आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भर्खरै सकिएको एमाले स्थायी समिति बैठकले गर्यो यस्ता निर्णय, माधव समूह तनावमा

प्रकाशित
1K
SHARES

काठमाडौं । नेकपा एमालेको स्थायी समिति बैठक सकिएको छ । बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी कमिटीको बैठकले सरकारलाई समर्थन नगर्ने निर्णय गरेको हो ।

च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुको मात्र उपस्थितिमा स्थायी कमिटी बैठक बसेको थियो । ओली पक्षका नेताहरु मात्र रहेको स्थायी कमिटी बैठकले लोकतान्त्रिक र अश्वस्थ विधिबाट सरकार गठन भएको भन्दै समर्थन नगर्ने निर्णय गरेको छ ।

बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘लोकतान्त्रिक र अश्वस्त विधिबाट सरकार भएको सरकारलाई पार्टीको समर्थन नरहने र विश्वासको मत नदिने प्रष्ट पार्दै पार्टीका सबै प्रतिनिधिसभा सदस्यहरुलाई यस निर्णयको पालनाका लागि निर्देशन दिने निर्णय गरेको छ ।’

बैठकले कार्यदलले गरेको १०बुँदे सहमति अनुमोदन गर्दै कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । साथै कार्यदल भंग गर्ने निर्णय गरेको प्रवक्ता ज्ञवालीले बताए । बैठक जारी रहेका बेला नेपाल समुहका नेताहरु त्यहाँ पुगेका थिए ।

एकपक्षीय रुपमा बोलाएको स्थायी कमिटी बैठक रोक्न र दशबुँदे सहमतिअनुसार अगाडि बढ्न माधवकुमार नेपाल पक्षले गरेको आग्रह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका थिए ।

तुलसीलाल प्रतिष्ठान, च्यासलमा बिहान साढे ११ बजेतिर शुरु भएको बैठकमा ओली पक्षीय नेताहरु मात्र सहभागी भएका थिए । तर बैठक चलिरहँदा पार्टीमा एकताका लागि १०बुँदे सहमति जुटाएको कार्यदलमा रहेका माधवकुमार नेपाल समूहका नेताहरु च्यासलमा आइपुगेका थिए ।

कार्यदलमा नेपाल पक्षका संयोजक समेत रहेका उपाध्यक्ष भीम रावलका अनुसार अध्यक्ष ओलीले बैठक पुस्तिकामा हस्ताक्षर गरेर मात्र बोल्न पाउने बताएका थिए । तर आफूले कार्यदलको तर्फबाट बोल्न दिनुस्, नभए उपाध्यक्षको तर्फबाट बोल्न दिनुस् भनेपछि अध्यक्ष ओलीले समय दिएका थिए ।

बैठकमा रावलले कार्यदलले गरेको सहमतिअनुसार अघि बढ्न र बैठक रोक्न आग्रह गरेका छन् । उनका अनुसार कार्यदलले २ जेठ २०७५ मा कायम रहेको एमालेको कमिटीमा फर्किने र त्यसको बैठक बोलाउने प्रक्रियामा समेत सहमति जुटाएको छ । तर त्यसविपरीत बैठक राखेको भन्दै उनले भने, ‘कार्यदलले जे सहमति गरेको छ, त्यसअनुसार बैठक अगाडि बढाउनुस् ।’

‘एमालेको एकतालाई खण्डित गर्ने खेल नगर्नुस् । राष्ट्रिय एकता, आम जनता र एमालेका कार्यकर्ताका हितका लागि एमालेको एकता अपरिहार्य छ । यसलाई कायम गरियोस् । कार्यदलमा जे सहमति गरेका छौं, त्यो भन्दा अन्यथा नगरियोस्,’ उनले अघि भने ।

कार्यदलमा भएको सहमति अनुसार अगाडि बढ्ला भन्ने अपेक्षा गरेको बेला निवर्तमान प्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो निवासमा सर्ने क्रममा दिएको अभिव्यक्तिले झनै अप्ठ्यारो पारेको भन्दै उनले, ‘अलिकति समय आवश्यक पर्‍यो । आजको स्थायी कमिटी र संसदीय दलको बैठक स्थगित गर्नुस् ।’

तर ओलीले बैठक रोक्न अस्वीकार गरे। बैठकस्थलबाट बाहिरिने क्रममा उपाध्यक्ष भीम रावलले एमाले एकता प्रक्रिया थप जटिल बन्दै गएको प्रतिक्रिया दिए । उनले कार्यदलको सहमतिअनुसार शीर्ष तहमा वार्ता गरेर स्थायी कमिटी र आवश्यक परे अन्य कमिटीको बैठक बोलाउनुपर्ने कार्यदलको सुझावविपरीत बैठक राखेर पार्टी एकतालाई जटिल मोडमा पुर्याएको बताए ।

‘अध्यक्षले बैठक आव्हान गरेपछि हामी बैठक कक्षभित्र प्रवेश गरेर हामीले हाम्रो कुरा राख्यौ’, रावलले भने, तर उहाँले बैठक पुस्तिकामा हस्ताक्षर गरेर मात्रै कुरा राख्न निर्देशन दिएको बताए । ‘कार्यदलले जे सहमति गरेको छ, तदनुरूप बैठक बस्नुपर्छ । एमाले एकता खण्डित गर्नुहुँदैन, राष्ट्र अप्ठेरोमा छ यस्तो अवस्थामा एकता अघि बढाउन गम्भीर रूपमा सोच्नुस्, स्वयं पार्टी अध्यक्षले आफ्नो निवासमा सर्ने क्रममा दिएको अभिव्यक्तिले थप जटिलता थपेको छ हाम्रो यस्तो आग्रहमा ओलीले बैठक जारी राख्ने निर्देशन दिनुभयो’, रावलले भने ।

ओलीले बोलाएको स्थायी समिति बैठक केही दिन रोक्न र पार्टी एकतामा जोड दिन माग गर्दै उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, घनश्याम भुषाल लगायतका नेताहरू ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठान पुगेका थिए ।

प्रतिक्रिया