आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

काबुल अपडेटः मृत्यु हुनेको संख्या ९० भन्दा बढी, १५० घाइते, नेपालीको अवस्था के छ ?

प्रकाशित
1.7K
SHARES

काठमाडौं। गएराति अफगानस्थानको काबुल विमानस्थलमा भएको बम विस्फोटमा  ९० जनाको ज्यान गएको छ । बाहिर भएका ६ वटा बम विस्फोटका घटनामा १३ अमेरिकी सैनिकसहित ६० सर्वसाधारणको ज्यान गएको हो ।

उक्त घटनामा २ सयभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आत्मघाती बम आक्रमण अन्तर्रास्ट्रिय आतंकबादी संगठन आईएसआईएसले गरेको हुन सक्ने अनुमान अमेरिकाले गरेको छ ।

रास्ट्रपति जो बाइडेनले आक्रमणकारीलाई कारबाही गरिने बताएका छन् । यो आक्रमणले अगष्ट ३१ भित्रै काबुल छाड्ने अमेरिकी योजनामा कुनै बदलाब नआउने उनले प्रष्ट पारे ।

अमेरिकाले सो घटनामा आफ्ना १३ सेना ज्यान गएको बताउँदै आईएसविरुद्ध बदला लिने बताएको छ। यसबीचमा तालिबानले उक्त विस्फोटनमा अमेरिकीभन्दा आफ्ना मान्छे बढी मारिएको दाबी गरेको छ। रोयटर्सका अनुसार तालिबानले २८ तालिबानीको मृत्यु भएको जानकारी दिएको छ।

तलिबानले पनि घटनाको निन्दा गर्दै नागरिकको जीउधनको सुरक्षा गर्ने जनाएको छ । विमानस्थलबाहिर आतंककारी आक्रमण हुन सक्ने अमेरिकी चेतावनीको केही घन्टामै यो विष्फोट भएको हो । अहिले काबुल विमानस्थल अमेरिकी सेनाको नियन्त्रणमा छ । हजारौं बिदेशी काबुल छाड्ने तयारीका लागि विमानस्थलमा जम्मा भएका छन ।

हिजोको घटनाले उद्दार कार्य प्रभावित हुने होकि भन्ने चिन्ता थपिएको छ । विमास्थलमा नेपाली समेत रहेको समाचारहरु बाहिरिएका छन् उद्दारको पर्खाइमा रहेका ४२ जना नेपाली सुरक्षित रहेको काबुल मामिला हेर्ने नेपालको दिल्ली नियोगले जनाएको छ । राजदूत निलाम्बर आचार्यले नेपाली सुरक्षित रहेको बताएका छन् ।

उनले आतंकबादी आक्रमणको खबर आइरहेकोले उनीहरुलाई काबुल विमानस्थलबाट टाढा जान अपील गरेका छन । परराष्ट्र मन्त्रालयले सबै नेपालीलाई उद्दारको प्रयास भइरहेको जनाएको छ ।

अफगानिस्तान मामिलामा भारत ‘प्रतिक्रियाविहीन’

अफगानिस्तानमा बदलिएको परिस्थितिपछि त्यहाँ उत्पन्न राजनीतिक घटनाक्रमलाई लिएर भारत मौन देखिएको छ । अफगानिस्तानमा आफ्नो मित्र मान्दै आएको असरफ घानी नेतृत्वको सरकार अपदस्थ भएको दुई साता भइसक्दासम्म भारत ‘प्रतिक्रियाविहीन’ देखिएको छ ।


काबुल विमानस्थल बाहिर अफगानिस्तान छोड्ने चाहनामा जम्मा भएका मानिसहरु । तस्बिर : रोयटर्स
विदेशमन्त्री एस जयशंकरले बिहीबार आयोजना गरेको सर्वदलीय बैठकमा पनि अफगानिस्तानको सन्दर्भमा कुनै स्पष्ट धारणा ल्याएको बाहिर आएको छैन । उनले अफगानिस्तानको स्थितिबारे ब्रिफिङ गर्नुका साथै त्यहाँ रहेका भारतीयहरूको उद्धारका लागि भइरहेको प्रयासको जानकारी मात्रै बैठकमा दिएका छन् । तालिवानले सत्ता कब्जामा लिनुभन्दा १५ दिन अगाडि २९ जुलाईमा विदेशमन्त्री जयशंकरले संसद्‌मा बाहुबलले अफगानिस्तानमा गरिने सत्ताकब्जालाई भारतले स्वीकार नगर्ने बताएका थिए ।

भारतले १५ अगस्टमा स्वतन्त्रता दिवस मनाइरहँदा तालिवानले त्यही दिन अफगानिस्तानको विभिन्न प्रान्तसहित काबुललाई आफ्नो नियन्त्रणमा लिएको थियो । भारतको राम्रो मित्र मानिएका अफगानिस्तानका राष्ट्रपति घानी देश छाडेर बाहिरिए । अमेरिकाको सहयोगमा अफगानिस्तानमा बनेका सरकारहरूसँग भारतको राम्रो सम्बन्ध रहँदै आएको थियो । यसअघिका अफगानी राष्ट्रपति हमिद करजाई पनि भारतको राम्रो मित्र मानिएका थिए । दक्षिण एसियामा हुने कुनैपनि राजनीतिक वा महत्वपूर्ण घटनामा तत्कालै अग्रसरता लिने भारत आफ्नो मित्रराष्ट्र अफगानिस्तानमा भएको घटनाप्रति भने केही प्रतिक्रिया दिएको छैन । गत साता भारतको विदेश मन्त्रालयलले अफगानिस्तामा भइरहेको घटनाक्रमलाई नियालिरहेको सामान्य प्रतिक्रिया मात्रै सार्वजनिक गरेको थियो । विदशे मन्त्रालयलले गर्ने नियमित प्रेस ब्रिफिङपनि अफगानिस्तान घटनापछि गरेको छैन ।

विदेश मामिलामा दखल राख्ने वरिष्ठ पत्रकार एस. भेंकट नारायण अफगानिस्तानमा हठात् रुपमा भएको तालिवानी नियन्त्रणले भारतलाई झट्का दिएको बताउँछन् । द फरेन प्रेस क्लबका पूर्व अध्यक्ष समेत रहेका नारायण भारतले तालिवानलाई मन नपराउने विषय सम्पूर्ण विश्वलाई थाहा भएको ठान्छन् । तर, भारतले खुलेर तालिवानको विरोध पनि गर्न सकेको छैन । त्यसको कारणमा अफगानिस्तानमा रहेका भारतीय नागरिक तथा भारतले विभिन्न क्षेत्रमा गरेको लगानीको सुरक्षानै प्रमुख कारण हुनसक्ने उनको बुझाइ छ ।

शक्तिराष्ट्र अमेरिका र चीनले कुन न कुनै रूपमा तालिवानका नेताहरूसँग सम्पर्क स्थापित गरेका बेला भारतमापनि त्यसका लागि दबाब बढेको छ । कतिपयले भारतलाई तालिवानसँग कुनै न कुनै तहको सम्पर्क स्थापित गर्नमा ढिलाई गर्न नहुने भनिरहेका छन् । तर, भारतलाई तालिवानसँगको सम्पर्कमा पनि आन्तरिक चुनौती छ । कट्टर हिन्दुत्व र राष्ट्रियताको चरित्र बोकेको बीजेपी नेतृत्वलाई तालिवानसँग सम्पर्क स्थापित गर्नु आन्तरिक राजनीतिकै लागि पनि हानिकारक हुन सक्ने विश्लेषण छ । तालिवानलाई पाकिस्तानले फन्डिङ गर्ने गरेको पाकिस्तानको गुप्तचर संस्था आईएसआईले चलाउने गरेको बुझाइ व्याप्त छ । सरकारदेखि आम मानिसको तप्कामा धेरैको धारणा त्यस्तै पाइन्छ । त्यस अवस्थामा तालिवानसँग सम्पर्क स्थापित गर्नु या उसलाई कुनै न कुनै रूपमा मान्यता दिनुले त्यसको लाभ पाकिस्तानलाई पुग्ने डर पनि भारतीय संस्थापनलाई छ । पत्रकार नारायण भारतका लागि अहिले धरै ‘कम्प्लिकेटेड’ परिस्थिति निर्माण भएको बताउँछन् । ‘अफगानिस्तानमा २० वर्ष पहिले तालिवानको सरकार हुँदादेखि नै भारतको अनुभव ऊसँग राम्रो छैन,’ उनले भने ‘भारतमा धेरैको बुझाइ तालिवान आतंकी समूह हो । र, यो आईएसआईको क्रिएसन हो भन्ने नै छ ।’

अर्कोतिर अहिले पनि भारतीयहरू अफगानिस्तानमा छन् । भारतको तीन अर्ब डलरको लगानी त्यहाँ छ । संसद् भवन, बाँध, स्कुल, अस्पताललगायत कैयन् परियोजनामा भारतले पैसा लगाएको छ । भारतले त्यसको सुरक्षा पनि खोजेको छ । ती परिस्थितिका कारण पनि भारतलाई तत्कालै चर्को स्वरमा तालिवानको विरोध गरिहाल्न समस्या भएको पत्रकार नारायणले उल्लेख गरे । असुरक्षा महसुस गरेरै भारतले आफ्नो दूतावास र अन्य कन्सुलेट कार्यालयहरू अफगानिस्तानमा खाली गरिसकेको छ ।

भारतले आफ्नो स्थायी शत्रुका रूपमा हेर्ने पाकिस्तानसँग सीमा जोडिएको अफगानिस्तानमा आफ्नो प्रभुत्व गुमाएको छ । तालिवानको आगमनसँगै त्यहाँ पाकिस्तानको प्रभुत्व स्थापित हुने भारतमा साधारण बुझाइ छ । त्यसै कारण पनि अफगानिस्तानमा फेरिएको परिस्थितिलाई कतिपयले भारतका लागि ‘सेट ब्याक’ भनेर टिप्पणी गरिरहेका छन् ।

दिल्लीस्थित साउथ एसिया विश्वाविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध विभाग (डिपार्टमेन्ट अफ इन्टरनेसनल रिलेसन्स) का सहायक प्रध्यापक डा. धनञ्जय त्रिपाठी अफगानिस्तानमा बदलिएको परिस्थितिलाई लिएर भारत ‘वेट एन्ड वाच’ को परिस्थितिमा देखिएको बताए । ‘अफगानिस्तानमा अहिले धेरै कुरा परिवर्तन हुन सक्छ, त्यही भएर पनि भारतले बोल्नलाई हतारो नदेखाएको हुन सक्छ,’ उनले भने ‘त्यहाँ दिनदिनै परिस्थिति फेरिने सम्भावना रहेकाले हतार गरेर बोल्नु आवश्यक पनि छैन ।’

उनी परिस्थिति परिपक्व भएपछि नै आधिकारिक धारणा बाहिर ल्याउनु राम्रो हुने बताउँछन् । ‘आज एउटा धारणा बनायो, बदलिएको परिस्थितिमा भोलि त्यो उल्टो हुन सक्छ, त्यही भएर पनि अफगानिस्तानको सन्दर्भमा धैर्य नै बुुद्धमानी हो,’ उनले भने ‘अफगानिस्तानको सन्दर्भमा भारत मात्रै होइन, पूरा विश्व नै वेट एन्ड वाचको अवस्थामा छ ।’

तालिवान लामो समयसम्म टिक्ने गरी सत्तामा आएको हो भने भारतले ऊसँग ‘इन्गेज’ हुनुपर्ने सुझाव उनको छ । तालिवानले आफूलाई बदलिएको प्रमाणित गरेर त्यहीअनुसारको परिवर्तित व्यवहार देखाएको अवस्थामा ऊसँग सम्बन्ध राख्नु गलत नहुने उनको भनाइ छ । तालिवानले भारतसँग सम्पर्क स्थापित गर्न चाहेको खण्डमा पनि भारतले ढोका खोल्नुपर्ने उनले बताए । ‘स्थिर अफगानिस्तानले मात्रै राम्रो गर्न सक्छ, अफगानिस्तानमा हुने अस्थिरता वा तालिवानको पूरानै व्यवहारले दक्षिण एसियालाई नराम्ररी प्रभावित बनाउन सक्छ,’ उनले भने ‘विगतमा जस्तै तालिवानले आतंकी संगठनलाई संरक्षण दिएको अवस्थामा त्यसले कश्मीरमा समस्या निम्तिनेछ । त्यो अवस्थामा अहिले नै बातचित रोकिएको भारत र पाकिस्तानबीच थप समस्या निम्तिनेछ ।

 

 

प्रतिक्रिया

आजको ट्रेन्डिङ