काठमाडौ। विश्वमै दुर्लभ हिउँचितुवाको अनुसन्धानकर्ता रिन्जिन फुन्जोक लामाले विश्व चर्चित ‘रोलेक्स कन्जर्भेसन अवार्ड’ पाउने भएका छन् । २ लाख स्विस फ्रयांक (नेपाली २ करोड ५५ लाख) राशिको यो पुरस्कार पाउने हुम्लाका लामा पहिलो नेपाली अनुसन्धानकर्ता हुन् ।
कान्तिपुर दैनिकका अनुसार रोलेक्सले सोमबार उक्त पुरस्कार पाउने ५ जनाको नाम घोषणा गरेको हो । रोलेक्सले पुरस्कार जित्ने पाँचै जनालाई भविष्यका अभिभावक नामांकन गरेको छ । वातावरण विज्ञानमा स्नातक गर्ने हुम्लाकै पहिलो युवक लामाले त्रिविबाट बीएस्सी र जर्मनी र न्युजिल्यान्डबाट अन्तर्राष्ट्रिय प्रकृति संरक्षणमा स्नातकोत्तर गरेका छन् ।
द थर्ड पोल कन्जर्भेन्सीमा संरक्षण कार्यक्रम निर्देशक रहेका उनी माउन्टेन स्पिरिट नामक स्थानीय संस्थामा सक्रिय छन् । हिमाली क्षेत्रका वन्यजन्तु र जैविक विविधताको अनुसन्धानमा ७ वर्षदेखि सक्रिय लामाले सन् २०१५ मा ‘वाइल्डलाइफ कन्जर्भेसन नेटवर्क स्कलरसिप’ र गत वर्ष सन् २०२० मा डब्लूडब्लूएफ नेपालबाट संरक्षण पुरस्कार पाएका थिए ।
उनले रोलेक्सबाट पाएको यो पुरस्कार रकमबाट उपल्लो हुम्लामा ‘प्रमोट लोकल इनिसियटिभ फर बायोभरसिटी कन्जर्भेसन इन नेपाल्स् ट्रान्स–हिमालया’ नामको परियोजना सञ्चालन हुनेछ । लामाले यो पुरस्कारबाट संरक्षणमा आवाज बुलन्द गर्न युवाहरूको नमुना मोडल तयार गर्न लागिपर्ने प्रतिबद्धता जनाएका छन् ।
‘सन् २००६ मा ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा परेर गुमाएका संरक्षणकर्मीको परिपूर्ति गर्ने गरी अभियान चलाउनेछु,’ उनले भनेका छन् । उनले हुम्लामा सुरुवात गरेको समुदायमा आधारित संरक्षणमुखी अभियानले स्थानीयवासीलाई वन्यजन्तु र जैविक विविधताबारे सचेत गराएको छ ।
उनले युवाहरूलाई साथ लिएर वन्यजन्तु संरक्षणका साथै हुम्लाका स्थानीयको जीवनस्तर उकास्ने अभियान सञ्चालन गरिरहेका छन् । हिमाली क्षेत्रमा हिउँ चितुवालगायत वन्यजन्तुले निम्त्याउने क्षति न्यून गर्न उनले ‘क्यामरा ट्रयाप’ विधि अपनाएका छन् ।
हिउँचितुवा, ब्वाँसो, कालो भालु, जंगली चौंरी, कस्तुरी मृगलगायतका हिमाली क्षेत्रमा पाइने दुर्लभ वन्यजन्तुको संरक्षणमा उनले पु¥याएको योगदानस्वरूप रोलेक्सले पुरस्कृत गरेको हो ।
‘ट्रान्स–हिमालय क्षेत्रको इकोसिस्टम एकदम नाजुक अवस्थामा छ,’ लामा भन्छन्, ‘बढ्दो मानवीय क्रियाकलापले संरक्षणमा चुनौती छ । हिमाली क्षेत्रका बासिन्दाको जीविकोपार्जनका लागि पनि एकीकृत हिसाबले काम गर्नुपर्नेछ ।’ हुम्लाका बासिन्दाको जीविकोपार्जनको मुख्य आधार नै त्यहाँ उपलब्ध जैविक विविधता हो । त्यहाँ १ प्रतिशत जमिन मात्र खेती र कृषियोग्य छ । जसका कारण हुम्लाले बर्सेनि खाद्य संकट व्यहोर्नुपर्ने हुन्छ ।
विकास हुन नसक्दा र अन्य आर्थिक क्रियाकलापको अवसरका कारण स्थानीयको जीवनस्तर बदलिन सकेको छैन । त्यसैले उनले कृषि र जडीबुटी कम्पनीहरूसँग सहकार्य गर्दै गाउँमा रोजगारी सिर्जना गरी आयआर्जन बढाउने गतिविधिमा ध्यान दिएका छन् ।
लामाले उक्त परियोजनाको परिकल्पना गत वर्षको लकडाउनमै रोलेक्ससमक्ष पेस गरेका थिए । यो रकमबाट हुम्लाको नाम्खा, निन्बा र चो खोला क्षेत्रमा करिब डेढ वर्ष सञ्चालन हुनेछ । त्यसबाट स्थानीय समुदाय लाभान्वित उनले अपेक्षा गरेका छन् । ‘रोलेक्स अवार्डले संरक्षणको आवाज उठाउन र युवाहरूलाई सक्रिय बनाउन सहयोग गर्ने अपेक्षा गरेको छु,’ उनले भने, ‘यो पुरस्कारले स्थानीयहरूले असाधारण रूपमा नेतृत्व लिन सहयोग गर्नेछ ।’
‘रोलेक्स अवार्ड फर इन्टरप्राइजेज’ सन् १९८१ मा हिउँचितुवाको घाँटीमा विश्वमै पहिलो पटक रेडियो कलर जोडेर अनुसन्धान गर्ने रोड्नी ज्याक्सनले पाएका थिए ।
उनले शे–फोक्सुन्डो निकुञ्जको मुगुतिरको भागमा हिउँचितुवाबारे अध्ययन गरेका थिए । लामाले उनैबाट प्रभावित भएर हिउँचितुवालगायत हिमाली वन्यजन्तुको संरक्षणमा होमिएको बताएका छन् ।
यो पनि : कृषि अनुदान पाउने फर्म झोलामा, वास्तविक किसानको उत्पादन खोलामा
कृषि क्षेत्रमा पछिल्लो समय युवा आकर्षण बढ्दो छ। विदेश पुगेर ज्ञान सीप हासिल गरी फर्केका हुन् या देशमै केही गर्ने सोच राखेकाहरू, युवाहरू कृषिमै रमाइरहेका छन् । त्यसो त पर्याप्त प्रविधि र आधुनिकीकरणको अभावमा यसबाट निराश हुँदै पलायन हुनेको सङ्ख्या पनि कम भने छैन।
मुलपानी गोठाटार स्थित एउटा कृषि फर्ममा रिपोर्टिङका क्रममा हामीले भेटेका केही युवायुवतीले भने कृषिमा लगाव हुने हो भने थुप्रो गर्न सकिन्छ भन्ने सन्देश दिएका छन् ।यसरी रमाइ रमाइ काम गरिरहेका युवायुवतीहरू कहाँबाट के उद्देश्यले आए होलान् भनेर हामीलाई जान्न मन लाग्यो। त्यसैले उनीहरू काम गर्दै गर्दा हामीले उनीहरूलाई सोधेका छौँ ।
यी युवायुवतीहरू एउटै फार्ममा फरक फरक ठाउँमा बसेर काम गरिरहेका छन् । यी कलिला हातहरू जति ऊर्जावान् बनेर आज चलेका छन् त्यतिनै सुन्दर सपनाहरू भबिस्यका लागि साँचेका छन् । ६ महिने सिकाइका लागी यहाँ आएका यी युवायुवतीलाई सिकाउने जिम्मा पाएको कृषि फर्मको आफ्नै खाले कथा र व्यथा छन् ।करिब ४२ रोपनीमा फैलिएको यो कृषि फर्मको व्यावसायिक सङ्घर्ष र सफलताको कथा आज तपाईँहरूका लागि।
दोलखा बैत्यश्वरका रामशरण दाहाल र उनको कृषि समूह देशमै कृषिमार्फत समृद्धि खोज्न सकिन्छ भन्नेमा विश्वस्त थियो। गाउँमा अलैँची खेती गर्दा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सुनेका उनीहरू त्यसले आम्दानीको साटो नोक्सानी दिएपछि सुन्दर सपनारूपी अलैँचीका बिरुवा खोलामा बगाएर काठमाडौँ छिरेका हुन।
यो बिरानो सहरमा न त उनीहरूले गर्न सक्ने कुनै काम थियो न त ठुलो लगानी । आफूले जानेको काम कृषि भएकाले त्यसमै काम गर्ने सोच बनाएका उनीहरूले हाल फार्म रहेकै ठाउँमा कृषि फार्म बिक्रीमा रहेको जानकारी पाए। र त्यहीँबाट सुरु भयो उनीहरूको व्यावसायिक कृषिको यात्रा ।
काम सुरु गरेपनी व्यावसायिक रूपमा कृषि गर्नका लागि चाहिने आवश्यक प्राविधिक ज्ञान उनीहरूसँग थिएन । त्यस्तै आफ्ना उत्पादनलाई कसरी कुशल बजार व्यवस्थापन गर्न सकिन्छ भन्ने सिपपनी नहुँदा सुरुवाती दिनहरू केही चुनौतीपूर्ण बनेपनी यो समूहले त्यसबाट पार पाउन उपयुक्त उपाय निकाली छोड्यो।
हाल व्यवस्थित संरचनासहित विशाल क्षेत्रफलमा फैलिएको यो कृषि फर्ममा विभिन्न विभागहरू छन् । गाई, च्याउ र हरियो तरकारी गरी ३ वटा विभागहरू सक्रियतापूर्वक आ(आफ्नो भूमिका निभाउन क्रियाशील छन् ।
नेपाली कृषि उद्यमीहरूको सबैभन्दा ठुलो समस्या बनेको बजार र बिचौलियाको समस्याबाट उनीहरू पनि अछुतो रहन सकेका छैनन् । दश नङ्ग्रा खियाएर आफूले फलाएको उत्पादनमा आफूले भन्दा बढी अरूले कमाउँदा को खुसी हुन सक्ला र?
बजारको समस्याले उनीहरू कति प्रताडित छन् भने केही समयअघि लागत भन्दा कम बजार मूल्य भएपछि करिब ६० क्रेट टमाटर उनीहरू बाटोमा फाल्न बाध्य भए। त्यसरी पोख्नुको साटो बजार नपाउँदा त्यसलाई प्रोसेसिङ गरेर वैकल्पिक प्रयोग गर्न किन सकिएन भन्ने हाम्रो प्रश्नमा उनको जवाफ कारुणिक छ।
हाल बजारकै कारणले आम्दानी र लगानी लगभग उस्ता उस्तै हुँदा यति ठुलो कृषि फार्म चलाएपनी उनीहरूले खासै ठुलो आर्थिक प्रगति गर्न सकेका छैनन् भने जसो तसो फार्मलाइ टिकाउने मेलोमा उनीहरू अहिले छन् ।
नेपाल सरकारले दिएका विभिन्न सेवा सुविधा र अनुदानहरूका लागि निरन्तर प्रयास गरिरहेको भए पनि उनीहरूले आजसम्म त्यस्ता कुनै कार्यक्रमहरूमा सहभागी हुन पाएका छैनन् । आफूहरूको पहुँच नपुगेको र कागज मिलाउनेले मात्र पाउने देशमा त्यसो गर्न नसकिएकोले सायद त्यसो भएको उनको भनाइ छ।
नेपाल सरकारले वास्तविक किसान पहिचान गरेर सही काम गर्नुपर्ने उनको भनाइ छ। कहाँका किसानलाई के समस्या छ भन्ने कुरा सरकारले साँच्चै चाहने हो भने सजिलै गर्न सक्ने उनको भनाइ छ। उनी नेपाल सरकार लाई कृषिको विकासका लागि यी सुझावहरू दिन चाहन्छन् ।
आम नेपाली युवाहरूलाई आफ्नो फार्म सञ्चालक टिममा पनि युवाहरू नै रहेको भन्दै दीर्घकालीन काम गर्नका लागि देशमै केही गर्ने सोच बनाउने हो भने यहीँ गर्न सकिने हुँदा दृढ इच्छाशक्ति लिएर काम गर्न उनी आग्रह गर्छन् ।
यति ठुलो फार्म सञ्चालन गरी देशमै केही गर्न सकिन्छ भन्ने सन्देश दिन सफल कृषकहरूलाई बचाउन नेपाल सरकारले समयमै उपयुक्त कदम चाल्ने हो भने अरू थप कृषकले खोलामा अलैँची बगाउने अनि बाटोमा टमाटर पोख्ने काम गर्नु पर्ने थिएन कि?
प्रतिक्रिया