आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

के हो शरिया कानुन ? किन हुँदैछ अफगानिस्तानमा विरोध ?

प्रकाशित
2.7K
SHARES

एजेन्सी। अफगानिस्तानमा कब्जा जमाउनासाथ तालिबानले शरिया कानुनको माध्यमबाट देशमा शासन चलाउने घोषणा गरिसकेको छ । गत आइतबार काबुलमा कब्जा जमाएसँगै तालिबानले आफू विजयी भएको घोषणा गरेको थियो । तालिबानले अफगानिस्तान कब्जा गरेपछि सबै नागरिकलाई आम माफी दिने घोषणा पनि गरेको छ ।

इस्लामिक इमिरेट्स संस्कृति आयोगका सदस्य ईनामुल्लाह समनगनीले महिलाहरूलाई पनि सरकारमा सहभागी हुन आग्रह गरेका छन् । उनले महिलाहरूलाई पीडामा राख्ने कुनै उद्देश्य नरहेको जनाएका छन् । यद्यपि, शरिया कानुन लागु भएपछि देशका महिलाहरूले उपभोग गरिरहेको स्वतन्त्रता खोसिनेछ भनेर धेरैले चिन्ता व्यक्त गरिरहेका छन् ।

शरिया कानुन के हो ?

शरिया इस्लामको कानुनी व्यवस्था हो । यसलाई कुरानसहितका धर्मग्रन्थ र विद्वानहरूको फैसलामा आधारित छ । अरबिकमा शरियाको भाषिक अर्थ ‘बाटो’ हो ।

शरिया कानुनको माध्यमबाट सबै मुस्लिमहरूलाई बाँच्ने एक बाटो देखाइन्छ । यसमा उनीहरूले इस्लाममा बताइएको बाटो पालना गर्नुपर्ने हुन्छ । जस्तो : नमाज पढ्ने, रोजा राख्ने र गरिबलाई दान दिने विषय यसमा समावेश हुन्छ । दैनिकी र व्यक्तिगत जीवनसहित आफ्नो जीवनका हरेक पक्ष खुदाको इच्छा अनुसार कसरी बाँच्ने भनेर मुसलमानहरूलाई सम्झाउनु यो कानुनको उद्देश्य हो । यस कानुनमा पैगम्बर मोहम्मदका प्रवचन, शिक्षा र अभ्यासबारे लेखिएको छ ।

व्यवहारमा के अर्थ छ ?

शरियाले मुसलमानहरूलाई दैनिक जीवनको हरेक पक्ष अवगत गराउँछ । कुनै कुरामा कोही मुस्लिम दुविधामा पर्‍यो भने उसले शरियाका विद्धानसँग सल्लाह लिनसक्छ । आफ्नो धर्मको कानुनी ढाँचाभित्र रहेर काम गरिरहेको छु भन्ने सुनिश्चितताका लागि यस्तो सल्लाह लिन सकिन्छ । दैनिक जीवनका धेरै विषयमा मार्गदर्शनका लागि मुस्लिमहरूले शरिया कानुन पछ्याउँछन् । यसमा उनीहरूको पारिवारिक, कानुनी, वित्तीयलगायत विषय पनि समावेश छ।

यस कानुनमा केही कठोर सजाय किन ?

शरिया कानुनले अपराधलाई दुई श्रेणीमा वर्गीकरण गरेको छ । यसमा पहिलो ‘हद’ अपराध छ, यो गम्भीर अपराध हो । यसका लागि सजाय दिइन्छ । दोस्रो ‘तजीर’ अपराध हो, जहाँ सजाय दिने फैसला न्यायाधीशको विवेकमा छोडिएको हुन्छ । ‘हद’ अपराधमा चोरी समावेश छ । यस्तो अपराध गर्नेको हात काटिन्छ । त्यस्तै, यौन अपराधमा पनि कठोर दण्ड दिइन्छ । जसमा ढुंगाले हानेर मार्ने सजाय पनि पर्छ । केही इस्लामिक सङ्गठनहरू ‘हद अपराध’ को नियममा सुरक्षाका धेरै उपायहरू पनि तय गरिएको बताउँछन् । यही कारण, सजाय माग्नुभन्दा पहिले ठोस प्रमाणको जरुरी हुन्छ ।

शरिया कानुनमा कसरी सुनाइन्छ फैसला ?

कुनै पनि कानुनी प्रणालीजस्तै शरिया कानुन पनि जटिल छ। र, यसको अभ्यास सम्पूर्ण रूपमा विशेषज्ञको गुणवत्ता र तालिममा पनि निर्भर गर्छ । इस्लामिक जजहरूले मार्गदर्शन र निर्णय जारी गर्छन्। मार्गदर्शन, जसलाई औपचारिक कानुनी निर्णय मानिन्छ, यसलाई फतवा पनि भनिन्छ।

शरिया कानुनका पाँच अलग–अलग स्कुल छन् । चार सुन्नी सिद्धान्त छन् : हनबली, मलिकी, सफी र हनफी । अर्को सिद्धान्त : शिया सिद्धान्त हो, जसलाई शिया जाफरी भनिन्छ । शरिया कानुन निकाल्नका लागि ग्रन्थहरूको व्याख्या गर्ने मामिलामा यी पाँचवटै कानुन अलग–अलग छन् ।कुन देशमा कस्तो अभ्यास ?

साउदी अरेबियाको सबै खाले कानुनको मुख्य आधार शरिया हो । केही अघिसम्म साउदीमा सार्वजनिक स्थलमा सजाय दिइनु सामान्यजस्तै थियो । समलिङ्गी यौन गतिविधिमा यहाँ बन्देज छ र ढुङ्गा हानेर मार्ने सजाय छ, यद्यपि प्रायजसोः अवस्थामा कोर्रा हान्ने र कारावासमा कोच्ने

गरिन्छ ।

हातखुट्टा काट्ने र शिर काट्ने काम प्राय:जसो शुक्रबार मध्यदिनको प्रार्थनाअघि गरिन्थ्यो । अति गम्भीर घटनामा दोषी पाइएका व्यक्तिको शवलाई फाँसी दिइसकेपछि झुन्ड्याएर राखिन्थ्यो ।

यहाँ कसैले आँखामा आँखा जुधाएर हेर्दा कोही व्यक्तिलाई समस्या पर्छ भने उजुरी गर्न सक्छ : यस व्यवस्थालाई ‘क्युस’ भनिन्छ । यहाँ मृतकको परिवारले अपराधीलाई उन्मुक्ति वा माफी दिन सक्ने व्यवस्था पनि छ, प्रायजसोः हत्याराले मृतक परिवारलाई पैसा तिरेर उन्मुक्ति लिने गर्छन् ।

इरानको इस्लामिक कानुन पनि शरिया कानुनअन्तर्गत नै छ । तर, साउदीको दाँजोमा यहाँको कानुन पृथक र केही उदार छ । यहाँ न्यायाधीसहरुले प्राप्त प्रमाणलाई राम्रोसँग मूल्याङ्कन गरेर फैसला गर्ने लिन्छन्, प्राय:जसो घटनाका अपराधीलाई जेलमा कोच्ने व्यवस्था छ । तर कठोर कानुन लागु भएको भन्दै बेला–बेलामा इरानको चर्को विरोध हुने गरेको छ । कोर्रा हान्ने, हात–खुट्टा काट्ने, चरम यातना दिएर अन्धो बनाउनेजस्ता अमानवीय र क्रूर सजायहरूको प्रयोग गरेको भन्दै एमनेस्टी इन्टरनेसनलले २०१७ मा इरानको आलोचना गरेको थियो ।

२०१९ मा ब्रुनाईले पनि शरिया कानुन लागु गर्‍यो । दक्षिण पूर्वी एसियामा शरिया कानुन लागु गर्ने यो पहिलो देश हो । यहाँको शक्तिशाली राजतन्त्र यस कानुन लागु गरेपछि निकै आलोचित भएको थियो । तर, सुल्तानले शरिया कानुनका केही नियमहरू यहाँ लागु नहुने बताए । जसअनुसार परपुरुष तथा परस्त्रीगमनका घटना र समलिङ्गीबीचको यौन सम्पर्कमा ढुङ्गा हानेर मार्ने सजाय हुनेछैन ।

अफगानिस्तान

तालिवानको सत्ता छँदा २० वर्षअघि अफगानिस्तानमा शरिया कानुन थियो । यहाँ पुरुषलाई साथमा लिएर मात्रै महिलाले घरबाहिर निस्कन पाउँथे र उनीहरूले पुरै शरीर ढाक्ने बुर्का लगाउनुपर्ने बाध्यता थियो । १९९६ देखि २००१ सम्म तालिबान यहाँ शक्तिमा थियो र यस अवधिमा ‘हद’ सजाय नियमित रूपमा लागु गरिएको थियो ।

इन्डोनेशिया

इन्डोनेशियामा विश्वकै सबैभन्दा धेरै मुस्लिम जनसङ्ख्या बस्छ । तर, यस देशको पुरातनवादी आचे क्षेत्रमा मात्रै इस्लामिक कानुन छ । जुवातास, रक्सी खाने, परस्त्रीगमन र समलिङ्गी यौन गतिविधिमा कोर्रा लगाउने काम सामान्य हो । तर, टाउको काट्ने कामलाई केन्द्रीय सरकारले स्वीकृति दिँदैन । सन् २००१ मा आत्मनिर्णयको अधिकार पाएपछि अचे क्षेत्रले धार्मिक कानुन लागु गरेको थियो । लामो समयदेखि चलिरहेको विभाजनकारी अभियानलाई रोक्नका लागि केन्द्रीय सत्ताले उसलाई स्वायत्तता दिएको थियो ।

सुडान

सुडानले १९८३ मा सरिया कानुन अख्तियार गर्‍यो, तर त्यसयता कहिलेकाहीँ मात्रै यसको अभ्यास भएको अभियन्ताहरू बताउँछन् । ढुंगाले हानेर मार्ने काम कानुनका किताबमा उल्लेख भए पनि लागु नभएको वर्षौँ भइसक्यो । यद्यपि, सयौँ महिलाहरूलाई हरेक वर्ष कोर्रा लगाउने गरिएको अधिकारवादीहरू बताउँछन् ।

पाकिस्तान

सैन्य तानाशाह मुहम्मद जिया उल हकले १९७९ मा हुदुद नियम ल्याएका थिए, धर्मको आडमा शासन गर्न खोजिएको भन्दै यसको चर्को आलोचना भयो । पाकिस्तानमा शरिया अदालतहरू पनि छन्, जसले धर्मका आधारमा फैसला गर्छन् । तर यस्तो फैसला लिँदा पनि बेलायती शैलीको पेनल कोडलाई ध्यानमा राख्नुपर्छ । व्यभिचार, झुठा आरोप, सम्पत्तिसम्बन्धी अपराध र ड्रग तथा अल्कोहलमाथिको रोकबारेका मुद्दा ती अदालतहरूले हेर्ने गरेका छन् । सन् २००६ मा संसद्बाट महिला संरक्षण ऐन पारित भएको थियो । जसअनुसार बलात्कार र परपूरुषगमन– परस्त्रीगमनका घटनालाई धार्मिक कानुनबाट हटाइयो । अर्थात्, यी नियमहरुबारे धार्मिक अदालतले निर्णय गर्न पाउँदैनन् ।

पाकिस्तानमा शरिया अदालतले गरेका फैसलाबारे मुख्य अदालतमा अहिले पनि अपिल गर्न पाइन्छ। नाइजेरियाका ३६ वटा राज्यमध्ये १२ वटा राज्यका अदालतले आपराधिक घटनामा शरिया कानुन लागु गर्छन् । अदालतले हातखुट्टा काट्ने सजाय पनि दिन सक्छ, यद्यपि यस्ता फैसला थोरै मात्र भएका छन् ।

रक्सी खान, अवैध यौन सम्पर्क राख्नेलगायत घटनामा कोर्रा हान्ने कानुनी व्यवस्था कतारमा पनि छ। तर दुर्लभै मात्र प्रयोगमा आउँछ । परस्त्रीगमन वा परपूरुषगमनका घटनामा प्रायजसो १ सय पटक कोर्रा हान्ने गरिन्छ । यदि मुस्लिम महिला र गैर मुस्लिम पुरुषबीच यौन सम्पर्क भएको छ भने मृत्युदण्डको सजाय पनि हुनसक्छ । तर, पीडितको परिवारले माफी दिनै नचाहेको अवस्थामा मात्रै यस्तो सजाय लागु हुन्छ।

स्लामिक स्टेट

२०१९ अघिसम्म इस्लामिक स्टेटले सिरिया र इराकका धेरै हिस्सामा नियन्त्रण जमाएको थियो र ती भूभागलाई आफ्नो ‘खलिफा’ घोषणा गरेको थियो । यहाँ उनीहरूको अलग अदालत थियो, जोशरियन कानूनअनुसार चल्थ्यो । यहाँ कानुनको सबैभन्दा कठोर अभ्यास भएको थियो । उसले धेरैको शिर काट्यो, धेरैलाई ढुङ्गा हानेर मार्‍यो, धेरैको हात–खुट्टा काट्यो । समलिङ्गी भएको आशङ्कामा पुरुषलाई अग्ला भवनहरूबाट तल खसाइयो । यसै गरी अलकायदासँग नजिकको सम्बन्ध राख्ने सोमालियाको विद्रोही सङ्गठन अल सबाबले पनि कठोर शरिया कानुन लागु गरेको छ ।

 

 

प्रतिक्रिया