आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राइट दाजुभाईले कसरि बनाएका थिए हवाइजहाज ? यस्तो छ राम काहानी

प्रकाशित
491
SHARES

एजेन्सी। गाडीमा जाँदा दिनभर लाग्ने बाटो हवाइजहाजबाट एकैछिनमा पुगिन्छ। जति सोच्दै गयो उति नै मनमा अनेक प्रश्नहरू खेल्न थाल्छन् । त्यति धेरै मानिस र सामान बोकेर कसरी उडेको होला ? कसले बनायो अकाशमा उड्ने बढेमानको प्लेन ? यस्ता प्रश्नहरु धेरैको उत्तर दिने कोसिस गर्दैछौँ हामी ।

हवाइजाहजको आविष्कार विल्भर राइट र ओर्भिल राइटले गरेका हुन्। उनीहरूलाई विश्वभर ‘राइट ब्रदर्स’ भनेर चिनिन्छन्। ओर्भिलभन्दा विल्भर ४ वर्षले जेठा थिए। विल्भर सन् १८६७ को अप्रिल महिनामा जन्मेका थिए भने ओर्भिल सन् १८७१ को अगस्ट महिनामा जन्मेका थिए। उनीहरू अमेरिकाको डेटन भन्ने सहरको दुईतले घरमा बस्थे।

उनीहरूका बुवा कामको सिलसिलामा विदेश बस्थे। उनी घर आउँदा सधैं आफ्ना छोराहरूका लागि उपहार लिएर जान्थे। एकपटक बुवाले उनीहरूलाई खेलौना वायुयान उपहार दिए।

त्यो वायुयान देखेर उनीहरूको मनमा ठूलो प्रभाव पर्यो। उनीहरूले त्यो खेलौना वायुयानलाई कोठामा उडाएर खेल्न थाले। त्यो देखेर उनीहरूले साँच्चिकै हावामा उड्ने यान अर्थात् हवाइजहाज बनाउने सपना देख्न थाले।

विल्भर र ओर्भिलले सुरूमा साइकलमा चाख लिए। त्यसबेला साइकल अहिलेको जस्तो हुँदैनथ्यो। अगाडी ठूलो चक्का हुन्थ्यो र पछाडि सानो चक्का। सन् १८९० मा डेटनमा नयाँ किसिमको साइकल देखियो। त्यसको पछाडि र अगाडि दुवैको चक्काहरू एकै आकारको थियो।

त्यो साइकल राइट ब्रदर्सले बनाएका थिए। आफैँले बनाएको साइकल उनीहरूलाई निक्कै मन पर्यो। उनीहरू साइकलमा अझै चाख लिन थाले। उनीहरूले विभिन्न यन्त्र र मसिनहरूबारे अध्ययन गर्न थाले। त्यसको केही समयपछि उनीहरूले साइकल पसल संचालन गर्न थाले।

उनीहरू साइकल मर्मत र बेच्ने काम गर्थे। साइकल भाडामा पनि दिन्थे। यी दुई दाजुभाइ कुनै न कुनै काममा लागिरहन्थे। नयाँ नयाँ परिक्षणहरू गरिरहन्थे। उनीहरूको एक मात्र सपना थियो, हवाइजहाज बनाउने।

दुई दाजुभाइ मिलेर वायुयान उडाउने विषयमा पाए जति पुस्तक जम्मा गरेर पढे। उनीहरूले हावाको गति र चङ्गा उडाउदा त्यसको प्रभाव कस्तो पर्छ भन्ने अध्ययन गरे। उनीहरू दिनभरी चङ्गा उडाउथे। र उडाएका वस्तुलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने कुराको अध्ययन गर्थे।

सन् १८८९ मा जर्मनका ओट्टो लिलिन्थल नामक व्यक्तिले एउटा उड्ने यन्त्र बनाएका थिए। त्यो सुनेर राइट ब्रदर्सको मनमा वायुयान बनाउन सकिन्छ भन्ने विश्वास झन् बलियो भयो। जसका लागि उनीहरू थप मिहिनेत गर्न थाले।

घन्टौ बसेर उनीहरू आकाशमा चरा उडेको हेर्थे। उनीहरूले उड्ने नियमको अध्ययन गर्न थाले। उनीहरूले उक्त विषयमा वासिङ्गटनको स्मिथसोनियन इन्स्टिच्युटलाई चिठी लेखे। त्यहाँबाट उनीहरूले धेरै कुराको जानकारी पाए। उनीहरूले वायुयानका बारेमा आफ्नो अध्ययन जारी राखे।

दुवै दाजुभाइको यस्तो बानी देखेर धेरै मानिसहरूले उनीहरूलाई पागल भन्न थाले। एकदिन विल्भरले ओर्भिललाई भनेछन्, ‘मलाई लाग्छ अब समय भयो।’ जसमा ओर्भिलले केका लागि समय भएको बताउँदै जवाफ फर्काए।

‘वायुयान बनाउन,’ विल्भरले भनेछन्। ‘हामीले धैर्य धारण गरेर यो यान बनाउनु पर्छ,’ विल्भरको कुरा सुनेर ओर्लिभले जवाफ फर्काउदै भनेछन्।

सन् १८९९ मा उनीहरूले पहिलो पटक वायुयान तयार पारे। यसको परीक्षण गर्न उनीहरूले उत्तर क्यारोलिना राज्यको अटलान्टिक महासागरको किनारमा रहेको किटिहक भन्ने बालुवाले भरिएको मैदान रोजे।

उनीहरूले त्यो वायुयान तानेर पहाडको टुप्पामा लगे। विल्भर वायुयानमा चढे। अनि ओर्भिलले वायुयानलाई पछाडिबाट ठेले। वायुयान उड्यो तर त्यो हावामा साढे तीन सेकेन्डसम्म मात्र उड्यो। यसले दुई दाजुभाइलाई उत्साहित त बनायो तर वायुयान धेरै नउडेकोमा खिन्न पनि भए।

त्यो वायुयान इन्जिन नभएकाले नउडेको भन्ने उनीहरूलाई त्यतिबेला हेक्का पाएका थिएनन्। उनीहरूको मनमा लाग्यो, ‘किन हाम्रो वायुयान एकैछिनमा भुँईमा खस्यो ?’

विल्भर र ओर्भिलले त्यसपछि वायुयानमा अझै सुधार गर्ने विचार गरे। उनीहरूले धैर्य राखेर काम गर्ने सोचे। बुवाले धैर्यता राख्नुपर्छ भनेको कुरा सम्झदै उनीहरूले थप मिहिनेत गर्न थाले।

उनीहरूले वायुयानको पखेटामुनि हावाको चाप बढायो भने वायुयान लामो समयसम्म हावामा उड्न सक्ने थाहा पाए। तर यसका लागि उनीहरूलाई इन्जिन चाहिने भयो।

त्यसपछि उनीहरूले इन्जिनबारे थप अध्ययन गर्न थाले। इन्जिन खोजे। तर त्यस बखत उनीहरूको अनेकन प्रयासपछि समेत कसैले इन्जिन बेच्न चाहेनन्। मानिसहरू उनीहरूलाई झन् जिस्काउन थाले। आकाशमा उड्ने यन्त्र बनाउने भन्ने सुनेर उनीहरूलाई देवदुत भनेर जिस्काउन्थे। किनभने त्यो बेला देवताहरू मात्रै उड्न सक्छन् भन्ने मान्यता थियो।

तर राइट ब्रदर्सले सबै कुरा बेवास्ता गरे। उनीहरू आफैले इन्जिन बनाए। तर उनीहरूले बनाएको इन्जिन चलेन। उनीहरूको लगनशिलता र धैर्यता पनि अचम्मको थियो। इन्जिन नचले पनि हार मानेनन्। बरू अझ त्यसमा काम गरे र अन्ततः इन्जिन बनाइ छाडे।

इन्जिन तयार भएपछि उनीहरूले बनाएको वायुयान उड्ने कुरामा उनीहरू ढुक्क भए। लामो लामो पखेटा भएको उनीहरूले बनाएको वायुयान हेर्दैमा अचम्मको थियो। त्यो वायुयान उड्छ भन्नेमा अझै पनि कसैले पत्याएका थिएनन्।

राइट ब्रदर्स वायुयान उडाउन तयार भए। अब पहिले को चड्ने ? उनीहरूले सँगै नचड्ने सल्लाह गरे। भाइ ओर्भिल वायुयानमा चड्न तयार भए। त्यो ऐतिहासिक दिन सन् १९०३ डिसेम्बर १७ तारिखमा थियो। संसारले नयाँ इतिहास बनाउँदै थियो।

उनीहरूले धेरै मानिसलाई पहिलो पटक वायुयान उडेको हेर्न बोलाएका थिए। तर उनीहरूको कुरा कसैले पत्याएका थिएनन्। जम्मा पाँच जना मात्र त्यो एतिहासिक उडान हेर्न आइपुगेका थिए।

अमेरिकाको किटिहकको मैदानमा ओर्भिल यानमा बसे अनि विल्भरले इन्जिन घुमाएर डोरी तानी वायुयानलाई धकेले। इन्जिनले साँच्चै यानलाई आकाशमा उचाल्यो र १२ सेकेन्डसम्म आकाशमा ८ मिटरको दुरीसम्म उडयो अनि भुइँमा खस्यो। त्यसपछि विल्भर यानमा चढेँ। यसपटक वायुयान ५९ सेकेन्डसम्म आकाशमा उडिरह्यो। उनीहरूको खुसीको सीमा रहेन।

अन्ततः आकासमा चराजस्तै उड्ने उनीहरूको सपना पूरा भयो। विश्वले पनि नयाँ आविष्कार पायो। राइट ब्रदर्सका निम्ति सन् १९०३ ठूलो सफलताको वर्ष बन्यो। यो कुरा सबैतिर हावासरि फैलियो। उनीहरूलाई जिस्काउने मानिसहरू अब सम्मानपूर्वक हेर्न थाले। उनीहरूको सबैतिर प्रशंसा भयो।

उनीहरूलाई विभिन्न ठाउँबाट बधाई आयो। अमेरिकाका राष्ट्रपतिले त झन् उनीहरूलाई सुनको तक्मा दिँदै सम्मान गरे। त्यसका लागि राजधानी वासिंगटन गएका थिए।

विल्भर र ओर्भिलले वायुयानमा अझै सुधार ल्याउनका लागि दिनरात परिश्रम गरे। सन् १९०४ मा उनीहरू पाँच मिनेटसम्म उड्न सके। सन् १९०८ मा बिल्भर फ्रान्स गए। त्यहाँ पनि उनले मानिसहरुलाई वायुयान उडाएर देखाए।

त्यतिबेला वायुयान एक घण्टा ५४ मिनेटसम्म उडेर ३६० फुटको उचाइसम्म आकाशमै रहयो। त्यो सफलतासँगै हवाइजाहजको इतिहासमा राइट दाजुभाइको नाम कहिले नमेटिने गरी लेखियो।

सन् १९१० देखि उनीहरूले वायुयान बनाउन थाले। त्यसै वर्ष उनीहरूले आफ्ना बुवालाई पनि वायुयानमा उडाए। ८१ वर्ष पुगेका मिल्टन राइट आफ्ना छोराहरूको उपलब्धि देखेर साह्रै खुशी भए। तर यो महान आविष्कारको नौ वर्ष पुग्दा नपुग्दै सन् १९१२ को ३० मे महिनामा ४६ वर्षको उमेरमा दाजु विल्भर राइटको मृत्यु भयो।

विल्भरको मृत्यु भएको छत्तीस वर्षपछि सन् १९४८ मा ओर्भिलको पनि मृत्यु भयो। त्यो बेलासम्ममा विश्वले हवाइजाहजको विकासमा उल्लेखनिय प्रगति भइसकेको थियो।

पहिलो यात्रुबाहक हवाइजहाज भने सन् १९१४ मा २३ मिनेटको लागि उडेको थियो। तर हवाइजहाजको नियमित उडान सन् १९२० पछि मात्र भएको हो। त्यो बेलाको हवाइजाहजमा अहिलेको जस्तो सुविधा थिएन। अहिलेका आधुनिक हवाइजहाजमा धेरै सुविधा हुन्छन्। ती लामो समयसम्म उड्न पनि सक्छन् र टाढा(टाढा पनि पुग्छन्।

नेपालमा पहिलो हवाइजाहज सन् १९५० मा भारतको कलकत्ताबाट उडेको थियो। त्यो बेलाको एअरपोर्ट अहिलेको जस्तो राम्रो थिएन। घाँसैघाँसको मैदान सानो गौचरणमा हवाइजाहज उड्ने(ओर्लने गर्थ्यो। त्यहाँ हवाइजहाज उड्ने र ओर्लने बेला गाईवस्तु चरिरहेका हुन्थे रे। र तिनीहरूलाई धपाएर हवाइजहाज उडाउने बसाउने गरिन्थ्यो रे।

अहिले संसारभर २४ हजार हवाइजहाज छन्। दैनिक एक लाखभन्दा बढी उडान हुन्छन् भने वार्षिक ४ अर्बभन्दा धेरै यात्रु हवाइजाहजमा यात्रा गर्छन्। संसारको सबैभन्दा ठूलो हवाइजहाज एयरबस ए ३८०–८०० हो। जसको सिट क्षमता ८५३ जना यात्रुको छ।

राइट ब्रदर्स मरेर गए तर उनीहरूलाई कहिल्यै भुल्न सकिन्न। आज हवाइजहाजमा बसेर हामी विभिन्न ठाउँमा छिट्टै पुग्न सक्छौं। यसको श्रेय राइट ब्रदर्सलाई नै जान्छ। उनीहरूको मिहिनेतले संसारले नसोचेको सुविधा पाएको छ। र मानिसहरू चराजस्तै आकाशमा उड्ने सपना पूरा भएको छ।

प्रतिक्रिया