आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मन्त्रीको भागबण्डा मिल्यो, काँग्रेसले ८, माओवादी र जसपाले ७ मन्त्रालय पाउने

प्रकाशित
1K
SHARES

काठमाडाैं । सत्तारुढ गठबन्धनले एमाले वरिष्ठ नेता माधव नेपालको सहभागिताविनै मन्त्रिपरिषदलाई पूर्णता दिने भएको छ । विहीबार बसेको सत्तारुढ गठबन्धनका नेताहरुको छलफलमा माधव नेपाल पक्षविनै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको हो ।

माधव नेपाल पक्षलाई सरकारी तथा संवैधानिक नियुक्तिमा अधिकतम अवसर दिने गरी काँग्रेस र माओवादी र जनता समाजवादी पार्टीले मन्त्रालयको भागबण्डा मिलाएका छन् ।

विहीबार बिहान बसेको शीर्ष नेताहरुको बैठकले काँग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ७ र जसपाले ७ मन्त्रालय पाउनुपर्ने प्रारम्भिक खाका तयार पारिएको जसपाका एक नेताले बताए ।

उनका अनुसार बाँकी तीन राज्यमन्त्री बनाइने छ । कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा पनि सामान्य छलफल भएको स्रोतको भनाइ छ । तर, मन्त्रालयगत भागबण्डा बाहिर नल्याउने सहमति भएको भन्दै स्रोतले खोल्न चाहेन ।

राज्यमन्त्रीमा कसलाई कति भन्ने टुंगो लागेको छ । गठबन्धनका शीर्ष नेताहरुको गोप्य बैठकपछि काँग्रेस र जसपाको बैठक बस्दैछ । काँग्रेस पदाधिकारी बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दैछ ।

यस्तै, जसपा कार्यकारिणी समिति बैठक पनि सुरु भएको छ । गठबन्धनको बैठक सकेर जसपा शीर्ष नेताहरु पार्टीको बैठकमा पुगिसकेका छन् । यसैबीच नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले काबिल सहयोगी चुन्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।

मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा रहेका प्रधानमन्त्री देउवालाई नेपालले सो सुझाव दिएका हुन् । विश्व बाघ दिवसको अवसरमा बिहीबार आयोजित एक कार्यक्रममा नेपालले आफू प्रधानमन्त्री रहँदा प्रतिबद्ध टिम भएकाले प्रकृति संरक्षणको क्षेत्रमा गौरव गर्न लायक काम भएको भन्दै देउवालाई पनि काबिल सहयोद्धा चयन गर्न सुुझाव दिए ।

प्रमुख अतिथिको रुपमा सहभागी देउवातर्फ हेर्दै नेता नेपालले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, प्रधानमन्त्री मात्र भएर हुँदोरहेनछ, सहयोगी, सहयोद्धा पनि त्यस्तै काबिल चाहिन्छ, समर्पित चाहिन्छ र सिर्जनात्मक पनि चाहिन्छ ।’

आफू २००९ मेदेखि २०११ फेब्रुअरीसम्म प्रधानमन्त्री बनेको र त्यो अवधिमा प्रकृति संरक्षणको सन्दर्भमा केही काम हुन गएको कुराप्रति आफूलाई गौरववोध पनि हुने गरेको नेपालले बताए ।

कार्यक्रममा सहभागी राप्रपाका नेता दीपक बोहोराको नामै लिएर नेता नेपालले उनीजस्तो प्रतिबद्ध मन्त्री नभएको भए आफूले गौरव गर्न लायक काम गर्न नसक्ने भनाइसमेत राखे । यता नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले १४ औं महाधिवेशनको प्रक्रिया सुरू गर्न माग गरेका छन्।

पदाधिकारी र पूर्वपदाधिकारी बैठक निरन्तर गरे पनि महाधिवेशन प्रक्रिया हालसम्म पनि अगाडि नबढेको कोइराला बताउँछन्। महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका प्रभावित भइसकेको छ। साउन १२ मा हुनुपर्ने वडा अधिवेशन कहिले गर्ने अझै टुंगो लगाउन कांग्रेसले सकेको छैन।

क्रियाशील सदस्यतामै विवाद देखिएका छन्। आज दिउँसो २ बजेसम्म क्रियाशील विवाद समाधान गर्न रमेश लेखक नेतृत्वको छानबिन समितिलाई समय दिइएको छ।

‘कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया जारी छ। तर पूर्वनिर्धारित कार्यतालिकाको पालना भएको छैन। अहिलेसम्म क्रियाशील सदस्यको अन्तिम छिनोफानो हुन सकेको छैन। यसले समयसीमा भित्र महाधिवेशन सम्पन्न हुने कुरामा संशय बढेको छ। र पार्टीको सम्पूर्ण साथीहरुमा गहिरो चिन्ता छाएको छ,’ कोइरालाले आज ट्वीट गर्दै भनेका छन्। उनले महाधिवेशन नभए पार्टीको वैधानिकता समाप्त हुनेसमेत बताएका छन्।

‘संविधानतः आगामी भाद्र २३ गते पार्टीको वैधानिकता समाप्त हुँदैछ भन्ने हामीलाई हेक्का छ कि छैन? पार्टी विधानमै नभएको नयाँ अभ्यास जारी छ, अर्थात पदाधिकारी र पूर्व पदाधिकारीहरुको निरन्तर बैठक बस्ने तर महाधिवेशन प्रक्रिया अघि नबढ्ने यो कस्तो चाला हो? यसको जवाफ कसले दिने?’ उनको प्रश्न छ। संवैधानिक सीमाभित्र हाम्रो महाधिवेशनका सम्पूर्ण प्रक्रिया अघि बढिसक्नुपर्ने उनले बताए।

‘अन्यथा कांग्रेसले वैधानिकता गुमाउने निश्चित छ। यसबाट हामी उम्कने बाटो छैन। लोकतान्त्रिक अभ्यासको पाठशाला ठानिने हाम्रो पार्टीले आफ्नो महाधिवेशनसमेत समयभित्र सम्पन्न गर्न सकेन भने आउने पुस्ता, समाज र हाम्रा शुभेच्छुकहरुलाई के जवाफ दिने? तसर्थ पार्टी महाधिवेशनको प्रक्रिया अविलम्ब सुचारू गरियोस भन्ने आग्रह छ,’ उनले भनेका छन्।

कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने भने पनि कोरोना र क्रियाशीलमा विवाद रहेको भन्दै उक्त महाधिवेशन पर धकेल्ने तयारी गरिरहेको छ।

प्रतिक्रिया