आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

देश छोडेर भागे अफगानिस्तानका राष्ट्रपति घानी, कहाँ पुगे ?

प्रकाशित
2.1K
SHARES

काठमाडाैं। अफगानिस्तानका अधिकारीहरूलाई उद्धृत गरिएका विवरणहरूमा राष्ट्रपति अशरफ घानीले देश छोडेको जनाइएको छ। तालिबान लडाकु समूह राजधानी काबुलनजिकै पुगेका बेला यस्तो विवरण सार्वजनिक भएको हो।

उनी ताजकिस्तानतर्फ लागेको रोयटर्सलाइर्ए उदृत गर्दै अलजजिराको समाचारमा उल्लेख छ । सुरक्षाका कारण देखाउँदै अधिकारीहरुले थप जानकारी दिएका छैनन्।

अफगान उपाराष्ट्रपति पनि भागेको हुनसक्ने बताइएको छ। दश दिनको अवधिमा अफगानिस्तानका प्रमुख सहरहरू तालिबानको नियन्त्रणमा पुगेको अवस्थामा घानी राजीनामा दिनुपर्ने दबावमा थिए। यसअघि त्यहाँको गृह मन्त्रालयले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न वार्ता भइरहेको जनाएको थियो।

यसअघि तालिबान समूहले काबुलमा हिं सा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्कन दिन लडाकुहरूलाई निर्देशन दिएको थियो। आइतवार अपराह्ण अफगान राष्ट्रपतिको कार्यालयले स्थिति नियन्त्रणमा भएको दाबी गरेको थियो।

राष्ट्रपतिको कार्यालयले पाश्तो भाषामा गरेको ट्वीटमा लेखिएको छः “काबुलमा फाट्टफुट्ट गो ली चलेको छ, काबुलमा आ क्रमण भएको छैन। सहरको सुरक्षा सुनिश्चित गर्न देशका सुरक्षा र प्रतिरक्षा फौजहरू विदेशी साझेदारसँग मिलेर काम गरिरहेका छन्, स्थिति नियन्त्रणमा छ।”

केही सातादेखि देशका अन्य भागमा हिंसा फैलिँदा भागेका हजारौँ अफगानहरूले काबुलमा शरण लिइराखेका छन्। तालिबान काबुल आइपुगेपछि आइतवार धेरै मानिसले पैसा निकाल्न र यात्रासम्बन्धी कागजपत्र जुटाउन दौडधुप गरेको देखिएको थियो।

तालिबानको तीव्र आरोह
एप्रिल: अमेरिकी राष्ट्रपतिद्वारा अफगानिस्तानबाट आफ्नो सेना बाहिरिने घोषणा। मे महिनाबाट सुरु भएर सेप्टेम्बरसम्ममा सकिने लक्ष्य राखिएको उक्त प्रक्रियाले अमेरिकाको सबैभन्दा लामो युद्ध समापन गराउने बताइएको थियो ।

मे महिनामा तालिबानद्वारा दक्षिणी हेलमन्द प्रान्तमा भीषण आक्रमण। अन्य प्रान्तमा पनि आक्रमणको सुरुवात गरेको थियो । त्यसपछि जुनमा तालिबानले ३७० मध्ये ५० भन्दा बढी जिल्ला नियन्त्रणमा लिएको अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूतको भनाइ। उत्तरी भागमा तालिबानको शृङ्लाबद्ध आ क्र मण गरी ।

२१ जुलाईमा एक वरिष्ठ अमेरिकी जेनरलका अनुसार लगभग आधा जिल्लाहरू तालिबानको नियन्त्रणमा लियो र ६ अगस्टमा लडाकु समूहद्वारा जारान्ज कब्जा भयो, तालिबानको पकडमा गएको पहिलो प्रान्तीय राजधानी हो यो ।

त्यस्तै १३ अगस्टमा दोस्रो ठूलो सहर कान्दहारसहित अन्य चार प्रान्तीय राजधानी तालिबानको नियन्त्रणमा पुगे । १४ अगस्टमा उत्तरी सहर मजार-ए-शरिफमाथि तालिबानको कब्जामा गयो भने १५ अगस्टमा युद्धबिनै प्रमुख पूर्वी सहर जलालाबाद तालिबानको कब्जामा गयो ।

नेपाली नागरिकलाई सम्पर्कमा आउन अनुरोध, कस्तो छ उद्धारको तयारी

तालिबान लडाकुहरूले अफगानिस्तानका महत्त्वपूर्ण सहरहरू आफ्नो नियन्त्रणमा लिएपछि त्यहाँ भएका नेपाली नागरिकहरूलाई नेपाल सरकारले आफ्नो सम्पर्कमा आउन आग्रह गरेको छ। तालिबान लडाकुहरू आइतवार काबुलमा प्रवेश गरेका छन्। तालिबान काबुल आइपुगेपछि आइतवार धेरै मानिसले पैसा निकाल्न र यात्रासम्बन्धी कागजपत्र जुटाउन दौडधुप गरेका छन्।

यसअघि अफगानिस्तानबाट केही दिनयता भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासको सम्पर्कमा आएका नेपाली नागरिकहरूले धेरैजसो रोजगारदाताले अगस्ट महिनाभित्रै स्वदेश फर्किन भनिसकेको र कतिपयले फर्किने टिकट समेत काटिसकेको जानकारी नेपाली अधिकारीलाई दिएका थिए।

के भन्यो नेपाल सरकारले ?

आइतवार साँझ काठमाण्डूस्थित परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अफगानिस्तानमा रहेका नेपाली नागरिकहरूको विवरण सङ्कलन गर्न कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/ मा व्यवस्था गरिएको उल्लेख गरिएको छ।

उक्त पोर्टलमा नामसहित उल्लेख गर्नुपर्ने विवरण तत्काल भरी दर्ता गराउनुहुन सम्बन्धित व्यक्ति वा परिवारका सदस्यलाई मन्त्रालयले आग्रह गरेको छ। त्यस्तै उद्धारसँग सम्बन्धित सम्पर्कको लागि भाइबर र ह्वाट्सएपबाट पनि सुविधा दिने बताइएको छ। त्यस्तो सेवा प्राप्त गर्नका लागि कन्सुलर सेवा विभागको मोबाइल नम्बर +977-9749326458 र +977-9749326459 को व्यवस्था गरिएको छ।

“काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोगहरू तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरूमा कार्यरत नेपालीहरूलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्‍न र स्वदेश फर्काउन नेपाल सरकारले मित्र राष्ट्रहरू संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, क्यानडा, जर्मनी, युरोपियन युनियन, जापान तथा संयुक्त राष्ट्रसङ्घका कार्यालयहरूलाई औपचारिक पत्राचार गरी अनुरोध गरिसकेको छ,” विज्ञप्तिमा भनिएको छ।

त्यस्तै अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रम तथा अवस्थाका बारेमा नयाँ दिल्लीस्थित नेपाली नियोगबाट ट्राभल एड्भाइजरी जारी गरिएको र आवश्यक सहयोगका लागि दूतावासको फोन नम्बर र इमेलहरूमार्फत् सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।

अफगानिस्तानमा वैदेशिक रोजगारीका लागि पठाउने म्यानपावर कम्पनीहरूलाई पनि त्यहाँ कार्यरत नेपालीहरूको विवरण तथा उद्धार कार्यका लागि भरपर्दो सूचना उपलब्ध गराउन सरकारले आग्रह गरेको छ।

को हुन् तालिबान ? कसरी भयो उदय

अफगानिस्तानमा अमेरिकी नेतृत्वको फौजको कारबाहीले सन् २००१ मा तालिबानलाई सत्ताच्युत गरे पनि त्यसयता सो समूहले क्रमशः शक्ति सञ्चय गर्दै गयो र फेरि अफगान भूभागमा आफ्नो नियन्त्रण कायम गरिरहेको छ।

दुई दशक लामो युद्धपछि अमेरिकाले आउँदो सेप्टेम्बर ११ तारिखसम्ममा फिर्ती प्रक्रिया पूरा गर्ने तयारी गरिरहँदा तालिबानले आफ्नो नियन्त्रण बढाउँदै लगेको छ र सरकारलाई उनीहरूले विस्थापित गर्ने चिन्ता बढ्दै गएको छ।

सन् २०१८ मा उक्त समूह अमेरिकासमर्थित शान्तिवार्तामा प्रवेश गर्यो र सन् २०२० को फेब्रुअरीमा दुई पक्षबीच कतारको दोहामा एउटा शान्ति सम्झौता भयो। शान्तिसम्झौताले अफगानिस्तानबाट अमेरिकी फौजको फिर्ती र तालिबानले उनीहरूमाथि आ’क्र’मणहरू नगर्ने प्रतिबद्धता जनायो।

सम्झौतामार्फत् गरिएका अन्य प्रतिबद्धतामा तालिबान नियन्त्रित क्षेत्रहरूमा अल-कायदा अथवा अरू समूहलाई सञ्चालनमा आउन नदिने र राष्ट्रिय शान्तिवार्ताको प्रक्रियालाई अगाडि बढाउने रहेका छन्। तर त्यसयता तालिबान लडाकुहरूले अफगान सुरक्षा फौज र सर्वसाधारण नागरिकलाई तारो बनाउने क्रम जारी राखेका छन्।

सत्तामा उदय
पाश्तो भाषामा तालिबानको अर्थ “विद्यार्थीहरू” भन्ने हुन्छ। अफगानिस्तानबाट सोभियत सेनाको फिर्तीपछि सन् १९९० को दशकमा उत्तरी पाकिस्तानबाट उनीहरूको उदय भएको हो।

मुख्यतः पाश्तुन आन्दोलन सुरुमा धार्मिक सङ्घसंस्थाबाट प्रारम्भ भएको विश्वास गरिन्छ जुन सङ्घसंस्थाले सुन्नी इस्लामको कडा धार सिकाउने साउदी अरबबाट आर्थिक सहयोग पाए।

तालिबान समूहले अफगानिस्तान र पाकिस्तान जोडिएका पाश्तुन क्षेत्रहरूमा सत्तामा आएपछि शान्ति-सुरक्षा पुनर्स्थापित गर्ने र शरिया कानुन लागु गर्ने वाचागर्यो ।

तालिबानले दक्षिण-पश्चिमी अफगानिस्तानबाट छिट्टै आफ्नो प्रभाव विस्तार गर्‍यो। सन् १९९५ को सेप्टेम्बरमा उनीहरूले इरानसँग सीमा जोडिएको हेरात प्रान्तमाथि कब्जा गरे।

त्यसको ठिक एक वर्षपछि उनीहरूले राजधानी काबुलमा नियन्त्रण गर्दै राष्ट्रपति बुर्हानुद्दीन रब्बानीको सरकारलाई सत्ताच्युत गरे। उनी सोभियत सङ्घको अतिक्रमणको विरोधमा अफगान मुजाहिदीन अर्थात्‌ “विधर्मीहरूसँग लड्ने योद्धाहरू” तयार पार्ने संस्थापकमध्ये एक थिए।

सन् १९९८ सम्ममा तालिबानहरूले लगभग ९० प्रतिशत भूभागमाथि नियन्त्रण कायम गरे। सोभियतहरूलाई धपाइएपछि मुजाहिदीनबाट दिक्क भएका अफगानहरूले पहिलो पटक अगाडि सरेका तालिबानहरूलाई सुरुसुरुमा स्वागत गरे।

भ्रष्टाचारविरुद्ध चालेका कदम, कानुनविहीनताको अवस्था कम गर्ने र व्यवसाय फस्टाउनका निम्ति सडक निर्माण तथा आफूनियन्त्रित क्षेत्रमा सुरक्षा प्रदान गर्ने कामले उनीहरूलाई लोकप्रियता बनायो।

तर तालिबानले आफूहरूले गर्ने शरिया कानुनको कडा व्याख्याअनुरूप सजाय दिने – उदाहरणका लागि, हत्यारा तथा व्यभिचारीहरूलाई मृत्युदण्ड दिने र चोरका हात काटिदिने – नियम लागु गरे अथवा त्यसलाई समर्थन गरे।

उनीहरूको शासनकालमा पुरुषले दाह्री पाल्नुपर्थ्यो भने महिलाहरूले पूरै जीउ ढाकिने बुर्का लगाउनुपर्थ्यो। तालिबानहरूले टेलिभिजन, सङ्गीत र सिनेमामाथि प्रतिबन्ध लगाए भने १० वर्ष र सोभन्दा माथि उमेरका किशोरीहरूलाई विद्यालय जान नदिनुपर्ने बताए।

उनीहरूमाथि विभिन्न मानवाधिकार उल्लङ्घन र सांस्कृतिज दुर्व्यवहारका आरोप छन्। तीमध्ये एउटा नराम्रो उदाहरण भनेको अन्तर्राष्ट्रिय निन्दाबीच सन् २०११ मा जब उनीहरू मध्य अफगानिस्तास्थित प्रसिद्ध बामियान बुद्धको प्रतिमा ध्वस्त पार्न अघि बढ्नु थियो।

पाकिस्तानले आफू तालिबानको सूत्रधार भएको कुरा निरन्तर अस्वीकार गर्दै आएको छ। तर सुरुमा तालिबानसँग आबद्ध भएका धेरै अफगानहरू पाकिस्तानका मदरसाहरूमा अध्ययन गर्नेहरू भएकोमा थोरै द्विविधा छ।

तालिबान सत्तामा रहेका बेला उनीहरूलाई मान्यता दिएका देशमा साउदी अरब र संयुक्त राज्य एमिरेट्सबाहेक पाकिस्तान थियो। तालिबान समूहसँग कूटनीतिक सम्बन्धविच्छेद गर्ने अन्तिम देश पनि पाकिस्तान नै थियो। एउटा बिन्दुमा तालिबानले आफूले नियन्त्रण गरेको पश्चिमोत्तर क्षेत्रबाट पाकिस्तानलाई अस्थिर तुल्याउने धम्की दियो।

अन्तर्राष्ट्रिय रूपमै धेरै निन्दा गरिएको एउटा घटना थियो – पाकिस्तानी तालिबानहरूले सन् २०१२ को अक्टोबरमा गरेको हमला जब स्कूले छात्रा मलाला युसुफजाई आफ्नो गृहनगर मिङ्गोरा फर्किँदै थिइन्।

पाकिस्तानको पेशावरस्थित एउटा विद्यालयमा भएको नरसंहारको दुई वर्षपछि एउटा महत्त्वपूर्ण सैन्य कारबाहीपछि पाकिस्तानमा सो समूहको प्रभाव कम भयो। सन् २०१३ मा अमेरिकी ड्रोन हमलामा पाकिस्तानी तालिबानका नेता हकिमुल्लाह महसुदसहित कम्तीमा तीन जना मारिए।

न्यूयोर्कस्थि विश्व व्यापार केन्द्रमाथि सन् २००१ को सेप्टेम्बर ११ मा गरिएको हमलापछि विश्वको ध्यान अफगानिस्तान तालिबानतर्फ तानिएको थियो। त्यो हमलाका प्रमुख सन्दिग्ध ठानिएका ओसाम बिन लादेन र उनको सङ्गठन अल-कायदालाई संरक्षण गरेको तालिबानमाथि आरोप लाग्यो। सन् २००१ को अक्टोबर ७ मा अमेरिकी नेतृत्वको गठबन्धन फौजले अफगानिस्तानमाथि आक्रमण गर्न सुरु गर्यो। अनि डिसेम्बर महिनाको पहिलो सातासम्ममा तालिबानहरू परास्त भए।

अल-कायदालाई आश्रय
विश्वै ठूलामध्ये एउटा मानवखोजी अभियानबीच समूहका तत्कालीन नेता मुल्लाह मोहम्मद ओमार र ओसामा बिन लादेनसहित केही उच्च नेताहरू उम्किन सफल भएको बताइन्छ।

तालिबानका कैयौँ वरिष्ठ नेताले पाकिस्तानको क्वेटा सहरमा आश्रय लिए जहाँबाट उनीहरूले सो समूहलाई मार्गनिर्देशित गरे। तर “क्वेटा शुरा” को अस्तित्वलाई इस्लामाबादले अस्वीकार गर्यो।

ठूलो सङ्ख्यामा विदेशी फौजको उपस्थितिबीच तालिबानले अवस्था सुदृढ पार्दै गयो र आफ्नो प्रभावलाई क्रमिक रूपमा विस्तार गर्दै लग्यो।सन् २०१२ को सेप्टेम्बरमा उनीहरूले काबुलमा उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको एउटा शिविरमा कारबाही गर्नुका साथै अन्य थुप्रै आक्रमण गरे।

तालिबान समूहले कतारमा कार्यालय खोल्ने योजना घोषणा गरेपछि सन् २०१३ मा शान्ति वार्ताको आशा पलायो। तर सबै पक्षबीच अविश्वासको वातावरण कायमै रह्यो र हिंसाले निरन्तरता पाइरह्यो। सन् २०१५ को अगस्टमा तालिबान समूहले मुल्लाह ओमारको मृत्यु भएको कुरा दुई वर्षभन्दा बढी समय लुकाएको स्वीकार गर्यो।

अस्वस्थताका कारण पाकिस्तानस्थित एउटा अस्पतालमा उनको मृत्यु भएको बताइन्छ। त्यसको अर्को महिना तालिबानले आन्तरिक किचलोलाई पाखा लगाउँदै समूहका नयाँ नेता मुल्लाह मन्सुरलाई स्वीकारेको बतायो। मुल्लाह मन्सुर मुल्लाह ओमारका सहायक थिए।

लगभग सोही समयमा तालिबानले सन् २००१ को पराजयपछि पहिलो पटक एउटा प्रान्तीय राजधानीमाथि नियन्त्रण कायम गर्‍यो। त्यो थियो रणनीतिक रूपमा महत्त्वपूर्ण रहेको कुन्दुज सहर। मुल्लाह मन्सुर सन् २०१६ को मे महिनामा एउटा अमेरिकी ड्रोन हमलामा मारिए। त्यसपछि समूहका नेता मौल्वी हिबातुल्लाह अखुन्दजादा भए।

फिर्तीको दिनगन्ती
फेब्रुअरी २०२० को अमेरिका-तालिबान शान्ति सम्झौतापश्चात्‌ तालिबान समूहले आक्रमणको रणनीति फेरेको देखिन्छ। उनीहरूले सहर तथा सैनिक संरचनाहरूमा जटिल आक्रमण गर्नुभन्दा लक्षित हमला गर्न थालेको देखिन्छ जसले सर्वसाधारण नागरिकलाई आतङ्कित बनाएको छ।लडाकुहरूले पत्रकार, न्यायाधीश, शान्ति अभियानकर्मी र शक्तिमा रहेका महिलालाई निसाना बनाउने गरेका छन्।

त्यसले तालिबानहरूले आफ्नो अतिवादी सिद्धान्त नभई रणनीति मात्रै परिवर्तन गरेको देखाउँछ। अन्तर्राष्ट्रिय समर्थनबिना सरकारको कमजोर अवस्थालाई लिएर अफगान अधिकारीहरूको गम्भीर चिन्ताबीच अमेरिकी नयाँ राष्ट्रपति जो बाइडनले सेप्टेम्बर ११ सम्ममा अमेरिकी फौजको फिर्ती प्रक्रिया टुङ्ग्याउने घोषणा गत एप्रिलमा गरेका थिए। त्यो बेला विश्व व्यापार सङ्गठनमाथि ह’मला भएको दुई दशक पूरा हुनेछ।बीबीसीबाट

प्रतिक्रिया