आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

२४ घण्टामा १८ सय बढी कोरोना संक्रमित थपिए, २१ सय बढी संक्रमणमुक्त

प्रकाशित
163
SHARES

काठमाडाैं । गत बितेको २४ घण्टामा देशभर १८ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २१ सय बढी संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार बितेको २४ घण्टामा १० हजार ६६ जनामा परीक्षण गर्दा १८७५ जनामा संक्रमण पुष्टि र सोही अवधिमा २१६४ जना संक्रमण मुक्त भएका हुन् । यस्तै देशभर कोरोनाबाट थप २१ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट हालसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार ५२७ पुगेको छ।

हालसम्म कोरोना संक्रमितको कुल संख्या ७ लाख नाघेको छ । पीसीआर विधिबाट भएको परीक्षणमा हालसम्म ६ लाख ६५ हजार ८८६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ४८ हजार ३६२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै हालसम्म संक्रमितमध्ये ६ लाख ३० हजार ४०७ जना निको भएका छन् ।

मन्त्रालयको तथ्याङ्कअनुसार अहिले कुल २५,९५२ जनाभन्दा केही बढीमा सक्रिय सङ्क्रमण छ। तीमध्ये २३,४७७ जना घरमा तथा २,४७५ जना संस्थागत आइसोलेशनमा छन्। सङ्क्रमितमध्ये अहिले ५८३ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १७६ जना भेन्टिलेटरमा छन्।

शुक्रवार पुष्टि गरिएका सङ्क्रमितमध्ये २९९ जना काठमाण्डूमा, १२५ जना सुनसरीमा, ११५ जना मोरङमा, १०१ जना कास्कीमा फेला परेका हुन्। सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाण्डू उपत्यकाका धेरै देखिन्छ।

कतिले लगाए खोप?

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार नेपालमा कोभिशिल्ड र भेरोसेल खोपको पूर्ण मात्रा कोभिड खोप लगाउनेको सङ्ख्या शनिवारसम्म ११ लाख २६ हजार नाघेको छ। अहिलेसम्म नेपालमा कोभिशील्ड, भेरो सेल र जोनसन एन्ड जोनसन खोप मात्र भित्रिएका छन्।

जोनसन एन्ड जोनसन खोप एक मात्रा मात्र लगाए पुग्छ भने कोभिशील्डको र भेरो सेलको दुई मात्रा लगाउनुपर्छ। कोभिशील्डको पहिलो मात्रा लगाएका झण्डै १३ लाख ६७ हजारले दोस्रो मात्रा लगाउन पाएका छैनन्। अहिले विभिन्न स्थानमा खोप लगाउने मानिसको घुइँचो देखिन्छ।

भारतको अवस्था के छ?

भारतमा २४ घण्टाको अवधिमा ३८,०७९ नयाँ सङ्क्रमित थपिएका छन् भने ५६० जनाले कोभिडसँग सम्बन्धित कारणले ज्यान गुमाएको बिहान प्रकाशित तथ्याङ्कमा उल्लिखित छ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै त्यहाँ अहिलेसम्म तीन करोड दश लाख जनाभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ। अहिलेसम्म चार लाख १३ हजारभन्दा धेरैले कोभिडका कारण ज्यान गुमाएका छन्।

यतिखेर भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या चार लाख २४ हजारभन्दा धेरै छ। भारतमा हालसम्म झण्डै ४० करोडले कोभिड खोप लगाएका छन्। शनिवार बिहानसम्म २४ घण्टाको अवधिमा त्यहाँ झन्डै ४२ लाखभन्दा धेरैले कोभिड खोप लगाएका थिए।

कोभिड नेपाल: कोरोनाभाइरस सङ्क्रमणपछि बालबालिकामा देखिएको एमआईएस-सीबारे जान्नैपर्ने पाँच कुरा

नेपालका विभिन्न अस्पतालहरूमा मल्टिसिस्टम इन्फ्लामेटरी सिन्ड्रोम इन चिल्ड्रेन एमआईएस-सी भएर अस्पताल ल्याइने बालबालिकाको सङ्ख्या बढ्न थालेको विशेषज्ञहरूले बताएका छन्।

कोभिडपश्चात् बालबालिकामा देखिने गम्भीर स्वास्थ्य समस्या एमआईएस-सीका कारण उपचारका क्रममा “केहीको ज्यान समेत गइसकेको” चिकित्सकहरूले जानकारी दिएका छन्। उनीहरूका भनाइमा कोभिडबाट बालबालिकालाई बचाउन उपयुक्त ध्यान नपुग्दा यो समस्या देखा पर्न थालेको हो।

एमआईएस-सीको उपचार तुलनात्मक रूपमा महँगो पर्ने र अस्पताल ल्याउन ढिलो भएमा अवस्था जटिल बन्ने भएकाले समयमै सचेत बन्न चिकित्सकहरूले अभिभावकलाई सुझाव दिएका छन्। बीबीसीले कुराकानी गरेका केही बालरोग विशेषज्ञका अनुसार एमआईएस-सीबारे थाहा पाउनै पर्ने पाँच मुख्य कुराहरू यसप्रकार छन्:

१- एमआईएस-सी कहिले हुन्छ?
कोभिड नभएका बालबालिकामा एमआईएस-सी नहुने चिकित्सकहरू बताउँछन्। कोरोनाभाइरस परीक्षणबाट कोभिड पुष्टि नभएका बालबालिकामा पनि यो समस्या देखियो भने उसलाई कोभिड थियो कि थिएन भनेर पहिले पुष्टि गर्ने गरिएको उपचारमा संलग्न चिकित्सकको भनाइ छ।

कान्ति बाल अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. सुमित अग्रवाल भन्छन्, “शरीरको विभिन्न अङ्गमा असर देखा परेर आउने बच्चाहरूको कोरोनाभाइरससँग कुनै न कुनै सम्बन्ध हुन्छ।” “कुनै बेलामा उसलाई भएको वा परिवारका सदस्यलाई भएको हुनसक्छ। त्यसको लिङ्क स्थापना गर्न सक्यौँ भने त्यस्ता बच्चाहरूलाई हामी एमआईएस-सी भएको भनेर भन्छौँ।”

उनका अनुसार कोभिड भएको एकदेखि तीन महिनाबीच एमआईएस-सी हुनसक्ने र केही न्यून सङ्ख्यामा कोभिड भएकै बेला पनि देखिएको छ। ह्याम्स अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. रुक्मा आचार्य कोभिड भएको दुईदेखि चार साताभित्र एमआईएस-सी देखिने बताउँछिन्।

उनी भन्छिन्, “धेरै जनाले ‘पोहोरको लहरमा मेरो बच्चालाई कोरोनाभाइरस भएको थियो अहिले ज्वरो आएको छ। यो एमआईएस-सी हो कि होइन’ भनेर सोध्नुहुन्छ। पोहोर (कोरोनाभाइरस) भएर अहिले चाहिँ हुँदैन।”

नेपाल पेडियाट्रीक सोसाइटीका अध्यक्ष वरिष्ठ बालरोग विशेषज्ञ डा. गणेशकुमार राई पनि कोभिड भएको दुईदेखि चार वा छ हप्ताभित्र यो समस्या देखा पर्ने बताउँछन्। उनले भने, “त्यस बेला (एमआईएस-सी भएका बेला) एन्टिजन वा पीसीआर परीक्षण गर्दा प्राय: नेगेटिभ आउँछ तर एन्टीबडी चाहिँ देखिन्छ।”

२- लक्षण के-के हुन् ?

एमआईएस-सी भएका बालबालिकाका शरीरका विभिन्न प्रणाली र अङ्गहरूमा एकै पटक असर गर्ने हुँदा विभिन्न खाले लक्षणहरू देखा पर्ने चिकित्सकहरूको भनाइ छ। बालबालिकामा प्राय: उच्च ज्वरो आउने गरेको पाइएको डा. आचार्य बताउँछिन्।

उनले भनिन्, “ज्वरो एकदमै हाई ग्रेडको अर्थात् धेरै तापक्रमको देखिन्छ र दुईदेखि चार दिनसम्म पनि धेरै ज्वरो आउने हुन्छ।” त्यसबाहेक पेट दुख्ने, पखाला र बान्ता हुने एवम् शरीरमा डाबर देखिने पनि हुने गरेको उनले बताइन्।

आचार्यले भनिन्, “महत्त्वपूर्ण कुरा चाहिँ के हो भने डाबरहरू आउँदा चिलाउँदैन र त्यो अनुहारभन्दा पनि जीउमा र हातगोडामा देखिन्छ। कसैकसैमा ओठ सुन्निने र जिब्रो सुन्निने पनि पाइएको छ।” “एमआईएस-सीले गाल्यो र साह्रो भयो भने सास फेर्न गाह्रो हुने र बच्चाहरूले पिसाब कम फेर्ने जस्ता समस्या पनि देखिन्छ।”

३- कारण के हो?
कोरोनाभाइरससँग लड्नका लागि बालबालिकाको शरीरले गर्ने प्रतिक्रियाका कारण एमआईएस-सी हुने विशेषज्ञहरूको भनाइ छ। डा. राई भाइरस वा कीटाणुभन्दा पनि त्यसप्रतिको प्रतिक्रियाले एमआईएस-सी हुने गरेको बताउँछन्।

उनी भन्छन्, “कीटाणु वा भाइरसप्रति हाम्रो शरीरले तीन खाले प्रतिक्रिया दिन्छ- एउटा साधारण प्रतिक्रिया, अर्को प्रतिक्रिया नदिने र अर्को एकदमै ज्यादा प्रतिक्रिया दिने।” “प्रतिक्रिया नदिने पनि नराम्रो र ज्यादै प्रतिक्रिया पनि नराम्रो। साधारण प्रतिक्रिया हुनुपर्ने हो तर हाइपर अर्थात् ज्यादै प्रतिक्रिया दिएर एमआईएस-सीको अवस्था आउँछ।”

कोभिड निको भएपछि प्रतिक्रिया बिस्तारै कम हुनुपर्नेमा प्रतिरक्षा प्रणालीले शरीरभरिका अङ्गलाई गलत सूचना दिएर बढी सक्रिय बनाउँदा एमआईएस-सीको अवस्था आउने उनी बताउँछन्।

त्यसै कारणले यो कोभिड लाग्ने बित्तिकै नभएर पछि भएको राईको भनाइ छ। विश्वको तथ्याङ्क हेर्दा एमआईएस-सी कोभिड भएका बालबालिकामध्ये प्रति दुई हजारमा करिब तीन जनालाई यस्तो हुने देखिएको उनले जानकारी दिए।

४- औषधोपचार कति सहज र सुलभ?

एमआईएस-सीका बिरामीको अवस्था पनि कोभिडका बिरामीको अवस्थाजस्तै फरक-फरक हुने चिकित्सकहरू बताउँछन्। उनीहरूका भनाइमा कोभिडका बिरामी सामान्य, मध्यम र गम्भीर खालका भएजस्तै एमआईएस-सीका बिरामी पनि सामान्य, मध्यम र गम्भीर प्रकृतिका हुन्छन्।

र, बिरामीको अवस्था हेरेर त्यसैअनुसार उपचार गर्नुपर्ने हुन्छ। सामान्य बिरामीका हकमा उपचार खासै खर्चिलो नभए पनि गम्भीर बिरामीका लागि उपचार निकै खर्चिलो हुने चिकित्सकहरू बताउँछन्।

नेपाल पेडियाट्रीक सोसाइटीमा सदस्य डा. अग्रवाल भन्छन्, “हामीले विभिन्न निर्देशिका अनुसार उपचार गर्ने हो। नेपाल पेडियाट्रीक सोसाइटीले पनि निर्देशिका बनाएको छ, त्यसैको अधीनमा रहेर हामीले उपचार गर्ने हो।” “उपचार गर्दा हामीले इन्ट्रभिनस इम्युनोग्लोबुलिन (आईभीआईजी) भन्ने औषधि दिन्छौँ। यो चाहिँ अलि महँगै पर्न जान्छ।”

यो औषधि बालबालिकाको तौलका हिसाबले दुई ग्राम प्रतिकेजी दिनुपर्ने उनले बताए। एन्टिबडीबाट बन्ने भएकाले यो महँगो पर्न गएको अग्रवालको भनाइ छ। डा. राईका अनुसार आईभीआईजी नेपालमा नबन्ने भएकाले महँगो पर्न गएको हो।

उनले भने, “बच्चाको अवस्था गम्भीर भयो भने त्यसको मुख्य दबाई भनेको आईभीआईजी हो। यो नेपालमा बन्दैन, भारतबाट ल्याउनु पर्छ।” “यदि २० केजीको बच्चा छ भने त्यसको मूल्य कम्तीमा एक/डेढ लाख रुपैयाँ पर्न सक्छ। ४० केजीको बच्चा छ भने दुई/तीन लाख लाग्न सक्छ।”

“एमआईएस-सी विशेष गरेर सानो बच्चाभन्दा पनि पाँच/छ वर्षभन्दा माथिको बच्चालाई लाग्ने भएकाले यो औषधि पनि धेरै लाग्छ।” डा. आचार्य चाहिँ सबै बालबालिकालाई आईभीआईजी नै दिइहाल्नुपर्ने अवस्था नआउने बताउँछिन्।

उनी भन्छिन्, “सबैलाई आईसीयू नै राख्नुपर्ने, सबैलाई नै इम्युनोग्लोबुलिन चढाइहाल्नुपर्ने भन्ने हुँदैन।” “इम्युनोग्लोबुलिन दिने अवस्था भनेको मुटुमै असर परिसकेको, अलिकति साह्रै भइसकेको छ भन्ने हो। … समयमै उपचार पायो भने चाहिँ महँगो प्रविधि दिएर उपचार गरिहाल्नु पर्दैन।”

५- कस्तो अवस्थामा अस्पताल लाने?

चिकित्सकहरूका अनुसार एमआईएस-सीका लक्षणहरू देखिने बित्तिकै बालबालिकालाई अस्पताल लानु उपयुक्त हुन्छ। एमआईएस-सी नवजात शिशुदेखि १९ वर्षसम्मका किशोरकिशोरीमा समेत पाइएकाले किशोरकिशोरीले आफैँले पनि यस्तो समस्या देखा पर्दा अस्पताल जा नसक्ने उनीहरूको सुझाव छ।

विशेषगरी ८ देखि १० वर्षका बालबालिकामा यस्तो समस्या धेरै देखापरेको डा.अग्रवालले बताए। उनका अनुसार कान्ति अस्पतालमा हालसम्म ४० जनाभन्दा बढी यस्ता बिरामी आएको र त्यसमध्ये केही बालबालिकाको निधन नै भएको छ।

त्यसैले उनी बालबालिकालाई १०० डिग्रीभन्दा बढी ज्वरो आएमा, आँखा रातो भएमा र जीउमा डाबर देखा परेमा तत्कालै अस्पताल आउन सुझाव दिन्छन्। त्यस्तै निरन्तर झाडापखाला लागेमा र सास फेर्न गाह्रो भएमा पनि अस्पताल जानुपर्ने उनको सुझाव छ।

डा. आचार्यका भनाइमा कोभिड भएका बालबालिकाप्रति अझ बढी सचेत हुनुपर्ने देखिन्छ। त्यस्तै एमआईएस-सी हुनबाट बच्नका लागि कोभिडबाट बच्ने उपायहरू अपनाउन पनि उनी सुझाव दिन्छिन्।

 

प्रतिक्रिया