आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कसको बेन्चमा पुग्यो कुलमान नियुक्तिविरूद्धको मुद्दा ?

प्रकाशित
563
SHARES

काठमाडौँ। सर्वोच्च अदालतले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्तिविरूद्ध परेको रिटमाथि सुनुवाइका लागि आज पेशी तोकेको छ।

उक्त पदमा आफू रहँदा रहँदै घिसिङलाई गरिएको नियुक्ति कानून र सर्वोच्च अदालतले प्रतिपादन गरेको सिद्धान्तविपरीत भएको भन्दै हितेन्द्रदेव शाक्यले रिट दिएका थिए।

उक्त रिट मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासमा परेको छ। आफू पदमा रहँदा रहँदै कुलमानलाई गरिएको नियुक्ति कानूनविपरीत भएको भन्दै शाक्य अदालत गएका थिए। प्राधिकरणको कार्यकारी निर्देशक पदबाट मैले राजीनामा दिएको छैन भन्न कुरा निर्विवाद छ।

त्यसैगरी मलाई विपक्षी नेपाल सरकारले उक्त पदबाट सुनुवाइको मौका प्रदान गरी कुनै कानूनी आधारमा हटाउने निर्णय गरेको छैन भन्ने कुरा पनि निर्विवाद छ,’ उनको रिटमा भनिएको छ, ‘यस्तो अवस्थामा मेरो यथावत रहेको नेपाल विद्युत प्राधिकारणको कार्यकारी निर्देशक पदमा विपक्षी कुलमान घिसिङलाई नियुक्ति गर्ने कार्य कानून र औचित्यको समेत प्रतिकूल छ।’

साउन २५ गते बसेको मन्त्रिपरिषद बैठकले आफूलाई ऊर्जा आयोगको विज्ञको रूपमा नियक्ति गरेकोमा पनि उनले असन्तुष्टि जनाएका छन्।आफूले उक्त पद स्वीकार नगर्दै आफूलाई विस्थापित गर्न कुलमानलाई नियुक्ति गरिएको शाक्यको जिकिर छ।

‘एउटा पदमा दुई व्यक्ति रहन नसक्ने र मलाई गरिएको ऊर्जा आयोगको विज्ञको पदलाई मैले स्वीकार गरेको अवस्था नहुँदै अप्रत्यक्ष तवरमा मलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट विस्थापित गर्ने उद्धेश्यले विपक्षी कुलमान घिसिङलाई उक्त पदमा नियुक्त गर्ने विपक्षीहरूको कामकारबाहीले सो पदमा रही सेवा गर्ने र प्राधिकरणको नेतृत्व गर्ने मेरो वैध अपेक्षामा प्रतिकूल असर गरेको छ।’

मन्त्रिपरिषदका निर्णयले आफूलाई संविधानले दिएको पेशा रोजगार गर्न पाउने स्वतन्त्रता, समान संरक्षणको हक, इच्छाविरूद्ध काममा लगाउन नपाइने हक लगायतका हक हनन गरेको शाक्यको रिटमा उल्लेख छ। यसअघि उक्त रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको थियो तर पछि न्यायाधीश रेग्मीले उक्त दिन हेर्न नभ्याइनेमा राखेका थिए।

कुलमानको निर्देशन : झ्याप्प-झ्याप्प बत्ती जान नदिन कठोर बन्नुस्

प्राधिकरणले विद्युत आपूर्तिलाई नियमित, भरपर्दो तथा गुणस्तरीय र सेवा प्रवाहलाई छिटो, छरितो एवं सहज बनाउने भएको छ । प्राधिकरणका कार्यकारी कुलमान घिसिङले सोमबार ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक, ७ वटै प्रादेशिक कार्यालयहरु, प्रदेश डिभिजन कार्यालयहरु र शाखाका प्रमुखहरुसँग भर्चुअल बैठक राखी कार्यालयहरुले बेहोरिरहेका समस्याहरुका बारेमा छलफल गरी गुणस्तरीय विद्युत आपूर्ति, सेवा प्रवाहमा सुधार, सुशासन कायम गर्न कठोर बन्न निर्देशन दिएका छन् ।

‘छिनछिनमा बत्ती जाने गरेको, गुनासो गर्दा नो लाइटमा फोन नउठ्ने, गुनासो सम्बोधन नहुनेजस्ता गुनासो मलाई मात्रै हैन, ऊर्जा मन्त्रीज्यूकोमा समेत आउने गरेको छ यस्ता गुनासोलाई तत्काल समाधान गरी उपभोक्तालाई नियमित, गुणस्तरीय, भरपर्दो विद्युत् आपूर्ति र सेवा प्रवाह सुधारमा केन्दि्रत हुनुपर्छ,’ उनले भने,’संस्थाभित्रको सुशासन कायम गरी ग्राहकलाई दिने सेवा सुधार गर्न आफैं सुधि्रएर नैतिक आचरण देखाउनु पर्छ, चुहावट नियन्त्रण अभियान रोकिएको छ, स्थानीय तह र प्रशासनसँगको समन्वय र सहकार्यमा यसलाई तत्काल सुरु गर्नुपर्छ ।’उनले कसैको दबाब र प्रवावमा नपरी उच्च नैतिक आचरण देखाएर जिम्मेवार भई काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।

‘विद्युतको माग बढाउन ग्राहकले माग्नसाथ थ्रि फेज मिटर दिनुपर्छ, प्रसारण तथा वितरण संरचनाहरुको सुदृढीकरण तथा स्तरोन्नति गर्ने योजना बनाइ तत्काल काम सुरु गर्नुपर्छ, निर्माणाधीन आयोजनाहरुको छिट्टो सम्पन्न गर्नुपर्छ, रुग्ण बनेका र काम नगर्ने ठेकेदारसँगको ठेक्का तोड्नुपर्छ ,’ उनले भने ।

खर्च नियन्त्रणका लागि स्टोरमा रहेका पुरानो सामानको अधिकतम प्रयोग गरी जिन्सी सामानको स्टक घटाउने, नयाँ सामान खरिदमा नियन्त्रण, काम नलाग्ने जिन्सी सामानहरुको लिलामी, ट्रान्सर्फमरहरुको मर्मत समयमै आफ्नै वर्कसपमा गरिने छ । वित्तीय अनुशासन कायम गर्न ठाडो खरिद, कोटेसनमार्फत हुने खरिदको नियन्त्रण आर्थिक प्रशासन विनियमावलीलाई कडाइकासाथ पालना गरिने छ ।

कर्मचारीको आचरण सुधार गरी सुशासन कायम गर्न गलत काम गर्ने कर्मचारीलाई कारबाही, माथिल्लो निकायलाई जानकारी नदिई कार्यालय नछोड्ने, संस्थालाई थप आर्थिक भार पर्ने कुनै पनि गतिविधि नगर्ने जस्ता व्यवस्था प्राधिकरणले गरेको छ ।

शहरी सौन्दर्यलाई वृद्धि गर्न ‘उज्यालो र सफा सहर अभियान’ चलाउने घोषणा गरेको प्राधिकरणले उज्यालो सहर अभियानअन्तर्गत नगरपालिकाहरुसँगको समन्वय र सहकार्यमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरु, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरुमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गर्ने प्रक्रिया सुरु गर्न मातहतका कार्यालयलाई निर्देशन दिएको छ ।

साथै सफाइ अभियानअन्तर्गत मुख्य तथा सहायक सडकहरुमा रहेका प्रयोगविहीन अनावश्यक विद्युतीय पोल तथा तारहरु हटाउने, तारहरुलाई भूमिगत गर्नेलगायतका काम अगाडि बढाउन पनि प्राधिकरणको निर्देशन छ ।

बैठकमा वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपयकार्यकारी निर्देशक मनोज सिलवालले चुहावट नियन्त्रण, विद्युतीकरण, सेवा प्रवाह सुधारमा केन्दि्रत हुन निर्देशन दिए ।

उनले रुग्ण बनेका आयोजनाहरुको ठेक्का तोड्न र कुनै ठेकेदारबाट काम हुँदैन जस्तो लागेमा ठेक्का तोड्ने प्रस्ताव ल्याउन आग्रह गरे । कार्यक्रममा प्रादेशिक कार्यालयका प्रमुखहरुले आफ्नो क्षेत्रमा संरचना अभावमा मागअनुसार विद्युत् दिन नसकिएको, पोल, ट्रान्सर्फमर, मिटरलगायतका अभाव रहेको जानकारी गराएका थिए ।

प्रतिक्रिया