आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

निर्वाचन आयोगद्वारा जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई

प्रकाशित
349
SHARES

काठमाडौँ। निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता दिएको छ । सोमबार आयोगमा ‘हेड काउन्ट’ पछि बहुमत रहेको भन्दै आयोगको पाँच सदस्यीय इजलासले आधिकारिकता यादव पक्षलाई दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार जसपाको महन्थ ठाकुर पक्षलाई दल दर्ताको अवसर दिएर आधिकारीकता भने उपेन्द्र यादव पक्षलाई दिने इजलासले निर्णय गरेको हो ।सर्वोच्च अदालतले जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षको मागबमोजिम आइतबार अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै अर्का अध्यक्ष यादव पक्षलाई निर्वाचन आयोगले पार्टीको आधिकारिकता दिएको हो ।

५१ सदस्सीय जसपा केन्द्रीय कार्यकारिणी समितिमा यादवको पक्षमा ३४ जनाले आयोगमा उपस्थित भएर सनाखत गरेका थिए । यस्तै, महन्थ ठाकुरका पक्षमा १६ जना सदस्यले समर्थन गरेका थिए । निलम्बित सांसदसमेत रहेका जसपा केन्द्रीय कार्यकारिणी सदस्य रेशम चौधरी भने तटस्थ बसेका थिए ।उनलाई सनाखतका लागि डिल्लीबजार कारागारबाट आयोगकमा झिकाइएको थियो । उनले आफू पार्टीको बफादार सिपाही भएकाले कसैको पक्ष र विपक्षमा उभिन नियत र नैतिकताले नदिएको बताए ।

 

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सघाएको जसपाको यादव पक्ष निर्वाचन आयोगबाट आधिकारिकता विवाद टुंगो लगाएसँगै अब सरकारमा जानेछ ।यादव पक्षलाई पर्खंदा देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छैनन् । आयोगले दल दर्ताका बखत सनाखत गरेका ५१ सदस्यलाई सोमबार ‘हेड काउन्ट’ गर्न बोलाएको थियो ।

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच २०७७ वैशाख ११ गते एकीकरण भएर जसपा बनेको हो । निर्वाचन आयोगमा नयाँ दल दर्ता भने २०७४ असार २४ भएको थियो । त्यसपछि पार्टीभित्र नेता व्यवस्थापनको खटपट बढिरहेका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने कि नदिने भन्ने मुद्दामा जसपा वैचारिक रूपमै विभाजित भएको थियो । गत पुस ५ गतेको पहिलो प्रतिनिधिसभा विघटनविरुद्ध जसपाका दुवै पक्ष एकैठाउँमा थिए । सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा पुन:स्थापना गरिदिएपछि भने ओलीलाई सहयोग गर्ने कि नगर्ने भन्नेमा ठाकुर र यादव पक्षबीच फाटो बढेको थियो ।

ठाकुर पक्ष ओली नेतृत्वको सरकारमै सहभागी भएपछि पार्टी प्राविधिक रूपमा एक रहे पनि व्यावहारिक रूपमा फुटेको थियो । एकअर्कामाथि कारबाहीको शृंखला चल्दै गर्दा यादव पक्षले निर्वाचन आयोगमा पार्टीको आधिकारिकताको माग गर्दै निवेदन दिएको थियो । निर्वाचन आयोगमा दल दर्ता गर्दा यादव नेतृत्वको तत्कालीन समाजवादी पार्टीबाट २५ र ठाकुरसहितको नेतृत्वमा रहेको राजपाबाट २६ सदस्य राखिएको थियो । नेता महेन्द्रराय यादवसहित पूर्वराजपा पक्षका ७ जना सदस्य यादव पक्षमा गएका थिए ।

प्रतिक्रिया