आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सभापति देउवाद्वारा दाहालको निधनप्रति दुःख व्यक्त

प्रकाशित
1.1K
SHARES

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ओखलढुङ्गाका महासमिति सदस्य एवं जिल्ला कार्यसमितिका पूर्वसचिव मित्रसेन दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

दाहालको आज बिहान काठमाडौँको ओम अस्पतालमा उपचारका क्रममा हृदयघातबाट निधन भएको हो । सभापति देउवाले शोक विज्ञप्तिमार्फत स्व दाहालले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको भूमिकाको स्मरण गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

विसं २०१९ मङ्सिर ४ गते ओखलढुङ्गाको बरुणेश्वर–४ मा जन्मनुभएका दाहाल विसं २०७४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा कांग्रेसको तर्फबाट उम्मेदवार थिए । स्व दाहालले कांग्रेसद्वारा सञ्चालित विसं २०४२ को सत्याग्रह र लोकतान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गरी डेढ वर्ष जेल जीवनसमेत व्यतीत गरेको पार्टी कार्यालयले जनाएको छ ।

स्व दाहाल राजनीतिक क्षेत्रका साथै लामो समयदेखि दर्जनौँ सरकारी तथा गैरसरकारी, व्यावसायिक, सामाजिक, शैक्षिक र विविध सङ्घसंस्थामा संलग्न रहँदै आएका थिए। दाहालले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । दाहालको श्रीमती, दुई छोरा र एक छोरी छन् ।

उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम रहेको पार्टी कार्यालयले जनाएको छ ।

यो पनि, जेबी टुहुरे : एमाले छाडेर, टुहुरै बनेर बिते

जनवादी गायक जेबी टुहुरेको जीवनको आधा शताब्दी नेकपा एमालेसँग जोडिन्छ । उनी एमालेको जनसांस्कृतिक मञ्चका अगुवा कलाकार थिए । तर, बिहीबार माओवादी मुख्यालय, पेरिसडाँडामा टुहुरेलाई कम्युनिस्ट पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिइयो ।

आमा दिदी बहिनी हो, कति बस्छौ दासी भई, सखको सधैं प्यासी बनेर’ भन्ने चर्चित गीत गाएका टुहुरेले एमालेमा मन भाँचिएपछि त्यहीँ ‘दास’ बनेर बाँचेनन् । ०६६ सालमै उनी एमालेबाट चित्त दुखाएर माओवादीमा प्रवेश गरे ।

७८ बर्षीय जनवादी गायक जुठबहादुर खड्गी (जेबी टुहुरे) टुहुरेको विहीबार बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको हो । कलंकीस्थित आफ्नै निवासमा लडेका उनमा मुटु, फोक्सो, महुमेह र उच्च रत्तचाप जस्ता दीर्घरोगहरु थिए ।

आमा दिदी बहिनी हो, बसाइँ हिँड्नेको ताँतीले, चौंरी चर्ने ठाउँ, दुःखको भोज, रातको अनिँदोलगायत टुहुरेका थुपै्र गीत जनताले रुचाएका छन् । यिनै गीतहरू सुनेर धेरै मानिसहरु नेकपा एमाले बनेका छन्, कम्युनिष्ट बनेका छन् ।

आफ्ना गीत संगीतमा जनताका समस्या, दुःख, पीडा, पिरमर्कालाई विषयवस्तु बनाउने टुहुरेका गीतमा वर्गीय प्रेम, राष्ट्रप्रेम र विद्रोह पनि उत्तिकै झल्कन्छन् । सरल मिजासका टुहुरेको जीवन सरल किसिमले, दुःख र अभावमै बित्यो । मूलतः उनले आफ्नो पसिनाले सिञ्चित गरेको पार्टी एमालेमा टुहुरो महसुस गरे र नेकपा माओवादी रोजे ।

धरानको पुरानो बजारमा बि.सं २००१ कात्तिक १५ गते जन्मिएका उनी कृष्णबहादुर खड्गी र दानदेवी खड्गीका जेठा छोरा हुन् । मध्यम वर्गीय परिवारमा जन्मिएका उनले २०२१ सालमा बुबाको निधनपछि आफू टुहरो भएको भन्दै सांकेतिक रुपमा आफ्नो नामको पछाडि ‘टुहुरे’ लेख्न थालेका थिए ।

सानैदेखि गीत गाउने, नाच्ने टुहुरेको विसं २०१० बाट औपचारिक सांगीतिक यात्रा सुरु भएको हो । सुरुमा उनी सबैखालका गीत गाउँथे । विसं २०२० को दशकदेखि कम्युनिस्ट विचारधारासँग नजिक रहेपछि उनले विद्रोह र जनताका गीत बनाउन थाले ।

जनताको पक्षमा करिब ५ दशक गीत गाएका टुहुरे आफूलाई राजनीतिज्ञ भन्दा पनि जनवादी गायक तथा कलाकारकै रुपमा चिनाउँथे । ‘चरी भरर’, ‘आमा दिदीबैनी हो’ उनका २०३३ सालतिरका गीत हुन् । जुन गीत उनले पछिल्लो समय पनि कार्यक्रमहरुमा निरन्तर गाउँदै आएका थिए ।

पञ्चायत कालभरि जेबी टुहुरेले एमालेलाई सघाउँदै देशभरि गीत गाउँदै हिँडे । ०४६ सालको परिवर्तनपछि पनि एमालेलाई जनताको मनमा स्थापित गर्न टुहेरेको निकै ठूलो योगदान छ । उनले जनतामा जनवादी चेतनाको बिगुल फुक्न एक समय संकल्प गीति कार्यक्रममार्फत पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म उनले यात्रा गरे ।

एमालेबाट उचित सम्मान पाउन नसकेको गुनासोसहित उनी २०६६ मा नेकपा माओवादीमा आवद्ध भए । माओवादीले २०७० सालमा उनलाई संविधानसभा सदस्य बनायो ।

क्रान्तिकारी गीत गाउँदा पञ्चायतकालमा प्रहरीको हिरासत र यातना भोगेका उनले सत्ताको त्रास, दमन, धरपकडलाई समेत बेवास्ता गर्दै २०६२/०६३ को परिवर्तनसम्म पनि जनतामा गीतमार्फत चेतना जगाउने काम निरन्तर गरिरहे ।

व्यवसायिक गायक भन्दा पनि पार्टीको जनमतका निर्माणमा बढी खटिएका टुहुरेले जीवनभर आर्थिक समस्या झेल्नुपर्यो । जसका कारण उनले जीवन चलाउन विभिन्नखाले व्यापार, होटल, लज, पुस्तक पसलसमेत चलाए ।

बेलाबेलामा मिडियासँगको कुराकानीमा राज्यले आफ्नो योगदानको मूल्याङ्कन गर्न नसकेको टुहुरेले गुनासो पोख्ने गरेका थिए । परिवर्तनका लागि लडेका व्यक्तिहरु नै सत्तामा हुँदा पनि जनताले परिवर्तनको महसुस गर्न नपाएको दुखेसो गर्दा गर्दै विहीबारदेखि उनले हामीलाई सधैंका लागि छाडेर गएका छन् । तर, टुहुरेले गाएका गीतहरू हाम्रो मन मस्तिष्कमा सधैं रहिरहनेछन् ।

जनगायक जेबी टुहुरेको अन्तिम बिदाइ, तस्बिरमा हेर्नुहोस्

जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ । टुहुरेको उपचारका क्रममा ​बयोधा अस्पतालमा बिहीबार निधन भएको हो । टुहुरे मङ्गलबार घरमा एक्कासि लडेपछि उपचारका लागि बयोधा अस्पताल लगिएको थियो । मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोग रहेका टुहुरे माओवादी केन्द्र निकट जनसांस्कृतिक महासङ्घका निवर्तमान अध्यक्ष हुन् ।

उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको थियो । उनको पार्थिव शरीरमा कम्युनिष्ट पार्टीको झण्डा ओढाएर सम्मान प्रकट गरिएको थियो । उनको बिहीबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

 

 

प्रतिक्रिया