आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमेरिकाले २० बर्ष समय र ८३ अर्ब डलर खर्चेको अफगान सेना तालिबानसामू कसरी भयो पराजित ?

प्रकाशित
1.6K
SHARES

एजेन्सी। अहिले संसारभरिको ध्यान अफगानिस्तानमा छ। दक्षिण र मध्य एसिया जोड्ने भूपरिवेष्ठित मुलुक अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेका छन्। २० वर्षअघि अमेरिकाले काबुलबाट धपाएका तालिबानहरू अमेरिकी र नाटो सैनिकले अफगानिस्तान छोडेपछि फेरि काबुल फर्किन्छन् भन्नेमा कसैलाई दुविधा थिएन। अमेरिकी सेना फर्किएको ६ महिनाभित्र राष्ट्रपति असरफ घानीको सरकार ढल्ने धेरै विश्लेषकले बताएका थिए।

तालिबानलाई काबुलको राष्ट्रपति कार्यालय छिर्न ६ महिना लागेन न त सबै अमेरिकी सैनिक नै फिर्ता हुनु पर्यो। हजारौं अमेरिकी सैनिक काबुलमा तैनाथ हुँदाहुँदै तालिबान लडाकु र कमाण्डर आइतबार साँझ राष्ट्रपति कार्यालयमा छिरे। फोटो खिचे र राष्ट्रपतिको कुर्सीमा बसेर कुरान पढे। तालिबानहरूले राष्ट्रपति कार्यालयमा डेरा जमाउनुअघि नै राष्ट्रपति घानी देश छोडेर हिँडिसकेका थिए। तालिबानहरूले काबुल कब्जा गर्दा कसैले प्रतिरोध गरेन।

यस्ता दृश्यहरू यसअघि तालिबानले प्रान्तीय राजधानी कब्जा गर्दा पनि देखिएका थिए। कुनै पनि ठाउँमा अफगान सुरक्षाकर्मीले तालिबानसँग भिडन्त गरेर उनीहरूलाई परास्त गर्न सकेनन्। धेरै ठाउँमा त उनीहरूले सामान्य प्रतिरोध पनि गरेनन् बरू आत्मसमर्पण गरिदिए। अफगान सुरक्षाकर्मीको आत्मसमर्पण तालिबानहरू प्रान्तीय राजधानी छिर्ने गतिमा निर्भर थियो। जति छिटो तालिबान आए, त्यति नै छिटो आत्मसमर्पण।

बीस वर्षसम्म अमेरिकी सैनिकसँग हुर्किएका अफगान सुरक्षाकर्मी तालिबानसामू कसरी यति धेरै निरीह भए ? द न्युयोर्क टाइम्स समाचार पत्रका अनुसार सन् २००१ यता अमेरिकाले अफगान सुरक्षाकर्मीको तालिम, हतियार र अन्य सामग्रीमा ८३ अर्ब डलर खर्चेको थियो।

अमेरिकीहरूलाई सधैँ अफगानिस्तानमा लड्न सकिन्न बरू यहाँकै सुरक्षाकर्मीलाई बलियो बनाए काबुलमा प्रजातान्त्रिक सरकार बनिरहन्छ भन्ने लागेको थियो। राष्ट्रपति बाराक ओबामा प्रशासनको मुख्य रणनीति नै अफगान सुरक्षाकर्मीलाई बलियो बनाएर जतिसक्दो चाँडो आफूहरू फर्किने भन्ने थियो। त्यसका लागि उनीहरूले अफगान सुरक्षाकर्मीलाई उच्चस्तरको तालिम दिएका थिए। अत्याधुनिक हतियार दिएका थिए। तालिबानसँग हुँदै नभएका सैनिक जहाज र हेलिकप्टर किनेर राखेका थिए।

अमेरिकीहरूले २० वर्ष समय र अर्बौं डलर खर्चेर बनाएको अफगान सुरक्षा फौजलाई दुई महिना नपुग्दै तालिबानहरूले पाखा लगाइदिए। आफूले बलियो बनाएको भन्ठानेका अफगान सुरक्षाकर्मी तालिबानसामू निरीह भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेन र उनको टिमका सदस्यहरू पनि चकित परेका छन्।

 

‘हामीले अफगान सुरक्षा फौज देशको रक्षा गर्न असक्षम भएको देख्यौं तर यो हामीले सोचेभन्दा निकै छिटो भयो,’ अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले सिएनएनसँग भनेका छन्। युद्ध लड्न र जित्न तालिम र हतियारले मात्र सकिँदो रहेनछ। अमेरिकी राष्ट्रपति बाइडेनले अफगानिस्तानबाट सबै अमेरिकी सैनिक फर्किने घोषणा गर्नुअघि नै तालिबानहरूले अफगानिस्तानमा आक्रमण तीव्र पारेका थिए।

सुरूमा उनीहरूले ग्रामीण इलाकामा रहेका सुरक्षा पोष्टहरूलाई निशाना बनाए। खाद्यान्न र गोलीगठ्ठाको नियमित आपूर्ति नहुने ठाउँमा बसेका प्रहरीलगायत सुरक्षाकर्मी चारैतिरबाट तालिबान लडाकुले घेरेपछि आत्तिनु स्वभाविक थियो। तालिबानहरूले उनीहरूलाई आत्मसमर्पण गरे ज्यान बचाइदिने प्रस्ताव राखे।

ग्रामीण क्षेत्रका सुरक्षाकर्मीहरू धमाधम तालिबान लडाकुलाई हतियार बुझाउँदै आत्मसमर्पण गर्दै ज्यान जोगाउन लागे। कतिपय ठाउँमा त तालिबानहरूले उनीहरूलाई घर फर्कन गाडी भाडासमेत दिएका विवरणहरू सार्वजनिक भएका थिए। यसरी गाउँका सुरक्षा पोष्ट कब्जा गरेका तालिबानहरूले दोस्रो निशाना जिल्लालाई बनाए। दुर्गमका जिल्लाहरू तालिबानले धमाधम कब्जा गर्न थाले।

सबैतिरका सुरक्षाकर्मीको एउटै गुनासो हुन्थ्यो- काबुलबाट हवाई सहयोग छैन, खाद्यान्न र अन्य सामग्री पनि सकिएको छ। तालिबानको आक्रमण तीव्र हुनुअघि नै अफगान सुरक्षा फौज समस्यामा जेलिइसकेका थिए। अफगान सैनिक र प्रहरीमा काबुलमा सत्ता चलाइरहेकाप्रति गहिरो बितृष्णा थियो।

अमेरिकी राष्ट्रपति बाइडेनले अफगानिस्तानबाट फर्किने घोषणा गरेसँगै तालिबानहरूले आक्रमणलाई तीव्र पारे तर अफगान सुरक्षाकर्मीले राष्ट्रपति असरफ घानीका लागि आफ्नो ज्यान बाजी राख्नु जरूरी ठानेनन्। सुरक्षा फौजभित्र व्यापक भ्रष्टाचार थियो। किताबमा झन्डै ३ लाख सुरक्षाकर्मी भएको रेकर्ड थियो तर मैदानमा त्यति संख्या कहिल्यै पुगेन। विभिन्न अन्तर्वार्ताहरूमा सिपाहीदेखि उच्च सैनिक अधिकारीहरू निराशा र तिरष्कृत भएको भाव व्यक्त गरिरहेका थिए।

गत साता तालिबानहरूले आक्रमण गरेको दक्षिणी सहर कान्दहरको एउटा प्रहरी चौकीभित्र आलुमात्र भेटिएको थियो। हप्तौंदेखि उक्त चौकीमा दैनिक रासनको रूपमा आलुमात्र सप्लाई हुँदै आएको रहेछ। आलुमात्र खाएर बाँचेको ज्यानले तालिबानसँग कसरी लड्नु, किन लड्नु!

‘यी फ्रेन्च फ्राईले मात्र अग्रपंक्तिलाई जोगाइराख्न सक्दैनन्,’ आलुमात्र रासनको रूपमा आएपछि कान्दहरका एक प्रहरी अधिकारीले भनेका थिए। कान्दहरको अर्को सुरक्षा पोष्टमा रहेका प्रहरी अधिकारी अब्दुल हलिमले आफूहरू भ्रष्टाचारमा डुब्न थालेको बताएका थिए। उनको पोष्टमा ३० जनाको दरबन्दी थियो तर मान्छे १५ जनामात्रै थिए। उनीहरू पनि गाउँ तालिबानले कब्जा गरेकाले मात्रै चौकीमा बसेका थिए।

‘यति थोरै हतियारले हामी कसरी तालिबानलाई हराउन सक्छौं? उनीहरूसँग मेसिन गन छन् तर हामीसँग मेसिन गनमा लाग्ने गोली थोरै छन्,’ अब्दुलले भनेका थिए। गाउँ र जिल्लामा तालिबानलाई रोक्न नसकेपछि अफगान सुरक्षा फौजले ३४ वटा प्रान्तीय राजधानी जोगाउने रणनीति लिएका थिए। जब तालिबानहरूले एकपछि अर्को सहर कब्जा गर्न थाले त्यो रणनीति पनि असफल भयो।

सन् २००१ यता झन्डै ६० हजार अफगान सुरक्षाकर्मीको मृत्यु भएको छ। यत्रो ठूलो क्षति हुनुका पछाडि तालिबानभन्दा पनि सरकारकै कमजोर रणनीति कारक रहेको धेरै सुरक्षाकर्मीलाई लाग्छ। गत साता उत्तरी सहर कुन्दुजको विमानस्थलमा रहेको अफगान आर्मी कर्प्सको मुख्यालय नै तालिबानले कब्जामा लिए। त्यहाँ रहेका हेलिकप्टर र अमेरिकाले दिएका ड्रोनसँग फोटो खिचेर उनीहरूले सामाजिक सञ्जालमा राखे।

तालिबानले आफ्नो मुख्यालय कब्जा गर्दा त्यसका कमाण्डर ब्रिगेडर जनरल अब्बास तावाकोली अर्को प्रान्तमा थिए। उनलाई पनि तालिबानको शक्तिले होइन सरकारकै लाचारीले सैनिक मुख्यालय तालिबानको हात पुगेको लागेको छ। ‘जानेर वा नजानेर संसदका केही सदस्यहरू र राजनीतिज्ञले नै दुश्मनले लगाएको आगोमा पंखा हम्किए,’ जनरल तावाकोलीले भने,‘कुनै पनि क्षेत्र युद्ध भएर ढलेको छैन बरू मनोवैज्ञानिक लडाइँले ढलेको छ।’

जनरल तावाकोलीले भनेको त्यो मनोवैज्ञानिक लडाइँ विभिन्न तहमा जारी थियो। सैनिक जहाजका पाइलट भन्थे- तालिबानविरूद्ध लड्न जाँदा सरकारलाई जहाजमा बसेका सैनिकभन्दा पनि जहाजमा केही हुने हो कि भन्ने चिन्ता हुन्छ। सरकार नियन्त्रित सहरमा एलिट कमाण्डो फोर्सका सैनिकहरू हुन्थे। उनीहरू तालिबानले सहर कब्जामा लिएपछि अर्को सहरमा जान्थे। रातभरि नसुती नसुती उनीहरू बिना लक्ष्य हिँडिरहन्थे।

तालिबानविरूद्ध लड्न ठाउँ-ठाउँमा जातीय मिलिसियाहरू पनि बनाइएका थिए। तिनीहरूलाई स्थानीय वारलर्ड्सहरूले परिचालन गर्थे। पछिल्लो समय त्यस्ता वारलर्ड्सहरूले पनि तालिबानसमक्ष आत्मसमर्पण गरे। यसरी हरेक फ्रन्तमा सुरक्षाकर्मी निरीह बनेपछि २० वर्षपछि तालिबानहरू फेरि काबुल फर्किएका छन्। दुई दशकपछि तालिबान काबुल फर्किएसँगै अफगानिस्तानमा एक युगको अन्त्य भएको छ।

यस्तै अफगानिस्तानको काबुलस्थित विमनस्थलमा अमेरिकी सेनाले गोली चलाएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार सोमबार विमानस्थलमा मुलुक छाड्नेको ठूलो भीड देखिएको अवस्थामा अमेरिकी सेनाले गोली चलाएको हो ।

तालिबानले पुनः अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै अफगानिस्तानबाट मानिसहरु बाहिरिन विमानस्थल पुगेका छन् । अत्यधिक भीडको कारण अहिले काबुलको अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त देखिएको छ ।

‘मलाई यहाँ धेरै डर लागिरहेको छ । धेरै हवाई फायरहरु भइसकेका छन्’, एक प्रत्यक्षदर्शीले एएफपीसँगको कुराकानीमा भने । डेलिमेलका अनुसार काबुलको विमानस्थलमा गोली चलेसँगै सैन्य उडानबाहेकका सबै उडान रद्द गरिएको छ । अहिले विमानस्थललाई अमेरिकी सेनाले सुरक्षा दिइरहेको छ । साथै उसले अफगानिस्तानको एयर ट्राफिक कन्ट्रोललाई पनि आफ्नो नियन्त्रणमा लिएको छ ।

समाचारमा उल्लेख गरिएअनुसार नेटोका एक अधिकारीले सेनाको विमानबाहेक अन्य सबै व्यवसायिक उडान रद्द गरिएको जानकारी दिएका हुन् । नेटोले विमानस्थललाई पुनः सञ्चालनमा ल्याउन प्रयास गरिरहेको बताएको छ ।

अहिले हजारौंको संख्यामा अफगानी नागरिकहरु पनि मुलुक छाड्न विमानस्थलमा पुगेका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा विमानस्थलको गेटमा मानिसहरुको ठूलो भीड देख्न सकिन्छ । केही यात्रुहरुलाई उडान रद्द गरिएसँगै विमानबाट निकालिएको देखिएको छ । अफगानी व्यवसायी सोएइब बाराकले आफूलाई काम एयरको फ्लाइटबाट निकालिएको बताएका छन् । उनका अनुसार विमानस्थलमा गोली चलेसँगै उडान रद्द गरिएको हो । एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया