आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पछिल्लो २४ घण्टामा नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी

प्रकाशित
434
SHARES

काठमाडाैं। पछिल्लो २४ घण्टामा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा निको हुनेको सङ्ख्या बढी देखिएको छ। थप २ हजार ७५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि हुँदा यही अवधिमा थप २ हजार ३८२ जना जना निको भएका हुन् ।

कूल १३ हजार ७५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ४२४ र एन्टीजेन विधिबाट ६५१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ३२१ रहेको छ ।

थप २ हजार ३८२ जना निको हुँदा नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ६ लाख ९५ हजार ९२५ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९३.३ प्रतिशत रहेको छ । यही अवधिमा थप ३० जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म १० हजार ४८५ जनाले कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाइसकेका छन् ।

५०० भन्दा बढी सक्रिय सङ्क्रमित कहाँ धेरै?

५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लाहरूको सङ्ख्या वाग्मती प्रदेशमा उच्च छ। उक्त प्रदेशका काठमाडाैं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलान्चोक, दोलखा, सिन्धुपाल्चोक र नुवाकोट जिल्लामा सङ्क्रमितहरूको सङ्ख्या ५०० भन्दा बढी छ।

गण्डकी प्रदेशको नवलपरासी पूर्व, कास्की,बागलुङ, गोरखा, स्याङ्जा र तनहुँमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन्। प्रदेश १ का मोरङ, सुनसरी र झापाको अवस्था पनि त्यस्तै छ।

लुम्बिनी प्रदेशका दुई जिल्ला दाङ र रूपन्देहीमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने कर्णाली प्रदेशको सुर्खेत अनि सुदूरपश्चिम प्रदेशको कैलालीमा पनि सङ्ख्या ५०० माथि छ। अहिलेसम्म पूर्ण मात्रामा खोप लगाउनेहरूको सङ्ख्या ३८ लाख ३५ हजार नाघेको मन्त्रालयले जनाएको छ।

अक्सफर्ड-आस्ट्राजेनेकाले बनाएको खोप, चीनमा निर्मित भेरो सेल र जोनसन एन्ड जोनसनको ज्यान्सेन खोप नेपाल आएका छन्। जोनसन एन्ड जोनसन खोप एक मात्रा मात्र लगाए पुग्छ भने आस्ट्राजेनेका तथा भेरो सेलको दुई मात्रा लगाउनुपर्छ।

के अब कोरोना भाइरस सङ्क्रमण हुनु खोप लगाउनुभन्दा उपयुक्त हो ?

प्राकृतिक रूपमा कोरोनाभाइरसको सङ्क्रमण भएपछि तथा खोप लगाइसकेको अवस्थामा तपाईँको प्रतिरक्षा प्रणालीमा उल्लेख्य भिन्नता हुन्छ।

कुन राम्रो हो त ?

एक वर्षअघिसम्म यो प्रश्न सोध्नु पनि “पाप” जस्तो ठानिन्थ्यो जतिबेला पहिलो पटक कोभिड हुनु घातक हुन सक्थ्यो – विशेषतः वृद्धावस्थामा भएका र अस्वस्थ मानिसका लागि। तर अहिले हामी शून्य प्रतिरोध क्षमताबाट सुरु गरिरहेका छैनौँ किनभने अत्यधिक मानिसले या त खोप लगाइसकेका छन् या उनीहरू कोरोनाभाइरसबाट सङ्क्रमित भइसकेका छन्।

यो एउटा गम्भीर प्रश्न हो जसबाट बालबालिकाले खोप लगाउनुपर्छ कि पर्दैन भन्ने विषयमा पनि प्रभाव पार्छ। अनि वयस्कलाई प्रतिरोध क्षमता बढाउन भाइरस वा बूस्टर खोप दिनुपर्छ कि पर्दैन भन्ने प्रश्न पनि जन्माउँछ। यी दुवै विवादित बनेका छन्।

“हामीले प्रत्येक वर्ष अतिरिक्त मात्रा दिएर कोभिडलाई परास्त गर्न सकिन्छ भन्ने सोच्यौँ भने आफूलाई अप्ठेरोमा पारिरहेको हुनेछौँ,” यूनिभर्सिटी अफ एडिन्बराका रोग प्रतिरोधी क्षमतासम्बन्धी विज्ञ प्राध्यापक एलानर राइली भन्छिन्।

यूकेका एक सरकारी खोप सल्लाहकार प्राध्यापक एडम फिनले विश्वको अरू कुनामा खोपको पहुँच नपुग्दै मानिसहरूलाई बढी मात्रामा खोप दिनु “असमानता मात्रै नभएर अलिकति विक्षिप्तता” पनि भएको बताए। हामीले हाम्रो प्रतिरोध प्रणालीको प्रमुख संरचना र त्यसले आक्रमण गर्ने भाइरसबारे अझ केही बुझ्नुपर्ने हुन्छ।

शरीरलाई सङ्क्रमणबाट जोगाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिरोध प्रणालीका एन्टिबडी र टी-सेल शक्तिशाली जोडी हुन्। भाइरसको सतहमा टाँसिएर एन्टिबडीहरूले तिनलाई नष्ट गर्नुपर्ने सङ्केत दिन्छन्। टी-सेलहरूले भाइरसले हाम्रो कुन कोषलाई नियन्त्रण गरेको छ त्यसलाई पहिचान गर्छन् र ध्वस्त पारिदिन्छन्।

कोरोनाभाइरसले निम्त्याएका सबै समस्या आश्चर्यजनक रूपमा साधारण छ। उक्त भाइरसको सतहबाट काँडेदार स्पाइक प्रोटीन निस्किएका हुन्छन् जसलाई भाइरसले मानवकोषभित्र प्रवेश गर्ने ढोकाको साँचोका रूपमा प्रयोग गर्छ। त्यसबाहेक भाइरससँग हाम्रा कोषमा नियन्त्रण कायम गर्न अन्य २८ वटा प्रोटीन र हजारौँ गुना विस्तार गर्ने क्षमता हुन्छ। (तुलनाका लागि, मानवको शरीर चल्न २० हजारवटा प्रोटीन आवश्यक पर्छ।)

खोप र भाइरसको प्राकृतिक सङ्क्रमणलाई तुलना गर्ने मूल रूपमा चारवटा क्षेत्र छन्। खोपभन्दा पनि भाइरसको सङ्क्रमणबाट तपाईँले व्यापक प्रतिरोध क्षमता हासिल गर्न सक्नुहुन्छ। तपाईँले मोडेर्ना वा फाइजर वा अक्सफर्ड-अस्ट्राजेनेका जुन खोप लगाए पनि तपाईँको शरीरले स्पाइक प्रोटीनलाई पहिचान गर्न सिकिरहेको हुन्छ।

यो भाइरसविरुद्ध एन्टिबडी बनाउन पनि महत्त्वपूर्ण हुन्छ। परिणामस्वरूप धेरै मानिस अस्पताल जानुपर्ने अवस्था ननिम्तिने अभूतपूर्व परिणाम देखिएको छ। तर अरू २८ वटा प्रोटीनलाई पनि निसाना बन्न दिनु टी-सेललाई धेरै जिम्मेवारी दिनु हो।

“यसको अर्थ यदि तपाईँसँग वास्तविक सङ्क्रमण थियो भने तपाईँको प्रतिरोध क्षमता कुनै नयाँ भेरिअन्टसँग अझ राम्रो हुनसक्छ किनभने एउटाभन्दा बढी स्पाइकविरुद्ध जुझ्ने क्षमता तपाईँसँग हुन्छ।” हामीलाई मानिसहरूलाई दुई पटक सङ्क्रमण भएका र खोप लगाएपछि पनि सङ्क्रमण देखा परेको घटनाहरू थाहा छ।

“दुवैले भाइरसको सङ्क्रमणबाट पूर्ण सुरक्षा दिँदैनन्। तर कुनै एकबाट तपाईँले प्राप्त गर्ने प्रतिरोध क्षमताले गम्भीर बिरामी हुनबाट तपाईँलाई राम्रोसँग जोगाउने देखिएको छ,” यूनिभर्सिटी अफ ब्रिस्टलका प्राध्यापक फिन भन्छन्। सङ्क्रमण भएकोभन्दा खोप लगाएको एक महिनासम्म एन्टिबडीको मात्रा औसतमा बढी हुन्छ।

तर लक्षण नदेखिएका व्यक्तिहरू र गम्भीर लक्षणसहित कोभिड लागेका व्यक्तिहरूमा एन्टिबडीको मात्रामा ठूलो खाडल रहन्छ। सबैभन्दा बलियो प्रतिरक्षा प्रतिक्रिया कोभिड लागेर त्यसपछि खोप लगाएका व्यक्तिहरूमा देखा परेको पाइन्छ। हामी खोप लगाएर त्यसपछि कोभिड लागेका व्यक्तिहरूको हकमा भने तथ्याङ्कहरू कुरिरहेका छौँ।

सुरक्षा कति समय टिक्छ

एन्टिबडीको मात्रा समयक्रमसँगै घट्ने गरेको पाइन्छ तर गम्भीर प्रकारका बिरामी नियन्त्रणका लागि यसको महत्त्वपूर्ण अर्थ नहुन सक्छ। प्रतिरोध प्रणालीले भाइरस र खोपलाई सम्झन्छ र सङ्क्रमण देखा पर्दा द्रुत ढङ्गले प्रतिक्रिया जनाउँछ।

शरीरमा “मेमरी टी-सेलहरू” हुन्छन् र बी-सेलहरू चनाखो भएर मागअनुसार प्रचुर मात्रामा नयाँ एन्टिबडी उत्पादन गर्न तयार भएर बस्छन्। सङ्क्रमण भएको एक वर्षभन्दा बढी अवधिपछि पनि प्रतिरोध प्रणाली कायम रहेको प्रमाण छ र खोपसम्बन्धी परीक्षणहरूले दीर्घकालीन लाभ देखाएका छन्। “दिगोपनाका बारेमा हामीले अझै हेरिरहेकै छौँ,” लन्डनस्थित इम्पेरीअल कलेजका प्राध्यापक पिटर ओपन्श भन्छन्।

शरीरको कुन ठाउँमा प्रतिरोधी प्रणाली छ

यो अर्थपूर्ण छ। एन्टिबडीका विभिन्न समूहहरू नाक र फोक्सोमा रहेका छन् जसलाई इम्यूनोग्लोब्यूलिन एएस भनिन्छ। अनि ती हामीले रगतसँगै जाँच्ने इम्यूनोग्लोब्यूलिन जीएसभन्दा फरक छन्। पहिलो प्रकारका एन्टिबीडहरू बढी महत्त्वपूर्ण छन् किनभने तिनले सङ्क्रमण रोक्ने काम गर्छन्। प्रायः खोप सुईबाट पाखुरामा दिइन्छ।

प्राकृतिक सङ्क्रमण नाकमा हुने भएकाले यो ती एन्टिबडीसम्म पुग्ने उपयुक्त बाटो हुनसक्छ र अहिले नाकबाट दिने खोपहरूबारे पनि अनुसन्धान भइरहेको छ। यूनिभर्सिटी अफ अक्सफर्डमा टी-सेलबारे अनुसन्धान गर्ने प्राध्यापक पोल क्लेनर्म्यान भन्छन्, “एउटै भाइरस भए पनि सङ्क्रमण भएको स्थानले फरक पार्छ, त्यही भएर हामी प्राकृतिक सङ्क्रमण र खोपबीच महत्त्वपूर्ण फरक हुने अपेक्षा गर्न सक्छौँ।”

भारतमा कस्तो छ अवस्था ?

मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार भारतमा ९७.५ प्रतिशत सर्वसाधारणहरू कोभिडबाट निको भएका छन्। नेपालमा उक्त प्रतिशत ९३.१ छ। त्यस्तै नेपालमा मृत्यु हुनेहरूको औसत १.४ प्रतिशत रहँदा भारतमा १.३ प्रतिशत छ।

सक्रिय सङ्क्रमितहरूको प्रतिशतमा भने नेपाल भारत भन्दा अघि देखिन्छ। भारतमा हाल १.१ प्रतिशतमा सक्रिय सङ्क्रमण छ भने नेपालमा ५.५ प्रतिशतमा सक्रिय सङ्क्रमित रहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ। भारतमा हालसम्म ५७ करोडभन्दा बढी कोभिड खोपका मात्रा सर्वसाधारणहरूलाई दिइएको जनाइएको छ।

 

प्रतिक्रिया