आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

उदाउँदै गरेको सूर्य छाडेर बीपीले किन रोजेका थिए चारतारे झण्डा ?

प्रकाशित
565
SHARES

७२ वर्ष लामो राजनीतिक विरासत बोकेको पुरानो दल नेपाली कांग्रेसले १४ औँ महाधिवेशनको प्रक्रिया सुरु गरेको छ। पार्टीले शुक्रबारबाट विभिन्न जिल्लामा गाउँ/नगर वडा अधिवेशन सुरुवात गरेको हो। कांग्रेसले यसपाली क्रियाशील सदस्यहरुको संख्या वृद्धि गरेर झण्डै नौ लाख पुर्‍याएको छ। क्रियाशील सदस्यहरु पार्टीको वडा अधिवेशनका मतदाता हुन्।

क्रियाशील सदस्यले वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्न पाउँछन्। क्रियाशील सदस्यता नामावली सार्वजनिक भएकामध्ये अधिकांश जिल्लामा वडा अधिवेशन सुरु भएको पार्टीले जनाएको छ। केन्द्रीय निर्वाचन समितिले ५६ वटा जिल्लामा निर्वाचन अधिकृत खटाएको छ।

यद्यपि, निर्वाचन अधिकृत खटिएका सवै जिल्लाहरुमा वडा अधिवेशन सुरु भने भएको छैन। तयारी नपुगेको भन्दै केही जिल्लाहरूले शुक्रबार वडा अधिवेशन गर्न नसकिने निर्णय नै गरेका छन्।

नामावली प्रकाशित भइसकेका नुवाकोट, प्युठान, बाग्लुङ, झापालगायतका जिल्लाहरूले केन्द्रबाट उपलब्ध गराइएका निर्वाचन सामग्रीहरु बाढी–पहिरोका कारण आउन ढिलाइ भएको भन्दै वडा अधिवेशन पछि सारेका छन्।

देशभर रुख र चार तारे झण्डा
वडा अधिवेशन भइरहेका स्थानहरुमा आज कांग्रेसले आफ्नो चुनाव चिह्न रुख र चारतारे झण्डा फहराएको छ।

कांग्रेसको झण्डा आयाताकार छ। जसलाई तीन हिस्सामा बाँडिएको छ। माथिल्लो हिस्सा र तल्लो हिस्सा रातो छ भने बीचको भाग सेतो रङको छ। त्यही सेतो हिस्सामा चार तारा छन्। ती चार ताराको अर्थ के हो त? कांग्रेसका नेताहरुले यसलाई समयानुकूल फरक–फरक ढंगले व्याख्या गर्दै आएका छन्।

कसैले चार तारालाई कांग्रेसका संस्थापक नेताहरुसँग त कसैले जहानियाँ राणा शासनविरुद्ध संघर्ष गरेका चार शहीदसँग जोड्ने गरेको पाइन्छ।

‘नेपाली कांग्रेसको इतिहासको प्रारुप’ नामक पुस्तकका लेखक पुरुषोत्तम बस्नेतले पनि कांग्रेसको झण्डामा रहेका चार तारालाई चार शहीदसँग जोड्ने गरेको पाइएको बताए।

केही जानकारहरुका अनुसार पञ्चायती शासनविरुद्धको पहिलो जनआन्दोलनको समयमा चार तारालाई मानिसहरुले कांग्रेसका संस्थापक बीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र सूर्यप्रसाद उपाध्यायसँग जोड्ने गरेका थिए।

तर, संविधानसभा सदस्यसमेत रहेका लेखक बस्नेत कांग्रेसको झण्डामा भएका चार तारा संस्थापक नेता र शहीदहरुसँग सम्बन्धित नभएको बताउँछन्।

‘चार तारालाई चार सहिद हुन् पनि भनिन्थ्यो। कांग्रेसका संस्थापक नेताहरुसँग पनि जोडिन्थ्यो,’ उनले नेपालखबरसँग भने, ‘तर, त्यो होइन। झण्डामा रहेका चार ताराको अर्थ भिन्नै छ।’

उनी कांग्रेसको झण्डामा रहेका चार तारालाई वाक् स्वतन्त्रता, धार्मिक स्वतन्त्रता, आर्थिक स्वतन्त्रता र सुरक्षा स्वतन्त्रतासँग जोड्छन्।

‘कांग्रेसको अहिलेको झण्डा बनाउँदा भर्खरै दोस्रो विश्वयुद्ध समाप्त भएको थियो,’ उनले भने, ‘कांग्रेसका चार तारा फोर फ्रिडमसँग सम्बन्धित छन्। ती हुन्– वाक स्वतन्त्रता, धार्मिक स्वतन्त्रता, आर्थिक स्वतन्त्रता र सुरक्षा स्वतन्त्रता।’

डा. राजेश गौतमद्वारा लिखित ‘नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस’ नामक पुस्तकको पहिलो भागमा पनि कांग्रेसको झण्डामा अंकित चार तारालाई वाक् स्वतन्त्रता, धार्मिक स्वतन्त्रता, आर्थिक स्वतन्त्रता, भयबाट मुक्तिको स्वतन्त्रताको प्रतीकका साथसाथै चार जना शहीदहरुको पनि प्रतीकका रुपमा उल्लेख गरिएको छ।

सुवर्णले निर्माण गरे चारतारे झण्डा
कांग्रेसको झण्डाको माथिल्लो भाग रातो, बीचको भाग सेतो र तल्लो भाग रातो छ। यसको पनि आफ्नै अर्थ भएको बस्नेतको भनाइ छ। उनले झण्डाको माथिल्लो रातो भागलाई क्रान्ति, बीचको सेतो भागलाई शान्ति र निर्माण तथा तलको रातो भागलाई सामाजिक, सांस्कृतिक र आर्थिक क्रान्तिको सूचकका रुपमा व्याख्या गरे।

बस्नेतका अनुसार कांग्रेसको झण्डा निर्माणमा सुवर्ण शमशेर र सुन्दरराज चालिसेको विशेष भूमिका थियो। जहानियाँ राणा शासनविरुद्ध संघर्षका लागि २००५ साउन १ गते भारतको कलकत्तामा स्थापना गरिएको नेपाल प्रजातन्त्र कांग्रेसले यो झण्डा निर्माण गरेको थियो।

बस्नेतका अनुसार सुवर्ण शमशेर, महावीर शमशेर, सूर्यप्रसाद उपाध्याय, महेन्द्रविक्रम सिंह, रामेश्वरीप्रसाद उपाध्यायको पहलमा नेपाल प्रजातन्त्र कांग्रेस स्थापना गरिएको थियो। त्यसको साढे पाँच महिनापछि अर्थात् २००५ पुस १५ मा आयोजित पहिलो अधिवेशनले महेन्द्रविक्रम शाहलाई सभापति बनाउँदै झण्डा निर्माण गरेको हो।

उदाउँदै गरेको सूर्य थियो पहिलो झण्डामा
अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसले २००३ माघ १२ र १३ गते कलकत्तामा आयोजना गरेको अधिवेशनले नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरेको थियो। बीपी कोइराला, गणेशमान सिंहलगायत २ सय प्रतिनिधिको उपस्थितिमा सम्पन्न अधिवेशनले नेपालको जेलमा बन्दी जीवन बिताइरहेका प्रजा परिषद्का सभापति टंकप्रसाद आचार्यलाई नेपाली राष्ट्रिय कांग्रेसको अध्यक्षमा मनोनित गरेको थियो।

‘नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस’ नामक पुस्तकका लेखक डा. गौतमका अनुसार नेपालका राजनीतिक दलहरूको इतिहासमा विधिवत् रुपले गठन र स्थापना भएका राजनीतिक दलहरुमा पहिलो ‘नेपाली राष्ट्रिय कांग्रेस’ नै थियो।

उक्त पार्टीले माथिल्लो भाग सेतो, बीचको भाग हरियो र तलको भाग पहेँलो रंग तथा बायाँ भागमा उदाउँदै गरेको रातो रंगको सूर्य भएको झण्डा बनाएको थियो।

बस्नेतका अनुसार उक्त झण्डाको माथिल्लो भागको सेतो रंगलाई हिमशृङखलाको प्रतीक, बीचको हरियो भागलाई पहाड चिनाउने र तल्लो भागको पहेँलो रंगले तराईमा धान झुलिरहेको सूचकका रुपमा व्याख्या गरिएको थियो।

बीचको शब्द हटाएर बन्यो नेपाली कांग्रेस
तत्कालीन नेपाली राष्ट्रिय कांग्रेस र नेपाली प्रजातन्त्र कांग्रेसले पार्टी एकीकरणका लागि २००६ चैत २७ गते कलकत्ताको चौरंगीमा रहेको महावीर शमशेरको टाइगर सिनेमा हलमा बृहत् सम्मेलन आयोजना गरेका थिए। दुई दिनसम्म चलेको सम्मेलनले दुवै कांग्रेसको बीचमा रहेको शब्द हटाएर नेपाली कांग्रेस नामक राजनीतिक दल स्थापना गरेको थियो।

सम्मेलनमा नेपाली राष्ट्रिय कांग्रेसको रेग्मी समूह भने सहभागी भएको थिएन। नेपाली राष्ट्रिय कांग्रेसको बीपी समूह र नेपाली प्रजातन्त्र कांग्रेस मिलेर बनेको नयाँ दल नेपाली कांग्रेसको सभापतिमा बीपी समूहका सभापति मातृकाप्रसाद कोइरालालाई र महामन्त्रीमा नेपाली प्रजातन्त्र कांग्रेसका सभापति महेन्द्रविक्रम शाहलाई महामन्त्री छानिएको थियो।

दुवै पार्टीका चार–चार जना गरी आठ जनालाई नवगठित नेपाली कांग्रेसका केन्द्रीय सदस्य छानिएको डा. गौतमको पुस्तकमा उल्लेख छ। पुस्तकमा भनिएको छ, ‘चार जना नेपाली राष्ट्रिय कांग्रेस (बीपी समूह) बाट विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र रुद्रप्रसाद गिरी तथा नेपाल प्रजातन्त्र कांग्रेसबाट सुवर्ण शमशेर, सूर्यप्रसाद उपाध्याय, महावीर शमशेर र कुँवर कल्लु सिंह नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा छानिए।’

सहमतिविपरीत बीपीले रोजेका थिए झण्डा
दुई पार्टीबीच एकीकरणका लागि आयोजित उक्त सम्मेलनमा एकीकृत पार्टीको झण्डा कस्तो बनाउनेबारे ठूलो बहस भएको डा. गौतमले उल्लेख गरेका छन्। उनका अनुसार पार्टी एकता गर्नुअघि राष्ट्रिय कांग्रेसको झण्डालाई नै एकीकृत पार्टीको झण्डा स्वीकार गर्ने निर्णय भएको थियो।

तर, सम्मेलनमा बीपीले नेपाली प्रजातन्त्र कांग्रेसको झण्डालाई स्वीकार्न सहभागीहरुलाई प्रस्ताव गरेपछि ठूलै खलबली मच्चिएको थियो। बीपीको प्रस्तावलाई चर्को रुपमा विरोध गर्नेमध्येमा थिए– गणेशमान सिंह।

यद्यपि, पछि बीपीले नेपाली प्रजातन्त्र कांग्रेसको झण्डा स्वीकार गर्नुको रहस्य खुलाएपछि गणेशमानले उनको प्रस्तावमा स्वीकृति जनाएका थिए। डा. गौतमका अनुसार सम्मेलनमा प्रस्ताव गर्नुअघि बीपी र मातृकाबीचमा नेपाली प्रजातन्त्र कांग्रेसको झण्डा स्वीकार्ने निर्णय भइसकेको थियो।

‘उक्त सम्मेलनमा विश्वेश्वरप्रसाद कोइरालाले राखेको उक्त प्रस्तावको विरोध गणेशमान सिंहले गरेपछि यी सबै कुरा विश्वेश्वरप्रसाद कोइरालाले उक्त सम्मेलनमा बताई आफू र मातृकाप्रसाद कोइरालाले नेपाली कांग्रेसको झण्डाको रुपमा नेपाली प्रजातन्त्र कांग्रेसको झण्डालाई नै स्वीकार गर्ने निर्णय पहिले नै गरिसकेको कुरा सुनाएपछि प्रतिनिधिहरुले विश्वेश्वरप्रसाद कोइरालाको प्रस्ताव स्वीकार गरे,’ डा. गौतमले लेखेका छन्।

बीपीले किन त्यही झण्डा रोजे?
दुई पार्टी एकता हुनुअघि राष्ट्रिय कांग्रेसकै झण्डालाई स्वीकार्ने विषयमा नेताहरुका बीचमा सहमति भएको थियो। तर, एकता हुनुभन्दा केही दिनअघि सुवर्ण शमशेर र बीपीका बीचमा भेट भयो।

भेटमा सुवर्णले बीपीलाई थर्टिन थिएटरको चार तले घरको निरीक्षण गराएका थिए। उक्त घरका चारवटै तला चारतारे झण्डाले भरिभराउ थिए। चार तले घरमा थुपारिएका चारतारे झण्डा देखेपछि बीपीले सुवर्णसँग जिज्ञासा राखे– यतिका झण्डा किन?

२०४७ चैत २६ गते पुनर्जागरण साप्ताहिकमा प्रकाशित गणेशमान सिंहको ‘चारतारे झण्डाको कथा’ उद्धृत गर्दै डा. गौतमको पुस्तकमा लेखिएको छ, ‘सुवर्ण शमशेरले जवाफमा भन्नुभयो– कोइरालाजी हामीले नेपालमा क्रान्ति गर्ने निश्चय गरेर यो झण्डा बनाएका हौं। देशभरि झण्डा फहराउन थोरैले पुग्दैन भनेर फुर्सदको समयमा बनाउँदा बनाउँदै थुप्रो हुन पुग्यो।

हाम्रो आवश्यकता हेर्दा यो पनि पर्याप्त होला जस्तो लाग्दैन। तैपनि क्रान्तिकालमा प्रयोग गर्न प्रशस्त होला भन्ने मलाई लागेको थियो। तपाईंहरुले यो झण्डाको सट्टा नेपाली राष्ट्रिय कांग्रेसको झण्डा स्वीकार गर्ने सम्झौता गर्नुभएको रहेछ। अब लाखौँ रुपैयाँ खर्च गरेर तयार पारेका यी झण्डाहरू त्यसै खेर जाने भए। पार्टीको सम्पत्तिमा ठूलो नोक्सान हुने भयो।’

पुस्तकमा उल्लेख भएअनुसार उक्त भेटमा सुवर्णले बीपीलाई झण्डाबारे पुनर्विचार गर्न आग्रह गरेका थिए। जवाफमा बीपीले सुवर्णलाई धन्दा नमान्न आग्रह गर्दै नेपाली प्रजातन्त्र कांग्रेसकै झण्डा स्वीकार्न पार्टीका नेताहरुलाई सम्झाउने वचन दिएका थिए।

‘नेपाली कांग्रेसका इतिहासको प्रारुप’ नामक पुस्तकका लेखक बस्नेत ठूलो परिमाणमा बनाइएका झण्डा खेर जान नदिन बीपीले पूर्वसहमतिविपरीत नेपाली प्रजातन्त्र कांग्रेसको झण्डा स्वीकार गरेको बताउँछन्। तत्कालीन अवस्थामा नेपाली राष्ट्रिय कांग्रेसको आर्थिक अवस्था नाजुक भएका कारण पनि बीपीले उक्त पार्टीको झण्डा स्वीकार्नुपरेको उनको भनाइ छ।

‘सुवर्ण शमशेरहरुले धेरै ठूलो परिमाणमा झण्डाहरू बनाएका रहेछन्। बीपीको पार्टी आर्थिक संकटमा थियो,’ बस्नेतले नेपालखबरसँग भने, ‘त्यो परिमाणमा नयाँ झण्डा बनाउन लाखौं रुपैयाँ लाग्ने र लाखौं खर्च गरेर बनाइएका झण्डा खेर जाने देखेपछि बीपीले यसैलाई झण्डा बनाऔं भन्नुभयो।’ नेपाल खबरबाट साभार

प्रतिक्रिया