आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

संसदमा एमालेले भन्यो- ‘उ बेला श्री ५ बाट, अहिले श्रीमान् ५ बाट फैसला आयो’

प्रकाशित
255
SHARES

काठमाडौँ । नेकपा एमालेका सचिव एवं सांसद प्रदीप ज्ञवालीले कांग्रेस सभापति शेरबहादुर दउवालाई श्रीमान् ५ ले प्रधानमन्त्री नियुक्त गरेको टिप्पणी गरेका छन् ।

विश्वासको मत लिने प्रधानमन्त्री देउवाको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै उनले राजतन्त्र रहँदा श्री ५ ले प्रधानमन्त्री नियुक्ती गर्ने भन्दै अहिले श्रीमान् ५ ले अदालतबाट प्रधानमन्त्री तोकेको टिप्पणी गरेका हुन् । उनले भने, ‘उती बेला श्री ५ बाट प्रधानमन्त्री नियुक्त हुन्थ्यो, अहिले श्रीमान् ५ बाट प्रधानमन्त्री नियुक्त भएको छ ।’

रेफ्रीले हानेको गोलबाट देउवा प्रधानमन्त्री भएको उनको भनाइ थियो । सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) लाई अपव्याख्या गरेको आरोप लगाउँदै उनले फैसलाको आलोचना गरे । सांसद ज्ञवालीले सर्वोच्चले संविधान संशोधन गरेको आरोप पनि लगाए ।

एमाले सत्ताबाट हट्नु परेकोमा चिन्तित नभएको जिकिर गर्दै सांसद ज्ञवालीले शक्ति पृथकीकरण खलबलिएकोमा चिन्तित बनेको बताए ।निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा उल्लेखनीय काम गरेको सांसद ज्ञवालीले दाबी गरे ।

उनले ओलीलाई जनताले वर्षौंसम्म सम्झिरहने बताए । ओलीले नेपालको मिचिएको भूमि लिम्पियाधुरासहितको चुच्चे नक्सा सार्वजनिक गरेको, सगरमाथाको उचाइँ नापेकोलगायतका राष्ट्रले गौरभ गर्न लायक काम गरेको सुनाए ।

यस्तै काँग्रेस नेता मिनेन्द्र रिजालले ग्रिक पौराणिक कथाको उदाहरण दिँदै प्रतिपक्षलाई धेरै उड्ने प्रयास नगर्न चेतावनी दिएका छन् । ‘एउटा टापुको जेलबाट निस्किएर भाग्नेक्रममा इकारसलाई उसको बाबु डेडालसले कृत्रिम पखेटा बनाइदिन्छ र सम्झाउँछ ः समुद्रको आर्द्रता धेरै हुन्छ, धेरै तल पनि नजाऊ । धेरै माथि पनि नजाऊ, सूर्य तातो हुन्छ ।’

संसद्मा देउवाका लागि विश्वासको मत माग्दै देउवालाई अदालतले प्रधानमन्त्री बनाएको भन्ने एमालेको आरोपलाई उनले खण्डन गरे । ‘अदालतले देउवालाई प्रधानमन्त्री बनाएको होइन ।

संविधानअनुसार दलहरूले प्रधानमन्त्री दिन नसकेर संसद् नै विघटन हुने अवस्था आउँदा धारा ७६ (५) अनुसार विवेकको मत दिएर संसद्को रक्षा गर्नसक्नेबारे सम्झादिएको मात्रै हो,’ उनले ओलीलाई लक्षित गर्दै भने,‘ प्रचण्डलाई विवेकको मत दिन बाध्य गराएको अदालतले होइन । माधव नेपाललाई विवेकको मत दिन बाध्य गराएको अदालतले होइन । तपाईँको अहङ्कारले हो । त्यसैले अहङ्कारबाट निस्कनुस् ।’

प्रतिक्रिया