आज : गते

ताजा शिर्षकहरु

बयान फेरिरहेपछि अनुसन्धानको घेरामा परेका थिए लोकबहादुर

प्रकाशित
0.9K
SHARES

काठमाडौ। संखुवासभाको मादी नगरपालिका– १ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या भएपछि प्रहरी र स्थानीयको आशंका थियो, ‘पैसाका लागि हत्या गरेका हुनसक्छ ।’ मृतक तेजबहादुर कार्कीका दुई छोरा विदेशमा हुनु, ८० लाख रुपैयाँमा जग्गा बैना गर्नु र जग्गा पास गर्न जाने अघिल्लो दिन घटना हुनुले यो आशंका स्वाभाविक थियो ।

तर प्रहरी टोलीले खानतलासी गर्दा पैसा र गरगहना घरभित्रै भेट्यो । पहिलो शंका कमजोर भएपछि प्रहरी प्राविधिक विश्लेषणमा जुट्यो । घटना घट्नु हप्ता दिनअघि र घटना भएको २४ घण्टाको कल डिटेल रेकर्ड सीडीआर विश्लेषण गर्दा पनि प्रहरीले कुनै क्लू भेट्टाएन । घटनास्थल आसपास दुई वटा बीटीएस टावरको कनेक्सन थियो ।

घटनास्थलबाट १० किलोमिटर आसपास १५० हाराहारी मोबाइल नम्बर सक्रिय भेटिए । उनीहरुमध्ये शंकास्पद केही नम्बर प्रयोगकर्तालाई प्रहरीले बोलाएर सोधपुछ पनि गरेको थियो । सोधपुछका क्रममा लोकबहादुरले बयान फेरिरहेपछि केरकार गरिएको प्रहरी स्रोत बताउँछ । ‘बयान फेरेपछि उनी शंकाको घेरामा थिए,’ घटनाको अनुसन्धानमा खटिएको प्रहरी स्रोत भन्छ ।

तर ठोस उपलब्धि हात नलागेपछि प्रहरीले निष्कर्ष निकाल्यो, ‘घटनामा बाहिरका मान्छे सहभागी छैनन् ।’ अनुसन्धानमा खटिएका अधिकृतहरुका अनुसार भौगोलिक विकटताका कारण बाहिरका मान्छे आएर हत्या गरेर भागिहाल्न सक्ने अवस्था थिएन । तर तालिमप्राप्त कुकुरको प्रयोग पनि प्रभावकारी भएन ।

त्यसपछि प्रहरीले मानव जनशक्तिबाटै अनुसन्धान सुरु गर्‍यो । आशंकाको घेरामा गाउँलेहरु परे । पालैपालो सोधपुछ गर्दा मृतक तेजबहादुरका भतिज लोकबहादुर कार्कीको बयान बाझियो । घटनाबारे थाहा पाउने पहिलो व्यक्ति उनी थिए । उनैले लगातार बयान फेर्न थालेपछि प्रहरीले लोकबहादुरमाथि निगरानी बढायो ।

त्यसक्रममा उनको घरभित्र रगत लत्पतिएको कपडा भेटिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय, संखुवासभाका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीका अनुसार पक्राउ परेका लोकबहादुरले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन् र आइतबार सबै विषय सार्वजनिक गर्ने तयारी छ ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार अनुसन्धान सुरु गर्दा उनीमाथि शंका गरिएको थिएन । हेर्दा सोझो देखिने उनको मानसिक अवस्था पनि कमजोर भएको परिवारका सदस्यहरुले बताएका थिए । तर सोधपुछका क्रममा बयान फेरिरहेपछि केरकार गरिएको प्रहरी स्रोत बताउँछ । ‘बयान फेरेपछि उनी शंकाको घेरामा थिए,’ घटनाको अनुसन्धानमा खटिएको प्रहरी स्रोत भन्छ ।

घटनाबारे अन्तर्वार्ता दिइहिँडे

लोकबहादुरलाई मृतक तेजबहादुरको शव सडक छेउमा लडिरहेको देख्ने पहिलो व्यक्ति भनिएको थियो । त्यसैले रिपोर्टिङका लागि पुग्नेहरुले उनलाई खोजे । उनले पनि घटनाबारे अन्तर्वार्ता दिएका छन्, जसका क्रममा बाहिरकै मान्छे आएर हत्या गरेको आशंका गरेका छन् ।

‘बडाउ तेजबहादुरको दुश्मनी कोहीसँग थिएन’ एउटा अन्तर्वार्तामा उनले भनेका छन्, ‘गाउँघरमा त्यस्तो शंकाको मान्छे कोही छैन मेरो विचारमा ।’ तर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले सुनचाँदी पैसा घरमै रहेछ भनेको छ नि भन्ने प्रश्नमा उनले भने, ‘रिसइबीले नै हो कि जस्तो छ । यो घटना गम्भीर छ ।’

डराएको जस्तो देखिने उनले अन्तर्वार्ताका क्रममा राति सुत्न पनि नसकेको बताएका छन्। बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती, छोरा ५२ वर्षीय तेजबहादुर, बुहारी ५२ वर्षीया कमला, नातिनीबुहारी बुहारी ३२ वर्षीया रञ्जना, तेजबहादुरका नाती ११ वर्षीय दिपेन र नातिनी ७ वर्षीया गोमाको हत्या आरोपमा उनै लोकबहादुर पक्राउ परेका छन्।

तेजबहादुर मात्र मार्न खोजेको थिएँ, अरूले देखेपछि सबैलाई सिध्याएँ’

संखुवासभा सामूहिक हत्या काण्डमा ज्यान गुमाएका ५२ वर्षीय तेजबहादुर कार्की गत सोमबार धान गोड्ने तयारीमा थिए । त्यसका लागि खेताला लिन उनी बिहान पाँच बजेतिर घर मास्तिरको बाटो हुँदै उकालो लागेका थिए ।

तर जुन घरबाट खेताला बोलाउन जान लागेका थिए, त्यही घरका २६ वर्षीय लोकबहादुर कार्कीले बाटोमै उनको हत्या गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय, संखुवासभाका अनुसार मृतक तेजबहादुर दुई सय मिटर मास्तिरका भतिजो नाता समेत पर्ने छिमेकी लोकबहादुरको घरमा उनका दुई दाजुभाइलाई लिन गएका थिए । तर बाटोमै टाउको पछाडिबाट हिर्काएर तेजबहादुरको हत्या भएको खुलेको प्रहरीले बताएको छ ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको बयान दिएका छन् । तर घरका अन्य सदस्य पनि आएपछि अरुलाई पनि मार्न बाध्य भएको भनेका छन् । कराउन थालेपछि आत्तिएका उनले घरतिर समेत गएर सबैको हत्या गरेको साबिती बयान दिएको प्रहरीले जनाएको छ ।  यस विषयमा आइतबार पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी सार्वजनिक गर्ने प्रहरी तयारी छ।

के हो हत्याको कारण ?

तेजबहादुरलाई हत्या गर्नुपछाडि पनि बलियो कारण प्रहरीले खुलाउन सकेको छैन । तर लोकबहादुरको घरमा रगत लतपतिएको कपडा र हत्यामा प्रयोग भएको हतियार बरामद भएको प्रहरी बताउँछ ।

पक्राउ परेपछि लोकबहादुरले दिएको बयानअनुसार मृतक तेजबहादुर उनलाई हेप्ने गर्थे, नमिठो बोल्थे । एक वर्षअघि उनकै घरमा लोकबहादुरकी आमा लडेकी थिइन् । गम्भीर घाइते भएकी आमालाई उपचारका लागि झापाको एक अस्पताल लगिएको थियो । उपचारका क्रममा मृत्यु भयो ।

‘आमाको मृत्यु पछाडि तेजबहादुरकै षडयन्त्र भएको लोकबहादुरको बुझाइ रहेछ’ एक अनुसन्धान अधिकृतले अनलाइनखबरसँग भने, ‘त्यही रिसले हत्या गरेछन् ।’ उनी मानिसक रोगीसमेत भएको प्रहरी बताउँछ । स्रोत भन्छ, ‘एक वर्ष अघिदेखि औषधि खाइरहेको भेटिएको छ ।’

प्रतिक्रिया