आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अर्बपति मन्त्री : करोडौंको शेयर, जग्गैजग्गा, घरैघर

प्रकाशित
749
SHARES

काठमाडौ। विश्वप्रसिद्ध पत्रिका फोर्ब्सले सार्वजनिक गर्ने विश्वका डलर अर्बपतिहरुको सूचीमा नेपालका एक जना विनोद चौधरी मात्र छन् । नेपालमा पनि धेरै अर्बपतिहरु भएको चर्चा हुने गर्छ । त्यस्तै अर्बपति राजनीति क्षेत्रमै भेटिएका छन् ।

गण्डकी प्रदेशका मन्त्रीले बुधबार सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापा पनि अर्बपति हुन् । पोखराका घरजग्गा व्यवसायी थापाको पोखरा महानगरको प्राइम लोकेसन नयाँबजार, लेकसाइड र महेन्द्र पुलमा ६ वटा घर छन् । उनले करोडौं रुपैयाँ खर्चिएर नयाँबजारमै पुरानो शैलीको घर बनाएका छन् ।

थापाको पोखरामा ३ वटा होटल तथा रिसोर्ट र २ वटा ब्यापारिक भवन रहेका छन् । उनले पोखरामा पोखरा बुटिक होटल प्रालि, बगैंचा रिसोर्ट र रोयल हिमालयन रिसोर्ट प्रालि सञ्चालन गर्छन् । त्यस्तै सिटी ट्रेड मल, गण्डकी ट्रेड हाउस, अंशुभरा स्क्वायर प्रालिलगायतका व्यापारिक भवन पनि उनकै नाममा छ । पोखराकै ठूलो मल मध्यमा पर्ने पोखरा ट्रेड मलमा पनि उनको लगानी छ ।

पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका थापा विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गरेका छन् । मेगा बैंकसँग मर्ज हुनु पहिले थापा पोखराको विश्व विकास बैंकका अध्यक्षसमेत थिए । थापा मेगा बैंकको संस्थापक शेयरधनी पनि हुन् ।

थापाको मेगा बैंकको ४ लाख, ६८ हजार ५६ कित्ता, सेन्चुरी कमर्सियल बैंकको ९१ हजार ३ सय ६७, सिद्धार्थ बैंकको ४३ हजार ७ सय ७८, लुम्बिनी विकास बैंकको ५० हजार ९ सय ९ कित्ता शेयर छ ।

यसैगरी मेगामै श्रीमती मनलक्ष्मी थापाको नाममा ५० हजार, राधा लक्ष्मी थापा क्षेत्रीको नाममा २७ हजार ३ सय ८१ र छोरा सौगात थापाको नाममा २६ हजार १ सय १६ कित्ता विभिन्न बैंकको शेयर छ ।

थापाले अधिकांश कारोबार श्रीमतीको नामबाट गर्ने गरेका छन् । उनको छोरा सौगात थापाको नाममा पनि व्यवसाय तथा जग्गा रहेको छ । सम्पत्ति विवरणमा थापाको पोखराका विभिन्न ठाउँमा १ सय १८ कित्ता जग्गा रहेको देखिएको छ । ‘अटो मोबाइल र रियल स्टेट मेरो पुरानो व्यवसाय हो,’ मन्त्री थापाले भने, ‘मल बैंक, होटल, रिसोर्टमा लगानी गरेको छु ।’

थापाले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार ९० तोला सुन, १५ तोला हिरा र ५० तोला चाँदी उनीसँग छ । थापासँग २ करोड २५ लाख मूल्यका २ गाडी छन् । थापाले विभिन्न बैंकबाट करिब ३१ करोड रुपैयाँ ऋण लिएका छन् ।

राष्ट्र बैंकको जागिर छाडेर अटो क्षेत्र हुँदै रियल स्टेट र विभिन्न व्यवसायबाट प्रशस्त सम्पत्ति कमाएका थापा उद्योग वाणिज्य संघको अध्यक्षको कार्यकाल सकिएपछि २०७३ सालबाट नेपाली कांग्रेसमा सक्रियता बढाएका थिए । पोखरा महानगरपालिकाको मेयर दाबी गरेका थापाले प्रदेश सभाको टिकट हात पारेका थिए ।

कास्की क्षेत्र नम्बर २ (ख)मा माओवादीका प्रभावशाली नेतामै पर्ने राजकाजी गुरुङ ‘करण’लाई हराउँदै थापा कास्कीमा कांग्रेसबाट जित्ने एकमात्र सांसद बने । त्यसपछि झन् थापाको राजनीतिमा पनि प्रभाव थपिएको थियो । तनहुँका पाका कांग्रेस नेता डोबाटे विक मन्त्री बन्ने निश्चित भए पनि उनको सट्टा विन्दुलाई मन्त्री बनाएको भनी कांग्रेसको आलोचना भएको थियो ।

निष्ठाको राजनीतिमाथि हाबी भएका धनाढ्य मन्त्री

उद्योग वाणिज्य संघ, पोखराको अध्यक्षबाट २०७३ सालमा बिदा भएपछि व्यवसायी बिन्दुकुमार थापाले एउटा अनौपचारिक कार्यक्रममा भनेका थिए, ‘व्यापार भन्दै धेरै कुदियो । अब राजनीतितिर लाग्ने हो ।’

नेपाल राष्ट्र बैंकको जागिर छाडेर अटो क्षेत्र हुँदै रियल स्टेट व्यापारबाट धनाढ्यको परिचय बनाइसकेका थिए । २०७१ सालमा संघको अध्यक्ष हुनुअघि नै उनमा राजनीतिको भोग जागिसकेको थियो । अध्यक्षबाट हट्नासाथ नेपाली कांग्रेसमा उनले सक्रियता बढाए । २०७४ को स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकाको मेयरमा दाबी गरे । पूर्वमन्त्री महादेव गुरुङ, कृष्ण केसी, देवराज चालिसे, रामजी कुँवर लगायत करीब एकदर्जन जिल्ला नेता मेयरका आकांक्षी थिए ।

रामजी कुँवरले टिकट पाए । तर थापाले राजनीतिमा सक्रियता घटाएनन्, बरु बढाए । कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल मात्र होइन, केन्द्रबाट हरेक नेता आउँदा जोडदार खातिरदारी गरे । एक नेता भन्छन्, ‘मनग्गे पैसा भएकाले चाँडै नेताहरुसँग सम्बन्ध जोड्न सके ।’

२०७४ को आम निर्वाचनमा आजीवन कांग्रेसको राजनीति गरेका थुप्रै आकांक्षीलाई पछि पार्दै कास्की क्षेत्र नम्बर २ (ख) मा टिकट पाए । ‘पैसाले टिकट किनेको’ भन्दै उनी विरुद्ध नरेशशंकर पालिखेले बागी उम्मेदवारी नै दिए ।

तर, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन देशका धेरै क्षेत्रमा चुनाव जित्दा थापाले कास्कीमा कांग्रेसको बीउ जोगाए । बागीको चुनौतीबीच पनि उनी माओवादी केन्द्रका प्रभावशाली नेतामध्येमै पर्ने राजकाजी गुरुङ (करण)लाई करीब ८०० मतान्तरले पराजित गर्दै प्रदेशसभामा प्रवेश गरे ।

गण्डकी प्रदेशमा कांग्रेसले पाएको १५ सांसदमध्ये ६ जना मात्र प्रत्यक्ष निर्वाचित छन् । प्रत्यक्ष निर्वाचित सांसद भएकाले उनले संसदीय दलको नेता बन्न दौडधुप गरे, तर उनको जोर चलेन । कांग्रेसको राजनीतिमा जीवन गुजारेका कृष्णचन्द्र नेपाली पोखरेल दलको नेता बने । तर प्रदेशसभामा उनको सक्रियता कायमै रह्यो । शून्य र विशेष समयमा धेरै बोल्ने सांसदमध्ये पर्छन् उनी ।

पाँच वर्ष प्रतिपक्षमा बस्न पठाएको कांग्रेसलाई नेकपाको फुटसँगै सत्ताको अवसर जुर्‍यो । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी लगायतका दलले वैकल्पिक सरकार गठन गर्ने प्रयास थाले । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव लैजाने छलफलका लागि नेताहरुले थापाकै घर रोजे ।

झण्डै दुई महिनाको प्रयासपछि २९ जेठमा कांग्रेस संसदीय दलका नेता पोखरेल मुख्यमन्त्री बने । थापाले फेरि मन्त्रीका लागि दौडधुप शुरु गरे, जसमा उनी सफल भएका छन् । ‘कास्कीमा थापाको सम्भावना न्यून थियो । पार्टीमा लगानी, क्षेत्र र समूह मिलाउँदा उनी पर्थेनन्,’ कांग्रेसका एक सांसद भन्छन्, ‘तर शेरबहादुरदेखि शशांक कोइरालासम्म सेटिङ मिलाउन उनी सफल भए ।’

मुख्यमन्त्री पोखरेलले शुक्रबार दोस्रो पटक मन्त्रीमण्डल विस्तार गर्दा थापा कानून, सञ्चार तथा प्रदेश मामिला मन्त्री बने । त्यसका लागि चार दशकभन्दा लामो समय कांग्रेसको राजनीतिमा रहेका तनहुँका सांसद डोबाटे विकको नाम काटियो । ‘रामचन्द्र पौडेल समूहका विकको नाम टुंगो लागेर सपथका लागि खबर भइसकेको थियो, तर अचानक उनको नाम काटियो,’ एक सांसद भन्छन् ।

यसमा विकको प्रतिक्रिया छ, ‘४२ वर्षदेखि निष्ठाको राजनीति गरिरहेको छु । अहिले अपमान गरियो । योभन्दा अरु म के भन्न सक्छु र ?’ समूह मिलाउन र मन्त्रिमण्डल समावेशी बनाउन पनि विकलाई मन्त्री बनाउन खोजिएको कांग्रेसका एक सांसद बताउँछन् । भन्छन्, ‘पैसावाला बिन्दु थापालाई मन्त्री बनाउन सभापतिकै निर्देशनबाट चारदशक लामो निष्ठापूर्ण राजनीतिको हत्या गरियो ।’ कानून पढेका थापाले कानुन मन्त्रालय नै पाएका छन् ।

यो पनि : सफल हुने हो भने एक चोटी पागल बन्नुहोस्

वाल्ट डिज्नेले भनेका थिए, ‘यदि तपाईं कुनै चिजको सपना देख्न सक्नुहुन्छ भने तपाई त्यसलाई गर्न पनि सक्नुहुन्छ ।’ उनले त्यो यसकारणले मात्र भनेका होइनन् कि त्यो सुन्दा बडो आनन्द लाग्दछ ।

उनले त्यो यस कारणले भनेका हुन् कि उनी व्यक्तिगत अनुभवबाट त्यसको वास्तविकता पनि जान्दथे । वाल्ट डिज्नेले काटुनिष्टको रुपमा काम गर्न शुरुवात गरेका थिए र पछि गएर उनी एउटा ज्यादै सफल व्यापारी बन्न पुगे।

उनको कथा त्यतिबेलाबाट शुरु भएको हुन्छ, जब उनी कलेजको आफ्नो पढाइलाई अधुरो छाडेर सेनामा भर्ती भए र फर्केपछि उनी काटुनिष्ट बन्न शुरु गरे । त्यसपछि जब उनी एकजना साझेदार साथीसँग काटुन व्यापारमा लागे तर व्यापार असफल भयो ।

त्यसपछि वाल्ट पागलजस्तै बन्न पुगे र उनलाई बाँच्नका लागि हात फैलाएर माग्नुपर्ने भयो । उनले क्यालिफोर्निया गएर फेरि अर्को पटक दोहोऱ्याएर काटुनको व्यापार शुरु गर्ने निर्णय गरे तर उनीसँग पैसा थिएन । त्यसैले उनले आफ्ना सबै सामानहरु बेचिदिए । उनी चालीस डलर पैसा, एउटा छालाको सुटकेश, एउटा पुरानो सुट र लत्ताकपडा लिएर क्यालिफोर्निया पुगे ।

अनि उनीसँग एउटा सपना पनि थियोन। क्यालिफोर्निया पुगेर उनले एउटा कम्पनी खोले । तर उनलाई त्यसबाट पनि सफलता प्राप्त हुन सकेन र उनले दुई पटक मानसिक यातना सहनु पर्यो तर पनि उनीसँग आफ्नो सपना अझै बाँकी थियो ।

आखिरमा उनलाई डिज्नील्याण्ड शुरु गर्नका लागि आफ्नो कार बेच्नुपर्ने भयो, आफ्नो घर बन्धकी राख्नुपर्ने भयो तर पनि उनको सपना अझै बाँकी थियो । उनी ऋणमा नराम्ररी डुबे । धेरैजसो मानिसहरुले उनको प्रस्तावलाई अस्वीकार गरे तर पनि उनको सपना अझै बाँकी थियो ।

कतिपय मानिसहरु उनलाई देखेर हाँसे उनलाई पागल भने । तर पनि उनले आफ्नो सपनालाई छाडेनन् । डिज्नील्याण्ड खुल्यो र अमेरिकाको सबैभन्दा ठूलो आकर्षक केन्द्र बन्न पुग्यो । वाल्ट डिज्नी करोडपति बने । त्यसैले यदि तपाई कुनै कुराको सपना देख्न सक्नुहुन्छ भने तपाईं त्यसलाई पूरा गर्न पनि सक्नुहुन्छ ।

प्रतिक्रिया