आज : गते

ताजा शिर्षकहरु

तालिबान नयाँ सरकार घोषणा गर्दै, अफगानी महिला सडकमा, राष्ट्रपति भवन अगाडि प्रदर्शन

प्रकाशित
1K
SHARES

एजेन्सी। अफगानिस्तानमा आज तालिबानले नयाँ घोषणा गर्ने भएको छ । शुक्रबारै घोषणा गर्ने भनिए पनि तालिबानका शीर्ष नेताले स्थगन गरेका थिए । अब आफ्नो नेतृत्वको सरकार आज घोषणा गरिने तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले बताएका छन् ।

तालिबान स्रोतका अनुसार सरकारको नेतृत्व तालिबानका सहसंस्थापक एवं दोहास्थित राजनीतिक कार्यालयका प्रमुख मुल्ला अब्दुल गनी बरादरले गर्नेछन् । मुल्ला बरादरसँगै तालिबानका संस्थापक मुल्ला उमरका छोरा मुल्ला मोहम्मद याकुब र शेर मोहम्मद अब्बास स्टेनजकईले पनि सरकारमा महत्त्पूर्ण भूमिका पाउने छन् ।

तालिबानका सूचना तथा संस्कृति आयोगका वरिष्ठ अधिकारी मुफ्ती इनामुल्लाह सामंगानीले सबै शीर्ष नेता राजधानी काबुल आइसकेको र नयाँ सरकार घोषणाको अन्तिम तयारी रहेको बताएको छन् । उनका अनुसार सरकार गठनका लागि आपसी सहमति भइसकेको छ । मन्त्रिमण्डलका विषयमा केही आवश्यक छलफल जारी छ ।

इस्लामिक ढाँचाको सरकार
एक वरिष्ठ तालिबान अधिकारीका अनुसार संगठनका सर्वाेच्च नेता हबतुल्लाह अखुन्दजादाले धार्मिक पक्ष र इस्लाम दायरामा रहेर इरानी शैलीको राज्य व्यवस्थाको ढाँचा तयारीमा ध्यान केन्द्रित गरेका छन् । प्राप्त जानकारीअनुसार नयाँ तालिबानी सरकारमा १२ जना मुस्लिम विद्वान रहेको सुरा वा सल्लाहकार परिषदसँग २५ मन्त्री हुनेछन् ।

६ महिनादेखि ८ महिनाभित्र एक लोया जिरगा अर्थात् महासभा बोलाउने योजना पनि बनाइँदै छ, जहाँ संविधान र आगामी सरकारको संरचनाबारे छलफल गर्न अफगान समाजका बूढापाक र प्रतिनिधिलाई सहभागी गराइनेछ ।

यसै बीच  अफगानिस्तानमा तालिबानी शासनको त्रासबीच नै पनि महिलाहरु सडकमा उत्रिएका छन् । उनीहरुले राष्ट्रपति भवन अगाडि प्रदर्शन गरेका हुन् ।उनीहरुले सरकारमा महिलालाई पनि सामेल गराउन माग गरेका छन् ।

उनीहरुले अब बन्ने मन्त्रिपरिषदमा महिलालाई पनि सामेल गराउन आग्रह गरेको पर्चा बोकेर प्रदर्शन गरेका हुन् । अफगानिस्तानमा तालिबानले कब्जा गरेसँगै संसारभरबाट त्यहाँका महिला र बालबालिकाको अवस्थाबारे चिन्ता व्यक्त गरिरहेकै समयमा त्यहाँका केही महिलाले प्रदर्शन गर्ने आँट गरेका हुन् ।

उनीहरुले पुरुष सरह महिलालाई पनि अधिकार हुनुपर्ने माग पनि गरेका छन् । बीस वर्ष अगाडीको तालिबानी शासनमा महिलामाथि गरिएको बर्बर अत्याचारको त्रासमा परेका महिलाहरुले यस पटक त्यस्तो नहोस् भनिरहेका छन् ।

त्यसबेला सबै महिलाले पूरै शरीर ढाक्ने बुर्का अनिवार्य लगाउनुपर्नेदेखि दश वर्षमाथिका बालिकालाई विद्यालय जान समेत रोक लगाइएको थियो । तालिबानले उसको शासन इस्लामी कानून अर्थात् शरियाअनुसार हुने जनाएको छ । तालिबानले काबुल कब्जा गरेलगत्तै महिलालाई घरमै बस्न उर्दी समेत जारी गरेको छ ।

चीन हाम्रो महत्वपूर्ण साझेदार मुलुक : तालिबान

तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले चीन आफूहरुको सबैभन्दा महत्वपूर्ण साझेदार मुलुक भएको बताएका छन् । उनले अब अफगानिस्तानको आर्थिक भविष्य चीनको हातमा रहेको बताएका छन् । तालिबानले चीनलाई युद्धग्रस्त मुलुकको पुनर्निर्माणको लागि आग्रह गरेको छ ।

बिहीबार प्रकाशित भएको एक अन्तर्वार्तामा मुजाहिदले भनेका छन्, ‘चीन हाम्रो सबैभन्दा महत्वपूर्ण साझेदार मुलुक हो । हाम्रो लागि उसले अवसर दिन गइरहेको छ । चीन अफगानिस्तानमा लगानी र निर्माणको लागि तयार छ ।’ ३१ अगष्टबाट अफगानिस्तानबाट सबै विदेशी सैनिक फिर्ता गइसकेका छन् र तालिबानले सरकार बनाउने प्रक्रिया सुरु गरेको छ । अहिले अफगानिस्तान आर्थिक र खाद्य संकटको सामना गरिरहेको छ ।

मुजाहिदले चीनको न्यु सिल्क रोडबाट अफगानिस्तानलाई फाइदा हुने बताएका छन् । उनले भने, ‘न्यु सिल्क रोड वा वान बेल्ट वान रोडले चीन, अफ्रिका, एसिया र युरोपलाई जोड्नेछ । यो कार्यक्रममा बन्दरगाह, रेलवे, सडक र औद्योगिक पार्क बन्ने छन् ।’ अफगानिस्तानमा तामाको ठूलो भण्डार छ र अफगानिस्तानको यो खानी तालिबानले चीनलाई हस्तान्तरण गर्न सक्छ । मुजाहिदले चीनले अफगानिस्तानको खानीलाई आधुनिकीकरण गर्ने बताएका छन् ।

मुजाहिदले महिलालाई विश्वविद्यालयमा पढ्ने अनुमति हुने, नर्स र प्रहरीमा पनि काम गर्न सक्ने बताएका छन् । यद्यपि उनले महिलालाई कुनै मन्त्रालयको जिम्मेवारी भने नदिइने बताएका छन् । तालिबानले रुससँग पनि आफूहरुको राजनीतिक तथा आर्थिक सम्बन्ध रहेको बताएको छ । मुजाहिदले रुसले शान्ति सम्झौताको लागि मध्यस्थता गरेको र शान्ति वार्तामा उसले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ