आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

तुइन काट्ने एसएसबीका जवान माथि कारवाही सुरु, सरकारले लियो एक्सन

प्रकाशित
470
SHARES

काठमाडौ। महाकाली नदी पार गर्नेक्रममा तुइन काट्ने भारतीय सशस्त्र सीमा बल एसएसबीका जवानलाई कारवाही हुने भएको छ। सरकारले यसका लागि प्रक्रिया अगाडि बढाएको छ ।

टुइन काटेपछि नेपाली युवा जयसिंह धामी बेपत्ता भएका थिए। एसएसवीका जवानले अपराध गरेको भन्दै जघन्य अपराधसम्बन्धी घटनाको अनुसन्धान र पीडित परिवारलाई उचित क्षतिपूर्ति भराउने गरी सरकारले भारतसँग कूटनीतिक पहल थालेको छ।

यसका लागि गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको छ । सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठिन छानबिन समितिले तयार पारेको प्रतिवेदनका आधारमा गृह मन्त्रालयले बिहीबार परराष्ट्रलाई पत्र पठाउँदै दोषीलाई कारबाहीको दायरामा ल्याउन र बेपत्ता रहेका धामीका परिवारलाई उचित क्षतिपूर्ति भराउने गरी भारतसँग पहल गर्न भनेको हो।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने यसबारे बोल्न चाहेनन्। ‘छानबिन प्रतिवेदनबाट प्राप्त तथ्यबारे संक्षिप्त व्यहोरा हामीले मंगलबार नै अवगत गराइसकेका छौं, यसबाहेक अरु विषयमा अहिले बोल्न म असमर्थ छु।

तर, स्रोतका अनुसार गृहले बुधबार दिनभर पत्रको व्यहोरा र कूटनीतिक पहलका लागि गरिने विषयबारे आन्तरिक समीक्षा, परामर्श र सम्बन्धित अधिकारीसँग छलफल गरेको थियो । त्यसपछि परराष्ट्रलाई पत्र पठाइएको स्रोतको भनाई छ।

२०७८ साउन १५ गते भारतको पाङला गाउँ नजिकै गस्कु इलाकामा खटिएका एसएसबीका जवानले महाकालीमा टाँगिएको तुइनको लठ्ठा खुस्काउँदा दार्चुला ब्यास गाउँपालिका–२, खाङदाङ मालका ३३ वर्षीय धामी उर्लदों भेलमा खसेर हराएका थिए।

अहिलेसम्म धामीको अवस्था अज्ञात छ । घटनापछि जिल्ला प्रहरी कार्यालय दार्चुलाले खोजबिन जारी राखेपनि भारतीय प्रशासन र सुरक्षानिकायबाट अनुसन्धानमा सहयोग भएको छैन । घटनाको तेस्रो दिन साउन १७ मा गृहमन्त्री बालकृष्ण खाँणले यससम्बन्धी सत्यतथ्य पत्ता लगाउन सहसचिव गौतमको संयोजकत्वमा समिति गठन गरेका थिए।

समितिले मंगलबार मन्त्री खाँणलाई प्रतिवेदन बुझाउँदै घटना गस्कुमा रहेका एसएसबीका जवानले तुइनको लठ्ठा खुस्काएका कारण भएको भन्दै अपराधमा संलग्नलाई भारतबाटै अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन र धामीका परिवारलाई उचित राहत तथा क्षतिपूर्ती दिलाउन कूटनीतिक पहलअघि बढाउन सुझाव दिएको थियो ।

सोही सुझावका आधारमा गृहसचिव टेकनारायण पाण्डेले सचिवस्तरीय निर्णय गरी प्रतिवेदनसहित परराष्ट्रलाई पत्र पठाएका हुन् । घटनाको महिनादिन बितिसक्दा पनि यसबारे परराष्ट्रले कुनै प्रतिक्रिया जनाएको छैन।

भारतीय प्रशासन र सुरक्षा निकायले पनि एसएसबीको संलग्नता अस्वीकार गर्दै घटना ढाकछोपमा लागेका थिए । तर, नेपालबाट भएको छानबिनमा एसएसबीको संलग्नता पुष्टि भइसकेको छ ।

दार्चुला घटनाबारे भारतले भन्यो : नेपालको आन्तरिक प्रतिवेदनबारे प्रतिक्रिया छैन

दार्चुला घटनाको बारेमा स्थलगत अध्ययन सकेर नेपालले तयार पारेको प्रतिवेदनलाई भारतले नेपालको आन्तरिक प्रतिवेदन भन्दै त्यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ ।

भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अरबिन्दम बाग्छीले यस घटनाका सम्बन्धमा मिडिया रिपोर्ट देखेको र आधिकारिक रुपमा आफूसँग कुनै पनि जानकारी नभएको प्रतिक्रिया दिए । उनले भारतीय सीमा सुरक्षा बलको संलग्नता छ भन्ने विषय आरोप मात्र भएको उल्लेख गरे ।

तुइन घटना अनुसन्धानमा भारतको असहयोग’

तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर दार्चुलाका एक युवक बेपत्ता भएको घटनासम्बन्धी अनुसन्धानमा नेपाली टोलीलाई भारतले ‘असहयोग’ गरेको छ । १० दिनभित्र अनुसन्धान नसकिएपछि टोलीलाई गृहमन्त्री बालकृष्ण खाँणले सोमबार ७ दिन म्याद थपिदिएका छन् ।

दार्चुलाको व्यास–२ मालघाटमा एसएसबीले तुइन फुस्काउँदा महाकालीमा जयसिंह धामी बेपत्ता घटनाको छानबिनका लागि शुक्रबार गाउँ
दार्चुला सदरमुकाम खलंगा जान साउन १५ गते व्यास गाउँपालिका–२, खाङदाङ (मालघाट) मा रहेको तुइनबाट महाकाली नदी तर्ने क्रममा ३३ वर्षीय जयसिंह धामी खसेर बेपत्ता भएका थिए ।

तुइनबाट नदी पार गर्ने क्रममा भारतीय सशस्त्र सीमा बल (एसएसबी) का जवानले लट्ठा खुस्काउँदा उनी महाकालीमा खसेको स्थानीयको भनाइ छ । घटनाको दुई दिनपछि गृह मन्त्रालयले सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिको टोली साउन १९ बाटै खलंगालाई मुकाम बनाएर घटनाको प्रमाण संकलनमा जुटे पनि भारतीय पक्षले सहयोग नगरेको स्रोतले जनाएको छ ।

गृहमन्त्री खाँणले राष्ट्रिय सभामा १८ गते र प्रतिनिधिसभामा १९ गते दार्चुला घटनाबारे सत्यतथ्य बाहिर ल्याउने प्रतिबद्धता जनाएका थिए । छानबिन समितिले स्थानीय र प्रत्यक्षदर्शीसँग कुराकानी तथा घटनास्थलको अनुगमन गरिरहेको छ । तर ठोस प्रमाण हात लागेको छैन । भारतीय प्रशासन घटनामा एसएसबीका जवान संलग्न रहेको आरोप पुष्टि नहुने भन्दै पन्छिएको छ । तुइनको लट्ठा खुस्काउने एसएसबीका जवान पहिचान गरी कारबाहीको दायरामा ल्याउन पिथौरागढस्थित भारतीय जिल्लाधिकारी (डिस्ट्रिक मजिस्ट्रेट) को कार्यालयलाई नेपाली पक्षले आग्रह गरेको थियो ।

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्– ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’

बेपत्ताको खोजबिन गर्न घटनास्थल हुँदै महाकाली क्षेत्रका दार्चुला, बैतडी र कञ्चनपुर तथा त्यही आसपासको भारततर्फ ड्रोन उडाउने प्रयास पनि विफल भएको छ । दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले महाकाली नदीपारि किनारै किनार ड्रोन उडाउन साउन २३ मा पिथौरागढस्थित जिल्लाधिकारीलाई पत्र पठाइएको तर मंगलबार साँझसम्म कुनै जवाफ नआएको बताइन् । पत्र पठाएको भोलिपल्टै प्रहरी प्रधान कार्यालयबाट ड्रोनसहितको प्राविधिक टोली खलंगा पुगेको थियो । महाकाली नदीपारि ड्रोन उडाउन भारतीय प्रशासनको अनुमति चाहिन्छ । भारतले अनुमति नदिएपछि प्राविधिक टोलीले नेपालतर्फको भूभागमा मात्रै ड्रोन उडाएर बेपत्ताको खोजबिन थालेको छ । बेपत्ता धामीको खोजीमा सुरक्षाकर्मी र स्थानीय जुटेका छन् ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले दुई साता पुग्न लाग्दा पनि बेपत्ताको अवस्था पत्ता नलागेकामा सरकार थप गम्भीर बनेको बताए । प्रतिवेदनको राय र सुझावका आधारमा बेपत्ताको परिवारका लागि राज्यका तर्फबाट राहत तथा संरक्षणका विषयमा उचित निर्णय लिइने पनि उनले जनाए । ‘दार्चुला घटनालाई सरकारले गम्भीर रूपमा लिएर नै सहसचिवको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो,’ पोखरेलले कान्तिपुरसँग भने, ‘समिति अहिले पनि फिल्डमै छ, प्रमाण संकलनको काम भइरहेकै छ ।’ उनका अनुसार घटनाबारे सुदूरपश्चिम प्रदेश सरकारका सम्बन्धित संयन्त्रसँग पनि छलफल र परामर्श गर्न निर्देशन दिइएको छ ।

महाकाली तर्दातर्दै एसएसबीले काट्यो तुइन

व्यास गाउँपालिका–२ राङ्थाङ बस्तीका ३५ वर्षीय जयसिंह धामी शुक्रबार बिहान घरबाट निस्किए । वैदेशिक रोजगारीको खोजीमा काठमाडौं पुग्ने उनको योजना थियो । दुर्भाग्य, राजधानी पुर्‍याउने बस समात्न आफ्नै जिल्ला सदरमुकाम पुग्न पनि उनलाई महाकाली पारि भारतीय बाटो नहिँडी सुख थिएन । तर, दुःखका सय जँघार तर्दै पसिना बगाउन हिँडेका उनको सपना घरनजिकै महाकालीमा डुब्न पुग्यो ।

गाउँनजिकैको मालघाटस्थित तुइनबाट महाकाली तरेर भारतीय बाटो हुँदै सदरमुकाम आउने जयसिंहको योजना थियो । तर, नदीमा खसेर उनी बेपत्ता भएका छन् । ‘तुइनमा झुन्डिएकै बेला भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीले लट्ठा फुकालिदिएपछि जयसिंह महाकालीमा खसेका हुन्,’ स्थानीय बासिन्दा भन्छन् ।

स्थानीय नवीन धामीका अनुसार सदरमुकाम खलंगा जान हिँडेका ६/७ जना शुक्रबार बिहान करिब ८ बजे महाकाली किनारामा पुगेका थिए । पालैपालो तुइन तर्ने क्रममा तीन जना पारि पुगिसकेका थिए । चौथो यात्री थिए जयसिंह । उनी पनि ताङ्लो प्रयोग गरेर झन्डैझन्डै पल्लो किनार पुगिसकेका थिए ।

‘पारि पुग्न तीन/चार मिटरमात्र बाँकी थियो होला, त्यही बेला पारिबाट एसएसबीले रूखमा बाँधिएको लट्ठा खोलिदिए । तुइनसहित जयसिंह पनि महाकालीमा खसे, पानीको वेगले उनलाई बगायो,’ नवीनले भने । एसएसबीका सुरक्षाकर्मीले लट्ठा खोल्न थालेपछि वारिबाट मान्छेहरू चिच्याएका थिए । ‘तुइन नखोल्न एसएसबीलाई आग्रह गर्दासमेत वास्ता भएन । हात जोड्दा, सलाम गर्दा पनि फटाफट तार खोलिरहे । जयसिंहले त एसएसबीले तुइन खोलेको समेत पत्तो पाएनन्,’ नवीनले भने ।

तारमा लतारिएका जयसिंह नदी किनारतिरै खसे पनि उर्लंदो काली भेलले बाँच्न पाएनन् । ‘केही परसम्म हामीहरूले जयसिंहलाई बगेको देख्यौं, केही तलसम्म खोज्न पनि गयौं तर भेट्टाउन सकेनौं,’ प्रत्यक्षदर्शी विक्रम रङ्कलीले भने । लगत्तै गाउँलेलाई घटनाबारेमा जानकारी गराएपछि सबै स्थानीय जयसिंहलाई खोज्न महाकाली किनारतिर लागेको पनि उनले बताए ।

घटनाबारे केहीबेरमै दुम्लिङ प्रहरी चौकीमा खबर भएको थियो । दुम्लिङ र सुन्सेरा चौकीबाट प्रहरी तथा दुम्लिङ बीओपीका सशस्त्र प्रहरी र स्थानीय खोजीमा जुटेका थिए । तर, मध्यरातसम्म पनि कतै केही पत्तो लागेको छैन । घटनालगत्तै नेपाल प्रहरीले पारिका प्रहरीलाई पनि खबर गरेको थियो । जयसिंहभन्दा अघि तरेर गएका तीन जनालाई केहीबेर नियन्त्रणमा लिएर एसएसबीले पाङ्लास्थित पोस्टमा राखेको थियो । पछि उनीहरूलाई छाडिसकेको छ । तर, उनीहरूसँग संवाद हुन सकेको छैन ।

धामी महाकालीमा बेपत्ता भएकै भोलिपल्ट साउन १६ मा दार्चुला प्रशासनले अनुसन्धानका लागि पिथौरागढका जिल्लाधिकारी आनन्द स्वरूपलाई पत्र पठाएको थियो । त्यही दिन घटनाको छानबिन गरी संलग्नलाई कारबाही गर्नुपर्ने भन्दै बेपत्ता व्यक्तिको परिवार र स्थानीयले प्रशासनमा ज्ञापनपत्र बुझाएका थिए । त्यसको भोलिपल्ट गृहले सहसचिव गौतमको नेतृत्वमा नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख डीआईजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका एसएसपी सुरेशकुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी भट्ट सम्मिलित छानबिन समिति गठन गरेको थियो ।

समितिले साउन १९ मा खलंगा पुगेर काम थालेको थियो । समितिले साउन २१ मा तुइन भएको भारततर्फको ठाउँ गस्कुको निरीक्षण गरेको थियो । साउन २२ मा नेपालतर्फ मालाघाट पुगेको समितिले साउन २३ र २४ मा खलंगामा बसेर समीक्षा गरेको थियो । ‘घटनाको छानबिन जारी छ, प्रमाण संकलनको काम अझै सकिएको छैन,’ दार्चुलाकी सहायक प्रजिअ भट्टले भनिन् ।

बेपत्ता धामीका परिवारले राज्यबाट उचित राहत र संरक्षण आवश्यक रहेको जनाएको छ । छानबिन समितिसमक्ष पनि यसबारे कुरा राखिएको जयसिंहका भाइ नरेन्द्रसिंह धामीले बताए ।

 

प्रतिक्रिया