आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्ततः कुलमानका लागि बाटो खाली गर्न शाक्य यस्तो शर्तमा भए तयार, सबै चकित

प्रकाशित
874
SHARES

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य राजीनामा दिन तयार भएका छन् । उनले आफूसँग राजीनामा नमागिएको दाबी गर्दै सरकारले मागेमा राजीनामा दिन तयार नै रहेका बताएका हुन् ।

बरू अन्यत्र गएर काम गर्न भनिएको उनी बताउँछन्। प्रधानमन्त्री शेरबहादुर देउवाले ऊर्जा मन्त्री पम्फा भुसालको उपस्थितिमा शाक्यलाई राजीनामा दिन आग्रह गर्दै कुलमान घिसिङलाई कार्यकारी निर्देशक बनाउने प्रक्रिया अगाडि थाल्न निर्देशन दिएका थिए। यसबारे प्रधानमन्त्री देउवाको सचिवालयले मंगलबार पुष्टिसमेत गरेको थियो।

पत्रकारहरूसँगको भेटघाटमा शाक्यले भने, ‘मसँग कुनै राजीनामा मागिएको छैन, बरू अन्यत्र जानु भन्नेछ। मलाई सरकारले जे जिम्मेवारी दिन्छ एउटा कर्मचारीको हिसावले लिन तयार छु।’

तर अन्यत्र काम गर्न पठाउने हो भने दण्डित गरेर नभई आवश्यकता देखाएर लैजानुपर्ने उनी बताउँछन्। ‘दण्डित गरेर होइन आवश्यकता देखाएर लैजानुपर्‍यो। काम गर्ने ठाउँ अन्यत्र पनि छ,’ उनले भने, ‘पहिले पनि मैले धेरै जिम्मेवारी लिएर काम गरेको हुँ।’

उनले लकडाउनलगायत केही कारणले चुहावट कम गर्न भने सोचेजति नसकिएको बताए। आफूसँग प्रधानमन्त्रीले राजीनामा नमागेको शाक्यले आज काठमाडौंमा पत्रकारहरूसँग बताए।

प्रशारण लाइन जोड्नेजस्ता विभिन्न कार्य गरिएको उनले बताए। भारतलाई विद्युत् विक्री गर्नेबारे पनि एक तहमा कुरा भइसकेको तर भारतीय विदेश मन्त्रालयले स्वीकृति लिन बाँकी नै रहेको उनले बताए।

देउवाले यसकारण प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोजे

देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ ।

पछिल्लो समयमा बिजुलीको चुहावटमा वृद्धि भएको र त्यसलाई न्यून गर्नेतर्फ जुनस्तरमा पहल हुनुपर्ने थियो, त्यसोसमेत हुन नसकेको तथा व्यवस्थापकीय क्षमतासमेत प्रदर्शन गर्न प्राधिकरणको नेतृत्व चुकेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको बुझाइ छ ।

प्राधिकरणका कार्यकारी निर्देशक र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयबीच हुने कार्यसम्पादन करार सम्झौतामा उल्लेख भएअनुसारको जिम्मेवारी पूरा नभएको भन्दै मन्त्रालयले चासो व्यक्त गरेको हो । झण्डै १५ प्रतिशतमा सीमित गर्ने भनिएको विद्युत् चुहावट बढेर १७ प्रतिशतको हाराहारीमा पुगेको छ ।

अधिकांश निर्माणाधीन प्रसारण लाइनको काम उस्तै हालतमा रहेको छ । ​ देशभित्र उत्पादित बिजुली खपत गर्नेतर्फ ध्यान नदिई आयातमा मात्रै ध्यान दिइएको भन्दै मन्त्रालयले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँग किन त्यस्तो भएको हो भन्नेबारेमा जानकारी लिएको थियो ।

शाक्यको कार्यमा सुधार नदेखिएपछि सोबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जानकारी गराएकी थिइन् । सोही अनुसार मन्त्री भुसालले शाक्यलाई प्रधानमन्त्री देउवा समक्ष राखेर राजीनामा दिन भनेका थिए ।

यसैबीच ऊर्जा मन्त्रालयले आजै केही उच्च पदस्थ कर्मचारीको सरुवा गरेको छ । मन्त्रिस्तरीय निर्णयका आधारमा सरुवा गरिएको मन्त्री भुसालको सचिवालयले जानकारी दिएको छ ।

विद्युत् विभागका महानिर्देशक नविन सिंहलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा गरिएको छ । यस्तै विभागमा सहसचिव सन्दीपकुमार देवलाई लगिएको छ । देव यसअघि जल तथा ऊर्जा आयोगमा कार्यरत थिए ।

सिँचाइ विभागका महानिर्देशक मधुकर राजभण्डारीलाई सिँचाइतर्फको सहसचिवको जिम्मेवारी दिइएको छ । यस्तै, सुनकोशी मरिण डाइभर्सन आयोजनाको प्रमुख रहेका सुशील आचार्यलाई सिँचाइ विभागको जिम्मेवारी दिइएको छ ।

यता नेकपा एमालेका सांसद नवराज सिलवालले कुलमान घिसिङबाहेक अरुले नेपाल विद्युत् प्राधिकरण हाँक्न सक्दैन भन्ने धारणा जबर्जस्त बनाउन खोजिएको बताएका छन् । यस्तो धारणाले हाम्रा संस्था र प्रणालीलाई असफलतातिर लैजाने उनको भनाइ छ ।

सिलवालले सामाजिक सन्जालमा लेखेका छन्, ‘कुलमान असल र व्यवसायिक व्यक्ति हुन् म उनको क्षमता माथि शंका गर्दिन तर जुन ढंगले कुलमानबाहेक देशमा अरु कसैले प्राधिकरण हाँक्न सक्दैन भन्ने खालको न्यारेटिभको जवर्जस्त प्रयोग गरिंदैछ, यसले हाम्रा संस्था र प्रणालीलाई असफलतातिर लैजाने छ ।’

व्यक्तिभन्दा पनि संस्थाहरुको प्रणाली र संस्कारलाई समयानुकूल परिमार्जन गर्नुपर्ने उनले उल्लेख गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र ऊर्जामन्त्री पम्फा भुसालले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई ल्याउने तयारी गरेका छन् ।

सो तयारी अनुसार ऊर्जामन्त्री भुसालले प्राधिकरणका हालका कार्यकारी निर्देशन हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन भनिसकेको स्रोतले जनाएको छ । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले घिसिङलाई निरन्तरता नदिएपछि शाक्य प्राधिकरणको नेतृत्वमा आएका थिए ।

प्रतिक्रिया