आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपालमा थप २ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि, ३३ जनाको मृत्यु

प्रकाशित
235
SHARES

काठमाडाैं । नेपालमा आज कोरोन संक्रमितको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा २ हजार ६७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार २५६ जनाको पीसीआर परीक्षणबाट १ हजार ७८२ र ४ हजार ५१२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८९४ जना गरी जम्मा २ हजार ६७६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा ३३ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ९ हजार ४६३ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मध्यपूर्वका मुलुकमा पछिल्लो समय बढिरहेको कोरोना संक्रमण विनाशकारी हुन सक्ने चेतावनी दिएको छ । कोरोना विरुद्धको खोप निकै कम मात्रामा उपलब्ध रहेको र निकै संक्रामक मानिएको डेल्टा भेरियन्टको संक्रमण बढिरहेको जस्ता कारणले मध्यपूर्वमा कोरोना संक्रमण बढ्नसक्ने डब्ल्यूएचओले बताएको हो ।

निरन्तर आठ सातासम्म कोरोनाका नयाँ संक्रमित र मृत्यु हुनेको संख्या घटिरहेको अवस्थामा लिबिया, इरान, इराक र ट्युनिसियामा पुनः नयाँ संक्रमितको संख्या उल्लेख्य वृद्धि भएको छ । आगामी दिनमा लेबनान र मोरक्कोमा पनि कोरोना संक्रमण बढ्न सक्ने आशंका गरिएको छ ।

आगामी साता यो क्षेत्रका मुलुकमा मुस्लिमहरुको चाड इद उल फित्र मनाइँदैछ । यो पर्वमा हुने धार्मिक तथा सामाजिक भेलाको कारण मध्यपूर्वमा कोरोना संक्रमण फैलिने जोखिम धेरै रहेको डब्ल्यूएचओले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।

डब्ल्यूएचओका अनुसार यो क्षेत्रमा ट्युनिसियामा कोरोनाबाट मृत्यु हुनेको दर सबैभन्दा धेरै देखिएको छ । त्यस्तै इरानमा कोरोनाका दैनिक नयाँ संक्रमितको संख्या पछिल्लो चार सातामा दोब्बर भएको छ ।

यसैबीच अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले कोरोना भाइरस माहामारी नियन्त्रणका लागि भारतलाई सहयोग गर्ने बताएकी छन् । भारतमा कोरोना संक्रमण तीब्र रहेकाले त्यसलाई नियन्त्रण गर्न अमेरिकी सहयोग जारी रहने उपराष्ट्रपति ह्यारिसले बताएकी छन् ।

भारतमा कोरोना भाइरस संक्रमणमा ज्यान गुमाएकाहरुलाई श्रद्धाञ्जलि व्यक्त गर्दै उनले अमेरिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन् । भारतमा कोरोना भाइरसको दोस्रो लहरको समयमा भारतलाई सहयोग गर्नेबारे अमेरिकी विदेश मन्त्रालयद्धारा आयोजित छलफलमा उपराष्ट्रपति ह्यारिसले यस्तो बताएकी हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले भारतलाई पर्याप्त सहयोग गर्न नसकेको भन्दै आलोचना भइरहेका बेला उपराष्ट्रपति ह्यारिसले सहयोग गर्ने प्रतिबद्धता जनाएकी हुन् ।

कोभिड-१९ विरुद्ध खोपको बौद्धिक सम्पति अधिकार अनुमतिको विषयमा भारतलाई अमेरिकाले समर्थन गर्दै भारत तथा अन्य मुलुकहरुमा खोप अभियान तीब्र बनाउन चाहेको ह्यारिसले बताइन् ।

यस्तै अष्ट्रेलियाको राजधानी सिड्नीमा लकडाउन फेरि थपिएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार बृहत सिड्नी क्षेत्र भरी थप दुई हप्ता लकडाउन लागु गर्ने निर्णय भएको हो ।

थप गरिएको समयावधिअनुसार सिड्नीमा आगामी ३० जुलाईसम्म लकडाउन लागु हुनेछ । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप ९७ जना नयाँ सङ्क्रमित थपिएको विवरण प्राप्त भएसँगै लकडाउनको समयावधि फेरि थप गर्ने निर्णय भएको जनाइएको छ ।

“हामीले स्वास्थ्य अवस्थाका बारेमा गम्भीर समिक्षा गरेका छौँ, सङ्क्रमण अझै पनि पूर्णरुपमा नियन्त्रणमा आइनसकेकाले लकडाउनको समयावधि फेरि थप गर्ने निर्णय भएको हो,” स्वास्थ्य मन्त्रालयलद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

लकडाउनमा लागु हुने नियमहरुलाई कडाइका साथ पालना गर्न पनि सरकारी अधिकारी र स्वास्थ्य अधिकारीहरुले सवैलाई आग्रह गरेका छन् । लकडाउन थप भएपछि विद्यार्थीहरुको अध्ययन अध्यापन कार्य पनि अझै केही दिन अनलाइनबाट नै हुने भएको छ ।

भारतमा कोरोनाभाइरसबाट नयाँ ४१ हजार ८०६ जना सङ्क्रमित भएका छन् । सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार अघिल्लो दिनभन्दा दैनिक सङ्क्रमितको सङ्ख्या फेरि बढेको हो । अघिल्लो दिन ३८ हजार ७९२ जना नयाँ सङ्क्रमित थपिएका थिए ।

त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले थप ३९ हजार १३० जना सङ्क्रमणमुक्त भएका छन् ।भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या चार लाख ३२ हजार ४१ रहेको अधिकारीले जनाएका छन् ।

पछिल्लो एक दिनमा कोरोनाभाइरसका कारण थप ५८१ जनाको मृत्यु भएको पनि मन्त्रालयले बिहीबार जानकारी दिएको छ । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड नौ लाख ८७ हजार ८८० पुगेको छ भने तीमध्ये तीन करोड एक लाख ४३ हजार ८५० जना सङ्क्रमणमुक्त भएका छन् ।

कोरोनाभाइरसबाट मृत्यु भएकाको कुल सङ्ख्या भारतमा अहिलेसम्म चार लाख ११ हजार ९८९ पुगेको मन्त्रालयले जनाएको छ । भारतको चिकित्सा अनुसन्धान परिषद्ले अहिलेसम्म कुल ४३ करोड ८० लाख ११ हजार ९५८ जनाको स्वाब परीक्षण गरिएको छ । ती मध्ये १९ लाख ४३ हजार ४८८ जनाको स्वाब परीक्षण जुलाई १३ का दिन भएको छ ।

त्यसैगरी भारतमा अहिलेसम्म ३९ करोड १३ लाख ४० हजार ४९१ ओटा कोरोना भाइरसविरुद्धको खोप प्रयोग भएको छ । ती मध्ये ३४ लाख ९७ हजार ५८ जनालाई पछिल्लो २४ घण्टामा खोप लगाइएको छ ।

उता ब्राजिलमा कोरोना भाइरसबिरूद्धको खोपमा भएको प्रगति र खोप अभियानको सफलतासँगै कोभिड अस्पताल भर्ना र सङ्क्रमणका कारण हुने मृत्युदरमा कमी आएको ‘ओभरवाल्डो क्रुज फाउन्डेशनले बिहीबार जानकारी गराएको छ ।

महामारीको बारेमा साप्ताहिक बुलेटिनमा संघीय अनुदान प्राप्त स्वास्थ्य अनुसन्धान सेवाले डिसेम्बरदेखि पहिलो पटक कुनै ब्राजिलको कुनै पनि राज्यमा रहेका कोभिड अस्पतालमा ९० प्रतिशतभन्दा बढी सेवाग्राही नपुगेका बताइएको छ ।

यद्यपि चार राज्यहरूलाई भने अझै खतरामुक्त क्षेत्र घोषणा गरिएको छैन । ती अस्पतालमा अझै पनि ८० प्रतिशतभन्दा बढी सघन उपचार कक्षले बिरामीलाई सेवा दिइरहेका छन् ।

“खोप विशेष गरी गम्भीर अवस्थालाई रोकथाम गर्न प्रभावकारी देखिएको छ,” फियोक्रुजले भने । उनले सामाजिक दूरीलाई निरन्तरता दिनु, मास्कको प्रयोग र स्वच्छताका उपायहरूमा जोड दिँदै सम्पूर्ण जनतालाई खोप लगाउन आग्रह गरे ।

उनले भने, “उपलब्ध खोपहरूको प्रभावकारिता कम गर्ने सम्भाव्यतासहित भेरियन्ट्सको उदय हुने सम्भावना अझै छ यसलाई बेवास्ता गर्न सकिदैन । त्यसैले अझै स्वास्थ्य सुरक्षाका उपायलाई अबलम्बन गर्नु कोभिड नियन्त्रणका लागि आवश्यक हुनेछ ।”

सरकारद्वारा उपलब्ध गराइएको तथ्याङ्क अनुसार लगातार तेस्रो हप्तासम्म कोभिड–१९ का कारण भएका मृत्युदर र सङ्क्रमणका घटनामा कमी देखिएको छ । यद्यपि तिनीहरू उच्च रहेका छन् ।

गत हप्ता औसतमा कोभिडका कारण एक हजार ३०० को मृत्यु भएको र ४६ हजार व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । ब्राजिलमा अहिले पनि मृत्यु दर तीन प्रतिशतको हाराहारीमा रहेको छ ।

यो मृत्युदरलाई उच्च मानिन्छ । ब्राजिलमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या एक करोड ९० लाख रहेको छ भने पाँच लाख ३५ हजार सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ ।

प्रतिक्रिया