आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओलीले दोस्रो अध्यक्षकाे अफर दिएपछि माधव नेपालले दिए यस्तो प्रतिक्रिया

प्रकाशित
466
SHARES

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार भएको बताएपछि वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी कसरी अगाडि बढ्छ भनेर हेरिरहेको बताएका छन् ।

पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौंको चम्पादेवीमा बिहीबार आयोजित कार्यक्रममा नेता नेपालले कम्युनिस्ट आन्दोलन सही दिशामा लिएर जाने क्रान्तिकारी पार्टीलाई बलियो बनाउन चाहेको बताए ।

त्यो क्रान्तिकारी पार्टीको स्वरुप लिएर एमाले अगाडि बढोस् भन्ने चाहेको भन्दै उनले भने, ‘त्यो स्वरुपमा अगाडि बढ्छ कि बढ्दैन, पर्खेर हेरिरहेका छौं ।’ नेता नेपालले अघि भने, ‘यस रुपमा अगाडि बढ्छ, सुध्रिन्छ, रुपान्तरण हुन्छ, ठीक छ । कसले आफूले बनाएको घरबाट त्यत्तिकै बाहिर निस्कन चाहन्छ ? तर अपमान सहेर कोही पनि बस्दैन ।’

गलत कुरालाई स्वीकार गरेर शिर निहुर्‍याएर बस्नु दास हुनु भएको उनले बताए । सबैको मर्यादा राख्नुपर्ने भन्दै नेता नेपालले भने, ‘अरुको अपमान गर्ने मान्छेहरुले समाजको अपमान गर्छ, त्यसलाई कुसन्तान भन्छन्, त्यसलाई निरुत्साहित गर्नुपर्छ ।’

तटस्थ बस्नेलाई फकाउने ओलीको रणनीति

आइतबार प्रतिनिधि सभामा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा ३३ जना एमाले सांसदले पार्टी निर्देशन मानेन । यसरी पार्टी निर्देशन नमान्नेहरुमध्ये केहीले देउवाको पक्षमा मत दिए भने केहीले तटस्थ बसेर निर्देशनको अवज्ञा गरेका थिए । तर, आइतबार बसेको एमालेको केन्द्रीय समिति बैठकले भने देउवाको पक्षमा मतदान गर्ने २२ जनालाई मात्रै स्पष्टीकरण सोधेको छ ।

बाँकी ११ जना तटस्थ बस्नेहरुका बारेमा एमाले मौन बसेको छ । तटस्थ बस्नु भनेको पनि पार्टी निर्देशन अवज्ञा गर्नु नै हो तर उनीहरुमाथि किन कारवाही वा स्पष्टीकरण सोधिएन ? यसबारेमा एमाले नेताहरु बोल्न डराइरहेका छन् ।

‘उहाँहरु हामीतिरै नजिक हुनुहुन्छ । त्यसो भएकाले उहाँहरुलाई स्पष्टीकरण सोध्ने वा कारवाहीबारे कुनै निर्णय नगरिएको हो’, ओली पक्षका एक नेता भन्छन्, ‘अरु २२ जना अव एमालेमा फर्कन्छन् भन्ने आशा छैन ।’

ती नेताका अनुसार आइतबारको मतदानमा तटस्थ बस्ने गोकर्ण विष्ट, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, झपट रावल, यज्ञराज सुनुवार, भीम रावल, सोमप्रसाद पाण्डे, दीपकप्रकाश भट्ट, नारायण खतिवडा, योगेश भट्टराई र राजबहादुर बुढा ओली पक्षमै आउने तयारीमा छन् । तर, कसरी ‘सेफ ल्यान्डिङ’ गर्ने भन्नेमा अलमलमा रहेकाले उनीहरुमाथि ओलीले नरम नीति लिएका हुन् । सोही नीति अनुसार सोमबार बालकोटमा स्थायी समिति सदस्यहरुको अनौपचारिक बैठक डाकिएको हो ।

‘तटस्थ बस्ने ठूलो पंक्ति छ । यो पंक्तिले पार्टी एकताका लागि तटस्थ बसेको भनेको छ । तर, अब पार्टी एकता सम्भव छैन, उहाँहरुलाई एमालेमा कसरी समाहित गर्ने भन्ने एउटा गृहकार्य जरुरी छ । साथै अरुलाई कस्तो कारवाही गर्ने भन्नेमा एकमत हुन पनि जरुरी छ’ ती नेताको भनाइ छ ।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमाले माधव नेपाल पक्ष र केपी शर्मा ओली पक्षका २२ सांसद छलफलमा जुटेका छन् । सोमबार एमाले केन्द्रीय कमिटी बैठकले मतदान गर्ने सांसदलाई २४ घण्टे स्पष्टिकरण सोधेपछि उनीहरु काठमाडौंको डल्लुमा छलफल गरिरहेका छन् ।

केन्द्रीय किमटी बैठकमा पार्टी अध्यक्ष ओलीले पार्टी निर्णय विपरीत भोट हाल्ने सांसदहरुलाई स्पष्टिकरण सोध्‍ने सम्बन्धीको प्रस्ताव राखेका थिए । यस्तै छलफलमा नेपाल समूह सरकारमा जाने/नजाने विषयमा पनि कुराकानी भइरहेको छ । छलफलमा उपस्थित एक नेताले भने, ‘आज सोधिएको प्रस्टीकरण र आगामी कार्ययोजनाबारे छलफल गर्न भेला भएका हौं । यस्तै सरकारमा जाने नजाने विषयमा पनि कुरा हुन्छ ।’

विश्वासको मत दिने ओली पक्षका ८ सांसदमध्ये गोपाल(किसन) श्रेष्ठ, बिना बुढाथोकी र हीरा केसी छन् । नेता नेपालसहित जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, विरोध खतिवडा, भवानी खापुङ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, निरादेवी जैरु, कलिला खान, पुष्पाकुमारी कर्ण कायस्थ, सरला यादव, लक्ष्मी चौधरी र मेटमणि चौधरी थिए ।

नेपालका पक्षका योगेश भट्टराई, गोकर्ण विष्ट, घनश्याम भुसाल, सरेन्द्र पाण्डेलगायतले विघटन कार्यदलले दिएको १० बुँदै समझदारी अनुसार पार्टी विवाद अन्त्य गर्नुपर्ने भन्दै बैठकमा सहभागी भएका थिएनन् । नेपाल पक्षका सांसद समेत रहेका उपाध्यक्ष भिम रावलले संसद् भवन अगाडि नै सांसद पदबाट राजीनामा दिएको पत्र पढेर सुनाएका थिए ।

प्रतिक्रिया