आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

झलनाथलाई कसले दियो मिर्गौला ? नयाँ दिल्लीबाट काठमाडौं पुगेलगत्तै भयो यस्ताे खुलासा

प्रकाशित
541
SHARES

काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आफ्नो शरीरमा मिर्गौला प्रत्यारोपण सफल भएको भन्दै मिर्गौला दाता, उपचारमा संलग्न चिकित्सक र आफ्नो उपचारका लागि सहयोग उपलब्ध गराएको सरकारलाई धन्यवाद दिएका छन् ।

भारतको नयाँ दिल्लीबाट सोमबार काठमाडौं आएका खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै आफ्नो शरीरमा प्रत्यारोपण गरिएको मिर्गौैला नाताले छोरी पर्ने मेलिना चित्रकारले उपलब्ध गराएको खुलासा गरे ।

उनले आफ्नै दिदी (जेठीसासु) को छोरीले आफूलाई मिर्गौला दान गरेको बताए । ‘छोरी मेलिना चित्रकारले आफ्नो सानोबालाई किड्नी दिन तयार रहेको खबर गरिन्,’ उनले भने, ‘छोरी मेलिना चित्रकारलाई अस्पतालमा बोलाएँ । आवश्यक सम्पूर्ण परीक्षणपछि उनको मिर्गौला मेरो शरीरका लागि उपयुक्त हुने ठहर भयो ।’

उनले छोरी मेलिनाप्रति आभार प्रकटसमेत गरे । उनले मिर्गौला प्रत्यारोपणपछि आफूले नयाँ जीवन प्राप्त भएको महसुस गरेको पनि बताए । ‘विल्कुलै नयाँ जीवन प्राप्त भएको महसुस गरेको छु,’ उनले भने, ‘यो नयाँ जीवन बोनस प्राप्त गरेको नयाँ जीवन बनेको छ ।’ उनले आफ्नो नयाँ जीवन लोकतन्त्र, संविधानको रक्षा, वैज्ञानिक नेपाली मोडलको समाजवादप्रति समर्पित हुने पनि जनाए ।

त्यस्तै खनालले अर्को प्रसंगमा नेकपा एमाले फुटेको नभई आफूहरुले विद्रोह गरेको बताएका छन् । एमालेको नवौं महाधिवेशनपछि अहंकारी गुटले नेतृत्व कब्जा गरेको र अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई दक्षिणपन्थी अवसरवाद, अहंकारवाद, व्यक्तिवादमा लगेकाले विद्रोह गर्नुपरेको उनले बताए ।

भारतमा उपचार गरेर सोमबार स्वदेश फर्किएका नेता खनालले त्रिभुवन विमानस्थलमा भने, ‘कम्युनिस्ट आन्दोलन विर्सजनमा जाने खतरा भएकाले विद्रोह गर्नुपरेको हो । यो विद्रोह नवनिर्माणका निम्ति हो ।’

ओलीको चर्को आलोचना गरेका उनले एमालेको नवौं महाधिवेशनसम्म आफूहरुले विकास गरेको क्रन्तिकारी कार्यदिशा, नीति र सिद्धान्तलाई पुनर्स्थापित गर्न जरुरी भएको बताए । त्यसका लागि एमालेमै बसेर अन्तर संघर्ष गरेपनि जब्बर भएर बसेको दक्षिणपन्थी अवसरवाद, गुटवाद र व्यक्तिवादले नदिएको उनले बताए ।

खनालले भने, ‘कम्युनिस्ट पार्टीको सरकार ढल्यो भनेर गोहीको आँसु बगाउन कुनै जरुरी छैन । कम्युनिस्ट पार्टीको नाममा बद्नाम सरकार थियो, त्यो ढल्यो ।’ पूर्वप्रधानमन्त्री खनालले उपचारका लागि भारत जाँदा भारी मन लिएर गएको आफू जोशिलो भएर फर्किएको बताए । आफू उपचारका क्रममा रहँदा सर्वोच्च अदालतले (संसद पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने) ऐतिहासिक फैसला गरेको उनले बताए ।

यसले लोकतन्त्र, संसद र संविधानको रक्षा भएको भन्दै उनले भने, ‘केपी ओलीको सरकार आफैंमा निरंकुश थियो । त्यो सरकार ढल्नु भनेको निरंकुशताको पराजय हो । दक्षिणपन्थी अवसरवाद, अहंकार, व्यक्तिवादको पराजय हो ।’

खनालले अघि भने, ‘कम्युनिस्ट पार्टीको सरकार ढल्यो भनेर गोहीको आँसु बगाउन कुनै जरुरी छैन । कम्युनिस्ट पार्टीको नाममा बद्नाम सरकार थियो, त्यो ढल्यो ।’ उनले अब बाम लोकतान्त्रिक शक्तिको गठबन्धनबाट अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

स्वागतमा को को पुगे विमानस्थल ?

सोमबार अपरान्ह काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेका पूर्वप्रधानमन्त्री खनाललाई स्वागत गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, बेदुराम भुसाल, मुकुन्द न्यौपाने, प्रमेश हमाल, राजेन्द्र पाण्डेलगायतका नेताहरु पुगेका थिए ।

विमानस्थलबाट बाहिरिँदा खनाल ह्वील चेयरमा बसेका थिए । विमानस्थलमा खनालका तर्फबाट एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य प्रमेश हमालले विज्ञप्ति वाचन गरेका थिए । पछि खनालले ह्वीलचेयरमै बसेर सम्बोधन गरेका थिए ।

खनालले आफ्नो उपचारमा सहयोग गरेकामा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेल, हालका प्रधानमन्त्री शेरबहादुर देउवा, माधवकुमार नेपाल र सत्तारुढ गठबन्धनका नेताहरुलाई धन्यवाद दिए ।

प्रतिक्रिया