आज : गते

ताजा शिर्षकहरु

काठमाडौँमा बाढीको वितण्डा, चार सय घर डुवानमा, साढे दुई सयको उद्धार

प्रकाशित
783
SHARES

काठमाडौ। काठमाडौंमा बाढीले वितण्डा मच्चाएको छ । गयरातीदेखि परेको अविरल बर्षपछि आएको बाढीले काठमाडौँमा वितण्डा मच्चाएको हो । बाढीका कारण तीन सय ८२ घर डुबानमा परेका छन् । एक सय ३८ जनालाई प्रहरीले उद्धार गरेको छ ।

गएरातिदेखि परेको वर्षाका कारण खोला किनारका बस्ती डुबानमा परेका हुन् । ती बस्तीका बासिन्दा जोखिममा परेपछि प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा लगेर राखेको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार क्षेत्र डुबानमा परेका छन् ।

एसएसपी सिंहका अनुसार मानवीय क्षति भने भएको छैन । आइतबार मध्यरातदेखि काठमाडौंको मौसममा बदली भएको थियो। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार राति साढे २ बजेदेखि पानी पर्न थालेको हो।

‘राति गड्याङगुडुङ पनि भएको थियो। सामान्यतस् मनसुनको बेला पानी पर्दा त्यसरी गड्याङगुडुङ हुँदैन। प्रि(मनसुनमा हुन्छ,’ मौसमविद् अर्यालले सेतोपाटीसँग भने,‘अहिले बंगालको खाडीको उत्तर–पश्चिम भूभागमा बनेको न्यून चापीय रेखाबाट आएको जलवाष्प र यहाँको स्थानीय वायुको असरले त्यस्तो भएको हो।’

उनका अनुसार राति साढे २ बजेदेखि बिहान छ बजेसम्म त्रिभुवन विमानस्थलमा १०५ मिलिमिटर वर्षा मापन भएको छ। ‘हाम्रो एयरपोर्टको स्टेशनमा बिहान छ बजेसम्म १०५ मिलिमिटर वर्षा मापन भएको छ। काठमाडौंमा केही घन्टा यति धेरै पानी पर्नु बिरलै हुने घटना हो,’ मौसमविद् अर्यालले भने।

मौसमविद् अर्यालका अनुसार अहिले बागमती प्रदेशभरि वर्षा भइरहेको छ। केही घन्टाअघि लुम्बिनी र गण्डकी प्रदेशका पनि अधिकांश ठाउँमा पानी परेको थियो। ‘कर्णाली र सुदूरपश्चिमबाहेक अरू प्रदेशमा यो प्रणालीको असर देखिन्छ,’ मौसमविद् अर्यालले भने,‘काठमाडौं उपत्यकाको हकमा मध्यान्हदेखि भारी वर्षा हुन क्रम रोकिने र आकाश खुल्ने देखिन्छ।’

आइतबार रातिबाट परेको अविरल वर्षाका कारण उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले साढे दुई सय बढीको सकुशल उद्धार गरेको छ। बाढीबाट प्रभावित उनीहरूको राति नै उद्धार गरिएको प्रहरीले जनाएको छ।

करिब चार सय घर डुवानमा परेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए। राठौरका अनुसार उद्धार गरिएकामा काठमाडौंबाट दुई सय ३५ र ललितपुरबाट १५ जना रहेका छन्।

मनोहरा खोला किनारमा रहेको मूलपानीको बस्ती, काँडाघारी र बल्खु क्षेत्रबाट उद्धार गरिएको राठौरले जानकारी दिए। अन्य ठाउँमा डुबानको समस्या हटेको र मनोहरा खोला किनारामा उद्धार भइरहेको उनले बताए।

वर्षाका कारण खोला छेउका सुकुम्वासी बस्ती र होचो ठाउँ डुबानमा परेका छन्। नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोलीले उनीहरूको सकुशल उद्धार गरेको हो। गएराति टंकेश्वर, डल्लु, टेकु, तहाचल, वनस्पति चोक, नयाँ बसपार्क, परोपकार केन्द्र, माछापोखरी, गुह्येश्वरी, जोरपाटी र कालोपुललगायतका क्षेत्र डुबानमा परेको प्रहरीले जनाएको छ। डुबानबाट मानवीय र भौतिक क्षति भएको छैन।

प्रतिक्रिया

आजको ट्रेन्डिङ