आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अफगानी सैन्य विमान कसले खसाल्यो ? यस्तो छ रहस्य

प्रकाशित
1.6K
SHARES

एजेन्सी। उज्बेकिस्तानको रक्षा मन्त्रालयले आफ्नो सीमा उल्लङ्घन गरेको एउटा अफगान सैन्य विमानलाई हवाई प्रतिरक्षा बलले खसालिदिएको जनाएको छ। मन्त्रालयका प्रवक्ताका अनुसार उक्त विमानले गैरकानुनी रूपमा उक्त मध्यएशियाली राष्ट्रको हवाई क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेको थियो।

उक्त विमानमा कति जना सवार थिए वा कोही जीवित छन् कि छैनन् भन्ने कुरा उनले खुलाएनन्। अफगानिस्तानको सीमामा रहेको दक्षिणी प्रान्त सुखन्दारियोका एक चिकित्सकले समाचारसंस्था एएफपीलाई अफगान सेनाको पोसाक लगाएका दुई बिरामी आइतवार साँझ भर्ना गरिएको बताएका छन्। तीमध्ये एक जनासँग प्याराशुट रहेको र उनको हाड भाँच्चिएको जानकारी ती चिकित्सकले दिए।

आइतवार उज्बेकिस्तानका निकायहरूले सीमा पार गरेका कारण ८४ अफगान सैन्य अधिकारीलाई पक्राउ गरिएको जनाएका छन्।अफगानिस्तानको राजधानी काबुल तालिबानले नियन्त्रणमा लिएसँगै त्यहाँ अस्थिरता बढेको बताइएको छ। मुख्य सहरहरूमा आफ्नो नियन्त्रण कायम गरेपछि तालिबान लडाकुहरू आइतवार राजधानी काबुल प्रवेश गरेका थिए।

उनीहरूले सोही दिन राष्ट्रपति भवनलाई पनि आफ्नो नियन्त्रणमा लिएका थिए। अफगान राष्ट्रपति अशरफ गनी तथा अन्य केही वरिष्ठ अधिकारीहरू देश छोडेर अन्यत्र पलायन भएपछि त्यहाँ शान्तिपूर्ण रूपमा शक्ति हस्तान्तरण गर्ने प्रयास भइरहेको छ।

अफगानिस्तान छोड्ने प्रयास  :
अहिले काबुलका सडकहरूमा तालिबान लडाकुहरू यत्रतत्र देखिन्छन् भने ठूलो सङ्ख्यामा मानिसहरू विदेश जाने प्रयासमा विमानस्थलमा भेला भएका छन्। साठीभन्दा बढी देशले संयुक्त विज्ञप्ति जारी गरेर मानिसहरूलाई अफगानिस्तानबाहिर जान दिन तालिबानलाई आह्वान गरेका छन्।

सोमवार बिहान विमानस्थलमा अनियन्त्रित भिडलाई तितरबितर पार्न अमेरिकी सेनाले हावामा गोली चलाउँदा केही व्यक्तिको मृत्यु भएको प्रत्यक्षदर्शीहरूले बीबीसीलाई बताएका छन्। दौडिएर विमान चढ्न खोज्ने मानिसहरूको “अनियन्त्रित” भिडलाई रोक्न सैनिकहरूले गोली चलाउनुपरेको एक अधिकारीले रोएटर्सलाई बताएका छन्।

तालिबान नेतृत्वले आफ्ना लडाकुहरूलाई अफगान नागरिकहरूलाई केही नगर्न फेरि निर्देशन दिएको छ। आइतवार दोहास्थित तालिबान वार्ता टोलीका एक सदस्यले बीबीसीसँग कुरा गर्दै अफगान जनतासँग “प्रतिशोध” नलिने बताएका थिए। “हामी अफगान जनता विशेषतः काबुलवासीलाई उनीहरूको सम्पत्ति र जीवन सुरक्षित छ, कसैसँग पनि प्रतिशोध लिइनेछैन भनेर विश्वस्त पार्न चाहन्छौँ,” बीबीसीका याल्दा हकिमसँग सुहैल शाहीनले भनेका थिए।

बीस वर्षसम्म अमेरिकी सैनिकसँग हुर्किएका अफगान सुरक्षाकर्मी तालिबानसामू कसरी यति धेरै निरीह भए ?

द न्युयोर्क टाइम्स समाचार पत्रका अनुसार सन् २००१ यता अमेरिकाले अफगान सुरक्षाकर्मीको तालिम, हतियार र अन्य सामग्रीमा ८३ अर्ब डलर खर्चेको थियो। अमेरिकीहरूलाई सधैँ अफगानिस्तानमा लड्न सकिन्न बरू यहाँकै सुरक्षाकर्मीलाई बलियो बनाए काबुलमा प्रजातान्त्रिक सरकार बनिरहन्छ भन्ने लागेको थियो। राष्ट्रपति बाराक ओबामा प्रशासनको मुख्य रणनीति नै अफगान सुरक्षाकर्मीलाई बलियो बनाएर जतिसक्दो चाँडो आफूहरू फर्किने भन्ने थियो।

त्यसका लागि उनीहरूले अफगान सुरक्षाकर्मीलाई उच्चस्तरको तालिम दिएका थिए। अत्याधुनिक हतियार दिएका थिए। तालिबानसँग हुँदै नभएका सैनिक जहाज र हेलिकप्टर किनेर राखेका थिए। अमेरिकीहरूले २० वर्ष समय र अर्बौं डलर खर्चेर बनाएको अफगान सुरक्षा फौजलाई दुई महिना नपुग्दै तालिबानहरूले पाखा लगाइदिए।

आफूले बलियो बनाएको भन्ठानेका अफगान सुरक्षाकर्मी तालिबानसामू निरीह भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेन र उनको टिमका सदस्यहरू पनि चकित परेका छन्। ‘हामीले अफगान सुरक्षा फौज देशको रक्षा गर्न असक्षम भएको देख्यौं तर यो हामीले सोचेभन्दा निकै छिटो भयो,’ अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले सिएनएनसँग भनेका छन्।

युद्ध लड्न र जित्न तालिम र हतियारले मात्र सकिँदो रहेनछ। अमेरिकी राष्ट्रपति बाइडेनले अफगानिस्तानबाट सबै अमेरिकी सैनिक फर्किने घोषणा गर्नुअघि नै तालिबानहरूले अफगानिस्तानमा आक्रमण तीव्र पारेका थिए।

सुरूमा उनीहरूले ग्रामीण इलाकामा रहेका सुरक्षा पोष्टहरूलाई निशाना बनाए। खाद्यान्न र गोलीगठ्ठाको नियमित आपूर्ति नहुने ठाउँमा बसेका प्रहरीलगायत सुरक्षाकर्मी चारैतिरबाट तालिबान लडाकुले घेरेपछि आत्तिनु स्वभाविक थियो। तालिबानहरूले उनीहरूलाई आत्मसमर्पण गरे ज्यान बचाइदिने प्रस्ताव राखे।

ग्रामीण क्षेत्रका सुरक्षाकर्मीहरू धमाधम तालिबान लडाकुलाई हतियार बुझाउँदै आत्मसमर्पण गर्दै ज्यान जोगाउन लागे। कतिपय ठाउँमा त तालिबानहरूले उनीहरूलाई घर फर्कन गाडी भाडासमेत दिएका विवरणहरू सार्वजनिक भएका थिए। यसरी गाउँका सुरक्षा पोष्ट कब्जा गरेका तालिबानहरूले दोस्रो निशाना जिल्लालाई बनाए। दुर्गमका जिल्लाहरू तालिबानले धमाधम कब्जा गर्न थाले। सबैतिरका सुरक्षाकर्मीको एउटै गुनासो हुन्थ्यो- काबुलबाट हवाई सहयोग छैन, खाद्यान्न र अन्य सामग्री पनि सकिएको छ।

तालिबानको आक्रमण तीव्र हुनुअघि नै अफगान सुरक्षा फौज समस्यामा जेलिइसकेका थिए। अफगान सैनिक र प्रहरीमा काबुलमा सत्ता चलाइरहेकाप्रति गहिरो बितृष्णा थियो।

अमेरिकी राष्ट्रपति बाइडेनले अफगानिस्तानबाट फर्किने घोषणा गरेसँगै तालिबानहरूले आक्रमणलाई तीव्र पारे तर अफगान सुरक्षाकर्मीले राष्ट्रपति असरफ घानीका लागि आफ्नो ज्यान बाजी राख्नु जरूरी ठानेनन्। सुरक्षा फौजभित्र व्यापक भ्रष्टाचार थियो। किताबमा झन्डै ३ लाख सुरक्षाकर्मी भएको रेकर्ड थियो तर मैदानमा त्यति संख्या कहिल्यै पुगेन। विभिन्न अन्तर्वार्ताहरूमा सिपाहीदेखि उच्च सैनिक अधिकारीहरू निराशा र तिरष्कृत भएको भाव व्यक्त गरिरहेका थिए।

गत साता तालिबानहरूले आक्रमण गरेको दक्षिणी सहर कान्दहरको एउटा प्रहरी चौकीभित्र आलुमात्र भेटिएको थियो। हप्तौंदेखि उक्त चौकीमा दैनिक रासनको रूपमा आलुमात्र सप्लाई हुँदै आएको रहेछ। आलुमात्र खाएर बाँचेको ज्यानले तालिबानसँग कसरी लड्नु, किन लड्नु!

‘यी फ्रेन्च फ्राईले मात्र अग्रपंक्तिलाई जोगाइराख्न सक्दैनन्,’ आलुमात्र रासनको रूपमा आएपछि कान्दहरका एक प्रहरी अधिकारीले भनेका थिए। कान्दहरको अर्को सुरक्षा पोष्टमा रहेका प्रहरी अधिकारी अब्दुल हलिमले आफूहरू भ्रष्टाचारमा डुब्न थालेको बताएका थिए। उनको पोष्टमा ३० जनाको दरबन्दी थियो तर मान्छे १५ जनामात्रै थिए। उनीहरू पनि गाउँ तालिबानले कब्जा गरेकाले मात्रै चौकीमा बसेका थिए।

‘यति थोरै हतियारले हामी कसरी तालिबानलाई हराउन सक्छौं? उनीहरूसँग मेसिन गन छन् तर हामीसँग मेसिन गनमा लाग्ने गोली थोरै छन्,’ अब्दुलले भनेका थिए। गाउँ र जिल्लामा तालिबानलाई रोक्न नसकेपछि अफगान सुरक्षा फौजले ३४ वटा प्रान्तीय राजधानी जोगाउने रणनीति लिएका थिए। जब तालिबानहरूले एकपछि अर्को सहर कब्जा गर्न थाले त्यो रणनीति पनि असफल भयो।

सन् २००१ यता झन्डै ६० हजार अफगान सुरक्षाकर्मीको मृत्यु भएको छ। यत्रो ठूलो क्षति हुनुका पछाडि तालिबानभन्दा पनि सरकारकै कमजोर रणनीति कारक रहेको धेरै सुरक्षाकर्मीलाई लाग्छ।

गत साता उत्तरी सहर कुन्दुजको विमानस्थलमा रहेको अफगान आर्मी कर्प्सको मुख्यालय नै तालिबानले कब्जामा लिए। त्यहाँ रहेका हेलिकप्टर र अमेरिकाले दिएका ड्रोनसँग फोटो खिचेर उनीहरूले सामाजिक सञ्जालमा राखे।

तालिबानले आफ्नो मुख्यालय कब्जा गर्दा त्यसका कमाण्डर ब्रिगेडर जनरल अब्बास तावाकोली अर्को प्रान्तमा थिए। उनलाई पनि तालिबानको शक्तिले होइन सरकारकै लाचारीले सैनिक मुख्यालय तालिबानको हात पुगेको लागेको छ।

‘जानेर वा नजानेर संसदका केही सदस्यहरू र राजनीतिज्ञले नै दुश्मनले लगाएको आगोमा पंखा हम्किए,’ जनरल तावाकोलीले भने,‘कुनै पनि क्षेत्र युद्ध भएर ढलेको छैन बरू मनोवैज्ञानिक लडाइँले ढलेको छ।’

जनरल तावाकोलीले भनेको त्यो मनोवैज्ञानिक लडाइँ विभिन्न तहमा जारी थियो। सैनिक जहाजका पाइलट भन्थे- तालिबानविरूद्ध लड्न जाँदा सरकारलाई जहाजमा बसेका सैनिकभन्दा पनि जहाजमा केही हुने हो कि भन्ने चिन्ता हुन्छ।

सरकार नियन्त्रित सहरमा एलिट कमाण्डो फोर्सका सैनिकहरू हुन्थे। उनीहरू तालिबानले सहर कब्जामा लिएपछि अर्को सहरमा जान्थे। रातभरि नसुती नसुती उनीहरू बिना लक्ष्य हिँडिरहन्थे।

तालिबानविरूद्ध लड्न ठाउँ-ठाउँमा जातीय मिलिसियाहरू पनि बनाइएका थिए। तिनीहरूलाई स्थानीय वारलर्ड्सहरूले परिचालन गर्थे। पछिल्लो समय त्यस्ता वारलर्ड्सहरूले पनि तालिबानसमक्ष आत्मसमर्पण गरे।

यसरी हरेक फ्रन्टमा सुरक्षाकर्मी निरीह बनेपछि २० वर्षपछि तालिबानहरू फेरि काबुल फर्किएका छन्। दुई दशकपछि तालिबान काबुल फर्किएसँगै अफगानिस्तानमा एक युगको अन्त्य भएको छ।

को हुन् तालिबान ? कसरी भयो उदय

पाश्तो भाषामा तालिबानको अर्थ “विद्यार्थीहरू” भन्ने हुन्छ। अफगानिस्तानबाट सोभियत सेनाको फिर्तीपछि सन् १९९० को दशकमा उत्तरी पाकिस्तानबाट उनीहरूको उदय भएको हो।

मुख्यतः पाश्तुन आन्दोलन सुरुमा धार्मिक सङ्घसंस्थाबाट प्रारम्भ भएको विश्वास गरिन्छ जुन सङ्घसंस्थाले सुन्नी इस्लामको कडा धार सिकाउने साउदी अरबबाट आर्थिक सहयोग पाए।

तालिबान समूहले अफगानिस्तान र पाकिस्तान जोडिएका पाश्तुन क्षेत्रहरूमा सत्तामा आएपछि शान्ति-सुरक्षा पुनर्स्थापित गर्ने र शरिया कानुन लागु गर्ने वाचागर्यो । तालिबानले दक्षिण-पश्चिमी अफगानिस्तानबाट छिट्टै आफ्नो प्रभाव विस्तार गर्‍यो। सन् १९९५ को सेप्टेम्बरमा उनीहरूले इरानसँग सीमा जोडिएको हेरात प्रान्तमाथि कब्जा गरे।

त्यसको ठिक एक वर्षपछि उनीहरूले राजधानी काबुलमा नियन्त्रण गर्दै राष्ट्रपति बुर्हानुद्दीन रब्बानीको सरकारलाई सत्ताच्युत गरे। उनी सोभियत सङ्घको अतिक्रमणको विरोधमा अफगान मुजाहिदीन अर्थात्‌ “विधर्मीहरूसँग लड्ने योद्धाहरू” तयार पार्ने संस्थापकमध्ये एक थिए।

सन् १९९८ सम्ममा तालिबानहरूले लगभग ९० प्रतिशत भूभागमाथि नियन्त्रण कायम गरे। सोभियतहरूलाई धपाइएपछि मुजाहिदीनबाट दिक्क भएका अफगानहरूले पहिलो पटक अगाडि सरेका तालिबानहरूलाई सुरुसुरुमा स्वागत गरे।

भ्रष्टाचारविरुद्ध चालेका कदम, कानुनविहीनताको अवस्था कम गर्ने र व्यवसाय फस्टाउनका निम्ति सडक निर्माण तथा आफूनियन्त्रित क्षेत्रमा सुरक्षा प्रदान गर्ने कामले उनीहरूलाई लोकप्रियता बनायो।

तर तालिबानले आफूहरूले गर्ने शरिया कानुनको कडा व्याख्याअनुरूप सजाय दिने – उदाहरणका लागि, हत्यारा तथा व्यभिचारीहरूलाई मृत्युदण्ड दिने र चोरका हात काटिदिने – नियम लागु गरे अथवा त्यसलाई समर्थन गरे।

उनीहरूको शासनकालमा पुरुषले दाह्री पाल्नुपर्थ्यो भने महिलाहरूले पूरै जीउ ढाकिने बुर्का लगाउनुपर्थ्यो। तालिबानहरूले टेलिभिजन, सङ्गीत र सिनेमामाथि प्रतिबन्ध लगाए भने १० वर्ष र सोभन्दा माथि उमेरका किशोरीहरूलाई विद्यालय जान नदिनुपर्ने बताए।

उनीहरूमाथि विभिन्न मानवाधिकार उल्लङ्घन र सांस्कृतिज दुर्व्यवहारका आरोप छन्। तीमध्ये एउटा नराम्रो उदाहरण भनेको अन्तर्राष्ट्रिय निन्दाबीच सन् २०११ मा जब उनीहरू मध्य अफगानिस्तास्थित प्रसिद्ध बामियान बुद्धको प्रतिमा ध्वस्त पार्न अघि बढ्नु थियो।

पाकिस्तानले आफू तालिबानको सूत्रधार भएको कुरा निरन्तर अस्वीकार गर्दै आएको छ। तर सुरुमा तालिबानसँग आबद्ध भएका धेरै अफगानहरू पाकिस्तानका मदरसाहरूमा अध्ययन गर्नेहरू भएकोमा थोरै द्विविधा छ।

तालिबान सत्तामा रहेका बेला उनीहरूलाई मान्यता दिएका देशमा साउदी अरब र संयुक्त राज्य एमिरेट्सबाहेक पाकिस्तान थियो। तालिबान समूहसँग कूटनीतिक सम्बन्धविच्छेद गर्ने अन्तिम देश पनि पाकिस्तान नै थियो। एउटा बिन्दुमा तालिबानले आफूले नियन्त्रण गरेको पश्चिमोत्तर क्षेत्रबाट पाकिस्तानलाई अस्थिर तुल्याउने धम्की दियो।

अन्तर्राष्ट्रिय रूपमै धेरै निन्दा गरिएको एउटा घटना थियो – पाकिस्तानी तालिबानहरूले सन् २०१२ को अक्टोबरमा गरेको हमला जब स्कूले छात्रा मलाला युसुफजाई आफ्नो गृहनगर मिङ्गोरा फर्किँदै थिइन्।

पाकिस्तानको पेशावरस्थित एउटा विद्यालयमा भएको नरसंहारको दुई वर्षपछि एउटा महत्त्वपूर्ण सैन्य कारबाहीपछि पाकिस्तानमा सो समूहको प्रभाव कम भयो। सन् २०१३ मा अमेरिकी ड्रोन हमलामा पाकिस्तानी तालिबानका नेता हकिमुल्लाह महसुदसहित कम्तीमा तीन जना मारिए।

न्यूयोर्कस्थि विश्व व्यापार केन्द्रमाथि सन् २००१ को सेप्टेम्बर ११ मा गरिएको हमलापछि विश्वको ध्यान अफगानिस्तान तालिबानतर्फ तानिएको थियो। त्यो हमलाका प्रमुख सन्दिग्ध ठानिएका ओसाम बिन लादेन र उनको सङ्गठन अल-कायदालाई संरक्षण गरेको तालिबानमाथि आरोप लाग्यो। सन् २००१ को अक्टोबर ७ मा अमेरिकी नेतृत्वको गठबन्धन फौजले अफगानिस्तानमाथि आक्रमण गर्न सुरु गर्यो। अनि डिसेम्बर महिनाको पहिलो सातासम्ममा तालिबानहरू परास्त भए।

अल-कायदालाई आश्रय
विश्वै ठूलामध्ये एउटा मानवखोजी अभियानबीच समूहका तत्कालीन नेता मुल्लाह मोहम्मद ओमार र ओसामा बिन लादेनसहित केही उच्च नेताहरू उम्किन सफल भएको बताइन्छ।

तालिबानका कैयौँ वरिष्ठ नेताले पाकिस्तानको क्वेटा सहरमा आश्रय लिए जहाँबाट उनीहरूले सो समूहलाई मार्गनिर्देशित गरे। तर “क्वेटा शुरा” को अस्तित्वलाई इस्लामाबादले अस्वीकार गर्‍यो।

ठूलो सङ्ख्यामा विदेशी फौजको उपस्थितिबीच तालिबानले अवस्था सुदृढ पार्दै गयो र आफ्नो प्रभावलाई क्रमिक रूपमा विस्तार गर्दै लग्यो।सन् २०१२ को सेप्टेम्बरमा उनीहरूले काबुलमा उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको एउटा शिविरमा कारबाही गर्नुका साथै अन्य थुप्रै आक्रमण गरे।

तालिबान समूहले कतारमा कार्यालय खोल्ने योजना घोषणा गरेपछि सन् २०१३ मा शान्ति वार्ताको आशा पलायो। तर सबै पक्षबीच अविश्वासको वातावरण कायमै रह्यो र हिंसाले निरन्तरता पाइरह्यो। सन् २०१५ को अगस्टमा तालिबान समूहले मुल्लाह ओमारको मृत्यु भएको कुरा दुई वर्षभन्दा बढी समय लुकाएको स्वीकार गर्यो।

अस्वस्थताका कारण पाकिस्तानस्थित एउटा अस्पतालमा उनको मृत्यु भएको बताइन्छ। त्यसको अर्को महिना तालिबानले आन्तरिक किचलोलाई पाखा लगाउँदै समूहका नयाँ नेता मुल्लाह मन्सुरलाई स्वीकारेको बतायो। मुल्लाह मन्सुर मुल्लाह ओमारका सहायक थिए।

लगभग सोही समयमा तालिबानले सन् २००१ को पराजयपछि पहिलो पटक एउटा प्रान्तीय राजधानीमाथि नियन्त्रण कायम गर्‍यो। त्यो थियो रणनीतिक रूपमा महत्त्वपूर्ण रहेको कुन्दुज सहर। मुल्लाह मन्सुर सन् २०१६ को मे महिनामा एउटा अमेरिकी ड्रोन हमलामा मारिए। त्यसपछि समूहका नेता मौल्वी हिबातुल्लाह अखुन्दजादा भए।

फिर्तीको दिनगन्ती
फेब्रुअरी २०२० को अमेरिका-तालिबान शान्ति सम्झौतापश्चात्‌ तालिबान समूहले आक्रमणको रणनीति फेरेको देखिन्छ। उनीहरूले सहर तथा सैनिक संरचनाहरूमा जटिल आक्रमण गर्नुभन्दा लक्षित हमला गर्न थालेको देखिन्छ जसले सर्वसाधारण नागरिकलाई आतङ्कित बनाएको छ।लडाकुहरूले पत्रकार, न्यायाधीश, शान्ति अभियानकर्मी र शक्तिमा रहेका महिलालाई निसाना बनाउने गरेका छन्।

त्यसले तालिबानहरूले आफ्नो अतिवादी सिद्धान्त नभई रणनीति मात्रै परिवर्तन गरेको देखाउँछ। अन्तर्राष्ट्रिय समर्थनबिना सरकारको कमजोर अवस्थालाई लिएर अफगान अधिकारीहरूको गम्भीर चिन्ताबीच अमेरिकी नयाँ राष्ट्रपति जो बाइडनले सेप्टेम्बर ११ सम्ममा अमेरिकी फौजको फिर्ती प्रक्रिया टुङ्ग्याउने घोषणा गत एप्रिलमा गरेका थिए। त्यो बेला विश्व व्यापार सङ्गठनमाथि ह’मला भएको दुई दशक पूरा हुनेछ।

प्रतिक्रिया