताए । उनले भने,‘पास गर्ने जिम्मा पनि हाम्रो होइन, सम्झौता हामीले गरेको पनि होइन । प्रस्ताव आयो भने गम्भीरतापूर्वक छलफल गर्छौं र धारणा बनाउँछौं ।’

बैठकमा उपाध्यक्ष भीम रावलले एमसीसी अहिलेकै अवस्थामा पास गर्न नहुने धारणा व्यक्त गरेका थिए । उनले एमसीसी नेपालको कानुन र संविधानभन्दा माथि हुने गरी पास गर्न नहुने बताए । उनले एमसीसी कसरी नेपालको संविधान र कानुनभन्दा कसरी माथि छ भन्ने कुरा प्रमाणित हुने कागजात उपलब्ध गराउने बताएका थिए । अध्यक्ष ओलीले रावलले उपलब्ध गराउने कागजातको अध्ययनपछि धारणा बनाउने पनि बताएका थिए । उनले भने, अहिले हावामा कुस्ती नखेलौँ, सत्तारूढ दल कसरी प्रस्तुत हुन्छ त्यसपछि धारणा बनाउँला ।’

प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी सम्झौता अनुमोदन गराउन दृढ छन् । तर, गठबन्धन घटकहरूको विश्वास लिन उनलाई सकस भइरहेको छ । तत्कालीन नेकपाका वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले सम्झौतामा संशोधन, सुधार र परिमार्जन भए मात्र अगाडि बढाउन सकिने सुझाव दिएको थियो ।

तर, खनालसँगै एमसीसीको विरोधमा उत्रिएका भीम रावल र प्रतिवेदनमा फरक मत लेख्ने प्रदीप ज्ञवाली एमालेमै छन् । तत्कालीन प्रधानमन्त्री ओलीले भने एमसीसी आफ्नै पालामा अनुमोदन गराउन पहल गरेका थिए । तर, पछिल्लो समय भने ओली खुलेर बोलेका छैनन् ।

खनाल कार्यदलले एमसीसी अमेरिकाको इन्डो–प्यासिफिक स्ट्राटेजीसँग सम्बन्धित भएको भन्दै त्यस्तो सम्बन्ध नहुने सुनिश्चित हुने गरी नेपाल र अमेरिकाबीच औपचारिक पत्राचारद्वारा प्रस्ट पार्न कार्यदलको सुझाव दिएको थियो । एमाले विभाजनसँगै नेता खनाल अहिले नेकपा एकीकृत समाजवादीमा छन् ।

‘जेठ २ जस्ताको तस्तै फर्किन’

ओलीले पार्टी ०७५ जेठ २ को अवस्थामा जस्ताको तस्तै नफर्किने बताएका छन् । एमाले कास्कीद्बारा मंगलबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले १० बुँदे पनि समस्या खडा गर्न नभई समस्या समाधान गर्नका लागि गरिएको बताए ।

नेकपाको दर्ता बदर भएपछि नेकपा एमाले र माओवादी सर्लक्क अलग भएको होइन, त्यो कानुनी कुरा हो । हामीले पार्टी एकीकरण गरेका थियौं २०७५ जेठ ३ गते । त्यो एकीकरण कायमै छ,’ उनले भने, ‘प्रचण्ड गुट अलग भएर गयो, माओवादी केन्द्रबाट आउनुभएका थुप्रै साथीहरु अहिले पनि यसै पार्टीमा हुनुहुन्छ । यो पार्टीको अहिलेको नाम नेकपा एमालेको हो । यो हिजोको नेकपाको पनि निरन्तरता हो, एकीकणको पनि निरन्तरता हो ।’

उनले कतिपय ठाउँमा विनासित्ति जेठ २ को प्रसंग ल्याउने गरेको बताउँदै जेठ २ भनेको श्राद्धमा विरालो बाँधेजस्तो नभएको उल्लेख गरे । ‘यो त पार्टीलाई गतिशील बनाउन र समस्या देखा परे भने समस्या समाधान गर्न हो । यो कुनै पार्टीसँग गरिएको सम्झौता होइन,’ उनले थपे, ‘हामीले माधव नेपाललाई पनि फुट्न नदिने भनेर बनाइएको कार्यदल थियो ।

त्यो क्षति रोक्न बनाइएको थियो । माधव नेपालले अस्वीकार गरे ।’उनले १० बुँदेलाई उपयोग गर्दै पार्टीको समस्या समाधान गर्दै, भ्रम र अलमलमा परेकालाई पनि ल्याउँदै पार्टीलाई मजबुत बनाउने भएकोले यसलाई कुनै हाउगुजीका रुपमा नबुझ्न आग्रह गरे ।

ओलीले आगामी चुनावमा जित्ने गरी सहज रुपमा अगाडि बढ्न पार्टी पंक्तिलाई निर्देशन दिए ।‘सजिलोसँग कामलाई अगाडि बढाउनुहोस् । तनावग्रस्त नहुनुहोस् । भारी मनका साथ नचल्नुहोस् । जुनसुकै कुराका लागि सहज तरिकाले चल्नुहोस्’,उनको निर्देशन दियो ।

प्रतिक्रिया