आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रतिबन्धित फ्रान्सेलीको रहस्यमय नेपाल यात्रा: किन आए बारम्बार ?

प्रकाशित
513
SHARES

काठमाडौँ: एक फ्रान्सेली नागरिकले रहस्यमय र शंकास्पद ढंगले नेपाल भ्रमण गरेको पाइएको छ । अध्यागमन कानुन उल्लंघन गरेका फ्रान्सेली नागरिक हेर्भ लउरेन्ट फेट्री नेपालबाट निष्कासित भएको तीन महिनामै नयाँ राहदानी लिएर पुनः नेपाल आए ।

फ्रान्सेली नागरिक लउरेन्टले २०७६ साउन ४ मा पहिलो पटक २१ एए ३५४५५ नम्बरको राहदानी लिएर नेपाल प्रवेश गरेका थिए । नेपाल आएपछि उनले भिसाको म्याद थपेनन् । लउरेन्ट ५ सय २५ दिन प्रवेशाज्ञा विना नै नेपाल बसे । त्यसपछि मात्र उनी भिसाको म्याद थप गर्न अध्यागमन विभाग गए । सोही क्रममा अध्यागमनका अधिकारीहरुले उनलाई पक्राउ गरे । अध्यागमन अधिकारीहरुले गैर कानुनी ढंगले नेपाल बसेपछि उनलाई पक्राउ गरेका थिए । गृह मन्त्रालयले २०७७ पुस ७ गते लउरेन्टलाई नेपाल प्रवेशमा एक वर्ष प्रतिबन्ध लगाई निष्कासन गरेको थियो ।

एक वर्ष प्रतिबन्ध लगाइसकेपछि अर्को राहदानीमा किन शंकास्पद ढंगले लउरेन्ट पुनः नेपाल यसले थप रहस्य बढाएको छ । अर्को रहस्य के छ भने २०७६ साउन ४ मा एक महिनाको पर्यटक प्रवेशाज्ञामा नेपाल आएका लउरेन्ट ५ सय २५ दिन प्रवेशाज्ञा विना नै नेपाल बसे । त्यस बीचमा उनले कस कसलाई भेटे र कस्ता गतिविधिमा संलग्न भए त्यो विषय खुल्न सकेको छैन ।

निष्कासित भएको तीन महिनामै फ्रान्सेली नागरिक लउरेन्ट नयाँ राहदानीमा फेरी नेपाल प्रवेश गरे । दोस्रो पटक २०७७ चैत्र ४ गते १७ एफभी २१७४२ नम्बरको फ्रान्सेली अर्को राहदानीमा नेपाल आए । दोस्रो पटक नेपाल आएका लउरेन्टले भिसाको म्याद थपेनन् । झण्डै तीन महिना लउरेन्ट गैरकानुनी ढंले भिसा विना नै नेपाल बसे । त्यो समयमा उनी कहाँ गए र के के गरे न अध्यागमन विभागलाई थाहा छ न त सरकारी कुनै संयन्त्रलाई ।

गत असार ६ गते लउरेन्ट नयाँ राहदानीमा भिसा थप गर्न विभाग पुगे । सोही क्रममा अध्यागमन विभाग परिसरबाट नै उनी पक्राउ परे । अध्यागमन विभागका अनुसन्धान अधिकृत वैकुण्ठ रेग्मीले ‘ओभरस्टे’ भएको बेला उनले गरेका गतिविधिहरको बारेमा अनुसन्धानबाट केही खुल्न नसकेको बताए । रेग्मीले अन्नपुर्णसँग भने,‘ भिसा थप गर्न आउँदा उनलाई तत्काल पक्राउ गरयौँ । अदालती प्रक्रियाबाट उनलाई निष्कासन गरेका छौँ ।’ अध्यागमनका अधिकारीहरुसँगको बयानमा उनले आफु मौरी विशेषज्ञ भएको र कृषि कर्मका लागि नेपाल आएको भनेका छन् । तर पर्यटक भिसामा आएका व्यक्तिले अरु कुनै व्यवसाय गर्न र अन्य कुनै काममा संलग्न हुन नपाउने अध्यागमन ऐनमा स्पष्ट उल्लेख छ ।

अध्यागमनका अधिकारीहरुले लउरेन्टको कागजपत्र हेर्नासाथ उही पुरानो व्यक्ति सहजै पहिचान गरे र तत्काल त्यहीँ उनलाई पक्राउ गरे । त्यसपछि अध्यागमन विभागले निष्काशन आदेश उल्लंघन गरेको अभियोगमा लउरेन्ट विरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरे । काठमाडौँ जिल्ला अदालतले दुइ वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाउने आदेश गर्‍यो । गृह मन्त्रालयले अदालतको आदेश वमोजिम लउरेन्टलाई दुइ वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाएर निष्कासन गर्‍यो। लउरेन्ट अहिले फ्रान्स पुगिसकेको अध्यागन अधिकारीहरुले बताएका छन् ।

गृह मन्त्रालयले विदेशी नागरिकको अवाञ्छित गतिविधि नियाल्न विदेशी नागरिक अनुगमन निर्देशिका समेत बनाएको छ । तर विदेशी नागरिक अनुगमन निर्देशिकाको प्रभावकारी कार्यान्वयन नहुँदा विभिन्न स्वार्थले नेपाल आएका विदेशी नागरिकहरु निस्फिक्री आफ्ना गतिविधिहरु संचालन गरिरहेका छन् । अवैध ढंगले नेपाल बस्दैआएका त्यस्ता विदेशीहरुको गतिविधिले मुलुको राष्ट्रिय सुरक्षामा प्रत्यक्ष असर पार्ने सम्भावना बढेको बताइन्छ ।

प्रतिक्रिया