आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमेरिकी जाजुस प्रमुखले ताविलान कमाण्डरसँग भेटेपछि विश्वभर हलचल, कहाँ भयो गोप्य बार्ता ?

प्रकाशित
851
SHARES

एजेन्सी। अफगानिस्तान कब्जा गरेका विद्रोही समूह तालिबानका नेताहरूलाई भेट्न अमेरिकाले गुप्तचर निकाय सिआइएका प्रमुखलाई काबुल पठाएको छ।

द वासिङ्टन पोष्टका अनुसार सिआइएका निर्देशक विलियम जे बर्न्सले सोमबार काबुलमा तालिबानका उच्च नेता मुल्लाह अब्दुल घानी बारादार भेटेका छन्। स्रोतलाई उल्लेख गर्दै पोष्टले उनीहरूबीच गोप्य भेटवार्ता भएको समाचारमा उल्लेख गरेको छ।

अमेरिकाले अगस्ट ३१ सम्ममा आफ्ना सबै सैनिक अफगानिस्तानबाट फिर्ता लैजाने भनेको थियो। तर तालिबानहरूले सोचेभन्दा निकै चाँडो काबुल कब्जा गरेपछि राष्ट्रपति जो बाइडेनमाथि अफगानिस्तानबाट सबै अमेरिकी र अमेरिकालाई सहयोग गरेका अफगानहरूलाई उद्धार गर्न त्यसपछि पनि सैनिक राख्न दबाब परिरहेको छ।

बाइडेनले पनि अगस्ट ३१ पछि पनि अमेरिकी सेना अफगानिस्तानमा रहन सक्ने बताएका छन्। अहिले काबुलस्थित हमिद कारजाई विमानस्थल अमेरिकी र नाटो सैनिकको नियन्त्रणमा छ। तालिबानले अगस्टपछि अमेरिकी सैनिकले अफगानिस्तान छोड्नु पर्ने, नछोडे त्यसलाई अतिक्रमण ठानेर व्यवहार गरिने बताएको छ।

इतिहासकै सबैभन्दा कठिन भनिएको उद्धार गरिरहेको अमेरिकाले तालिबान नेताहरूसँग कुरा गर्न आफ्ना अनुभवी गुप्तचरलाई काबुल पठाएको हो। कुनै बेलामा सिआइएले पाकिस्तानसँग मिलेर पक्राउ गरेका बारादारसँग वार्ता गर्न सिआइए प्रमुख आफैं अफगानिस्तान पुगेका हुन्।

अफगानिस्तानमा अमेरिकासमर्थित सरकारलाई हटाएर विद्रोही समूह तालिबानले राजधानी काबुलमा कब्जा जमाएको पनि दुई दिन बितिसकेको छ। तालिबान स्वयंदेखि संसारका कसैलाई पनि यति छिटै तालिबानहरूले काबुल कब्जा गर्छन् भन्ने कल्पना थिएन। अमेरिकाले आफ्ना दूतावासका कर्मचारीको उद्धार गर्न नपाउँदै तालिबान काबुल पसेपछि अहिले काबुलको जनजीवन प्रभावित भएको छ।

सामान्य अफगानीदेखि यो क्षेत्रको भू-राजनीतिमा चासो राख्ने सबैको मनमा जिज्ञासा छ- तालिबानहरूले अब कसरी शासन चलाउँछन्?उनीहरूले कसरी शासन चलाउँछन् सँगै अब बन्ने सरकारको नेतृत्व कसले गर्छ भन्ने प्रश्न पनि अहिलेसम्म अनुत्तरित छ। अझै पनि संसारका धेरै मानिसहरूलाई तालिबानका नयाँ नेताहरू को हुन् र उनीहरूले कसरी शासन चलाउने छन् भन्ने मेसो छैन।

यही अन्यौलताबीच एक जनाको नाम भने चर्चामा छ। उनी हुन्, मुल्लाह अब्दुल घानी बारादार।जो मंगलबारमात्रै कतारको राजधानी दोहाबाट अफगानिस्तान आएका छन्। अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलले बारादारलाई तालिबानका अहिलेका अनुहार भनेको छ। ५० वर्षीय बारादार तालिबान स्थापना भएदेखि अहिलेसम्म निरन्तर त्यसैमा लागेका छन्। यसबीचमा उनी कहिले सैन्य कमाण्डर बनेका छन्, कहिले देशको रक्षा मन्त्री, कहिले पाकिस्तानको जेलमा बन्दी त कहिले अमेरिकासँग प्रमुख वार्ताकार।

गत आइतबार फेरि काबुल कब्जा गरेपछि अहिलेसम्म देखिएका तालिबानका सबैभन्दा शीर्ष नेता उनै हुन्। काबुलको राष्ट्रपति कार्यालयमा तालिबानले कब्जा जमाएपछि उनी भिडिओमा देखिएका थिए। शालिन स्वरमा उनले सबैलाई शान्त रहन भने र आफूहरूले राष्ट्रको सेवा गर्ने बताए। तालिबान लडाकुहरूलाई अरूको सम्मान गर्न पनि निर्देशन दिए। ‘जसरी हामीले यो उपलब्धि हासिल गर्‍यौं त्यो अपेक्षित थिएन। अल्लाहले हामीलाई विजय दिनुभएको छ,’ उक्त भिडिओमा मुल्लाह बारादारले भनेका छन्।

तालिबानका संस्थापक मुल्लाह मोहम्मद ओमरबारे किताब लेखेका तालिबान विज्ञ बेट ड्यामका अनुसार बारादार र ओमरको भेट दक्षिणी कान्दाहारमा भएको थियो। सन् १९७९ मा सोभियत युनियनले अफगानिस्तानमा अतिक्रमण गरेपछि कान्दाहारबाटै तालिबानको जन्म भएको थियो।

सन् १९९४ मा तालिबानले अफगानिस्तानभरि नियन्त्रण जमाउँदा बारादारले एउटा कुशल सैन्य कमाण्डरका रूपमा काम गरेका थिए। अमेरिकाले आक्रमण गरी २००१मा उक्त समूहलाई भूमिगत बनाएपछि सुरूमा उनले आत्मसमर्पण गर्न खोजेका थिए भने पछि तालिबानलाई फेरि संगठित गर्न केन्द्रीय भूमिका खेलेका थिए।

सन् २००१ मा अमेरिकाले आक्रमण गरेर काबुलबाट तालिबान सरकार ढाल्दा बारादार रक्षा मन्त्री थिए। त्यतिबेला उनले अमेरिकासँग आत्मसमर्पण गर्न खोजेका थिए तर त्यो तालिबानका अरूलाई स्वीकार्य भएन।सन् २०१० पाकिस्तानबाट पक्राउ पर्नुअघि पनि उनी तत्कालीन हमिद कारजाई सरकारसँग सम्झौता गर्न गोप्य रूपमा काम गरेका थिए।

कारजाई र बारादार एउटै जाति पास्तुन डुरानीका हुन्। कारजाईले पाकिस्तानलाई धेरै पटक उनको रिहाका लागि भनेका थिए। उनी रिहा भए तालिबानहरू शान्ति वार्ताका लागि तयार हुन्छन् भने कारजाईको विश्वास थियो।

सन् २०१८ मा भने अमेरिकाले नै पाकिस्तानलाई बारादारलाई रिहा गर्न दबाब दियो। उनी रिहा भए। सुरूमा तालिबानमा उनको नेतृत्वको स्वीकार्यता र स्वास्थ्य अवस्थाबारे शंका गरिएको थियो तर केही समयमै ती शंका निमिट्यान्न भए। उनी रिहा भएर र दोहा गए। अमेरिकासँगको शान्ति वार्ता प्रक्रियाको नेतृत्व उनैले लिए।

अमेरिकनहरूसँग उनले सम्झौताका लागि नरम भाषा बोले। उनीभन्दा अघिका वार्ताहरूमा सर्वसाधारण मारिएको विषयमा दुबै पक्षले एक अर्कालाई आरोप लगाउँदा तनावपूर्ण वातावरण बन्थ्यो तर मुल्लाह बारादारले कहिल्यै पनि चर्को स्वरमा बोलेको सुनिएन।

वार्ताकारहरू उनलाई शान्त, स्थीर र बुझ्न कठिन मानिसका रूपमा ब्याख्या गर्छन्। तर जब वार्ता कुनै बिन्दुमा गएर अड्किँदा ब्रेकथ्रु गर्ने उनी नै हुन्थे। वार्ताका क्रममा उनी वार्ता टोलीका अन्य सदस्यहरूलाई बोल्न दिन्थे।

‘उनी आफैंले भनेकै हुनुपर्छ भन्ने खालका व्यक्ति होइनन्,’ वार्तामा सहभागी एक जनाले भनेका छन्। कतिपयलाई भने उनले थोरै बोल्दा भन्न खोजेको के हो भन्ने नै नबुझिएकोजस्तो लाग्छ। पछिल्लो समय एउटा युरोपियन डेलिगेसनको वार्ताका क्रममा उनले पास्तो भाषामा लेखेको एउटा वक्तव्यमात्र पढेर सुनाएका थिए। ‘उनी तालिबानका सबैभन्दा महत्वपूर्ण व्यक्ति हुन् किनभने उनी स्थापनादेखि तालिबासँग थिए र हरेक महत्वपूर्ण मोडमा निर्णय गरेका थिए,’ इन्टरनेशनल क्राइसिस ग्रुपका अफगानस्थित कन्सल्ट्यान्ट इब्राहिम बाहिसले भने।

दुई दशकसम्म तालिबानहरूले युद्ध प्रशासन बनाएका थिए। हरेक प्रान्तमा उनीहरू राजनीतिक, न्यायिक नेता र सैन्य कमाण्डर नियुक्त गर्थे। तर तिनीहरू बिरलै सार्वजनिक रूपमा देखिन्थे। तालिबानका एमिर अर्थात् आध्यात्मिक नेता मुल्लाह हैबतुल्लाह अखुन्जादा पाकिस्तानको क्वेटा सहर नजिकै बस्ने अनुमान गरिन्छ। तालिबानका दैनिक गतिविधि उनका दुई सहयोगी मुल्लाह याकुब (तालिबानका संस्थापक मुल्लाह मोहम्मद ओमारका जेठा छोरा) र सैन्य प्रमुख सिराजुद्दिन हक्वानीले चलाउँथे।

‘पहिला देखिएको त्यही संरचना उनीहरूले सरकार चलाउँदा नदेखिन सक्छ,’ अफगानिस्तानमा तालिबान शासनबारे पुस्तक लेखेका आस्ले ज्याक्सनले द वाल स्ट्रिट जर्नलसँग भनेका छन्,‘अब यो अभियानलाई कसले नेतृत्व गर्छ भन्ने कसैलाई थाहा छैन किनकी तालिबानहरूले केही भनेकै छैनन्।’

अफगानिस्तानको राजधानी काबुल कब्जा गर्दैगर्दा पश्चिमा कूटनीतिज्ञहरूलाई बारादारले सबै जनाले आफ्ना कर्मचारी र नागरिक उद्धार नगरेसम्म काबुलमा नपस्ने बताएका थिए। राष्ट्रपति असरफ घानी नै देश छोडेर भागेपछि गत आइतबार तालिबानहरू काबुल छिरेका हुन्।तालिबान अब एउटा चुनौतीपूर्ण समयमा प्रवेश गरेको छ। काबुलसहित देशका सहरका मानिसहरूलाई उसप्रति विश्वास छैन।

काबुलको दैनिकी अस्तव्यस्त छ। यही बेलमा मौका छोप्ने समूहले हिंसा र लुटपाट मच्चाउन सक्छन्। पश्चिमा अधिकारीहरूले यसपालि तालिबानहरूले मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धीहरूको पालना गर्ने आशा गरेका छन्। बदलामा उनीहरूले तालिबानमा वैधानिकता र आर्थिक सहयोग गर्नेछन्।

दुई महिनाअघि बारादारले काबुलस्थित विदेशी नियोगलाई निरन्तरता दिएर अन्तर्राष्ट्रिय समुदायसँग निरन्तर समन्वय गर्न आफू तयार रहेको बताएका थिए।उनको नरम शैलीकै कारण धेरै पश्चिमा मिडियाले पनि उनको तारिफ गरेका छन्। बेलायती समाचार पत्र द गार्डियनले २० वर्षको युद्धमा निर्विवाद विजेता बारादार हुन् भनेको छ।

तालिबानहरूले अमेरिकी सेनाले छोड्नासाथ उसले बनाएको सेनालाई पाखा लगाउँदै काबुल कब्जा गरेपछि बारादार पक्कै पनि विजयी भएका छन् तर अब उनले त्यही सफलता भने नपाउन सक्छन्। किनकी युद्ध जित्नु र सरकार चलाउनु दुई फरक कुरा हुन्।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया