आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नयाँ पार्टी बनाउने निर्णयसँगै फुट्यो नेपाल समूह, क-कसले छोडे माधवको साथ ?

प्रकाशित
492
SHARES

काठमाडौं । नयाँ दल दर्ताको प्रक्रिया अघि बढाएसँगै माधवकुमार नेपाल समूह विभाजित भएको छ । एमालेका वरिष्ठ नेता नेपालले आफ्नो संयोजकत्वमा नेकपा एमाले समाजवादी दर्ता गर्ने निर्णय गरेका छन् । तर लामो समयदेखि उनलाई साथ दिँदै आएका दोस्रो तहका नेताहरु नयाँ दल एमाले समाजवादीमा नजाने भएका छन् ।

नेता नेपालले नयाँ दल दर्ता गर्न खोजेपछि उपाध्यक्ष ज्ञवालीले स्थायी कमिटीको बैठक राखेर को कता लाग्ने भनेर छलफल गर्न प्रस्ताव गरेका थिए । तर नेता नेपाल त्यसमा पनि सहमत भएनन् र नयाँ अध्यादेशअनुसार केन्द्रीय कमिटीको २० प्रतिशत संख्या पुर्‍याएर दल दर्ता गर्न अघि बढेका छन् । तर उनलाई एमाले पदाधिकारी र स्थायी कमिटीको ठूलो हिस्साले साथ नदिने भएको छ ।

स्रोतका अनुसार तीन उपाध्यक्ष युवराज ज्ञवाली, भीम रावल र अष्टलष्मी शाक्यले नेता नेपालको साथ छाडेका छन् । उपमहासचिव घनश्याम भुसाल सचिवहरु गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र अनुशासन आयोगका प्रमुख अमृत बोहरा नयाँ दलमा नजाने भएका छन् ।

स्थायी कमिटी सदस्यद्वय वेदुराम भुसाल र मुकुन्द न्यौपाने भने नेता नेपालसँगै नयाँ दलमा हुनेछन् । केन्द्रीय कमिटीको पनि ठूलो हिस्सा एमाले समाजवादीमा नजाने यो समूहका नेताहरुको दाबी छ । यद्यपि यो समूह तत्काल अध्यक्ष केपी शर्मा ओली नेतृत्वको समूहमा पनि जाने सम्भावना कम रहेको नेताहरुले बताएका छन् ।

अध्यादेश ल्याउन लगाएर माधवकुमार नेपालले र नेताहरुलाई कारबाही गरेर अध्यक्ष ओलीले पार्टी फुटाउन खोजेको भन्दै उपाध्यक्ष युवराज ज्ञवाली भन्छन्, ‘व्यक्तिले गरेको गल्तीको सजाय पार्टीलाई दिन सकिन्न । हामी एकताकै पक्षमा छौं ।’

त्यस्तै अध्यादेशको बलमा नयाँ पार्टी निर्वाचन आयोगमा दर्ताका लागि प्रक्रिया सुरु गरेको महन्थ ठाकुर पक्षले आफूहरुको पार्टी उपेन्द्र यादवको भन्दा ठूलो रहेको दावी गर्दै आगामी दिनमा थप सशक्त बनाउने घोषणा गरेको छ ।

निर्वाचन आयोगमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महन्थ ठाकुर पक्षीय नेता तथा पूर्वमन्त्री उमाशंकर अरगरियाले आफ्नो पार्टी उपेन्द्र यादवको जसपा भन्दा शक्तिशाली भएको दावी गरे । आगामी दिनमा पार्टी थप सशक्त बनाइने पनि उनले बताए ।

तत्कालीन राजपा र समाजवादी पार्टी एकता हतारमा गर्दा खल्तीका मान्छे धेरै समेटिएको भएपनि अहिले आफूहरुको पार्टीमा क्षमतावान नेताहरु रहेकाले जनताको विश्वास रहेको उनको भनाइ छ ।

‘एउटा कुरा एक ध्यान दिनुपर्छ भने पार्टी बन्ने बेलामा रातारात घोषणा गरियो । धेरै गोजीका मान्छे समेटियो । कार्यकारिणीमा हेर्नुहुन्छ, वार्ड जित्ने क्षमता भएका कति जना हुनुहुन्छ ?’, उपेन्द्रको पार्टीका नेताहरु कमजोर रहेको दावी गर्दै उनले भने, ‘उपेन्द्रको पार्टीमा राम्रा मान्छे छैनन् ।’

महन्थ ठाकुर नेतृत्वको जसपा (लोकतान्त्रिक) पार्टीमा २३ जना कार्यकारिणी समिति सदस्य प्रस्ताव गरिएको छ । पार्टीले तत्काल सरकारमा नजाने नीति बनाएको छ । आफूहरुको माग पुरा गरेको खण्डमा सरकारमा जान सकिने सो पार्टीको भनाइ छ ।

मधेस आन्दोलनका राजबन्दीको रिहाइ, मुद्दा फिर्ता, रेशम चौधरीको रिहाइ संविधान संशोधनलगायतका मागमा सरकार प्रतिबद्ध भए यसबारे सोच्न सकिने ठाकुर पक्षको भनाइ छ ।

प्रतिक्रिया