आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आज सत्तापक्ष र प्रतिपक्ष भिडन्त हुने, संसद बैठक बस्दै

प्रकाशित
591
SHARES

काठमाडौं। संघीय संसदका दुबै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दैछ। बुधबार अपरान्ह ४ बजे दुबै सदनको बैठक बस्न लागेको हो । आज बस्ने बैठकका लागि संसद सचिवालयले ३२ बुँदे सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।

बैठकमा सभामुख अग्नि सापकोटाले राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश–२०७८ सदनमा पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।

बुधबारको बैठकका लागि संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ। कार्यसूची अनुसार १९ मन्त्रालयको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रालयगत अध्यादेश २०७८ स्वीकृत लागि सदनमा पेस गर्ने छन् भने सांसद प्रेस सुवालले उक्त अध्यादेश अस्वीकृत होस् भनेर पेस गर्ने छन्।

यस्तै गृहमन्त्री बालकृष्ण खाणले नेपाली नागरिकता, सामाजिक सुरक्षा लगायत दर्जन अध्यादेश सदनमा पेस गर्ने कार्यसूची छ । यता कानुनमन्त्री ज्ञानेन्द्र कार्की यौन हिंसा, फौजदारी कसुर सम्बन्धी अध्यादेश पेस गर्ने कार्य सूची छ । यस्तै अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेश सम्बन्धी तीन वटा अध्यादेश सदनमा पेस गर्ने छन्।

यसै गरि, नेकपा  एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै छ। नयाँ बानेश्वरस्थित संसद् भवनको शङ्कर हलमा बुधबार २ बजे बैठक बस्न लागेको हो। बुधबार ४ बजे सुरु हुने प्रतिनिधि र राष्ट्रिय सभा गरी दुवै संसद्को बैठकमा रणनीति बनाउन बैठक बस्न लागेको नेता जीवनराम श्रेष्ठले जानकारी दिए।

एमाले विभाजनपछि बनेको एकीकृत समाजवादी पहिलोपटक संसद्को बैठकमा सहभागी हुँदै छ । योबीचमा एकीकृत समाजवादी संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन भएका छन्। एमाले विभाजन भएर बनेको एकीकृत समाजवादी संसदको चौथो ठूला दलका रुपमा उदाएको छ । उक्त पार्टीसँग प्रतिनिधिसभामा २३ र राष्ट्रिय सभामा ८ जना सांसद छन् ।

यस्तै , भौतिक उपस्थितिमा प्रतिनिधि सभाको बैठकको रिपोर्टिङ गर्न पत्रकारहरूलाई संसदको मिडिया सेन्टरमा प्रवेश रोकिने भएको छ। कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै प्रत्यक्ष उपस्थित भएर रिपोर्टिङ गर्न रोकिएको संघीय संसद सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले रातोपाटीलाई जानकारी दिए ।
संसद सचिवालयले संसद बैठकको प्रत्यक्ष प्रशारण गर्ने भएकाले त्यसैमार्फत रिपोर्टिङ गर्न सकिने उनले बताए। पत्रकार कक्षमा लाईभ स्ट्रिमिङ गर्नका लागि मात्र केही व्यक्तिलाइ प्रवेश दिने उनको भनाइ छ । आज अपराह्न ४ बजे प्रतिनिधि र राष्ट्रिय सभाको बैठक बस्दैछ।

संसद सचिवालयले युट्युव मार्फत संसद बैठकको प्रत्यक्ष प्रशारण गर्दै आएको छ। यसअघि भने संसद भवनको मिडिया सेन्टरमा भौतिक रूपमा उपस्थिति भएर पत्रकारहरूले रिपोर्टिङ गर्दै आएका थिए । संसदको मिडिया सेन्टरसम्म पत्रकारको पहुँचको लागि संसदीय मामिला पत्रकार समाजले संघीय संसद सचिवालयलाई ध्यानाकर्षण गराउँदै छ।

प्रतिक्रिया