आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सत्ता गुमेपछि ओलीको आक्रोश, सबैले सुने हुन्छ फेरि प्रधानमन्त्री बन्छु

प्रकाशित
726
SHARES

काठमाडौँ। प्रतिनिधिसभा पुनस्र्थापित भएपछिको पहिलो सम्बोधनमा पूर्वप्रम ओलीले आफ्नो आक्रोशमिश्रित दुःख पोख्नुभयो। तत्काल प्रचलित सपथको कानुनलाई लत्याउँदै ‘त्यो पर्दैन’ भन्दा नकच्चरो हाँसो हाँस्दै आदेश पालन गर्ने राष्ट्रपतिको आडमा जोगिएको प्रधानमन्त्री पद जाँदा उनमा आक्रोश आउनु स्वाभाविक थियो। यही आक्रोश बालकोटको बार्दलीबाट पनि पोखिएको थियो।

आफ्नै सहकर्मी तथा पूर्वनेतालाइ गद्दार, देशद्रोही,लाज शरम पचेको भन्ने पदवी दिएर तथा वर्तमान प्रधानमन्त्री परमादेशका हुन्, जनादेशको प्रधानमन्त्री म नै हुँ भनेर।कार्यकर्ताभन्दा आदेशपालक बढी बनेका ओलीका समर्थकहरूको बार्दलीका आदेशात्मक उद्गारबाट सदन र सडकमा तरंग उत्पन्न गर्ने प्रयत्न असफल भएपछि नयाँ ऊर्जा थप्न मंगलबार सदनमा आफैँ उपस्थित भइ धेरै पुराना र केही नयाँ खुराक पस्किनुभयो। तत्काल तालीको गडगडाहट आए पनि बासी तथा ढुसी परेको खुराकबाट कहिल्यै ऊर्जा प्राप्त हुँदैन। कुपोषण हुन्छ। रोगी बनाउँछ।सम्बन्धित पक्षले बुझेको खण्डमा।

ओलीको दुःख आफैँ पेलेर भित्तामा पुर्‍याएका माधव नेपालहरूसँग छ।संसद्मा गद्दार, देशद्रोही जस्ता शब्द प्रयोग गर्न नमिलेका कारण अपवित्र,अनुचित, भोकाएका जस्ता शब्द प्रयोग गरेर व्यंगात्मक निन्दाबाट अपमान गरी आत्मतुष्टि लिने काम भयो। हुन त कम्युनिस्टहरूमा नेतृत्वको प्रतिस्पर्धीलाई ‘गद्दार’ विदेशी दलाल भन्ने स्टालिनका पालादेखि चलेको पुरानै रोग हो। शारीरिक हमला भौतिक सफायासम्म हुने कम्युनिस्ट पार्टीमा लाञ्छना लगाउनु सामान्य हो।नेपालमा पनि गद्दार, देशद्रोही जस्ता कम्युनिस्टहरूबाट मिल्ने मान पदवीको लामै इतिहास छ। तिनै गद्दारहरूसँग गठजोड भएपछि पुनः इमान्दार र राष्ट्रवादी बन्छन्। कम्युनिस्टको यो इतिहास बारम्बार दोहोरिइरहन्छ। केही दिनअघिसम्म तिनै ‘गद्दार’ सँग एकता गर्न ‘बिकाउ माल’ सँग वार्ता भइरहेको थियो।अझै पनि वार्ता हुन सक्ने सम्भावना छ।

माधव नेपालहरूले ओलीबाट पाएको पदवी पनि वार्ताको सफलता र असफलतामा निर्भर छ। ओलीको चाहना वास्तविक एकता भन्दा आफूमा समाहित गराउनुमा छ।एमाले एक बनोस् र नेपालका सबै कम्युनिस्टलाई एकजुट बनाएर एकल कम्युनिस्ट पार्टी बनाउन सकोस् भन्ने तमाम कम्युनिस्टको चाहनाले सफलता प्राप्त गरोस् भन्ने शुभेच्छा राख्दाराख्दै पनि ओलीको नेतृत्वमा यो कार्य सम्पन्न हुन असम्भव छ। माधव नेपाल वा उनी जस्तै संयोजनकारी कुनै दोस्रो व्यक्तिको नेतृत्व हुन सक्यो भने सम्पूर्ण कम्युनिस्टबीच एकता असम्भव छैन। मोहनविक्रम, नारायणमान वृद्ध हुनुभयो।पुष्पकमलजीलाईव्यवस्थापन गर्ने हो भने समग्र कम्युनिस्टहरू एउटै पार्टीमा अटाउन सक्छन्।

नेपाललाई तीनवटा राष्ट्रिय पार्टीको मात्र आवश्यकता हो।एउटा मध्यमार्गी राजनीतिक पार्टी नेपाली कांग्रेस। अर्को दक्षिणपन्थी पार्टी जसको नेतृत्व राप्रपाले गरिरहेको छ। तेस्रो वाम प्रजातान्त्रिक पार्टी जसको अहिले अभाव छ। सम्पूर्ण कम्युनिस्ट एकजुट हुन सके यो अभाव पूर्ति हुन सक्छ।यो हुन सक्यो भने नेपालको लोकतन्त्र दिगो र उपलब्धिमूलक बन्न मद्दत पुग्छ।एकल कम्युनिस्ट पार्टी बनाउने वा नबनाउने एमालेमा निर्भर छ। एमालेका लाखौँ कार्यकर्ता ओलीका अनुयायी मात्र बन्ने हुन कि समयको माग बुझ्न सक्ने विवेकशील कार्यकर्ता, यसले आगामी दिनमा कम्युनिस्टहरूको भविष्य निर्धारण गर्नेछ।

झेली तरिकाले परमादेशबाट प्रधानमन्त्री बनेको भन्दै शेरबहादुर देउवाप्रतिको आक्रोश पनि ओलीले संसद्मा पोख्नुभयो। माओवादीसँग एकता हुँदा झण्डै दुईतिहाइको संख्या रहेको र अहिले पनि १२१ जना सदस्यसहित संसद्मा सबभन्दा ठूलो दलको नेतालाई आधा संख्या ६३ जना मात्रको नेताले विस्थापित गरिदिँदा आक्रोशित हुनु स्वाभाविक जस्तो देखिन्छ। के ओलीको बहिर्गमन नेपाली कांग्रेस वा शेरबहादुर देउवाको कारणले भएको हो ? बहुमतमा रहेको नेकपाभित्रको विगत दुई वर्षदेखिको कचिंगलको कारण के नेपाली कांग्रेस थियो ?

नेपाललाई तीनवटा राष्ट्रिय पार्टीको मात्र आवश्यकता हो। एउटा मध्यमार्गी राजनीतिक पार्टी नेपाली कांग्रेस। अर्को दक्षिणपन्थी पार्टी जसको नेतृत्व राप्रपाले गरिरहेको छ। तेस्रो वाम प्रजातान्त्रिक पार्टी जसको अहिले अभाव छ।

अत्यधिक बहुमतसहित सत्तारोहण गरेका ओली किन अल्पमतमा परी सत्ताबाट बाहिरिनुपर्‍यो ? यसको कारण स्वयं ओली, उहाँको अहंकार, प्रतिशोधी चरित्र, क्षुद्र वाणी तथा विधि विधान भन्दा म माथि हुँ भन्ने अधिनायकवादी सोच हो भन्ने विषयमा सार्वजनिक सञ्चारमा धेरै लेखिएका छन्। सत्तामा टिकिरहन ओलीले गरेका झेलहरूको सम्झना पनि मानिसमा ताजा छ,धेरै पुराना भएका छैनन्। आफू फोहोरले डुंगडुंग गनाउँदा पनि विरोधीलाई फोहोर बोकेर हिँडेको छस् भन्न धक नमान्ने यो ओलीको विशेष खुबी हो।

नेपाली कांग्रेस र शेरबहादुर देउवाबाट प्रधानमन्त्री ओलीलाई आवश्यकता भन्दा बढी नै सहयोग भएको थियो।संसद्मा असजिलो स्थिति सिर्जना गरिएन।संसदीय परम्परा विपरित प्रधानमन्त्री ओलीको पहिलो वर्षको नीति कार्यक्रममा विरोध नगरी मौन सम्मति जनाउने काम भयो।वाइड बडी, न्यारो बडीलगायत अरबौँका ठूला भ्रष्टाचारका मुद्दा उठ्दा पनि प्रमुख प्रतिपक्षले सशक्त विरोध गरेन। संविधानको भावनाप्रतिकूल संवैधानिक आयोगमा संशोधन अध्यादेशमार्फत नियुक्ति हँुदा औपचारिकताका लागि विरोध गर्दै आयोगहरूमा नियुक्तिका लागि आफ्ना मानिसको सूची दिएर ओलीको कार्यलाई समर्थन गरियो।

नेकपाभित्रको संघर्ष उत्कर्षमा पुगेको समयमा प्रचण्ड/माधवहरूले उहाँहरूलाई सहयोग गर्ने आग्रहलाई बेवास्ता गरी शेरबहादुरले ओलीलाई नै सघाउनुभयो। पहिलो पटक पुस ५ मा संसद् विघटन गर्दा शेरबहादुर देउवाले ओलीलाई सघाउन पार्टी निर्णय विपरित चुनावमा जानुपर्छ भनी बारम्बार मन्तव्य दिनुभयो। यस्तो सहयोगी विपक्षी दलको नेता बिरलै प्राप्त हुन्छ। ओली बाहिरी शक्ति वा व्यक्तिबाट बहिर्गमित हुनुभएको होइन।आफ्नै दम्भ, अहंकार र षडयन्त्रकारी नीतिका कारण एक्लो पर्नुभएको हो।

कांग्रेस र शेरबहादुरलाई दोष दिने हो भने यो मानेमा दिन सकिन्छ कि उसले सत्तामा रहेका ओलीलाई खबरदारी गर्ने प्रतिपक्षी धर्म निर्वाह नगरी माधव नेपाल÷प्रचण्ड समूह भन्दा बढी सत्ता सहयोगी बन्यो।गलत संस्कार, बानी बेहोरा भएको बालकलाई सावधान नगराउने पुल्पुलाउने गर्‍यो भने बालकको प्रगति हुँदैन।बिग्रेर नस्ट हुन्छ। यस्तै भयो। नेपाली कांग्रेसको पुल्पुलाहटले प्रधानमन्त्री रहेका ओलीमा रहेको निरंकुश प्रवृत्तिलाई बढावा मिल्यो। अन्ततः त्यही निरंकुश प्रवृत्तिका कारण सत्ताबाट बाहिरिनुपर्‍यो।

नेकपालाई२०७४ को निर्वाचनमा जनादेश प्राप्त भएको हो।त्यसको श्रेय ओलीलाई नै जान्छ।आफ्ना ‘गफ’लाई जनताको विश्वासमा परिणत गराउनु पनि एक किसिमको कलाकारिता हो। निर्वाचनको समयमा ओलीले यो कला राम्रैसँग प्रयोग गरी बहुमत प्राप्त गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो।तर त्यो जनादेशलाई ओली आफँैले खण्डित गर्नुभयो।नेकपालाई विभाजन गरी पुनः एमाले र माओवादी केन्द्र बनाएर।जनादेश खण्डित गरी अल्पमतमा परिसके पछि पनि जनादेश मेरै पक्षमा छ भन्नु मुढाग्रहमात्र हो।निश्चय नै कांग्रेसलाई सत्तामा जाने जनादेश थिएन।

सत्ताको जनादेश छैन भनी स्वीकार गरेको कांग्रेसले सत्ताको नेतृत्व नगरेको भए राम्रो हुने थियो। माधव नेपाललाई प्रधानमन्त्रीमा प्रस्तावित गरेको भए जनादेशको सम्मान पनि हुने र कांग्रेसको साख पनि बढ्ने थियो।यो किन हुन सकेन? कानुनी अड्चन भयो कि वा शेरबहादुर र केपी ओलीमा कुनै गोप्य समझदारी थियो कि ? गोप्य समझदारी भएको भए त्यो समझदारी कसले भंग ग¥यो? यो स्वयं ओलीजीलेनै भन्ने कुरा हो।

ओलीले परमादेशबाट हटेँ भनी अदालतप्रति दूराग्रह राख्नु उहाँकै अज्ञानता हो।अदालतलाई परमादेश जारी गर्नुपर्ने अवस्था सिर्जना गर्ने उहाँ नै हो।संविधानका व्यवस्था उल्लंघन नगरेको भए यो अवस्था आउने नै थिएन।लोकतन्त्रलाई विधिको शासन भनिन्छ। विधि उल्लंघन भए/नभएको परीक्षण अदालतले नै गर्ने हो।संविधान निर्माण गर्दा संसदीय प्रणाली भन्ने नेपाली कांग्रेस, कार्यकारी राष्ट्रपति भन्ने माओवादी केन्द्र,संसद् र सरकारको स्थिरताका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भन्ने एमाले थियो।

अन्ततः संसदीय प्रणाली नै राख्ने भएपछि एमालेको घोषणापत्रको साख राख्न धारा ७६(५) राखी सुधारिएको संसदीय प्रणाली भनियो। एमालेका धेरै नेताले हामीले संसदीय प्रणालीलाई सुधार गरेर विशिष्टखालको बनाएका छौँ भन्दै बारम्बार मन्तव्य दिनुभएको छ। संविधानसभाले बनाएको संविधानअनुसारको व्यवस्था अहिले अदालतले कार्यान्वयन गराउँदा जनादेशको खिलाफ परमादेश भन्नु बेइमानी हो।

संसद्बाट छिनोफानो हुनुपर्ने विषयलाई बारम्बार अदालत जानुपर्ने स्थिति सिर्जना हुनु असल लोकतान्त्रिक अभ्यास होइन। विधि बनाएरमात्र लोकतन्त्र चल्दैन। विधि मान्ने र विधिको अधीन रहने राजनीतिक संस्कार, लोकतन्त्रको सफलताका लागि अत्यावश्यक हुन्छ। नैतिकताबेगरको राजनीति सत्ताको व्यापार हो। ओलीमा राजनीतिक नैतिकताको अभाव भयो। अहिले त्यसको दुष्परिणाम आफँै भोग्दै हुनुहुन्छ।

नेपालमा शुद्ध राजनीति गरिँदैन।राजनीतिलाई कूटनीति बनाइएको छ।शुद्ध राजनीति बिपी कोइरालाले गर्नुभयो। त्यसको अनुशरण कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारीले गर्नुभयो।अहिले नेतृत्व गरिरहेको पुस्ताले बिपीको अनुशरण गरेन। महेन्द्रले कूटनीति मिसाएर दूषित गरी प्रयोग गरेको राजनीतिको अभ्यास गर्दैछ।यस्तो दूषित राजनीतिको प्रयोग गर्ने व्यक्ति तत्काल सफल देखिए पनि त्यसको अन्त्य पीडादायी हुने इतिहासले देखाएकोछ। इतिहासको शिक्षा ग्रहण नगर्ने व्यक्ति कुण्ठाका कारण आफ्नो गल्तीको दोष अरूमाथि थोपर्छ।

भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न भन्दै भ्रष्टाचारीलाई संरक्षण गरिआएका ओलीलाई स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार छानबिन हुने हो कि भन्ने दुःखले पीडा दिएको उहाँको सम्बोधनमा स्पष्ट देखिन्थ्यो। बाटोमा भेटिएको पर्चा भन्दै सम्पूर्ण समय त्यही पर्चामा खर्चिएका ओलीले आफ्नो पालाको भ्रष्टाचार छानबिन हँुदा क्यान्टोनमेन्टलगायतका भ्रष्टाचार पनि छानबिन हुनुपर्ने सर्त तेस्र्याउन बाँकी राख्नुभएन। वर्तमान सरकारबाट भ्रष्टाचारको छानबिन गरी कार्बाही गर्ने अपेक्षा कसैले राखेको छैनतथापि अँध्यारो विगत रहेको सरकार प्रमुखको छट्पटी बुझ्न त्यही बाटोको पर्चामा लेखिएको छानबिन शब्द नै पर्याप्त बन्यो।

कांग्रेस सांसद तथा केन्द्रीय सदस्य प्रदीप गिरीले केही दिनअघि संसद्मा चिन्ता व्यक्त गर्नुभयो– ओलीलाई कसरी संविधानवादमा ल्याउने यो अहिलेको सरकारको मुख्य चुनौती हो। उहाँले चुनौती ठम्याउनुभयो।चुनौतीको समाधान गर्ने अवसर अहिले संयोगले गिरीजीहरूसँग छ। बाटो देखाउने व्यक्ति पहिला आफँै बाटो बुझेको हुनुपर्छ।उपदेशले मात्र कोही सुध्रँदैन। उदाहरण बन्नुपर्छ।आफ्नै सरकार र पार्टीको नेतृत्वलाई उदाहरणीय बनाउन नेपाली कांग्रेसका संसद् सदस्य र केन्द्रीय सदस्यहरू कति सक्षम बन्नुहुन्छ,आगामी दिनमा देखिनेछ।ओली सुध्रिने वा नसुध्रिने धेरै यसैमा निर्भर छ।

प्रतिक्रिया