आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चीनद्वारा नेपाललाई थप १६ लाख डोज खोप दिने घोषणा

प्रकाशित
242
SHARES

काठमाडौँ । चीन सरकारले नेपाललाई कोभिड–१९ विरुद्धको थप १६ लाख डोज खोप अनुदानमा दिने भएको छ । आज बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँगको शिष्टाचार भेटमा नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीले चीन सरकारले अनुदानमा थप १६ लाख डोज खोप उपलब्ध गराउन लागेको जानकारी दिएकी हुन् ।

सर्वोच्च अदालतको आदेशमा कांग्रेस सभापति देउवा प्रधानमन्त्री नियुक्त भएको चार दिनपछि चीनले राजदूत यान्छीमार्फत बधाई दिँदै अनुदानमा थप खोप दिन लागेको जानकारी गराएको हो ।

चीनले यसअघि पनि ८ लाख र १० लाख गरी १८ लाख मात्रा खोप अनुदान दिइसकेको छ । सरकारले चीनसँग ४० लाख मात्रा खोप खरिद गरेको छ ।

त्यस्तै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शुक्रबार एकै दिन प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धन निर्माणमा भूमिका खेलेका दुई शीर्ष नेतासँग भेटवार्ता गरेकी छन् । उनले प्रधानमन्त्री देउवासँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेकाे रहस्य खुलेकाे छ।

प्रधानमन्त्री देउवासँग बालुवाटारमा भएको भेटमा राजदूत यान्छीले नेपाललाई थप १६ लाख खोप अनुदानमा उपलब्ध गराउने जानकारी गराइन् भने देउवाले आफू चीनसँगको सम्बन्धलाई अझ बलियो बनाउन चाहेको बताएका थिए । परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ राजदूतले कोरोना महामारीविरुद्ध लड्न नेपाललाई थप सहयोग गर्न तयार रहेको बताएकी थिइन् ।

प्रचण्ड र एमाले नेता नेपालसँग भएको भेटमा भने चिनियाँ राजदूतले पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल गरेकी थिइन् । नेपालको ‘राजनीतिक कोर्स’ अब कसरी अगाडि बढ्छ भन्ने पनि उनको चासो रहेको स्रोतले बतायो ।

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे चीनले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विभाजन ल्याउने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुस २०७७ मा पहिलोपटक प्रतिनिधिसभा भंग गरेपछि नेपालको राजनीतिक अवस्था बुझ्न चीनले एक उच्चस्तरीय राजनीतिक टोली नै पठाएको थियो ।

५ माघमा चीनका विदेशमन्त्री वाङ यीले निवर्तमान परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भएको टेलिफोन सम्वादमा नेपालको राजनीतिक घटनाक्रमबारे चासो राखेका थिए । जेठ ७ गते मध्यरातमा दोस्रो पटक प्रतिनिधिसभा विघटन भएपछि उसले कुनै प्रतिक्रिया दिएन । बरु नेपालका साना ठूला सबै राजनीतिक दलहरुसँग भर्चुअल माध्यमले सामूहिक छलफल भने गर्ने गरेको छ ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशक एवं चीन मामिला विज्ञ डा. रुपक सापकोटाले सबै नेतासँग भेट गरेर चीनले गठबन्धन सरकारसँग सहज र सौहार्द्धपूर्ण ढंगले सहकार्य गर्छ भन्ने सन्देश दिन खोजेको हो ।

देउवा नेतृत्वको सरकारसँग चीनको सम्बन्ध कस्तो होला भन्ने जिज्ञासा भइरहेका बेला राजदूतले गठबन्धन निर्माणका लागि भूमिका खेलेका नेताहरुलाई भेटेको भन्दै उनले भने, ‘चीनले मिलेर काम गर्न चाहन्छ भन्ने सन्देश दिन खोजेको हो ।’

चीनका लागि पूर्व नेपाली राजदूत टंक कार्की पनि सबै नेताहरुसँग भेट गरेर चिनियाँ राजदूतले नेपालमा जुन दल सरकारमा आए पनि आफ्नो नेपाल नीतिमा कुनै पनि परिवर्तन आउँदैन भन्ने सन्देश दिएको बताउँछन् । उनले भने, ‘सरकारको स्वरुपमा जे जस्तो परिवर्तन भए पनि नेपाल नीतिमा कुनै परिवर्तन छैन, नेपालसँग सुमधुर सम्बन्ध बनाइराख्छौं भन्ने सन्देश होला ।’

यसैबीच भेरोसेल खोपको मौज्दात सकिएपछि काठमाडौं जिल्लामा खोप अभियान स्थगन गरिएको छ । असार २९ गतेदेखि भेरोसेलको पहिलो मात्राको खोप अभियान सञ्चालन भइरहेको थियो । खोप साउन २ गतेसम्म दिने भनिएको थियो ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले भेरोसेल खोपको मौज्दात समाप्त भएकाले अर्को सूचना नभएसम्मको लागि भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम काठमाडौंमा स्थगन गरिएको बताए ।

यो खोप ५५ वर्ष माथिका प्राध्यापक, सवारी चालक, नागरिक, शिक्षक, कर्मचारी, सहचालक लगायतका समूहलाई प्राथमिकतामा राखेर खोप दिइएको थियो ।

असार ३१ गते अर्थात् बिहीबारसम्म काठमाडौं जिल्लामा १ लाख १५ हजार ७४१ जनाले भेरोसेलको पहिलो मात्रा लगाएका छन् भने बुधबार ४३ हजार ४५८ र मंगलबार १३ हजार ६६३ जनाले खोप लगाएको स्वास्थ्य कार्यलय काठमाडौंले जानकारी गराएको छ ।

प्रतिक्रिया