आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गठबन्धनभित्र बज्यो खतराको घण्टी, अब के गर्लान प्रधानमन्त्री देउवा ?

प्रकाशित
770
SHARES

काठमाडाैं । शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको आज १५ दिन भएको छ । ओलीको सरकार ढाल्नका लागि बनेको ५ दलीय गठबन्धनको भविष्यको विषयलाई लिएर विभिन्न अनुमान लगाउन थालिएको छ तर ती पार्टीका नेताहरुले भने आगामी संसदीय निर्वाचनसम्म नै गठबन्धनलाई टिकाइराख्ने बताएका छन् ।

गठबन्धनको सक्रियतामा नै संविधानमाथि पटकपटक प्रहार गर्दै पार्टीमा समेत हैकम जमाएका ओलीलाई प्रधानमन्त्रीबाट हटाइएको छ तर अबको सरकार कसरी अघि बढ्ला भन्ने टुंगो छैन । देउवाले असार २९ गते आफूबाहेक कांग्रेसका दुइजना र नेकपा (माओवादी केन्द्र) का दुइजनालाई मन्त्री बनाएर सरकारको नेतृत्व गरेका थिए । अझैसम्म पनि थप मन्त्री चयन गर्न सत्ता गठबन्धनले सकेको छैन ।

देउवाले आइतबार आफ्नो पार्टी र गठबन्धनसँग पनि सल्लाह नै नगरी स्वास्थ्य राज्यमन्त्रीमा शैक्षिक संस्था चलाउँदै आएका लिटिल एन्लेज्स स्कुलका साहु उमेश श्रेष्ठलाई नियुक्ति गरेपछि देउवामाथि पनि अनेक प्रश्न उठेको छ । श्रेष्ठ कांग्रेसका समानुपातिक सांसद हुन् । राजनीतिक व्यक्तिलाई पाखा लगाउँदै राजनीतिमा कुनै योगदान नै नभएका उनलाई मन्त्री बनाइएकोमा जनता मात्र होइन कांग्रेसी पनि सन्तुष्ट छैनन् । श्रेष्ठलाई मन्त्री किन बनाउनुप¥यो भनेर न त देउवाले पार्टीमा स्पष्ट पारेका छन् न त गठबन्धनलाई नै ।

सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी गरे पनि त्यसमा पनि अलमल छ । मन्त्रीमण्डल विस्तारमा जति ढिलो भयो त्यति नै आकांक्षीको संख्या पनि बढ्ने भएकाले गठबन्धनलाई अबको राजनीति त्यति सजिलो छैन । पैसा धेरै कमाई हुने र ठेक्कापट्टा बढी गर्न सकिने मन्त्रालय नै सबैको रोजाइमा पर्ने गरेको छ ।

गृह, अर्थ, उर्जा मन्त्रालय यसका केही उदाहरण हुन्, यसमा मन्त्री बनाइसकिएको छ । त्यस्तै भौतिक पूर्वाधार, उद्योग वाणिज्य, श्रम तथा रोजगार मन्त्रालयमा पनि धेरैको आकर्षण हुने गरेको छ । मन्त्री भएर जनताको काम गर्छु र देशलाई सही बाटोमा लान्छु भन्नुभन्दा पनि कसरी पैसा कमाएर आफ्नो सात पुस्तासम्मलाई पुग्ने गरी जोड्न सकिन्छ भन्नेमा सबैको नजर जाने गरेको छ ।

कांग्रेसमा धेरैवटा गुट रहेकाले पनि देउवाले ती सबै गुटको प्रतिनिधित्व गराउन खाजेका छन् । तर गुटभित्र पनि मन्त्री बन्न चाहनेको संख्या बढी भएकाले अहिलेसम्म को को मन्त्री बन्ने भन्ने अझै टुंगो लागेको छैन । देउवाले नै पार्टीभित्र ४० प्रतिशत भाग खोजेर भागवण्डाको राजनीति गर्न पार्टीलाई सिकाएका थिए, अहिले उनलाई यही घाँडो भएको छ ।

केही दिनअघि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा रहेका प्रतिनिधिसभाका ४९ जना सांसदले नै मन्त्री बन्ने ईच्छा राखेकाले आफूलाई मन्त्री छान्न समस्या भएको र त्यही कारणले टाउको दुखेको बताएका थिए । माओवादीले नयाँलाई पनि मन्त्रीमा अवसर दिने जनाएको छ । अहिले माओवादीबाट मन्त्री भएका अर्थमन्त्री जनार्दन शर्मा र उर्जामन्त्री पम्फा भुसाल पुरानै अनुहार हुन् ।

उता मंगलवार मात्रै पार्टीको आधिकारिकता पाएको जनता समाजवादी पार्टीको अध्यक्षमा उपेन्द्र यादव रहेका छन् । पार्टीमा देखिएको विवादको टुंगो लागेपछि उसले पनि मन्त्रीमण्डलमा सहभागिता जनाउने भएको छ । त्यो पार्टीमा पनि मन्त्री बन्नेको लर्को नै छ । संविधानले २५ जनामात्र मन्त्री बनाउन पाइने व्यवस्था गरेपछि सबै पार्टी र सरकार समस्यामा परेका हुन् । मन्त्रीको लडाइले पहिलोपटकमा गठबन्धनमा धक्का लागने सम्भावना छ ।

उता अर्कोतिर प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग परियोजना (एमसिसी) पास गराइ छाड्ने भन्दै आएका छन् । जस्ताको त्यस्तै पास गर्ने कि संशोधन गर्ने भन्ने विषय पनि अन्यौलमा छ । यहाँ पनि स्वार्थी समूहको एउटै दृष्टिकोण नहुन सक्छ । विस्तारै एकपछि अर्को समस्या थपिँदै गयो भने गठबन्धन नै धरापमा पर्ने खतरा पनि औंल्याइएको छ ।

कुनै कारणवश माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो भने अहिलेको अवस्थामा सरकार ढल्न सक्छ । सरकारलाई दिएको समर्थन फिर्ता लिन पाइने भए पनि सरकारविरुद्ध अविश्वासको प्रस्ताव राख्न भने तत्काल पाइनै छैन । सरकार अल्मपतमा परेर देउवाले संसदबाट विश्वासको मत लिन नसके प्रतिनिधिसभा भंग गरेर नयाँ निर्वाचनमा जानुको विकल्प पनि छैन ।

त्यतिबेलासम्म गठबन्धनको स्वरुप नै बदलिइसकेको हुनाले त्यसबाट क– कसलाई खतरा हुन्छ भन्ने अहिले नै सहजै अनुमान लगाउन सकिन्छ । देउवा हिजो ४ पटकसम्म प्रधानमन्त्री भइसकेकाले पनि आलोचित भएका छन् । कहिले संसदलाई राजालाई बुझाएको त कहिले अयोग्य भएको आरोप उनमा छ ।

हिजोको दिनमा नेकपाको एकलौटी सरकार हुँदा पनि काम गर्न नसकेकाले कम्युनिष्टप्रति नै अनेक प्रश्न गरिएको छ भने त्यसपछि एमालेका नेता केपी शर्मा ओली पनि विवादबाट अछुतो हुन सकेनन् ।

देउवाले सबै पार्टीको चित्त बुझाउने गरी काम गर्नुपर्ने भएकाले कसरी गर्न सक्लान् भन्ने शंका गरिएको छ । गठबन्धन आउने निर्वाचनसम्म पनि कुनै अप्रिय घटना नभएर सँगै गयो भने पनि उम्मेदवार छान्ने र क्षेत्र भागवण्डा गर्ने कुराले आन्तरिक द्धन्द्ध बढ्ने निश्चित भएकाले देउवा प्रधानमन्त्री बनेदेखि नै चुनौतीको चाङमा छन् ।

प्रतिक्रिया