आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

तालिबानद्वारा नयाँ सरकारको घोषणा, को बने प्रधानमन्त्री ?

प्रकाशित
453
SHARES

काबुल। सत्ता कब्जा गरेको तालिबान समूहले अफगानिस्तानमा नयाँ सरकारको घोषणा गरेको छ।अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार तालिबानले मंगलबार साँझ ५ सदस्यीय मन्त्रिपरिषद् घोषणा गरेको छ।तालिबानका प्रवक्ताका अनुसार मुल्ला मोहम्मद हसन अखुंदले नयाँ सरकारको नेतृत्व गर्ने छन्।

मुल्ला हसनको नेतृत्वमा बन्ने सरकारमा मुल्लाह याकूब रक्षामन्त्री र सिराजुद्दीन हक्कानी गृहमन्त्री हुनेछन्। तालिबानले १५ अगस्टमा राजधानी काबुल कब्जा गरेको थियो। विगत केही दिनदेखि तालिबानले सरकार बनाउने तयारी गरिरहेको थियो। बीबीसीका अनुसार मुल्ला बरादार अखुंद सरकारको उपप्रधानमन्त्री हुनेछन्।

सरकारको नेतृत्व गर्ने मुल्ला मोहम्मद हसन अखुंद तालिबानको शक्तिशाली निर्णय लिने निकाय रहबारी शूरा वा नेतृत्व परिषदका प्रमुख पनि हुन्। रिपोर्टका अनुसार उनी तालिबानको उद्गम स्थल कान्दाहारका हुन्। उनी सशस्त्र आन्दोलनका संस्थापकमध्ये एक हुन् । उनी सैनिक पृष्ठभूमिको नभइ तालिबान समूहभित्र धार्मिक नेताका रुपमा परिचित छन।

मुल्ला हसनले २० वर्षसम्म तालिबानका सर्वोच्च नेता हिब्तुल्लाह अखुंदजादाको निकट रहेर काम गरेका थिए। रिपोर्टका अनुसार हक्कानी नेटवर्ककका प्रमुख सिराजुद्दीन हक्कानीलाई संघीय आन्तरिक मन्त्रीको रुपमा प्रस्ताव गरिएको छ।

तालिबानका संस्थापक प्रमुख मुल्ला मोहम्मद उमरका छोरा मुल्ला याकुबलाई रक्षा मन्त्री बनाइएको छ । तालिवानले अफगानिस्तानमा समावेशी सरकार गठनको दाबी गरेको छ। तालिबानले सोमबार पञ्जशिर कब्जा गर्ने घोषणा गरेको छ।

यसै गरि , तालिबान सत्तामा आएपछि अफगानिस्तानमा अस्थव्यस्थताबीच छुटेका सयौँ बालबालिकालाई उद्धार गरिएको संयुक्त राष्ट्रसंघले मङ्गलबार जनाएको छ। उनीहरू अमेरिकी सेनाको बहिर्गमनसँगै अफगानिस्तानबाट आफ्ना बावुआमासँग विदेश जान विमानस्थल र वरपरका क्षेत्रमा पुगेका तर परिवारबाट छुटेका बताइएको छ।

संयुक्त राष्ट्र बाल कोष युनिसेफले बताएअनुसार अगस्त १४ देखि अफगानिस्तानबाट परिवारसँग बाहिरिने क्रममा छुटेका करिब ३०० जना बालबालिकाहरू दर्ता भएका थिए।

युनिसेफ प्रमुख हेनरिएटा फोरले उनीहरूको सुस्वास्थ्य र सुरक्षाको चिन्ता व्यक्त गर्दै एउटा बयानमा भने, “हामीले करिब ३०० बालबालिका परिवारबाट अलग्गिएको तथ्याङ्क पाएका छौ।  अझै धेरै बालबालिकाहरूले आफूहरू परिवारबाट अलग्गिएको बताएकोले यो संख्या थप बढ्नसक्ने छ। उनीहरूको पहिचान तथा छानविन गर्ने प्रयास जारी छ।

यूनिसेफले बताएअनुसार अगस्टको अन्त्यमा अमेरिकी सेना पूर्णतया हट्नुभन्दा पहिले देश छोड्ने हतारमा हजारौं मानिसहरू काबुल विमानस्थलमा ओइरिंदै गर्दा धेरै केटाकेटीहरू आफ्नो परिवारबाट अलग्गिएका थिए।

अन्तिम दिनहरूमा संयुक्त राज्य अमेरिकाले काबुलको विमानस्थलबाट एक लाख २३ हजार भन्दा बढी मानिसहरूलाई अफगानिस्तानबाट बाहिरिन सघाएको अमेरिकी अधिकारीहरूले बताएका छन्

अमेरिकी नागरिक तथा अनुवादमा अमेरिकी मिशनलाई सहयोग गर्नेलगायतका र बसाइँ सर्न विशेष भिसाका लागि योग्य भएका अन्य व्यक्तिहरू सहित उनीहरूलाई विभिन्न मुलुक हुँदै अमेरिका, यूरोप लगायतका केही एशियाली मुलुकमा शरण दिइएको छ। जर्मनी, कतार र अन्य देशहरूको उडानमा छुट्टिएका केही बालबालिकाहरूलाई उद्धार गरिएको युनिसेफले बताएको हो।

फोरले भने, “विमानस्थलमा सङ्कट देखा परेको वा उद्धार उडानमा जान लागेका उनीहरूलाई भीडमा ठक्करपछि अचानक आफ्नो परिवारबाट छुट्दा यी केटाकेटीहरू कति डराए होलान् भन्ने कुरा म कल्पना मात्र गर्न सक्छु।” छुट्टिएका बालबालिकाहरू ‘संसारका सबैभन्दा कमजोर केटाकेटीहरूमध्ये’ भएका उहाँले औंल्याए।

“पारिवारिक अनुसन्धान र पुनर्मिलन प्रक्रियाका क्रममा उनीहरुलाई छिट्टै पहिचान गरी सुरक्षित राख्नु अत्यावश्यक छ,” उहाँले जोड दिए।उनले भने, “सबै पक्षले बच्चाको हितलाई प्राथमिकता दिनुपर्छ र बालबालिकालाई दुब्र्ययबहार, उपेक्षा र हिंसाबाट जोगाउनुपर्छ।”

युनिसेफले हाल उद्धार गरिएका बालबालिकाहरूको रेखदेख गरिरहेका सरकारहरूलाई प्राविधिक सहयोग प्रदान गरिरहेको र अझै पनि देशमा छुटेकाहरूलाई दर्ता गर्न, उनीहरूको परिवारको पत्ता लगाउन र पुनर्मिलन गर्न प्रयास गर्न मद्दत गरिरहेको बताइएको छ।

यसै गरि , अफगानिस्तानका पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेहले पंजशीरबाट तालिबानको प्रतिरोध जारी रहने भन्दै आफूहरुले अफगानिस्तानभरीका जनताको हकको रक्षा गर्ने उद्घोष गरेका छन् । उनको उद्घोषपछि तालिवानीहरु झस्किएका र जनतामा आशा पलाएको समाचार स्रोत बताउँछ ।

सालेहले फेसबुकमा ‘तालिबानमाथि प्रतिक्रिया’ शीर्षकबाट एउटा पोस्ट लेखेका छन् । उनले यसमा लेखेका छन्, ‘हाम्रो प्रतिरोध सबै अफगान नागरिकको अधिकारको रक्षाका लागि हो । विरोधी पञ्जशीरमा छन् तर उनीहरुले पञ्जशीरका लागि मात्रै प्रतिरोध गरिरहेका छैनन् ।

‘आज यो उपत्यकाले सम्पूर्ण मुलुकको प्रतिनिधित्व गरिरहेका छ र ती सबै अफगान जनताका लागि एक आशा हो जसले दमन, बदला, द्वेष, मानिसहरुको सम्पत्तिमा दखलबाट जोगाउन चाहन्छ ।’

‘यदि यो देशले तिमीमाथि अलिकति पनि विश्वास गर्छ भने सीमामा मानिसहरुको लाइन किन छ, जो आफ्नो सबैकुरा छोड्न चाहन्छन् तर तिम्रो नियन्त्रणमा बस्न चाहँदैनन् ।’ अफगानिस्तानका अपदस्थ प्रथम उपराष्ट्रपति अमरुल्लाह सालेह पञ्जशीरमा नै बसिरहेका छन् र उनले तालिबानविरुद्ध आफ्नो आवाज बलियो बनाइरहेका छन् ।

उनले आफूलाई कार्यवाहक राष्ट्रपति घोषित गरेका छन् र आफूले तालिबानसँग सम्झौता नगर्ने बताएका छन् । त्यहाँ हज्जारौं तालिबान विरोधी लडाकूले अहिले पनि मोर्चा बाँधिरहेको बताइन्छ ।

यसै गरि , अफगानिस्तान सत्ता कब्जा गरेको कट्टरवादी समूह तालिबानविरूद्ध महिलाहरू सडकमा निस्किएका छन्। बिहीबार अफगानिस्तानको पश्चिमी सहर हेरातमा दर्जनौं महिलाहरूले र्‍याली निकालेका हुन्। ‘नडराऊ, हामी सबै सँगै छौं’, ‘शिक्षा, काम र सुरक्षा हाम्रा नैसर्गिक अधिकार हुन्’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका उनीहरूको र्‍याली प्रान्तीय गभर्नरको कार्यालयसम्म पुगेको थियो।

द न्युयोर्क टाइम्सका अनुसार हेरात अफगानिस्तानको उदार सहर हो। त्यहाँका हजारौं महिलाले विश्वविद्यालय गएका छन् भने दुई साताअघि तालिबानहरूले सत्ता कब्जा नगरूञ्जेल उनीहरू घरबाहिर विभिन्न काममा जान्थे।

‘हामी तालिबानहरूलाई आफ्नो शक्ति देखाउन चाहन्छौं,’ प्रदर्शनको आयोजना गरेकी मारयामले भनिन्,‘हामी घरभित्रै बस्यौं भने हामी आफ्नो शक्ति देखाउन पाउँदैनौं तर तालिबानहरूले हामीलाई राजनीतिक र सामाजिक भूमिकाबाट हटाउन अरू प्रतिबन्ध लगाउन सक्छन्।’

तालिबानका एक जना नेताले बिबिसी पर्सियन सेवासँग नयाँ सरकारमा महिलाहरूलाई मन्त्रीस्तरको जिम्मेवारी नदिइने बताएको अर्को दिन हेरातमा प्रदर्शन भएको हो।

‘यो प्रदर्शनको उद्देश्य तालिबानलाई सरकारमा महिलाको पनि सहभागिता गराऊ र महिलाबिनाको कुनै पनि सरकार लामो समय टिक्दैन भन्ने सन्देश दिनु हो,’ प्रदर्शन आयोजनामा सघाएकी मानव अधिकारकर्मी बासिराले भनिन्,‘हामी धेरै समय चुप लागेर बस्ने छैनौं।’आयोजकहरूले आउने दिनमा अफगानिस्तानका अरू सहरहरूमा पनि यस्ता प्रदर्शन हुने बताएका छन्।

यसअघि सन् १९९६ देखि २००२ सम्म सरकार चलाउँदा तालिबानहरूले महिलालाई उच्च शिक्षा पढ्न दिने र बाहिर काम गर्न पाउने कुरामा प्रतिबन्ध लगाएका थिए। अहिले केही तालिबान नेताहरूले आफूहरूले महिलाको मानव अधिकारको रक्षा गर्ने बताए पनि धेरैले त्यो कुरा पत्याएका छैनन्।

तालिबानहरूले सत्ता कब्जा गरेसँगै विभिन्न कार्यालयमा काम गर्ने अफगान महिलाहरू काम छोडेर घरमै बसेका छन्। तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले आफ्ना लडाकुहरूलाई महिलाको सम्मान गर्नुपर्छ भन्ने तालिम दिन बाँकी रहेकाले केही दिन घरमै बसिदिन आग्रह गरेका छन्।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया