आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तरिक्षमा महाशक्ति बन्ने होडमा चीन, अमेरिकालाई झट्का

प्रकाशित
848
SHARES

एजेन्सी।  अमेरिकाले हाल संचालनमा रहेको एक मात्र स्पेस स्टेसन आईएसएसमा चीनलाई सन् २०११ मा प्रतिबन्ध लगाएको थियो। सुरक्षा खतरा भएको बताउँदै अमेरिकाले त्यसबेला चीनलाई आईएसएसमा प्रतिबन्ध लगाएको थियो।

अमेरिकाको दुईवटा आरोप थियो। पहिलो, चीनले एन्टी–सेटेलाइट हतियार प्रयोग गरेको छ र दोस्रो, चीनले अमेरिकी अन्तरिक्ष संस्था नासाको जेट प्रोपोल्सन ल्याबोरेटोरीमा ह्याकिङ गरेर बौद्धिक सम्पत्ति चोरी गरेको छ। यी आरोपहरुको चीनले खण्डन गर्दै आएको छ। तथापी सोही कारण हालसम्म चीनलाई सो अन्तरिक्ष स्टेसन प्रयोग गर्न दिइएको छैन। सो स्पेस स्टेसन अमेरिका, रुस, युरोप, जापान र क्यानडाले मिलेर बनाएका हुन्।

स्पेस स्टेसन अन्तरिक्षयात्रीको घर मानिन्छ। त्यहाँ अन्तरिक्षयात्रीहरु लामो समयसम्म अन्तरिक्षबारे अध्ययन गर्न बस्दछन्। सो स्पेस स्टेसनमा अमेरिकाले चीनलाई प्रतिबन्ध लगाएपछि यतिबेला चीनले आफू एक्लैले स्पेस स्टेसन बनाउन सुरुवात गरेको छ।

आगामी वर्षको डिसेम्बरबाट संचालनमा आउने गरी स्पेस स्टेसन बनाउने काम भइरहेको चीनको अन्तरिक्ष संस्थाले जनाएको छ। वास्तवमा अमेरिकी प्रतिबन्धपछि चीन अन्तरिक्षको सम्बन्धमा थप शक्तिशाली भएको हो। चीन प्रविधिको क्षेत्रमा पनि निकै अगाडि देखिएको छ।

आईएसएस सन् २०२४ सम्म मात्र संचालनमा आउने भएकाले चीनको यस स्पेस स्टेसनलाई निकै महत्वका साथ हेरिएको छ। सन् २०२४ पछि चीनको मात्र स्पेस स्टेसन अन्तरिक्षमा हुँदा चीनको हालिमुहाली हुनेछ। चीन अन्तरिक्षमा महाशक्ति हुनेछ। यद्यपी अमेरिका लगायत अन्य गठबन्धनले नयाँ अन्तरिक्ष स्टेसन भने बनाउनेछन्।

चीनले अन्तरिक्षको मामिलामा सबैभन्दा पछि कदम चालेको थियो। सन् २००३ मा बल्ल चीनको अन्तरिक्षयात्री अन्तरिक्षमा पुगेका थिए। चीनभन्दा धेरै अगाडि रुस र अमेरिकाले यो उपलब्धि हासिल गरिसकेका थिए।

तर चीन एक्लैले स्पेस स्टेसन बनाउन थाल्नाले चीन प्रविधिको क्षेत्रमा निकै अब्बल भएको विश्लेषण भइरहेको छ। चीनले हाल अन्तरिक्षमा तियान्हे नाम दिइएको नयाँ अन्तरिक्ष केन्द्र बनाइरहेको हो। त्यहाँ पहिलोपटक ३ अन्तरिक्षयात्री पुगेर काम थालिसकेका छन्।

नी हाइसेङ, लिउ बोमिङ र ताङ होङ्बो नाम गरेका तीन अन्तरिक्षयात्रीले त्यहाँ ३ महिना बस्नेछन्। उनीहरुले अन्तरिक्ष केन्द्रको निर्माण र मर्मतका साथै वैज्ञानिक अनुसन्धान सुरुवात गरिसकेका छन्। गत जुन महिनामा उनीहरु त्यहाँ पुगेका हुन्। गत जुलाईको सुरुवातमा उनीहरुले पहिलो स्पेस वाक गरेका थिए।

आज शुक्रबार मात्र उनीहरुले दोस्रो स्पेस वाक पुरा गरेको सिन्ह्वाले जनाएको छ। नी हाइसेङ र लिउ बोमिङ स्पेस स्टेसन बाहिर अन्तरिक्षमा हिँडेका थिए। सिन्ह्वाका अनुसार हाल सबैको स्वास्थ्य अवस्था सामान्य छ।

यो पनि। मङ्गल ग्रहः नासाको पर्सिभिअरन्स रोभरले कसरी सङ्कलन गर्‍यो चट्टानको नमुना

अमेरिकी अन्तरिक्ष निकाय नासाको पर्सिभिअरन्स रोभरले दोस्रो प्रयासमा मङ्गल ग्रहबाट चट्टानको नमुना सङ्कलन गरेको जस्तो देखिएको छ।उक्त रोबटले “रोशेट” नाम दिइएको एउटा बाक्लो ढुङ्गामा प्वाल पारेर उक्त नमुना निकालेको हो।तस्बिरहरूमा ढुङ्गाको भित्री भागबाट सुरक्षित रूपमा नमुना निकालिएको सङ्केत देखिन्छ।

गत महिना गरिएको पहिलो प्रयासमा सङ्कलन गर्न खोजिएको नमुना धूलोपिठो भएको थियो। यदि पर्सिभिअरन्स आफ्नो काममा सफल भएको रहेछ भने पृथ्वीबाहिर कुनै ग्रहबाट पृथ्वी ल्याउन चट्टान सङ्कलन गरिएको यो पहिलो पटक हुनेछ।

उक्त रोभरले आगामी वर्षभित्र दुई दर्जन वटाभन्दा बढी नमुना सङ्कलन गर्ने जिम्मा पाएको छ। यो दशकको अन्त्यतिर अमेरिका र युरोपको संयुक्त प्रयासमा ती नमुना अनुसन्धानका लागि पृथ्वीमा ल्याइने योजना छ। चट्टानमा प्वाल पार्ने अभ्यास साँच्चै सफल भएको घोषणा गर्नका लागि नासाले मङ्गल ग्रहमा खिचिएका थप तस्बिरहरू कुरिरहेको छ।

तर सफलता हात लागेकोमा उक्त संस्था विश्वस्त देखिएको छ। अझ निश्चित हुन राम्रो प्रकाश भएका थप केही तस्बिर चाहिन्छ,” रोभरका प्रमुख इन्जिनियर एडम स्टेल्ट्ज्नरले ट्वीट गरेका छन्।नासाको पर्सिभिअरन्स रोबटले गत फेब्रुअरी महिनामा मङ्गल ग्रहको जेजेरो क्र्याटरमा अवतरण गरेको थियो।

मङ्गल ग्रहको मध्यरेखाबाट २० डिग्री उत्तरमा अवस्थित उक्त खाडल गहिरो छ र ४५ किलोमिटर चौडा छ। त्यहाँ अर्बौँ वर्षअघि विशाल ताल भएको विश्वास गरिन्छ। त्यसैले मङ्गल ग्रहमा जीवन अस्तित्वमा थियो भने जेजेरोको थेगरमा प्राचीन सूक्ष्मजीवको अंश भेटिन सक्ने वैज्ञानिकहरूको अनुमान छ।

अवतरण गरिएको ठाउँबाट रोबट दुई किलोमिटरभन्दा केही पर गुडेर “सिटडेल” नाम दिइएको डिलमा पुगेको छ। सोही स्थानमा भएको चट्टानमा प्वाल पारेर नमुना सङ्कलन गरिएको हो। अगस्ट महिनामा पेभर स्टोनमा प्वाल पार्दा सङ्कलित नमुना धूलिएको थियो।

उक्त रोबटमा भण्डार गर्ने प्रणाली पनि छ।चट्टानमा प्वाल पारेर निकालिएको मानिसको औँलाजत्रो टुक्रा टाइटेनीअम ट्यूबमा राखिनेछ। नली आकारको उक्त भाँडोमा नमुना राखेर सील गर्नुअघि रोभरले त्यसको तस्बिर खिच्नेछ।

गत अगस्टमा यही चरणमा पहिलो पटक सङ्कलन गरिएको नमुना ट्यूबमा नभएको भेउ वैज्ञानिकहरूले पाएका थिए। प्वाल पार्ने क्रममा चट्टान धूलोपिठो भएर भुइँमा खसेको थियो। गत बिहीवार पृथ्वीमा पठाइएका तस्बिरहरू देखेर नासाको टोली उत्साहित छ किनभने तिनले सङ्कलित नमुना भण्डार गर्न लगिएको भाँडोको मुखभित्र भएको सङ्केत देखाएका छन्।

थप तस्बिरले यसको पुष्टि गर्ने अपेक्षा वैज्ञानिकहरूको छ। त्यसपछि रोभरले नमुनालाई भित्री भागमा पूर्ण रूपमा प्रशोधन गर्नुपर्छ। एप्रिल ६ मा पर्सिभिअरन्सले आफ्नो सेल्फी खिचेको थियो। यो तस्बिर ६२ वटा तस्बिरहरू जोडेर बनाइएको हो।

पर्सिभिअरन्सलाई त्यसको सानो हेलिकप्टर “इन्जन्यूइटी” ले आफ्नो छायामा पार्न छोडेको छैन। सुरुमा प्रविधिको प्रदर्शन गर्न पठाइएको भए पनि उक्त ड्रोनलाई अहिले रोभरभन्दा अघिअघि मङ्ल ग्रहको भुइँको निरीक्षण गर्न नियमित रूपमा प्रयोग गरिन्छ। अहिलेसम्म इन्जन्यूइटीले १२ पटक उडान गरेको छ।

 

प्रतिक्रिया