आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गुण्डाहरूको नियन्त्रणमा परीक्षा दिन सक्दैनौँ : विद्यार्थी

प्रकाशित
0.9K
SHARES

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभाग तेस्रो सेमेस्टरका विद्यार्थीहरूले गुण्डाहरूको नियन्त्रणमा परीक्षा दिन नसकिने बताएका छन् ।

शनिबार वक्तव्य जारी गर्दै विद्यार्थीहरूले एउटै कक्षामा ६० जना हाराहारी विद्यार्थी राखेर विनाकुनै स्वास्थ्य मापदण्ड अत्यन्तै असंवेदनशील, गैरजिम्मेवार र विद्यार्थीको स्वास्थ्य तथा जीवनमाथि नै अमानवीय ज्यादती गर्दै परीक्षा सञ्चालन भइरहेको बताए ।

वक्तव्यमा लेखिएको छ, ‘नेपाल सरकारले तय गरेको मापदण्डसमेत पालना नगरी सञ्चालन गरिएको परीक्षाको प्रकृतिमाथि विरोध जनाउँदै स्वास्थ्य मापदण्ड पूरा गरेर मात्रै परीक्षा सञ्चालन गर्न आग्रह गर्दै आज हामीले पाटन क्याम्पसमा शान्तिपूर्ण प्रदर्शन गरेका थियौँ । परीक्षा दिनुभन्दा आधा घन्टाअगाडि भएको हाम्रो प्रदर्शनस्थलमै अनधिकृत व्यक्तिहरू प्रवेश गरी हामीलाई सार्वजनिक रूपमा धम्की दिएका छन् । त्यतिले नपुगेर परीक्षा अवधिभरि पटकपटक गुण्डागर्दी शैलीमा अनधिकृत व्यक्तिहरूले परीक्षास्थलमा प्रवेश गरी विद्यार्थीमाथि अत्यन्तै स्तरहीन गालीगलौज र आपराधिक धम्की दिएका छन् । यस्तो त्रास र भयको वातावरणमा हामीले शिक्षालयभित्रै बिताएको तीन घन्टा अत्यन्तै सकसपूर्ण र आतंकमय रहन पुग्यो । परीक्षा हलबाट पनि सामूहिक रूपमा हामीले बल्लतल्ल आफ्नो भौतिक सुरक्षा गरी बाहिरिएका छौँ । पाटन क्याम्पसको परीक्षा केन्द्र नै सम्पूर्ण रूपमा गुण्डाहरूको नियन्त्रणमा रहेकाले हामी यथास्थितिमा सोही क्याम्पसमा परीक्षा दिन असमर्थ रहेको जानकारी गराउन चाहन्छौँ । विद्यार्थीमाथि शिक्षालयभित्रै यस्तो आपराधिक घटना हुने परिस्थिति कसले निर्माण गर्‍यो ? परीक्षाबारे प्रत्यक्ष रूपमा जिम्मेवारी लिनुपर्ने त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाज विज्ञानका डिन, समाजशास्त्र केन्द्रीय विभाग र त्यसका विभागीय प्रमुख साथै पाटन क्याम्पसका प्रमुखको भूमिकाप्रति हामी कडा रूपमा आपत्ति व्यक्त गर्दछौँ । विद्यार्थीको भौतिक सुरक्षा नै खतरामा पर्ने र परीक्षा केन्द्र गुण्डाहरूको नियन्त्रणमा रहनेजस्तो दयनीय परिस्थितिको जिम्मेवारी उहाँहरूले नै लिनुपर्दछ । कोभिड महामारीमा सबैभन्दा पहिला विद्यार्थीको स्वास्थ्य अवस्थामाथी जिम्मेवारी लिनुपर्ने नै विभाग र क्याम्पसहरूले थियो, तर आफ्ना विद्यार्थीको स्वास्थ्यमाथि खेलबाड गर्ने विभागीय प्रमुख र क्याम्पस प्रमुखको भूमिकाप्रति हामी खेद प्रकट गर्दछौँ । यही अवस्थाजस्ताको तस्तै रहेसम्म भौतिक सुरक्षा र कोभिड–१९ को महामारीका कारण आगामी परीक्षामा सामेल हुन नसक्ने जानकारी गराउन चाहन्छौँ । परीक्षामा सहभागी भएपछि नै हाम्रा कतिपय साथीहरूको स्वास्थ्यमा समेत असर देखिएको छ, त्यसैले कोभिड–१९ को असर देखिएका साथीहरूलाई छुट्टै कक्षाकोठाको व्यवस्था, नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालनाका साथै परीक्षा केन्द्र आपराधिक व्यक्तिहरूको हातबाट तत्काल मुक्त गर्ने पहल लिन हामी सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउन चाहन्छौँ । हाम्रो आग्रहलाई अटेर गरी यथास्थितिमै परीक्षा सञ्चालन गर्न खोजे कडा प्रतिवाद गरिने घोषणासमेत गर्दछौँ ।

सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस :
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी परीक्षाहरू स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड– १९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको छ। मन्त्रालयले कोरोना संक्रमण दर बढ्न थालेपछि सबै परीक्षाहरू सार्न सिफारिस गरेको हो। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड– १९ संक्रमण फैलिँदै गएको भन्दै शुक्रबार उक्त परीक्षा सार्न सिफारिस गरेको जनाएका छन्। हाल करिब चार लाख विद्यार्थी परीक्षाको पर्खाइमा छन्।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ट्विटरमार्फत् जानकारी गराउँदै लेखेका छन्, चार लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौँ,निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड– १९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जानकारी गराउँदछु। कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट सुरु हुने तालिका छ। यस्तै स्‍नातक तहका विद्यार्थीहरू पनि परीक्षाको पर्खाइमा छन्।

प्रतिक्रिया