आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एमसीसी अनुमोदन गर्न हात धोएर लागे देउवा, भित्रभित्रै यतिसम्म गरिसकेका रहेछन्

प्रकाशित
0.9K
SHARES

काठमाडौ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले जसरी पनि एमसीसी पास गर्ने योजना बनाएको छ । उनले आफ्नो त्यो योजना मंगलबार बसेको ५ दलिय गठबन्धनको बैठकमा राखेका छन् ।

भदौ १५ गते प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै एमसीसी संसदबाट अनुमोदन गराउने प्रस्ताव अघि सारेका थिए । एमसीसीका पूर्वाधार परियोजनाकी उपाध्यक्ष फातिमा सुमार काठमाडौं आउन लागेको सन्दर्भ पारेर प्रधानमन्त्री देउवाले एमसीसीबारे राजनीतिक दलहरूबीच परामर्श थालेका हुन् ।

सुमार आगामी हप्ता काठमाडौं आउने जानकारी नेपालस्थित अमेरिकी दूतावासले गराएको एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले बताए । ‘अर्को हप्ता एमसीसीको पूर्वाधार परियोजनाको उपाध्यक्ष नेपाल आउने भन्ने जानकारी अमेरिकी दूतावासले दिएको छ । कुन दिन आउने र के–के कार्यक्रम छन् भन्नेबारे खुलाएको छैन,’ विष्टले भने ।

नेपालमा राजनीतिक दलहरूबीच एमसीसी संसदबाट अनुमोदन गर्नेबारे राजनीतिक दलहरू एकमत छैनन् । सत्तारूढ गठबन्धनमा रहेका राजनीतिक दलले नै एमसीसी अघि बढाउनेबारे सहमत छैनन् ।

प्रधानमन्त्री देउवाले एमसीसीको प्रसङ्ग निकालेपछि बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमसीसी अगाडि बढाउन गठबन्धनमै समस्या आउन सक्नेमा प्रधानमन्त्रीलाई सचेत गराएको बैठकमा सहभागी एक नेताले बताए ।

सत्ता गठबन्धनमा रहेको दल राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनमा एमसीसीको विषय ल्याए जनमोर्चा गठबन्धनबाट बाहिरिने चेतावनी दिइसकेका छन् । उनले साउनको पहिलो हप्ता नै गठबन्धनका नेताहरूलाई एमसीसीको विषय प्रवेश नगराउन भनेका थिए ।

तर प्रधानमन्त्री देउवा संसदको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई समेत विश्वासमा लिने प्रयासमा लागिसकेका छन् । सरकारका कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई देउवाले प्रमुख प्रतिपक्ष दलसँग समन्वय गर्ने जिम्मेवारी दिएका छन् ।

मन्त्री कार्कीले भदौ १५ गते नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई भेटेर संसद सञ्चालन गर्ने र एमसीसी अघि बढाउने विषयमा परामर्श गरेका छन् । नेता नेम्वाङले मन्त्री कार्की आफूलाई भेट्न आएको र सदन सञ्चालन तथा राष्ट्रिय महत्त्वका राजनीतिक विषयमा कुराकानी भएको बताए ।

‘ज्ञानेन्द्रजीले भेट्नु छ भन्नुभयो । मैले आउनुस् संसदीय दलको कार्यालयमा भेटौं भने,’ नेम्वाङले भने, ‘बेलुका उहाँले एमालेका अध्यक्षलाई पनि भेट्नुभयो । भेटमा उहाँले राष्ट्रिय सन्दर्भका विभिन्न विषयहरू कुरा गर्नुभयो ।’

सरकार र प्रमुख प्रतिपक्ष दलबीच सौहार्द सम्बन्ध हुनुपर्ने आफूहरूले बताउँदै आएको र त्यसैको सिलसिलामा मन्त्री कार्कीले भेट गरेको नेम्वाङले बताए । कार्कीले नेम्वाङसँगको भेटमा संसद सञ्चालन गर्न, बजेट र एमसीसी पारित गर्न सहयोग मागेका थिए ।

‘मन्त्रीले बजेट आउँदैछ त्यसको लागि संसद पनि राखौं कि भन्ने छ, बजेट ल्याउनुपर्ने छ, एमसीसी पनि अघि बढाउनुपर्नेछ, यसमा प्रतिपक्षको सहयोग चाहिन्छ भन्नुभयो,’ मन्त्री कार्की र नेम्वाङबीचको कुराकानीबारे जानकारी दिँदैै स्रोतले भन्यो, ‘नेम्वाङले हामी प्रतिपक्षको त सदासर्वदा संसद चालू रहोस् भन्ने चाहन्छौं, तपाईंहरूले हठात् अधिवेशन अन्त्य गर्नुभयो । हाम्रो पार्टी अध्यक्ष प्रधानमन्त्री हुँदा नै एमसीसी अघि बढाउन प्रयास भएको हो तर सभामुखले सहयोग नगरेको कुरा तपाईंहरूले देख्नुभएकै छ, त्यसको बारेमा के चर्चा गर्ने र ? भन्नुभयो ।’

नेम्वाङसँग भेट गरेपछि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोटमा मंगलवार साँझ ७ बजे पुगेका थिए ।

करीब साढे २ घण्टाको कुराकानीमा कार्कीले ओलीसँग पनि नेम्वाङसँग गरेकै कुरा दोहोर्‍याएका थिए । संसद अधिवेशन बोलाउने, बजेट र एमसीसी अघि बढाउनेबारे एमालेको सहयोग आवश्यक भएको कार्कीले ओलीलाई बताएका थिए ।

तर ओलीले संसदमा गठबन्धनकै १६५ मत भएकाले एमालेको सहयोग किन चाहियो र भन्ने प्रश्न गरेको ओलीनिकट स्रोतले बतायो । ‘एमसीसी पारित गर्न पनि तपाईंहरूसँग पुग्ने संख्या छँदैछ हाम्रो सहयोग किन चाहियो ?’ ओलीले कार्कीलाई भनेका थिए ।

संसद अधिवेशन बोलाए पनि एमालेले चल्न नदिने संकेत पाएपछि देउवाले कार्कीलाई एमालेसँग सम्बन्ध सुधार गर्न खटाएको कांग्रेस नेताहरू बताउँछन् ।

केही राजनीतिक दलहरू एमसीसी नेपालको हितमा नरहेकाले यसलाई संसदबाट अनुमोदन गराउन नहुने पक्षमा रहेका छन् । नेकपा एमालेभित्रै पनि एमसीसीबारे मतैक्य छैन । माओवादी केन्द्र पनि एमसीसी अगाडि बढाउने पक्षमा देखिएको छैन तर प्रधानमन्त्री देउवा भने संसदबाट एमसीसी पारित गराउने वातावरण बनाउन लागि परेका छन् ।

नेपाल आउँदै एमसिसीकी उपाध्यक्ष, यस्तो छ नेपाल बसाईको डरलाग्दो तालिका

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)की उपाध्यक्ष फतिमा सुमार नेपाल आउने भएकी छन् । उनी अर्को साता नेपाल आउने भएकी एमसीएले जनाएको छ ।

उनले नेपालमा रहँदा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, सत्तारुढ गठबन्धन दलका नेताहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र सांसदहरूसँग भेट्ने कार्यक्रम छ।

लामो समयसम्म एमसिसीका विभिन्न ओहदामा रहेर काम गरेकी सुमार केही समयअघि उक्त संस्थाको उपाध्यक्षमा नियुक्त भएकी हथिइन् । नेपालले अमेरिकासँग एमसीसीको सहयोग लिनेबारे अन्तिम छफलफहरू गर्दा सुमार पनि संलग्न थिइन्।

नेपाल र अमेरिकाका अधिकारीले २०१७ अप्रिल ५ मा हस्ताक्षर गरेको एमसिसीसम्बन्धी ‘एड मेमोयर’मा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव बैकुण्ठ अर्याल र एमसीसी तर्फबाट फतिमा सुमारले हस्ताक्षर गरेका थिए।

वर्तमान सञ्चार सचिव अर्याल त्यो बेला अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय सहयोग महाशाखाका प्रमुख थिए। नेपालले त्यसपछि २०१७ मा एमसिसी सम्झौतामा हस्ताक्षर गरेको थियो।

सो सहयोग सम्झौताअन्तर्गत नेपालले बिजुलीको प्रसारण लाइन निर्माण र सडक मर्मतका लागि ५०० मिलियन अमेरिकी डलर (करिब ६० अर्ब रुपैयाँ) प्राप्त गर्नेछ। सम्झौता नेपालको संसदले पारित गरेपछि मात्र लागु हुनेछ।

पार्टीहरूबीच विवादका कारणले अहिलेसम्म उक्त सम्झौता पास हुन सकेको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा सरकारले सो सम्झौता संसदमा टेबल गरे पनि तत्कालिन नेकपाभित्रको विवादका कारण संसदमा छलफलका लागि पेस भएन। प्रधानमन्त्री शेरबहादुर देउवा संसदको आउने अधिवेशनबाट उक्त सम्झौता पारित गराएर काम अघि बढाउने पक्षमा छन्।

प्रतिक्रिया