आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

माधव नेपालले नयाँ पार्टी बनाएपछि दिल्लीस्थित अस्पतालबाटै झलनाथ खनालले पठाए यस्तो सन्देश, कार्यकर्ता भावुक

प्रकाशित
597
SHARES

काठमाडौँ। एमालेबाट विभाजित भइ बनेको नेकपा एकीकृत समाजवादी पार्टीमा झलनाथ खनालको नाम वरिष्ठ नेतामा रहेको छ । हाल दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत खनाल नयाँ पार्टी बनेपनि मौन बस्दै आएका थिए । एमाले संस्थापनले नयाँ पार्टीमा खनालको संलग्नता नरहेको दावी गर्दै आएका बेला खनालले नयाँ पार्टीलाई आफ्नो साथ र समर्थन रहेको औपचारिक रुपमा उल्लेख गरेका छन् ।

खनालको सचिवालयले नयाँ पार्टीलाई एमालेका पूर्वअध्यक्ष समेत रहेका उनको साथ र समर्थन रहेको स्पष्ट पारेको हो । खनालको आधिकारिक फेसबुकमा सचिवालयले लेखेको छ, ‘भारतको नयाँदिल्ली स्थित एपोलो हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री झलनाथ खनालज्यू नयाँ दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को साथ र समर्थनमा रहनुभएको सम्पूर्णमा जानकारी गराउँदछौं ।’

यस्तै खनालले पार्टी पुनर्गठनको विकल्प नरहेको सन्देश नेता कार्यकर्तालाई पठाएका छन् । खनालले इलामका सञ्चारकर्मीहरुसँग अनलाइन संवाद गर्दै दक्षिणपन्थी अवसरवादको चपेटामा नेतृत्वले पार्टीलाई पुर्‍याएकाले क्रन्तिकारी विचारसहित पार्टीलाई अघि बढाउन आग्रह गरे ।

‘एकीकृत पार्टी बनाइसकेका थियौं त्यसलाई वर्तमान नेतृत्वले ध्वस्त पार्‍यो,’ उनले भने, ‘सर्वसम्मत ढंगले संविधानसभाबाट राम्रो संविधान बनाए पनि नेतृत्वले च्यातच्युत पार्‍यो ।’ संसदलाई ध्वस्त पारेर जनमतलाई वर्तमान नेतृत्वले लत्याउन खोजेको आरोपसमेत उनले लगाए ।

अहिलेको नेतृत्वले नेताहरुलाई एकपछि अर्को कारबाही गर्ने र पूर्वाग्रहीरुपमा हेर्ने गरेको उनको भनाइ छ । समाजवादलाई लक्ष्य मानेर पार्टी पुनर्गठनको विकल्प नरहेको बताउँदै उनले पार्टीका सबै नेता कार्यकर्तालाई बिना हिच्किचाहट पहलकदमी लिएर अघि बढ्न आग्रह गरेका छन् ।

‘पार्टीलाई पुनर्गठनको क्रान्तिकारी बाटोमा हिँडाएर नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइ दिँदै दक्षिणपन्थी अवसरवादलाई परास्त गर्नुको विकल्प छैन,’ उनले भने । सबै नेता कार्यकर्तालाई आह्वान गर्दै कम्युनिस्ट नेता खनालले ३२ सालमा ८ जना मिलेर पार्टी पुनर्गठन गर्न सुरु गरेर यहाँसम्म ल्याएको धारणा राखे । वार्ता र संवादमार्फत सहमतिको ढोका सधैं खुल्ला रहेको बताउँदै दक्षिणपन्थी अवसरवादको अलमलमा परेका सबैलाई एकाताबद्ध भएर अघि बढ्ने समय आएको उनको भनाइ थियो ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टीमार्फत इलाम–१ बाट खनाल निर्वाचित भएका हुन् । ओली नेतृत्वको आलोचक रहँदै आएका खनाल पक्षमा रहेका जिल्लाका कतिपय नेता कार्यकर्ताले उनको भूमिकापछि मात्र सार्वजनिक हुने बताउँदै आएका छन् । खनाल निकट सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राईले पार्टीभित्रै रहेर संघर्ष गर्नुपर्ने धारणा खनाल समक्ष राखेको बताए ।

यसअघि नै पार्टीभित्र समानान्तर गतिविधि सुरु गरेको असन्तुष्ट पक्षका कतिपय नेता कार्यकर्ता अहिलेसम्म टुङ्गोमा नपुगिएको बताउँदै आएका छन् । पन्ध्र दिनअघि मिर्गौला प्रत्यारोपण गराएका खनालको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार रहेको बताए । खनाल अबको दुई सातामा नेपाल फर्कने उनले जानकारी दिए ।

यता नयाँ पार्टी गठनमा माधव नेपाललाई साथ नदिएका केन्द्रीय सदस्यहरुले पार्टी अध्यक्ष केपी ओलीले मंगलबारसम्म १० बुँदे सहमति कार्यान्वयन नगरे बिद्रोह हुने चेतावनी दिएका छन्। महाराजञ्जस्थित एक पार्टी प्यालेसमा बसेको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले ओली सहमतिप्रति इमान्दार नभएमा एकताको बाटो बन्द हुने बताएका थिए।

१० बुँदेको अक्षरस पालना भएमा माधव नेपाललाई समेत पुनर्विचार गर्न दबाब पुग्ने उनीहरुको तर्क छ। ‘मंगलबारसम्म पनि १० बुँदे सहमति तलैसम्म लागू नभएमा ओलीले बोलेको कार्यान्वयन गर्दैनन् भन्ने प्रमाणित हुन्छ।

त्यस्तो अवस्थामा माधव नेपालले लगाउँदै आएको आरोप सत्य रहेछ भन्ने हुन्छ’ बैठकको धारणाबारे एक केन्द्रीय सदस्यले भने, ‘पार्टीलाई २०७५ जेठ २ अघिको अवस्थामा नफर्काएमा बुधबार माधव नेपाल नेतृत्वमा पार्टी गठन हुन्छ। त्यसमा सनाखत गर्न हाम्रा धेरै साथीहरु जान बाध्य हुन्छन्।’ बैठकमा बोल्नेहरुले माधव नेपालसहित १४ जना सांसदलाई गरिएको कारबाही फिर्ता गर्न ढिलो भएको समेत धारणा राखेका थिए।

जेठ २ को अवस्थाका कमिटीहरु ब्युँताउने र कारबाही फिर्ता लिने हो भने नेपालसँग गएका नेताहरुसमेत फर्किन सक्ने कतिपय केन्द्रीय सदस्यहरुको दावी थियो। तर ओलीले इमान्दारिता नदेखाएमा भने बिद्रोह हुने र माधव नेपालको पक्षमा जानेको संख्या ठूलो हुने उनीहरुको तर्क छ।

बैठकमा कार्यदलका सदस्यहरुले पार्टी एकता अझै पनि संभव रहेको ब्रिफिङ गरेका थिए। उनीहरुले आफूहरुले एकताको लागि प्रयास गरिरहेको तर माधव नेपालले नयाँ पार्टी गठन गर्न हतार गरेको बताएका थिए।

यद्यपि जेठ २ मा फर्किने र १४ सांसदको कारबाही फिर्ता लिन ओली तयार नभएमा उनीसँग एकता गाह्रो रहेको उनीहरुको तर्क थियो। माधव नेपालले पार्टी गठनका लागि दिएको निवेदन फिर्ता लिनुपर्ने समेत उनीहरुको भनाइ छ।

प्रतिक्रिया