आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

माधव नेपालको नयाँ पार्टीमा कति सांसदले गरे सनाखत, अब के गर्छन ओली ?

प्रकाशित
290
SHARES

काठमाडौँ । नेकपा एमाले विभाजन गरेर नयाँ बन्न लागेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा साविकको एमालेका ६० जना केन्द्रीय सदस्य र ३० जना संघीय संसदका सांसदहरुले निर्वाचन आयोगमा सनाखत गरेका छन् ।

माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी नामको नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएपछि आयोगले बुधबार आयोगले सनाखत गराएको छ । सनाखतका क्रममा राष्ट्रिय सभा र प्रतिनिधि सभाका गरी ३० जना सांसदले सनाखत गरेको सांसद पार्वती विसुंखेले दावी गरिन् ।

उनका अनुसार ६० जना केन्द्रीय सदस्यले सनाखत गरेका छन् । राजनीतिक दल सम्बन्धी ऐन अध्यादेशमार्फत संशोधन गर्दै सरकारले संसदीय दल वा केन्द्रीय कमिटीमा कम्तिमा २० प्रतिशत संख्या पुर्याए

दल विभाजन गर्न पाइने व्यवस्था गरिएपछि माधव समूहलाई एमाले विभाजन गर्न सहज भएको हो । निर्वाचन आयोगमा सनाखत भएको संख्या सांसदमा अपुग भए पनि केन्द्रीय सदस्यमा भने पुगेको छ । राष्ट्रिय सभामा ३३ र प्रतिनिधि सभामा १२१ गरी एमालेका १५४ सांसद थिए । त्यसको २० प्रतिशत पुर्याउन माधव समूहलाई ३१ जना आवश्यक थियो ।

तर ३० जनालेमात्र सनाखत गर्दा उसले संसदीय दलमा २० प्रतिशत पुर्याउन सकेन । यस्तै साविकको एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीमा २० प्रतिशत पुर्याउन ४१ जना आवश्यक पर्नेमा ६० जनाले सनाखत गरेकाले अब केन्द्रीय सदस्यको संख्याका आधारमा सो दलले वैधता पाउने देखिएको ।

सनाखत सकिएपछि आजै निर्वाचन आयोगले यो विषयमा केही निर्णय लिन सक्ने सम्भावना छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बेलुकासम्म कुनै निर्णय हुन सक्ने बताए ।

यस्तै अध्यक्ष केपी शर्मा ओलीले अनुकुल समयमा जिम्मेवारी हस्तान्तरण गर्ने बताएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा ओलीले कोही पनि निर्विकल्प नहुने बताए ।

महाधिवेशनसम्मका लागि कसैले आफूलाई चुनौती दिइनहालेको भन्दै उनले भने, ‘म अनुकुल समयमा जिम्मेवारी हस्तान्तरण गर्ने पक्षमा छु ।’ ओली पक्षका नेताहरुले भने एउटा चुनाव र एउटा महाधिवेशन ओलीकै नेतृत्वमा हुने बताएका छन् । तर ओलीले भने यसबारे बोलेका छैनन् ।

यस्तै उनले एमाले फुटाउन सांसदहरुलाई घर-घरबाट थुतेर चन्द्रागिरीमा लगेर थुनेर राखेको आरोप लगाए । बुधबार पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले बलजफ्ति, अपहरणकारी र ज्यादतीपूर्ण ढंगले एमालेका सांसदहरुलाई चन्द्रागिरीमा लगेर थुनेर राखेको बताएका हुन् । ‘अपहरणकारी, ज्यादतीपूर्ण कार्य भयो । सांसदहरु जस्ता मान्छेलाई थुनेर । फकाइ फकाइ लगेर, राम्रै विस्तारमा सुतेर, राम्रै खान दिएर मान्छे घर घरबाट तानेर थुनियो’ ओलीको आरोप छ ।

उनले रिसोर्ट वा चाहे फइभस्टारमा होटलमै राखेको भएपनि ‘त्यो सांसदहरुलाई थुनिएकै हो’ भनेर दावी गरे ।ओलीले त्यसरी सांसदहरुलाई थुनेर राख्दा पनि बैठक भनेर सञ्चारमाध्यमहरुले प्रचार गरेको भन्दै वास्तवमा त्यो कुनै पार्टी कमिटीको बैठक नभएको दावी गरे ।

यस्तै ओलीले अध्यादेश जारी गर्नु आफैमा असंवैधानिक नहुने बताएका छन् । बुधबार पार्टीका तर्फबाट आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आफ्नो कार्यकालमा ल्याएको अध्यादेश र वर्तमान सरकारले ल्याएको अध्यादेशका बारेमा धेरै भिन्नता रहेको दाबीसमेत गरे ।

आफूले देश र जनताको हितका लागि, सांसदहरुको अधिकार रक्षाका लागि संविधानको मर्म अनुसार नै राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको ओलीको भनाइ थियो । शेरबहादुर देउवा नेतृत्वले ल्याएको अध्यादेश ‘देश जोगाउनका लागि’ भनिएको प्रति उनले आपत्ति जनाए ।

उनले प्रश्न गरे, ‘एमाले फुटाउन नपाइएको भए देश के हुन्थ्यो ? यो घाममा राखेको बरफको डल्लो हो ? कर्कलाको पानी हो यो देश ? देश जोगाउनका लागि ? यो अनैतिक कार्य नहुँदा देश जोगिँदैन ?’

संविधानले सांसदलाई दिएको अधिकार व्यवहारिक अर्थमा कार्यान्वयन हुन सकोस् भनेर आफूले अध्यादेश जारी गरेको जिकिर गर्दै उनले कुनै पार्टी विशेषलाई फुटाउने उद्देश्यका साथ त्यो बेला अध्यादेश नल्याइएको दाबी गरे । ‘कुनै पार्टीमा फ्लोर क्रस गर्ने काम भएको पनि थिएन । पार्टीभित्र सामान्य विवाद हुँदा हुन् तर कुनै पनि पार्टी त्यतिबेला फुट उन्मुख थिएनन्,’ उनले भने, ‘संसदमा ४० प्रतिशत संख्या पु¥याएर अलग हुन पाउने सांसदको अधिकार हो, हामीले दल वा संसद भनेका थियौं ।’ तर अहिले पार्टी फुटाउनका लागि कोसँग कति मान्छे छन् भन्ने हिसाब गरेर अध्यादेश ल्याइएको उनले आरोप छ । ‘१२ बजे राति सदन अधिवेशन अन्त्य हुन्छ, भोलिपल्ट अध्यादेश आउँछ,’ उनले भने ।

संसद अधिवेशन नचलेका बेला, संसद विघटन भएका बेला तत्काल केही गर्नु परेमा देश र जनताका लागि, व्यक्तिका लागि होइन, एउटा समूहका लागि होइन, अध्यादेश ल्याउन मिल्छ,’ उनले भने, ‘तर अहिले देश र जनताका लागि राति अधिवेशन अन्त्य गरेर भोलिपल्ट अध्यादेश ल्याउन के जरुरी पर्‍यो ?’

उनले अध्यादेश ल्याउने प्रक्रिया प्रस्ट पार्दै अगाडि भने, ‘अध्यादेश ल्याउनु अघि विधेयक ड्राफ्ट गर्नुपर्छ, कानुन मन्त्रालयमा मस्यौदामा जानुपर्छ, त्यसमा मन्त्रालयले सहमति दिनुपर्छ । संसद नचलेको बेला देश, जनताका लागि अत्यावश्यक परेमा अध्यादेशबाट पनि अघि बढ्नुपर्ने हुन्छ ।’

कुनै दललाई फुटाउन, कसैलाई सजिलो पार्नका लागि अध्यादेश ल्याउने क्रममा नै राजनीतिक दल सम्बन्धी अध्यादेशमा ‘केन्द्रीय सदस्य वा संसदीय दलको २० प्रतिशत’सम्बन्धी प्रावधान राखिएको उनको दाबी छ । उनले व्यङ्ग्य गर्दै भने, ‘माधव नेपालजीसँग जति सांसद हुनुहुन्छ, त्यति भए पुग्ने भनेर लेखेको भए सजिलो हुन्थ्यो ।’

यस्तै यता समाजवादी पार्टी विभाजन गरेर महन्थ ठाकुरको अगुवाइमा बनेको नयाँ दल लोकतान्त्रिक समाजवादी पार्टीको वैधताका लागि सो दलमा रहेका सांसद तथा केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुले बुधबार निर्वाचन आयोग पुगेर सनाखत गरेका छन् ।

सनाखतपछि प्रतिक्रिया दिँदै वरिष्ठ नेता राजेन्द्र महतोले आफ्नो दलले वैधता पाएको जानकारी दिए । उनले आफ्नो पार्टीमा १४ जना सांसदहरुले सनाखत गरेको जानकारी दिए । उनले जेलमा रहेका कारण रेशम चौधरीले सनाखत गर्न नपाएकोसमेत बताए ।

उनले कार्यकारिणी समितिका ५१ मध्ये १७ जनाले सनाखत गरेको बताए । उनले आफ्नो दल हिमाल, पहाड र तराइमा क्रियाशील हुने भन्दै समावेसी लोकतन्त्र आफूहरुको मूल्य र मान्यता रहेको बताए ।

उनले बहुल राज्यको विषय पनि आफ्नो पार्टीको नीति रहेको बताए । उनले कुरा नबुझ्नेहरुले बहुल राज्यको विरोध गरेको बताए । उनले अध्यादेश ल्याएर सरकारले आफूहरुलाई सहज पारिदिएकोसमेत बताए । उनले विचार नमिलेपछि दल विभाजन हुनु स्वभाविक रहेकोसमेत बताए ।

प्रतिक्रिया