आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तत: प्रचण्ड र देउवाबीच भयो यस्तो सहमति

प्रकाशित
353
SHARES

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ओली नेतृत्वको सरकारले गरेको सवै असंवैधानिक ढंगले गरेका नियुक्तिहरु खारेज गर्ने सहमति भएको छ । त्यस्तै उनीहरुबीच साझा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्नेबारेमा छलफल भएको छ ।

मंगलबार बालुवाटारमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भएको छलफलमा यस्तो सहमति भएको बालुवाटार निकट स्रोतले जनाएको छ । सरकार प्रभावकारी ढंगले सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री र अध्यक्षबीच छलफल भएको हो’, अध्यक्ष प्रचण्ड निकट स्रोतले भन्यो, ‘सहमतिका आधारमा चल्नुपर्छ भन्नेमा दुवै नेता सकारात्मक हुनुभएको बुझिएको छ ।’

यसअघि आजै बिहान अध्यक्ष प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादव एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटेर सरकार सञ्चालनका बारेमा छलफल भएको थियो । उक्त भेटमा समेत नेताहरुबीच ओली नेतृत्वको सरकारले गरेका असंवैधानिक नियुक्तिहरु खारेज गर्नुपर्ने विषयमा छलफल भएको थियो । ओली नेतृत्वको सरकारले पछिल्लो समय झण्डै ३ दर्जन नियुक्तिहरु असंवैधानिक ढंगले गरेको थियो ।

यस्तै शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने गरी उपेन्द्र यादव पक्ष जनता समाजवादी पार्टी (जसपा) नेपालमा छलफल तीव्र बनेको छ । सो दलले यही साउन १० गतेपछि मात्रै सरकारमा सहभागी हुने गरी तयारी थालेको हो ।

नेपाली काँग्रेसको गठबन्धन सरकार बनाउन सुरुदेखि नै महत्त्वपूर्ण भूमिका खेलेको जसपा यादव समूहमा कसलाई मन्त्रीमण्डलमा सहभागी गराउने भन्नेबारे छलफल भइरहेको छ । सरकारमा कसरी सहभागी हुने, को को जाने भन्नेमा पार्टीमा छलफल चलिरहेको र १० गतेपछि मात्रै टुङ्गो लाग्ने नेता मोहम्मद इस्तियाक राईले रातोपाटीलाई जानकारी दिए ।

सरकार गठनबारे छलफलका लागि आज बिहान सो पार्टीका अध्यक्ष उपेन्द्र यादव, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल छलफलमा जुटेका थिए । उता अन्तिम समयमा आएर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका जसपाको ठाकुर समूहले भने सरकारमा सहभागी हुने नहुनेबारे अहिलेसम्म मुख खोल्न सकेको छैन ।

त्यस्तै यता नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको सफलताका निम्ति काम गर्ने निर्णय गरेको छ । महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा बसेको बैठकले समसामयिक राजनीतिक घटना क्रमको विश्लेषण गर्दै यस्तो निष्कर्ष निकालेको हो ।

छलफलपछि काँग्रेस नेता अर्जुननरसिंह केसीले भने, ‘नयाँ सरकार निर्माणको स्थिति जसरी निर्माण भयो । संविधान, संवैधानिक संस्था र लोकतन्त्रमाथि नै एकपछि अर्को प्रहारको स्थितिमा जोगाउनुपर्ने जिम्मा घुमीफिरी काँग्रेसको काँधमा आयो । राष्ट्रिय संकटको समाधान नेपाली काँग्रेसले नै गर्छ भन्ने परिस्थिति निर्माण भयो ।’

काँग्रेसका लागि यो अवसरको पहाडसँग चुनौतीको महासागर पनि भएको केसीको भनाइ छ । उनले भने, ‘यसलाई अत्यन्त बुझेर संयमित भएर गठबन्धनसँगको सम्पूर्ण सहमति र पार्टीभित्र पनि सहमतिको स्थिति निर्माण गरेर सरकारको सफलताको निम्ति हामीले काम गर्ने हो । कि नभने यो सिंगो लोकतन्त्र र नेपाली काँग्रेससँग जोडिएको छ । हामी त्यसमा केन्द्रित हौं भन्नेबारे छलफल भएको छ ।’

बैठकले प्रधानमन्त्री देउवाको भूमिकाको धर्यतापूर्वक प्रतिक्षा गर्नुपर्ने पनि निष्कर्ष निकालेको छ । केसीले भने, ‘हिजो मात्र विश्वासको मत प्राप्त भयो । यो विश्वासको मत लोकतन्त्रको रक्षा, जनकल्याण राज्य र सुशासनका निम्तिको संकल्प हो ।’

वर्तमान सरकार र गठबन्धनसँग गल्ती गर्ने छुट नभएको केसीको भनाइ छ । उनले भने, ‘सरकारलाई सफल बनाउन लागौं । हाम्रो सहयोगको खाँचो छ भन्ने हाम्रो निष्कर्ष छ । त्यसमा प्रधानमन्त्रीले पार्टीभित्र सन्तुलन मिलाउने र संयोजन गर्नुहुन्छ भन्ने हाम्रो अपेक्षा छ । हामी सम्पूर्ण रुपमा सकारात्मक छौं । किनभने यो नेपाली काँग्रेसको सरकार हो ।’

देउवा सरकारको सफलता नेपाली काँग्रेसको सफलता भएको उनको भनाइ छ । ‘यो काँग्रेससँगै लोकतन्त्रको संस्थागत प्रक्रियाको सफलता हो । हामी सम्पूर्ण रुपमा सकारात्मक हुने कुरामा हाम्रो तर्फबाट विवाद छैन । नेतृत्वले कसरी संयोजन गर्छ प्रतिपक्षको विषय हो’ केसीले भने ।

केसीका अनुसार पौडेल पक्षको बैठकले सरकारको सेकेन्ड पोजिसन पनि काँग्रेसकै हुनुपर्ने निष्कर्ष निकालेको छ । उनले भने, ‘सरकारमा काँग्रेसको सेकेन्ड पोजिसन हुनुपर्छ । त्यसमा हाम्रो साथीहरु (पौडेल पक्षीय) गर्नुपर्छ भन्ने हो । कसलाई पठाउने भन्ने हाम्रो छलफल भएन । सेकेन्ड म्यानको रुपमा हामीहरूसँग भएका साथीहरुलाई अगाडि बढाउँदा ठीक हुन्छ कि भन्ने छलफलमा निस्केकै हो ।’

यस विषयमा पार्टी सभापति तथा प्रधानमन्त्री देउवासँग छलफल गरिनेछ । केसीले भने, ‘सभापतिसँग छलफल हुन बाँकी छ । छलफल गर्छौं । तर गठबन्धनमा भागबण्डा मिलिसकेको स्थिति छैन । गठबन्धनको भागबण्डा पछि नै यस विषयमा कुराकानी होला । हामी यही हुनुपर्छ पनि भन्दैनौँ । परिस्थिति हेरेर जानुपर्छ भन्ने साथीहरुको भनाइ छ ।’

छलफलमा क्रियाशील सदस्यताका सन्दर्भमा देखिएको विवादबारे छलफल भएको थियो । संस्थापन इत्तर पक्ष निकट क्रियाशील छानविन समितिका सदस्यले क्रियाशील सदस्यताबारे देखिएको विवादको बिफ्रिङ गरेका थिए । छानविन समितिका सदस्य प्रदीप पौडेलले क्रियाशील सदस्यतामाथिको छानविन अन्तिम चरणमा पुगेको बताए । काम अन्तिम चरणमा पुगेकाले विवाद पनि देखिएको उनको भनाइ थियो ।

केन्द्रीय सदस्य दिलेन्द्र बडूका अनुसार मापदण्ड अनुसार विवाद टुंग्याउन पौडेलले निर्देशन दिएका थिए । छानविन समितिले मापदण्डअनुसार समस्या समाधान गर्न नसकेको विषय पदाधिकारी बैठकमा पठाउने विषयमा पनि पौडेल पक्षमा सहमति भएको उनको भनाइ छ । बैठकले निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने विषयमा पनि जोड दिएको थियो ।

पौडेल समूहको यस्तो निर्णयले देउवा सरकारलाई असफल बनाउन लागिपरेको ओली समूहलाई झट्का लागेको छ । त्यस्तैनेकपा (एमाले) को केन्द्रीय कमिटीको १० औं बैठकले १० बुँदे एकता प्रस्ताव पारित गर्दै पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने निर्णय गरेको छ ।

सोमबार बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई मतदान गर्ने २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । ज्ञवालीले गत जेठ २३ गते अध्यक्ष केपी ओलीले गरेको पार्टी एकताको आह्वान र गत असार २७ गते कार्यदलले तयार पारेको १० बुँदे कार्यान्वयन सुरु गरेको दावी समेत गरे ।

बैठकमा पार्टी अध्यक्ष केपी ओलीले शेरबहादुर देउवाले विस्वासको मत लिने क्रममा देखिएका परिदृश्य र त्यसले पारेका प्रभावका बारेमा चर्चा गरेका थिए । ‘त्यसलाई बैठकले अग्रगमनमाथिको धक्काका रुपमा लिएको छ ।

पार्टीको निर्देशनविपरित फ्लोर क्रस गर्ने र मत दिने काम पार्टी अनुशासनहिन र गलत काम भएकोले २२ जना सांसदहरुलाई स्पष्टीकरण माग्ने निर्णय भएको छ’, बैठकपछि प्रवक्ता ज्ञवालीले जानकारी दिए । उनीहरुलाई सोधीएको स्पस्टीकरणको आधारमा कस्तो कारवाही गर्ने भन्ने निर्णय हुने एमालेले जनाएको छ । त्यस्तै बैठकमा ओलीसहितका नेताले माधव नेपाल एमालेमा नफर्कने निष्कर्ष निकालेको एक नेताले जानकारी दिए ।

‘हाम्रा प्रयासले माधव नेपाललाई फर्काउन नसकेको हो’, प्रवक्ता ज्ञवालीले पनि सो कुरालाई पुष्टि गरे, ‘हामीले १० बुँदे कार्यन्वयन गरौ भनेर हिजो बिहान पनि माधव नेपाललाई भेटेर भन्यौ तर उहाँले ठाडो जवाफ दिनुभयो । प्रस्तावमा सहमत छैन, काँग्रेसलाई मत दिने बचनबाट म पछि हट्दिन र अल्पमतमा रहेको कमिटिमा गएर निर्णय मान्दिन भन्नुभयो’, नेपालको भनाइ उदृत गर्दै ज्ञवालीले भने, ‘हामीले उहाँलाई जति प्रयास गर्दा पनि एमालेमा फर्काउन नसकेकै हो ।’

बैठक भोलि ३ बजे पुन बस्नेछ । त्यस्तै बैठकमा उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामाका बारेमा समेत चर्चा भएको थियो । ‘उहाँले राजीनामा गर्नुहुँदैन थियो । पार्टीभित्र समस्याहरु भएपनि भित्रै छलफल गरेर समाधान गर्न सकिन्थ्यो’, ज्ञवालीको भनाइ छ ।

प्रतिक्रिया