आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बैठक चलिरहेका बेला माधव नेपालले कसलाई किन लखेटे बाहिर ?

प्रकाशित
377
SHARES

काठमाडाैं । नेकपा एमालेको विवाद संसदीय समितिमा समेत देखिएको छ । संसद् पुनःस्थापनापछि पहिलोपटक आइतबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा एमालेका दुई पक्षबीच भनाभन भएको छ ।

बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाललगायत सहभागी छन् । त्यस क्रममा नेपालले संसद् पुनर्जीवित भएको भन्दै खुसी व्यक्त गरेका थिए । उनले संघर्षबाट संसद् पुनःस्थापना भएको बताए ।

नेता नेपाललगायत बोलेको केही समयपछि बैठकमा एमाले अध्यक्ष ओलीपक्षका सांसद नारदमुनि राना प्रवेश गरे । उनले आफ्नो बोल्ने पालो आएपछि नेता नेपालप्रति कटाक्ष गर्न थाले ।

उनले संसद्लाई जनताले नभई सर्वोच्च अदालतले पुनःस्थापना गरेको बताए । उनले संसद् चाहिनेहरू वैशाख २७ गते प्रधानमन्त्री केपी ओलीले विश्वासको मति लिइरहेका बेला कहाँ थिए भनी प्रश्न गरे ।

उनी भन्दै गए, ‘आफ्नो पार्टीको प्रधानमन्त्री हुँदा घरमा गएर सुत्ने अनि संसद् चाहिन्छ भन्ने ? यो संसद् अदालतले ल्याएको हो, जनताले होइन । वरिष्ठ नेताहरूले जिम्मेवारी लिनुपर्छ ।’

सांसद रानाले नेता नेपालसहितका सांसदप्रति कटाक्ष गर्दै आफ्ना भनाइलाई निरन्तरता दिएपछि नेपाल पक्षका सांसद दीपकप्रकाश भट्ट आक्रोशित भए । त्यसपछि नेता नेपाल पनि बोल्न थाले ।

आक्रोशित हुँदै नेता नेपाल र सांसद भट्टले ‘प्रतिगमनका मतियारहरू बाहिर जानुस्’ भनेर लखेटे। तर उनी बाहिर भने गएनन् । प्रतिगमनलाई साथ दिने अनि समितिमा आएर जथाभावी भनेको भन्दै नेपाल र भट्टलगायत कांग्रेसका सांसदहरू पनि सांसद रानामाथि खनिए । रानाले अनावश्यक कुरा गरेको भन्दै एमालेको नेपाल पक्षका सांसदले असन्तुष्टि जनाए ।

यता नेकपा एमालेका अध्यक्ष केपी ओलीले तीन करोड जनसङ्ख्यामध्ये केही दर्जन मानिसमात्रै आफ्नो बदनामीमा लागेको बताएका छन् । ‘केपी ओलीलाई मुख छाडेर कसैको जीविका चल्छ भने म खुसी छु । थुप्रै तत्त्वहरू यसरी लागेका छन्, थुप्रो भनेको केही दर्जन हो । तीन करोड जनसङ्ख्यामा केही दर्जन मानिसहरू बदनामीमा लागेका छन्,’ अखिल नेपाल महिला सङ्घको बैठकलाई सम्बोधन गर्दै ओलीले भने,‘कहिलेकाहीँ भ्यागुतोले इनारको प्वालबाट माथि हेर्दा जति देखिन्छ, त्यसैलाई आकाश ठानेको हुन्छ । तर इनार को तल बसेको भ्यागुतोले त्यसको मुखबाट देख्ने जति आकाश मात्रै आकाश हुन्छ । उसले तल हेर्दा देखेको पानी मात्रै धर्तीमा पानी छ भनेर ठान्नु गलत हुन्छ ।’

माधव नेपालतर्फ सङ्केत गर्दै ओलीले भने, ‘केपी ओलीका सुन्ड मुण्डहरूले घर अगाडि आएर पख्लास् भने रे । यस्ता कुरा नगरे हुन्छ । केपी ओलीको साथमा रहेको कुनै झुन्ड होइन, देशको सबैभन्दा बढी जनसङ्ख्या एमालेको साथमा छ । देशको सबैभन्दा ठूलो जनसङ्ख्या केपी ओलीको साथमा छ ।’

माधव नेपालमाथि थप व्यङ्ग्य गर्दै उनले भने,‘ एक जनाले केपी ओलीलाई सुधार्न सकिनँ भनेर कविता लेख्नुभएछ । दया लाग्यो, माया लाग्यो । कपाल फुलेर हुँदो रहेनछ , दाह्री जुँगा फुलेर हुँदो रहेनछ, विवेकको परिपक्वता भएन भने, अरूका लैलैमा कुदाे भने ।’

ओलीले प्रतिगमन गम्भीर अवस्थामा पुगिसकेको दाबी गरेका छन् । उनले पार्टीविरोधी षडयन्त्रको चक्रबाट बाहिर निस्कन सबै कार्यकर्ताहरूसँग आग्रह गरेका छन् । माधवकुमार नेपालबाहेक अन्य नेता तथा कार्यकर्तालाई पार्टीमा फर्कन ओलीले आग्रह गरेका हुन् ।

‘आन्दोलनलाई कमजोर पार्ने क्रियाकलापहरू भए । जो अपराध कर्मको नेतृत्व गरिरहेका छन् । त्यसताका सवालमा मैले धेरै पटक भनिसके । अब आशा र विश्वास पनि छैन । त्यस्ता तत्त्वबाहेक देशलाई माया गर्ने, पार्टीलाई माया गर्ने एमालेका कार्यकर्तालाई भन्न चाहन्छु यो एक दुई जनाले बनाएको पार्टी होइन । हामी सबैको पसिना मिसिएको छ,’ अखिल नेपाल महिला सङ्घको बैठकलाई सम्बोधन गर्दै ओलीले भने ।

उनले आफ्ना स्वार्थका कारण प्रतिक्रियावादीको षडयन्त्रको अङ्ग बनेर सरकार ढाल्नेहरूले गरेका हरेक गतिविधि छर्लङ्गै देखिएको बताए ।

‘आफ्नो पार्टी फुटाएर सजिलो बनाइदिएको देखिरहेका छौँ । आफ्ना सांसदहरूलाई प्रलोभनमा पारेर मतदानबाहिर लगेको देखेका छौँ । उनीहरू विरोधीको पछि–पछि लागेर राष्ट्रपति कहाँ गएको देखेका छौँ । त्यस्ताको पछि लागेर आन्दोलन र आफ्नो भविष्य किन सखाप पार्ने । साथीहरू फर्किनुस् । पार्टीले क्षमा गर्छ,’ उनले भने ।

यता नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनसँग देश र जनताको हितमा काम गर्ने एजेण्डा नै नभएको बताएका छन् । उनले गठबन्धन असैद्धान्तिक भएको समेत दाबी गरे ।

प्रेस चौतारी नेपाल गुल्मीले आइतबार सदरमुकाम तम्घासमा गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्वमन्त्री समेत रहेका ज्ञवालीले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गरे पनि आफूहरुको असहमति रहेको बताए ।

जनादेशबाट गठन भएको केपी शर्मा ओली नेतृत्वको सरकारलाई सर्वोच्च अदालतको परमादेशबाट हटाई शेरबहादुर देउवा नेतृत्वको सरकार गठन गर्ने फैसला गैरराजनीतिक भएको उनको टिप्पणी छ । अदालतको फैसलाले राज्यका आधारभूत संरचनाहरुलाई पनि खलबल्ल्याएको ज्ञवालीले जिकिर गरे । राजनीतिक संकटलाई राजनीतिक दलबाटै समाधान खोजिनुपर्ने उनको भनाइ छ ।

अर्को प्रसंगमा नेता ज्ञवालीले पार्टीलाई एक ढिक्का बनाउनका लागि माधव नेपाल पक्षले हालसम्म गरेका गल्तीहरुलाई माफ दिइएको बताए । एमाले नेतृत्वको सरकारलाई ढालेर कांग्रेसलाई सत्ता सुम्पिनका लागि माधव समूह लाग्नु अलोकतान्त्रिक र विडम्बना भएको उनको तर्क छ ।

प्रतिक्रिया