आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

दरबार “हत्याकाण्डका” साची भन्छन अनुसन्धान गर्न दिइएन, यसरी भयको थियो “बंशनाश “

प्रकाशित
1.2K
SHARES

काठमाडौँ। म ८ वर्ष राजदरबारमा बसेको मान्छे हुँ । कानून मन्त्रालयको सेक्सन अफिसरबाट मुगु जिल्लाको न्यायाधीश भएर गएँ । त्यहाँ १५ / १६ महिना मात्रै बसेको थिएँ, राजदरबारमा सरुवा गरे । बहुदल आएपछि ०४७ सालको साउनमा डा. आनन्दमोहन भट्टराई (हाल सर्वोच्चका न्यायाधीश) र मलाई फेरि न्याय सेवामै फिर्ता गरियो । आनन्दमोहन त्यहाँको सहायक सचिव हुनुहुन्थ्यो, म उपसचिव थिएँ ।

जेठ १९ गते राति राजदरबारमा “हत्याको” घटना भयो । मलाई राति ११ बजेतिर एकजनाले फोन गरेर एकदमै साउती मारेको स्वरमा भने, ‘श्रीमान्, थाहा पाइबक्सियो ? दरबारमा त “गोलीकाण्ड” भएछ । बन्दुक हानेर सब सके, महाराजधिराज कोही पनि बाँकी छैनन् ।

मैले मुख्यसचिवलाई फोन गरें । उहाँले खै श्रीमान्, त्यस्तै सुन्न त सुनिएको छ, तर म अन्योलमा छु भन्नुभयो ।

जेठ २० गते शनिबार बिहानै हामी दौरा सुरुवाल लगाएर छाउनी (सैनिक अस्पताल) पुग्यौं । त्यहाँ मान्छेहरूको भीडभाड थियो । त्यहाँ राजा त्रिभुवनका ज्वाइँ कुमार महेश्वर सिंह भेटिए । कुपण्डोलतिर घर छ । हातमा ब्यान्डेज लगाएर घाँटीमा झुन्ड्याएर हिँडेका रहेछन् ।

के भयो कुमार सा’ब भनेको, म पनि त्यहीँ थिएँ, अलिकति छर्राले हातमा लाग्यो भन्ने कुरा गरे । कसले गोली चलाएको हो भनेर सोध्दा उहाँ (दीपेन्द्र) ले नै हो भने ।

पोष्टमार्टम भयो कि भएन भनेर सोधेको, दरबारमा पोष्टमार्टम गर्ने चलन छैन भनेर मुमा बडामहारानी रत्नबाट हुकुम भयो रे भन्ने सुनाए ।

त्यसरी बंशै नास भएको थियो, पोष्टमार्टम गर्न दिइनुपर्थ्यो अनि बल्ल लासहरु जलाउनुपर्थ्यो । किन यसलाई सामसुम गर्न लगाइयो त्यो मलाई अनौठो लाग्यो । न आर्मीले, न दरबारले, कसैले पनि यसलाई अनुसन्धान गर्नुपर्छ भन्नेतिर किन गएनन्, यसमा मलाई अहिलेसम्म चासो छ ।

म त सर्वोच्च अदालतको रजिष्ट्रार भए पनि अरुका अगाडि जुनियर थिएँ । राजनीतिक दलहरुले पनि यसलाई सिरियसली लिएनन् । खाली काठमाडौंको आक्रोशित जमात मात्रै सडकमा आयो । उनीहरुले गिरिजालाई समेत ढुंगामुढा गरे । तर, यत्ति मात्र भयो ।

यसरी बन्यो समिति

“हत्याकाण्ड” भएको केही दिनपछि राजा ज्ञानेन्द्रले समिति बनाए । बहालवाला प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय अध्यक्ष हुनुभो । सभामुख तारानाथ रानाभाट र विपक्षी दलका नेता माधवकुमार नेपाल सदस्य रहेको तीन सदस्यीय उच्चस्तरीय समिति दरबारले बनायो ।

मलाई प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायले बालुवाटारबाट फोन गरेर बोलाउनुभयो । म त्यसबेला सर्वोच्च अदालतको रजिष्ट्रार थिएँ । तपाई तुरुन्तै बालुवाटार आउनुपर्यो, म गाडी पठाइदिन्छु भन्नुभयो, म गएँ ।

उहाँले भन्नुभयो, यसरी आयोग बनेको छ, तपाई दरबारतिर पनि गइरहनुपर्ने हुन्छ, सम्पर्क गरिराख्नुपर्ने हुन्छ, यी सब कुराहरु तपाईले जान्नुहुन्छ, त्यसैले तपाई समितिमा बस्दिनुपर्छ भन्नुभयो । मैले पनि हजुरले भनेपछि नबस्ने कुरा आउँदैन, बस्छु भनें ।

काशिराज दाहाल त्यहाँ पुगिसक्नुभएको रहेछ । काशीराज दाहालजी केशवजीको प्यारो मान्छे पनि हो । न्यायाधीशका तर्फबाट हामी दुईजना कर्मचारी राखिसकेपछि सभामुखले पनि मेरो सचिव राख्छु भनेर सूर्यकिरण गुरुङलाई समितिमा राख्नुभयो ।

माधवकुमार नेपालजी बालुवाटार प्रधानन्यायाधीशको क्वार्टरमा आउनुभयो । मेरो त पार्टीले निर्णय गर्यो, म समितिमा बस्दिनँ भन्नुभो । राजीनामा गर्छु भन्न आएको भनेर माधवजीले त्यहाँ सुनाउनुभयो ।

मैले माधवजीलाई एक्लै भेटेर भनें, तपाईको पार्टीको कुरा मिलाउन सकिन्छ भने अझै पनि मिलाए हुन्छ । तर, समितिमा बस्दिनँ भन्ने कुरा गलत हो । किनभने, यहाँ त ‘यस म्यान’हरुको जस्तो समिति हुने भो, यसलाई क्रिटिकल्ली हेर्ने मान्छे चाहिन्छ, त्यसैले तपाई त बस्नैपर्छ भनेर मैले माधवजीलाई भनें । तर, उहाँले पार्टीले निर्णय नै गरिसक्यो, म बस्दिनँ भन्नुभयो । यसरी, समितिका पदाधिकारीहरूमा दुईजना मात्रै रहे ।

समितिले काम गर्न थाल्यो । हामीले अरु कर्मचारीहरुलाई पनि ल्यायौं । कोही संसद सचिवालयबाट हायर गरेर आए । कोही अदालतका कर्मचारीहरु लग्यौँ ।

समितिको कार्यादेश दोषी पत्ता लगाउने थिएन

समितिको बनोट नै घटनामा के–के भएको देखिन्छ, सो कुराको प्रतिवेदन पेश गर्न भनिएको थियो । कसले गरेको देखिन्छ भन्ने हैन । त्यो घटना कसले घटाएको त्यस्तो भन्ने हैन । त्यहाँ केके भएको देखिन्छ, त्यो कुराको प्रतिवेदन गर्ने । यसैका लागि समिति बनेको थियो । के भएको थियो भन्नका लागि त त्यो घटना भएका ठाउँमा कोको थिए भन्ने त बयान लिनुपर्यो । मानिसहरुसँग सोधपुछ गर्नुपर्यो । त्यो सोधपुछलाई हामी बयान भन्छौं ।

हामीले डाक्टरहरुको बयान लियौं । घाइते भएर अस्पतालमा रहेका मानिसहरुको पनि बयान लियौं । त्यहाँ खटिएका एडीसीहरुको पनि बयान लियौं । प्रधानमन्त्री (गिरिजाप्रसाद कोइराला) को पनि बयान लिइयो । यसरी हामीले सबैको बयान लियौं । उनीहरुलाई टाइम लिएर बोलाइयो, आए र बयान दिए ।

अस्पतालहरुमा रहेकाहरुको हामीले अस्पतालमै पुगेर बयान लियौं । गोरखसमशेरको बयानमा म पनि थिएँ । कोमल र अरु राजपरिवारको बयानमा सूर्यकिरण गुरुङ, तारानाथ रानाभाट र प्रधानन्यायाधीश सहभागी हुनुभयो ।

कसैले घटनालाई गम्भीर रुपमा लिएनन्

मलाईचाहिँ दोषी पत्ता लागोस् भन्नेतिर ईच्छा थियो । आज जनताको चासो पनि त्यही थियो । प्रधानन्यायाधीश र सभामुखलाई दरबारबाट कुनै विशेष निर्देशन आएको भए म भन्न सक्दिनँ, तर उहाँहरु दुबैजना अहिले यो राष्ट्रिय शोकको घडीमा जे हुनु घटना भइ नै सक्यो, यो अवस्थामा यसैबाट विद्रोह हुन्छ कि भन्नेतिर लाग्नुभएजस्तो लाग्छ मलाई । घटनाको धेरै निधि–खोजी गर्नतिर नलाग्ने र औपचारिकता मात्रै निर्वाह गर्न खोज्नेतिर उहाँहरु लागेको जस्तो बुझें मैले । केशवजी परलोक भइसक्नुभयो, माधव नेपालजी समितिमा बस्दै बस्नुभएन । अहिले एकजना तारानाथजी जीवित हुनुहुन्छ ।

मैले प्रधानन्यायाधीशज्यूलाई प्रस्ताव गरें, दूरसञ्चारबाट कल डिटेल पाइँदोरहेछ, युवराज दीपेन्द्रको कोकोसँग कति मिनेट कुराकानी भएको थियो ? दीपेन्द्रको कल डिटेल मागौँ न ।

युवराज दीपेन्द्रको कल डिटेल मगाइयो । त्यसमा देवयानी राणासँग कुराकानी भएकाहरु देखिए । लामो लामो कुराकानी भएको देखियो । अरु पनि धेरै मान्छेहरुसँग कुराकानीहरु भएका थिए । ती मान्छेहरु कोको हुन् भन्नेतिर हाम्रो समिति जान चाहेन । यो एउटा पाटो भयो ।

दोष दीपेन्द्रलाई दिइन्छ, तर प्रश्नहरु अनुत्तरित छन्

यो “हत्याकाण्डमा” जसले पनि दीपेन्द्रलाई दोष दिने गरे । त्यो समितिमा अलिकति दरबारलाई देखेको र दीपेन्द्रको स्वभावका बारेमा अलि बढी थाहा भएको म मात्रै एकजना थिएँ । मलाई चाहिँ दीपेन्द्र त्यस्तो छन् भन्ने लाग्दै लाग्दैनथ्यो ।

तर, म कानूनको विद्यार्थी हुँ । व्यक्तिको मृत्युकालीन घोषणा हुन्छ । दीपेन्द्रले चलाएको गोलीबाट मरेको हो कि हैन, पोष्टमार्टम नगरेपछि त थाहा हुने कुरै भएन । त्यो घटनामा घाइते भएका जीवित मानिसहरु, जो मर्नु–बाँच्नुको दोसाँधमा थिए । जस्तो– गोरखसमशेर राणा नै मर्नु बाँच्नुको दोसाँधमा थिए । उनको लकेटबाट गोली चिप्लिएर गएछ । उनले बोलेको कुरा पक्कै पनि साँचो हुनुपर्छ । त्यसैले उनको कुरा सुनेर निस्केपछि दीपेन्द्रले नै गरेको होला भन्नेमा म पनि पुगेँ ।

तर, समितिमा बसेर काम गर्दागर्दै मलाई अति शंका लाग्न थाल्यो । रक्सी त हामी पनि खान्छौं नि । रक्सी खाएपछि कसरी घर आइयो भन्नेसम्म थाहा हुँदैन ।
७ बजेपछि नारायणहिटीमा पाहुनाहरु आउन थाले । दीपेन्द्र त्यहाँ पारससित बिलियार्ड खेलिराखेका थिए । रक्सी खाँदै खेले । रक्सी लाग्दै गयो । त्यहीँ पारसले के बनाए रे । त्यो पनि खाए रे । त्यसपछि म चैं सुत्न जान्छु भनेर खोपीतिर लागे रे । पाहुनाहरू आउँदैछन्, आइराखेका छन् ।

माहाराजधिराजभन्दा अगाडि मुमा बडामहारानी रत्न आइन् रे । त्यसको १० / १५ मिनेटपछि महाराजधिराज आए रे । राजा आएर मुमा बडामहारानीलाई दर्शन गरे रे । त्यसको एकैछिनमा एकदम कम्ब्याट ड्रेसमा शस्त्रसहित पूरा औपचारिक मिल्ट्री पोशाकमा भरर्र हान्दै आए रे । ए..ए.. के गरेको ? के गरेको ? भन्दैथिए रे भरर्र हान्न थालिगए रे । राजालाई ताकी ताकी भरर्र मेसिन गनले हाने रे । पारसले नाई दादा, दादा भने रे । अनि उनलाई केही गरेनन् रे ।

त्यसरी सबैले भन्छन्, दीपेन्द्रले नै हानेको हो ।​

त्यसअघि (गोली चलाउनुअघि) बिलियार्ड हलबाट खोपीमा गएपछि के गरे त दीपेन्द्रले ? भन्दाखेरि, उहाँले भोमिट गर्नुभयो रे । त्यसपछि हामीले बिछ्यौनामा सुतायौँ, उहाँ सुकला भो । एकछिन हामी बसिराख्यौँ । उहाँ घुर्न थालिबक्स्यो अनि हामी निस्कियौँ रे ।

रक्सी लागेर, गाँजा चरेससमेत खाएर खोपीमा गएको । त्यहाँ भोमिट गरेको । लैजाँदाखेरि दुईजनाले समातेर लगेका । त्यस्तो व्यक्ति त्यहाँ सुतेर आएपछि चाहिँ एकदम तगडा कसरी भयो ? त्यो बुटको तुना कस्न नै कति टाइम लाग्छ ? त्यस्तो व्यक्तिले बन्दुक छानेर, दुईटा बन्दुक भिरेर एउटाको गोली सकिएपछि यो चलाउँछु भनेर हान्यो रे ।

अहिले सम्झँदा कसैले दीपेन्द्रको मुकुण्डो लगाएको पो थियो कि ? त्यस्तो रक्सी खाएको मान्छेलाई एकैछिनमा फ्रेस बनाउने त्यस्तो केही चिज पो हुन्छ कि ? मैले समितिमा कुनै मनोचिकित्सक, न्यूरो फिजिसियनलाई बोलाएर सोधौं न त भनें । प्रधानन्यायाधीशले मान्नुभएन ।

बहुत जिद्दी गरेपछि मिल्ट्री अस्पतालका अवकाशप्राप्त डाक्टर कृष्णचन्द्र राजभण्डारीलाई बोलाएर सोधियो । धेरै सोध्न पनि दिएनन् । उहाँले रक्सी खाएको मान्छे त्यसरी तत्कालै फ्रेस हुन सम्भव हुँदैन भन्नुभयो ।

कसैले दीपेन्द्रको मुकुण्डो नै लगाएको रहेछ भने पनि त्यो फेला पर्ने कुरै भएन । राजाका एडीसीहरु सबै बाहिर थिए । भित्र आउने अनुमति थिएन । भित्र त वेटरहरु थिए । गोली चलेपछि एडीसीहरु भित्र आए । राजा ढलिसकेका थिए । सबै जना अस्पतालतिर दौडिए । नारायणहिटीबाट टिचिङ अस्पताल नजिकै थियो । तर, मिल्ट्री अस्पताल लगियो । आर्मीको च्यानल भएकाले उतैतिर लगे ।

गोली हान्ने मान्छे दीपेन्द्रले अन्तिममा आफ्नै कञ्चटमा शुट गर्यो भने । कसरी शुट भयो ? सुट गरेको ठाउँमा सानो प्वाल हुने, अर्को ठाउँमा ठूलो प्वाल हुन्छ रे । उनी देब्रे हात चलाउँथे कि, दायाँ हात चलाउँथे ? यी कुराहरूको एनालाइसिस नै भएन । पोष्टमार्टम नै भएन । ती बन्दुकहरू दीपेन्द्रसँग थिए कि थिएनन्, कोसँग थिए ? कसले चलाउने गरेको बन्दुक हो ? पोष्टमार्टम भएको भए यी सारा कुराहरु खुल्ने थिए ।

अब छानविन गरेर पार लाग्दैन

मेरो विचारमा यो केस अब छानविन गरेर पार लाग्दैन । यसमा दरबार नै संलग्न थियो भनेर म कुनै पनि हालतमा भन्न सक्दिनँ । तर, तिनीहरुको बुद्धि नपुगेको हो । त्यसै आफ्नो सुप्रीमेसी देखाउन खोजेका हुन् । बुद्धि भएको भए तिनीहरुले पोष्टमार्टम गराउनुपर्थ्यो । अनि त्यो घटनास्थल, त्रिभुवन सदन शिल गर्नुपथ्र्यो । कसैलाई पनि जान दिनु हुँदैनथ्यो । हामी त्यहाँ जाँदा त कुचो लगाएर बढारेको जस्तो थियो । यति सामान चाहिँ राखेर देखाउनुपर्छ भनेर अरु सबै निकालेर लगेको जस्तो ।

घटनास्थल जस्ताको त्यस्तै राख्नुपर्थ्यो । पोष्टमार्टम भएको हुनुपथ्र्यो । दीपेन्द्रलाई बन्दुक हानेर मार्नेहरू दुई–तीनजना हुनुपर्छ, तिनीहरुले उठाएर पोखरीको डिलमा राखिदिएको हुन सक्थ्यो, तिनीहरुको फिंगर प्रिन्ट हुन सक्थ्यो । एउटा सामान्य ज्यान मुद्दामा त यति धेरै अनुसन्धान हुन्छ, तर दरबार हत्याकाण्डमा अनुसन्धान नै भएन ।

(छानविन समितिमा संलग्न पूर्वरजिष्ट्रार पण्डितसँग रातोपाटीले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया