आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

होन्डा एनिभर्सरीको नाममा म्यासेन्जरमा ‘स्पाम’ आतंक, झुक्किएर पनि यस्तो लिङ्कमा क्लिक नगर्नुहोस

प्रकाशित
432
SHARES

काठमाडौँ । जापानी कार तथा मोटरसाइकल निर्माता होन्डाको ७० औं वार्सिकोत्सवको शुभकामनासहितको म्यासेज लिङ्क यतिबेला म्यासेन्जरमा व्यापक फैलिइरहेको छ । लिङ्कमा क्लिक गरेपछि स्कुटर उपहार जितेको सन्देशसहित केही नियमहरू राखिन्छ ।

उक्त लिङ्कसहितको म्यासेज पाँच ओटा ग्रुप अथवा कम्तिमा २० जनालाई पठाउनुपर्ने र आफ्नो ठेगाना दर्ता गराउनुपर्ने शर्त पनि राखिएको छ । त्यसपछि ५ देखि ७ दिनभित्रमा स्कुटर डेलिभर गरिने उल्लेख गरिएको छ । तर तपाईं भने यी कुनै पनि नियम पालना नगर्नुहोस् ।

अझ म्यासेन्जरमा आएको लिङ्क पनि नखोल्नुहोला । किनकि तपाईंलाई झुक्याएर तपाईंसँग सम्बन्धित सूचना सङ्कलन गर्न जारी गरिएको ‘स्पाम’ म्यासेज हो । यस्ता म्यासेजहरु हामीले सोचेजस्तो एकछिन झुक्याउन वा दुःख दिन मात्रै पठाइँदैन । बरु त्यस्ता म्यासेजहरु दूरगामी प्रयोजनका लागि पठाइएका हुन्छन् ।

यस्ता म्यासेजले तत्कालै हानी त नपुर्‍याउँ सक्छन्, तर लिङ्कमा प्रवेश गरेपछि स्पामरहरू तपाईंसँग सम्बन्धित सूचनामा पहुँच राख्न सक्छन् । कतिपय अवस्थामा फेसबुक लगायत सामाजिक सञ्जालमा अनधिकृत पहुँचको माध्यम पनि बन्न सक्छन् यस्ता म्यासेज ।

त्यसो त म्यासेजमा उल्लेख गरिएजस्तो होन्डाको ७० औं वार्षिकोत्सव अहिले होइन । सन् २०१८ सेप्टेम्बर २४ मै होन्डा स्थापनाको ७० वर्ष पूरा भैसकेको छ । ७० औं वर्ष पूरा भएको तीन वर्षपछि कुनै कम्पनीले यसरी उपहार सार्वजनिक गर्ने उदाहरण पनि छैनन् ।

के हो स्क्याम म्यासेज ?

फिशिङ एक प्रकारको साइबर अपराधकै रुपमा लिइन्छ। खासगरी सामाजिक सञ्जालमा विभिन्न अफर तथा प्रडक्टको लोभ देखिएर एउटा लिङ्क आउने गर्छ भने कतिपय अवस्थामा सामाजिक सञ्चालमै पोष्ट गरिएको हुन्छ। बैंक अकाउन्टको जानकारी, पासवर्ड लगायतका व्यक्तिगत जानकारी चोर्न फिशिङ हमला गरिन्छ।

इमेल, म्यासेज, वेबसाइट र सामाजिक सञ्जालबाट फिशिङ हमला हुन्छ। फिशिङका लागि सामाजिक सञ्जाल, इमेल, म्यासेजमा आधिकारिक जस्तै देखिने नक्कली जानकारी राखिएको हुन्छ त्यसमा क्लिक गरेपछि अर्कै लिङ्क खुल्ने गर्छ।

कतिपयले त्यसमा राखिएका क्राइटेरिया अनुसार आफ्नो व्यक्तिगत विवरणपनि भर्ने गरेका छन्। वास्तविकतमा सो लिङ्क जानकारी चोर्न चालिएको एउटा चाल हुन्छ।

नेपालमा पनि यस्तो आतङ्क बारम्बर दोहोरिने गरेको पाइन्छ। खासगरी म्यासेन्जमार विभिन्न लिङ्क आउने र साइबर हमला हुने गरेको छ। यस्ता प्रकारका फिशिङ म्यासेज फेसबुक, भाइबर, ह्वाट्सएप, इमोमा आउने गर्छन्।

त्यस्तै, गरी विभिन्न दूरसञ्चार कम्पनी, प्रतिष्ठित कम्पनीको नाम र लोगो राखेर दुरुपयोग गरी फिशिङ साइबर आक्रमण भइनै रहेका हुन्छन्। तर, ती केवल प्रयोगकर्ताको व्यक्तिगत जानकारी चोर्ने र ठगी गर्न बनाइएका फेक पेज हुन्।

यस्ता ठगी र साइबर हमलाको विषयमा नेपाल प्रहरी साइबर ब्यूरोले अनुसन्धान गरिरहेको जनाएको छ। केहि समय अघि नेपाल टेलिकमको नाम र लोगो दूरूपयोग गरी आईफोन १२ सित्तैमा दिने तथा फ्री डेटाको लोभ देखाएर फिशिङ भएको थियो।

तर, अहिलेसम्म यस्ता फिशिङ आतङ्कको विषयमा गहन अध्ययन तथा दोषी कानुनी दायरामा भने आउन सकेका छैनन्। साइबर हमलाको विषयमा सरकारी तवरबाटपनि कुनै पहल भएको देखिदैन।

कसरी बच्ने?

दूरसञ्चार क्षेत्रको नियामक निकाय दूरसञ्चार प्राधिकरणले यस्ता अपरिचित रुपमा आएका म्यासेज, अपरिचित व्यक्ति वा ठेगानाबाट आएका शंकास्पद इमेललाई नखोल्न, लिंकहरुमा क्लिक नगर्न र त्यस्ता शंकास्पद इमेलालाई डिलिट गर्न वा ब्लक गर्न आग्रह गर्दै आएको छ।

खासमा पुरस्कार, उपहार, चिठ्ठा लगायत विभिन्न प्रलोभन देखाएर पठाइएको वा डर धम्की दिई पठाइएको इमेल, सन्देश, फोन कल लगायतलाई रिप्लाई वा रेसपोन्स नगर्न पनि प्राधिकरणले भनेको छ।

त्यस्ता म्यासेज आएसँगै तत्कालै डिलिट गरिहाल्नुपर्छ। इमेलबाट आफ्नो पासवर्ड, ओटीपी, बैंक खाता नम्बर र पिन कोड जस्ता विवरण पठाउनु हुदैन भने ल्यापटप, कम्युटरमा एन्टिभाइरसको प्रयोग गर्नुपर्छ।

प्रतिक्रिया