आज : गते

ताजा शिर्षकहरु

आजबाट दल परिवर्तन गरे सांसद पद जाने, यस्तो छ नियम

प्रकाशित
1.9K
SHARES

काठमाडौँ। नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपा का प्रदेश सांसद र स्थानीय तहका प्रतिनिधिले आजसम्म पार्टी छानिसक्नुपर्ने छ।

आयोगले पार्टी छान्ने अन्तिम समय आजसम्म दिएको हो । आज छानिसकेको पार्टी परिवर्तन गरे निर्वाचित पद जाने कानुनी व्यवस्था छ। धेरैजसो प्रदेश सांसदहरुले पार्टी छानिसकेका छन्। स्थानीय तहका प्रतिनिधिले पनि आफू पुरानै पार्टीमा रहने कि नयाँमा लाग्ने भन्ने निर्णय आजसम्म गर्ने छन् ।

एमाले विभाजन गरेर माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी बनाएका छन् भने जसपाबाट अलग भएर महन्थ ठाकुर र राजेन्द्र महतोहरुले लोकतान्त्रिक समाजवादी पार्टी बनाएका छन्। यी दुवै पार्टीको आकार के हुने भन्ने आज टुंगो लाग्दैछ । उनीहरुले भदौ २ गते निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए।

सरकारले भदौ १ गते राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि उनीहरु विभाजन भएका हुन्। गण्डकी प्रदेशबाट कुनै पनि सांसदले नेपालको पार्टी रोजेका छैनन् । लुम्बिनिमा र कर्णालीमा यो पार्टी रोज्नेको संख्या थोरै भए पनि अरु प्रदेशमा नेपाल बलियो बनेका छन् । सुदूरपश्चिममा रहेका ५३ सांसदमध्ये नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा १३ सांसदले हस्ताक्षर गरेका छन् ।

२५ सांसद रहेको एमालेका १३ सांसदले नेपालको पार्टी रोजेपछि अब एमालेमा १२ सांसदमात्र रहेका छन् । एमाले कमजोर भएपछि त्यही प्रदेशका नेता रहेका एमाले उपाध्यक्ष भीम रावलको अस्तित्व पनि गुमेको छ । रावल एमालेका उपाध्यक्ष हुन् । रावल नेपाल समूहका नेता थिए केही अघिसम्म तर अहिले उनी ओलीसँगै फर्किएका छन् ।

रावलले आफू जता गयो त्यतै सबै जाने भनेर दाबी गरे पनि एमाले अध्यक्ष ओलीको कार्यशैलीबाट दिक्क भएका सांसदले अन्तिममा नेपाल नै रोजेका हुन् । आफ्नो पार्टीको बहुमत भएपछि यो प्रदेशमा नेपालको पार्टीले सरकार माग्ने सम्भावना छ ।
नेपालले मुख्यमन्त्री पाए यहाँ पूर्वमन्त्री दीर्घबहादुर सोडारी र तारा लामा तामाङमध्ये एक मुख्यमन्त्री हुन सक्ने पार्टीले जनाएको छ ।

यो प्रदेशमा नेकपा माओवादी केन्द्र का त्रिलोचन भट्ट मुख्यमन्त्री रहेका छन् । भट्टले जेष्ठ २५ गते संसदमा विश्वासको मत पाएका थिए । भट्टले विश्वासको मत पाएपछि रावलले उनलाई बधाई दिएका थिए । नेपाल पक्षका सांसदले पनि उनलाई मतदान गरेका थिए ।

प्रदेश १ मा १० सांसदले, प्रदेश २ मा १३, वागमती प्रदेशमा १२ सांसदले नेपालको पार्टी रोजेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले विभाजित पार्टीमा नलाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरे पनि ओलीकौ कार्यशैलीको विरोध गर्दै उनीहरुले नयाँ पार्टी रोजेका छन्।

यसै गरि नेपाली राजनीति विभिन्न बिषयले जहिल्यै तातिरहेकै हुन्छ। अहिले अमेरिकी सहयोग परियोजना एमसीसीको चर्चा नेपालमा चुलिएको छ। यसको व्यापक विरोध भइरहेको छ भने सत्तारुढ गठबन्धन पास गर्ने दाउमा छ।

यसैबीच, यता नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पृष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई कम्युनिष्ट गढ बनाउने घोषणा गरेका छन्। उनले राष्ट्रिय हितका निम्ति परिवर्तन र क्रान्तिको पक्षमा कम्युनिष्टहरुलाई एक बनाएर झण्डा उठाउने घोषणा गरेका हुन्।

उनले नेपालका विभिन्न कम्युनिष्ट पार्टीबीच छलफल गरी एकताको झण्डा उठाउनुपर्ने बताए। माओवादी केन्द्र पाल्पाको विस्तारित बैठकलाई जुममार्फत सम्बोधन गर्दै प्रचण्डले बाबुराम भट्टराई, मोहन वैद्य(किरण), नेत्रबिक्रम चन्द(विप्लव) र उपेन्द्र यादवसँग सकारात्मक छलफल भइरहेकाले आफू आशावादी भएको बताए । माओवादी केन्द्र र नेकपा (एमाले)बीच हुँदा आफूहरू कमजोर नभएको बताए।

प्रचण्डले कम्युनिष्टह्र एक बनाउने उद्घोष गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र पनि तरंग पैदा गरेको छ। आफ्नै पार्टी फुटेको पिडा सेलाउन नपाउदै कम्युनिष्टहरु एक भए एमाले नराम्रोसँग पराजित हुने देखिएपछि एमाले ओली झस्किएको बताइन्छ।

उनले देशका उत्पीडित जाति, वर्ग, लिङ्ग समुदाय एवं राष्ट्रको एकताको पक्षमा झण्डा उठाउने बताए। उनले माओवादी पूर्ण समानुपातिक निर्वाचनको पक्षमा नै उभिएको र आगामी दिन पनि पूर्ण समानुपातिक निर्वाचनको मुद्दालाई अगाडि बढाउने बताए । उनले नेकपा गठन गर्दा वैचारिक प्रतिवेदन र सङ्गठनमा माओवादीमय प्रतिवेदन भएको दाबी गरे । माओवादी जनयुद्धको मूल्याङ्कन, राष्ट्रिय जागरणको मूल्याङ्कन, कुन पार्टीले ल्यायो, मूल्याङ्कन हाम्रो पक्षमा रहेको प्रचण्डको दाबी छ।

नेकपा माओवादीका जिल्ला इन्चार्ज तुलाराम घर्ती मगरले पार्टी बलियो बनाउने जिम्मा कार्यकर्तामा आएको बताए। उनले कार्यकर्तादेखि नेतासम्म पार्टी कसरी बलियो बनाउने भन्ने चिन्ता रहेकाले त्यो अभियान छिटो सञ्चालन हुने बताए।

कार्यक्रममा जिल्ला अध्यक्ष नेत्रप्रसाद पाण्डेयले माओवादीले पार्टी सङ्गठन बलियो बनाउन अभियान नै सञ्चालन गर्ने बताए । उनले पार्टीका अब नियमित गतिविधिहरू सञ्चालन हुने र त्यसले पार्टीलाई चलायमान बनाउन सहयोग पुग्ने बताए। नेकपा माओवादी जिल्ला समितिलाई समन्वय समितिमा बदलिएपछिको यो पहिलो बैठक हो । माओवादीका जिल्ला तथा गाउँपालिकाको अगुवा कार्यकर्ताको सहभागिता रहेको थियो।

प्रतिक्रिया

आजको ट्रेन्डिङ