आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

तीन सांसदका कारण तनावमा माधव नेपाल, देउवाले पनि झपारे

प्रकाशित
840
SHARES

काठमाडौ। एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादी पार्टीमा एउटा तनाव बाँकी नै छ । त्यो हो तीन जना सांसदको पद के हुने भन्ने ।

पार्टीको वैधानिकता दिन निर्वाचन आयोगले भदौ ९ मा सनाखत गराउँदा छुटेका तीन जना सांसदका विषयमा पार्टी अध्यक्ष माधव कुमार नेपाललाई पनि तनाव थपिएको छ । आयोग कार्यालयमा पुगेर २९ जना (एक जना नयाँ दिल्लीबाट) प्रतिनिधि सभा सदस्य र ५५ जना केन्द्रीय सदस्यले सनाखत गरेका थिए।

निर्वाचन आयोगको कार्यालय नै पुगेका भएपनि तीन सांसद र एकजना केन्द्रीय कमिटी सदस्यले भने सनाखत गर्न पाएनन्। पार्टी दर्ताका लागि निवेदन दिँदासम्म उनीहरुले आफ्नो पक्षधरता स्पष्ट पार्न सकेका थिएनन्।

एकीकृत समाजवादीमा लाग्नेहरुलाई सनाखत गर्न तोकिएको मितिको अघिल्लो मात्रै सांसद तथा केन्द्रीय सदस्यहरु सोमप्रसाद पाण्डे, माया ज्ञवाली, शारदा देवी भट्ट र राजन राईले सनाखत गर्न पाउनुपर्ने भन्दै आयोगमा निवेदन दिएका थिए। तर, आयोगले उक्त निवेदन स्वीकार गर्न सकिने अवस्था नभएको भन्दै उक्त दिन विचाराधीन राख्यो।

९ गते आयोगले उनीहरुको छुट्टै सनाखत गराएको थियो। तर, त्यसलाई मान्यता नदिई आयोगले अन्यको सनाखतको आधारमा पार्टी दर्ताको पत्र दिएको थियो। ९ गते नै आयोग पुगेकी सांसद तुलसा थापाले पनि सनाखत गराउनका लागि निवेदन दिएकी थिइन्। तर, निर्वाचन आयोगले उनलाई पनि सनाखत गराएन।

यसरी आयोगले सनाखत नगरेपछि उनीहरु प्राविधिक रुपमा एमालेतिरै छन्। अब भने उनीहरुलाई एमालेमै बस्ने कि एकीकृत समाजवादी पार्टीतिर जाने भन्ने प्रश्न उठेको छ। एकीकृत समाजवादी प्रवेश गरेमा सांसदहरुले आफ्नो पद गुमाउनुपर्ने छ।

राजनीतिक दल सम्बन्धी ऐनको व्यवस्था अनुसार उनीहरुले सांसद पद गुमाउनेछन्। माओवादी केन्द्रबाट एमालेमा लागेपछि लेखराज भट्ट, रामबहादुर थापाहरुले झैँ उनीहरुले पनि सांसद पद गुमाउनुपर्ने भएपछि उनीहरुको बचाउका लागि समाजवादीले छलफल थालेको छ।

तीन सांसदको हकमा समस्या भएपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई एकीकृत समाजवादीका नेताहरुले अध्यादेश ल्याउन सकिन्छ कि भनी प्रस्ताव गरेका थिए। बालुवाटारका कानुनविद्सहितको छलफलमा उनीहरुले तीन सांसद्को लागि गाँठो फुकाइदिन माग गरेका थिए।

तर, छलफलमा सहभागी अधिकांश कानुनविद्हरुले अध्यादेशको बाटो हिँड्न नसकिने भनेका थिए। राष्ट्रिय सभाका सांसद एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले त प्रधानमन्त्री देउवालाई पटकपटक जनमतभन्दा बाहिर जाने विकल्पमा नजान भनेका थिए।

उनले अध्यादेश होइन, अन्य विकल्पमा जान आग्रह गरे। लगत्तै अरु कानुन व्यवसायीले समेत यही सुझाव दिएका थिए। कानुनविद्हरुको सुझावपछि प्रधानमन्त्री देउवाले अब आफू थप अध्यादेश ल्याउन पक्षमा नभएको भन्दै अध्यादेशको प्रस्तावलाई अस्वीकार गरेका थिए।

लगत्तै एकीकृत समाजवादीले थप कानुनी परामर्श थालेका थिए। उनीहरुले राजनीतिक दल सम्बन्धी नियमावली संशोधनले बाधा फुक्छ कि भनी छलफल गरेका थिए। तर, उक्त प्रयास असफल भएपछि उनीहरु पर्ख र हेरको अवस्थामा रहेका छन्।

एमालेले सांसदहरुलाई कारबाही गरेपछि सर्वोच्च अदालत जाने कि त्यसअघि नै जाने भन्ने विषयमा एकीकृत समाजवादीभित्र छलफल चलिरहेको छ। एमालेले कारबाही गरेर हटाएर जाँदा ढिलो हुने भएकाले त्यसअघि नै गएर अन्तरिम आदेश लिनुपर्ने पक्षमा आफूहरुले जोड दिएको सो पार्टीका एक नेताले बताए।

सर्वोच्च अदालतमा निर्वाचन आयोग समेतलाई विपक्षी बनाई सनाखतमा समावेश गर्नु भनी मुद्दा दायर गर्ने र अन्तरिम आदेश जारी भएमा सांसद पदमा कायम रहने भएकाले कानुनविद्हरुले यही बाटो जान सुझाएका छन्। सर्वोच्चले उक्त सनाखतलाई मान्यता दिन आदेश गरेमा उनीहरुको सांसद पद जोगिने र एमालेले कारबाही गर्न नमिल्ने उनीहरुको बुझाई छ।

समाजवादी दलमा लागेमा उनीहरुले स्वतः दल त्यागेको हुने भएको र सांसदबाट अलग हुनुपर्ने भएकाले अहिले नै कारबाही गर्ने कुरा नभएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताए।

एमालेले निर्वाचन आयोगविरुद्ध नै मुद्दा दर्ताको तयारी गरिरहेकाले एमालेमा रहेर अर्को पार्टीको समर्थन गरेको जस्तो देखिएपनि एमालेमै रहेकालाई कारबाही गर्ने कुरा नआउने उनले बताए।

यो पनि : काठमाडौं बासीलाई खुसीको खबर, सरकारले गर्यो यस्तो निर्णय

काठमाडौँ उपत्यकाबासीका लागि खुशीको खबर छ । अब भोलीदेखि थुप्रिएर बसेको फोहोर उठ्ने भएको छ । महानगरपालिकाले दुई हप्तादेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहर भोलिदेखि उठाउने भएको छ ।

कामपा प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजाल, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको बैठकले फोहर उठाउने निर्णय गरेको हो ।

करिब दुई हप्तादेखि उपत्यकाको फोहर नियमितरूपमा उठ्न सकेको छैन । कामपासहित उपत्यकाका १८ स्थानीय तहको फोहर उठ्न नसक्दा सहरका सडक, गल्ली, चोक र नदी किनारमा फोहरको डङ्गुर छन् ।

प्रमुख शाक्यले फोहर व्यवस्थापन गर्ने जिम्मेवारी कामपाको मात्रै नभई सम्पूर्णको समस्या रहेको भन्दै त्यसको सकारात्मक समाधानका लागि लागि सबैतिरबाट अपेक्षा गरेको बताए ।

सिसडोलसम्म जानका लागि बाटो मर्मतको काम सडक विभागले तत्काल गर्ने निर्णय भएको पनि कामपाको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।

सिसडोलका स्थानीय व्यक्तिका समस्याका विषय पनि समाधान गरिने श्रेष्ठले जानकारी दिए । ‘फोहर उठाउन र त्यहाँ व्यवस्थापन गर्ने सन्दर्भमा सुरक्षा चुनौती देखियो भने शान्ति–सुरक्षाको व्यवस्था गृह प्रशासनले मिलाउने छ’, श्रेष्ठले भने ।

‘त्यसका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोट र काठमाडौँबीच समन्वय गरेर अघि बढिने छ ।’ यता सहरी विकास मन्त्रालयले अर्को एक हप्ताभित्र निर्माणाधीन बञ्चरेडाँडामा फोहर राख्न सकिने जनाएको छ । पहिलो सेल निर्माणको काम अन्तिम चरणमा पुगेको मन्त्रालयका सूचना अधिकारी सुरेशकुमार वाग्लेले जानकारी दिए ।

कामपाले गत साउन ३२ गतेदेखि नै सार्वजनिकरूपमा सूचना जारी गरेर नगरवासीलाई घरबाहिर फोहर ननिकाल्न आग्रह गरेको थियो । सो सूचना सार्वजनिक भएको दुई हप्तापछि फोहर उठ्न लागेको हो ।

सिसडोलमा विसं २०६२ मा दुई वर्षको मात्र फोहर व्यवस्थापन गर्न सकिने क्षमताको ल्याण्डफिड साइट निर्माण गरिएको थियो तर पटकपटक त्यसैमा माटोले पुर्दै केही विस्तार गरेर अहिलेसम्म नै फोहर व्यवस्थापन गरिँदै आइएको छ ।

प्रतिक्रिया