आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमेरिकाका मोस्ट वान्टेड अपराधी तालिबानका गृहमन्त्री, ५८ करोड छ टाउकोको मूल्य

प्रकाशित
599
SHARES

काठमाडौ। तालिबानले अफगानिस्तानमा आफ्नो अन्तरिम सरकारको गठनको घोषणा गर्दै अफगानिस्तानलाई ‘एस्लामिक इमिरेट’ घोषणा गरेको छ । मुल्ला मोहम्मद हसन अखुंद देशका प्रधानमन्त्री हुनेछन् र मुल्ला अब्दुल गनी बरादर उपप्रधानमन्त्री हुनेछन् । मुल्ला अब्दुल सलाम हनफीलाई पनि उपप्रधानमन्त्री बनाइएको छ ।

यो सबका बीच सबैभन्दा धेरै चर्चा भइरहेका व्यक्ति हक्कानी समुहका प्रमुख सिराजुद्दीन हक्कानी हुन् । उनलाई अखुंद सरकारमा गृह मन्त्री बनाइएको छ। यी उनै हक्कानी हुन् जसले विगत २० वर्षमा कैयौं घातक आक्रमणहरु गरेका छन् । सिराजुद्दीन हक्कानी नेटवर्ककको नामले कुख्यात चरमपन्थी समूहका प्रमुख हुन् र उनको सम्बन्ध तालिबानसँग रहिआएको छ ।

२०१७ मा उनको समूहले एक ट्रकमा बम आक्रमण गरेको थियो जसमा १५० भन्दा धेरै मानिसहरु मारिएका थिए । यो समूहको अल कायदासँग पनि नजिकको सम्बन्ध छ । हक्कानी नेटवर्कलाई अमेरिकाले आतंकवादी संगठनको रुपमा सूचिकृत गरेको छ । अमेरिकाको संघीय ब्युरोसँग भएको हक्कानीको प्रोफाइलअनुसार उनी अमेरिकामा मोस्ट वान्टेड अपराधी हुन् ।

२००८ मा काबुलमा एक होटलमा भएको आक्रमणको घटनामा उनी अमेरिकामा वान्टेड छन् जुन आक्रमणमा अमेरिकी नागरिकसहित ६ जना मारिएका थिए । एफबीआइमा भएको उनको प्रोफाइलअनुसार हक्कानी नेटवर्कले नै अमेरिका नेतृत्वको नाटो सेनामाथि सीमापारबाट आक्रमण गरेको र २००८ मा तत्कालीन अफगान राष्ट्रपति हमिद कारजाइमाथि आत्मघाती आक्रमण गरेको उल्लेख छ ।

२ सेप्टेम्बर २०११ मा काबुलमा अमेरिकी दूतावास नजिकै नाटोको बेसमा भएको आक्रमणमा पनि हक्कानीलाई दोषी ठहर गरिएको छ ।एफबीआइको प्रोफाइलमा हक्कानीको कद ५ फिट ७ इन्च भएको उल्लेख छ ।

हक्कानी अफगानिस्तानमा बसिरहेको र उनको समूह पाकिस्तान–अफगानिस्तान सीमामा सक्रिय रहेको भनिएको छ । उनको उमेर ४५ वर्ष उल्लेख गरिएको छ । उनको टाउकोको मूल्य ५० लाख डलर ५८ करोड रुपैयाँ तोकिएको छ।

अफगानिस्तानको पंजशीरमा हालै तालिबानले कब्जा गरेको दावी गरेको थियो । तर, यो दावीपछिको रातमा आश्चर्यजनक घटना भयो । सोमबार अबेर राती पंजशीरमा तालिबानको अड्डामा लडाकु जहाजले बम खसाले । रिपोर्टमा तालिबानको अड्डामा भारी नोक्सान भएको दावी गरिएको छ । यो हवाइ आक्रमण गर्ने जहाजहरु अज्ञात छन् र अब यो आक्रमण कसले गरेको हो भन्ने प्रश्न उठेको छ ।

अफगानिस्तानको स्थानीय मिडिया र पत्रकारले अबेर राती पंजशीरमा तालिबानको अड्डामा हवाइ आक्रमण भएको खबर दिएका थिए । अज्ञात लडाकु विमानले यो आक्रमण गरेका थिए । मुहम्मद अल्सुल्मानीले ट्वीट गर्दै अज्ञात विमानहरुले पंजशीरमा तालिबानको अड्डामा आक्रमण गरेर रेसिस्टेन्स फोर्सको क्षेत्रमा गएको बताएका छन् ।

यसै गरि , तालिबानले अब पंजशीरमा आफ्नो नियन्त्रण भएको र अफगानिस्तानको युद्ध समाप्त भएको दावी गरेको छ । तर, पंजशीरको जमिनमा युद्ध लडिरहेका नर्दर्न एलायन्सका लाडाकुहरु र तिनीहरुमा प्रमुख अहमद मसुदले भने आफूहरु रगतको अन्तिम थोपा रहँदासम्म लड्ने बताएका छन् । यस्तोमा अहिले प्रश्न उठिरहेको छ कि तालिबानलाई यो आक्रमण कसले गर्यो ?

अफगानिस्तानका पत्रकारहरुले गरेका अनुमानहरुमा सबैभन्दा धेरै नाम ताजिकिस्तानको आएको छ किनकि अहिले अहमद मसुद ताजिकिस्तानमा भएको दावी गरिएको छ । यसबाहेक तालिबानले अफगानिस्तानमा आफ्नो नियन्त्रण बढाउँदै लैजाँदा अफगान सेनाका कैयौं सैनिकले लडाकु विमान लिएर ताजिकिस्तान पुग्न सफल भएका थिए । ताजिकिस्तानले यसअघि पनि बेलाबेलामा नर्दर्न एलायन्स र तालिबान विरोधी गुटहरुलाई साथ दिँदै आएको छ । यही कारण यो आक्रमण ताजिकिस्तानले गरेको आशंका सबैभन्दा धेरै गरिएको छ ।

ताजिकिस्तानबाहेक यदि अन्य कुनै देशलाई लिएर प्रश्न उठेको छ भने ती रुस र इरान हुन् । इरानले हालै नर्दर्न एलायन्सका लडाकुमाथि पाकिस्तानले गरेको आक्रमणको निन्दा गरेको थियो । उसले यसरी अन्य कुनै देशको आन्तरिक मामिलामा हस्तषेप गरेको भन्दै पाकिस्तानको विरोध गरेको थियो । यस्तोमा इरानले नै पाकिस्तानले नर्दर्न एलायन्सका लडाकुमाथि गरेको आक्रमणको बदला लिन यो आक्रमण गरेको समेत आशंका गरिएको छ ।

तर, इरानमाथि गरिएको आशंका एक पक्षबाट कमजोर छ किनकि तालिबानले आफ्नो सरकार गठनमा सीमित देशहरुलाई निम्ता दिएको भए पनि ती सीमित देशको सूचीमा इरान छ । रुसको हकमा पनि यही अवस्था छ । रुस र तालिबानको सम्बन्ध त्यस्तो निकटको छैन र इतिहासमा त यी दुई विरोधी नै थिए । यसका बावजुद तालिबानले रुसलाई सरकार गठन कार्यक्रममा निम्ता दिएको छ ।

अमेरिकाले तालिबानको हातमा अफगानिस्तान सुम्पिएको भन्दै रुसले कडा आपत्ति जनाएको थियो र अमेरिकाको निन्दा गरेको थियो । यस्तोमा तालिबानलाई चोट दिनको लागि रुसले नर्दर्न एलायन्सलाई साथ दिनु आश्चर्यजनक मानिँदैन ।

सोमबार राती पंजशीरमा तालिबानको अड्डामा भएको आक्रमणमा कति नोक्सानी भयो र यी आक्रमण कुन–कुन ठाउँमा गरिए भन्ने स्पष्ट छैन । स्थानीय मिडिया र पत्रकारले जति कुरा सार्वजनिक गरेका छन् त्यसमा यससम्बनधी विस्तृत विवरण छैन । पंजशीरका विषयमा दैनिकजसो नयाँ खबरहरु आइरहेका छन् । उता तालिबान काबुलमा सरकार गठनको अन्तिम तयारीमा छ ।

प्रतिक्रिया